
दुख्खमा साथदिने छोरा पुकार
लघुकथा: याचना
लक्ष्मण ज्ञवाली
तिलोत्तमा १, नीलगिरि पथ, शंकरनगर, रूपन्देही
बाथरूमबाट एक्कासी धडाम्म टणाङ् टुणुङ् केही पल्टिएको आवाज आयो ।
बिहानको खानापछि बैठक कोठाको अध्ययन कक्षमा अध्ययनरत शिवध्वजले उक्त आवाज सुन्न सक्नुभएन । उमेरले एकानब्बे पार गरिसकेका उहाँको केही वर्षयता श्रवणशक्ति शून्य प्राय भएर बस्नु भएको छ । ८४ कटेकी श्रीमती गौरीको पनि हालत उस्तै छ । कोठामा धेरै बेर सन्नाटा छायो ।
निकैबेरसम्म पनि श्रीमतीको उपस्थिति नदेखेपछि शिवध्वजले सबै कोठा चोटा चाहार्नु भयो । नभेटेपछि हतारिदै बाथरूम तिर जानु भयो । हेर्दा । त … ! रूम भित्रबाट बन्द थियो । ढोका ढक ढक पार्नु भयो, ढोका खुलेन । लामो समय भैसकेको हुँदा उहाँ आत्तिनु भयो । ढोका जोडले ढ्याम्म धकेल्नु भयो । ढोका खुल्यो ।
ढोका खुल्दा त गौरी अचेत अवस्थामा पल्टेकी । दुबैजना श्रवण शक्ति गुमाएका जेष्ठ नागरिकको पिडा बताइ नसक्नुको छ । बिभिन्न रोगले ग्रसित क्लान्त शरीर चिप्लिएर पल्टिँदा उनको दाहिने हात भाँचिएछ । कति रोइन् होला ! कति चिच्याइन् होला । तर, उनको आवाज सुनिदिने कोही भएन । उनी बेहोस भएर लडिन् ।
तेस्रो तल्लामा बसाई गरेका शिवध्वजले ढोकातिर आएर गुहार लगाउनु भयो । पुकार ! ए पुकार ! माथी आउ न बाबु । घरभेटी बाको हतारिएको बोली सुनेर पुकार माथी पुगे । घरभेटी आमाको अवस्था नाजुक देखेर तुरून्तै अस्पताल पुर्याएर उपचार सुरू गरे ।
खाता पिता परिवारका एक मात्र छोरा सपरिवार विदेशिएको वर्षौं भैसकेको छ । उनीहरू विदेश गएदेखि पुकार यही ल्फेटमा बस्दै आएको छ । आज दुख्खमा साथदिने छोरा पुकार बनेको छ ।
शिवध्वज सोचमग्न हुनुभयो । हामी दुबै श्रवण शक्ति नभएर पनि खुसी थियौँ । सुखी थियौँ । आ-आफ्ना काम इशाराकै भरमा मिलेर गर्थ्यौ, झगडा कहिल्लै पनि गरेनौँ । मेरा कुनै नमिठा अभिव्यक्ति उनका कानले सुन्न पर्दैनथ्यो । त्यसैगरी उनका नमिठा कुरा मैले पनि । यसै गरी हाम्रो जीन्दगी यहाँ सम्म आईपुगेको हो । जीर्ण बृद्ध शरीरका काँपी रहेका हात जोड्दै शिवध्वजले प्रकृतिसँग याचना गरिरहे ।
हाम्रो साथ नटुटोस् । हामी आउने छौँ । सँगै आउने छौँ । तिम्रै गीत गाएर, तिमीमै लीन हुन आउने छौं । त्यति नै बेला बाहिरबाट कसैले ढोकामा संकेत गर्यो, ‘टक टक टक ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)