तिज: मौका छोपेर पुरूषहरू पनि महिलासरह छमछम नाच्न थालेका छन्

हरिप्रसाद गौतम

तिज खास गरी हिन्दु नारीहरूले आफ्नो सौभाग्य र समृद्धिका निम्ति भगवान् शिव अनि माता पार्वतीको व्रत तथा पूजा गरी मनाइने पर्व हो । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा पर्ने यो पर्वलाई हरितालिका तिजका नामले पनि चिनिन्छ । द्वितीया तिथिदेखि पञ्चमीसम्मका चार दिनसम्म यो पर्व नाचगान र पूजापाठ गरेर अनि मिठो मिठो खाएर धुमधामसँग मनाउने चलन छ । नेपालमा यो पर्व आफ्नै मौलिक शैली र विशेषताका साथ नाचगान गरेर मनाइन्छ । यो पर्व ठाउँअनुसार केही फरक ढङ्गले मनाउने गरिए पनि नेपाली नारीहरूले आफ्ना दुःख-पिर बिसाउन तथा माइतीघरको याद मेटाउन गीतहरू गाएर र मिठोमसिनो खाएर मनाउने गरेको पाइन्छ ।

तिज भन्नेबित्तिकै हामी नेपालीहरूको मनमा गीतको रमझम हुने पर्व भन्ने विचार आइहाल्छ । यो स्वभाविक पनि हो । जब बर्खायाममा बालीनाली लगाउने काम सिद्धिएपछि फुर्सदले चियाउन थाल्छ, तब हाम्रा चाडपर्वहरूको मेलो सुरु हुन्छ । नागपञ्चमी, जनैपूर्णिमा गाईजात्रा, कृष्णजन्माष्टमी हुँदै यो तिज पर्व पनि नेपालीहरूका घरघरमा प्रवेश गर्छ । मेलापात जानेहरू र फुर्सद पाएपछि रमाउन चाहनेहरूले आ-आफ्नै भाका र शैलीमा तीजका गीतहरू गाउन थाल्छन् । बजारमा पनि प्रतिस्पर्धाकै रूपमा साङ्गीतिक माहोल बन्दछ । लोक गीतको मौलिक स्वरूपमा तिजका नयाँ र पुराना अनि सदाबहार गीतहरू गुन्जिन थाल्दछन् अनि हरेक उमेरसमूहका नारीहरूले आफूलाई मनपर्ने गीतहरू छान्न र गुनगुनाउन थाल्दछन् । यही मौका छोपेर आजभोलि पुरूषहरू पनि महिलाहरूसरह छमछम नाचेर र गाएर रमाउने गरेको पाइन्छ । यसरी नारी-पुरुष मिलेर तिज पर्व मनाउनु हामी सबैका लागि सुखद पक्ष पनि हो ।

हरितालिकाको अघिल्लो दिनमा मिठो दर खाएर सुरु हुने यो पर्व: तिजको व्रत, गणेशको पूजा हुँदै सप्‍तर्षिको पूजा गर्ने श्रीपञ्चमीमा पुगेर टुङ्गिन्छ । बिहे गरेर घरमा पुगेका नारीहरूले कामको चटारोपछि पाएको फुर्सदमा आफ्ना पीडा बिसाउन होस् वा आमा, हजुरआमाहरूले भगवान्‌को स्मरण गर्दै व्रत पूर्ण गर्नका लागि होस् अथवा युवतीहरू रमाएर आफूले आनन्द लिन नै किन नहोस् तिज भनेको गीत गाएर रमाउने अनि व्रत गरेर पुण्य कमाउने पर्व हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ । माइतीपक्षले आफ्ना चेलीबेटीलाई घरमा बोलाएर सुखदुःख बाँड्ने प्रचलनबाट विकसित हुँदै गएको यो पर्वमा आजभोलि विभिन्न खालका जनचेतना जगाउने सन्देशमूलक कुराहरू पनि गीतका रूपमा प्रसारण हुन थालेका छन् । यसबाट यो पर्व पनि कुनै न कुनै रूपमा समयानुकूल बन्दै गएको कुरा अनुमान गर्न सकिन्छ । बिस्तारै अन्य धर्मसम्प्रदायका मानिसहरू पनि यो पर्वप्रति आकर्षित हुन थालेका छन् । यसबाट आपसी सद्‍भाव बढ्न गई सभ्य समाज निर्माणको हाम्रो अभियानमा थप सहयोग पुग्दछ । हुन त यस पर्वको आफ्नै पौराणिक मान्यता पनि छ । जसअनुसार हिमालयपुत्री पार्वतीले भगवान् शङ्कर स्वामी पाऊँ भनी व्रत गरेकी र यो व्रतका प्रभावले भगवान् शिव-शङ्करलाई पतिस्वरूप प्राप्‍त गरेको जनश्रुतिबाट पनि यसको महत्त्वलाई धर्मकर्म गरेर सम्पन्न गर्ने पर्वका रूपमा पनि लिने गरेको पाइन्छ ।

यसरी, तिज पर्व मनाउने हिजो र आजको प्रचलन फरक भए पनि यसको पौराणिक पक्षले एकातिर धर्मका माध्यमबाट आफ्ना मान्छेको आरोग्यता र दीर्घायुको कामना गर्ने विशेषता बोकेको छ भने अर्कातिर गीतसङ्गीतका माध्यमबाट आफ्ना दुःखसुख व्यक्त गर्दै सबैका माझमा नाचेर गाएर रमाउने अनि मिठो मिठो खाएर मनाउने पर्वको पहिचान बोकेको छ । आधुनिकतासँगै यसका विकृत पक्ष पनि देखिन थालेका छन् । त्यसैले तिजको वास्तविक महत्त्वलाई बुझेर अनावश्यक तडकभडक नगरी आफ्नो क्षमताअनुसार सभ्य तरिकाले भव्य रूपमा मनाउँदै रमाउनु हामी सबैका लागि बुद्धिमानी हुने छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button