
आमाघर पनि कारागार, लोग्नेघर पनि कारागार
रितु शाक्य
अस्पतालको प्रजनन कक्षबाट च्या च्या शिशु रोएको आवाज सुन्नासाथ घरपरिवारका सदस्यहरुको मनमा कौतुलता जाग्न थाल्छ । छोरा कि छोरी भनेर । सिस्टर बाहिर निस्केर सूचना दिन्छिन् कि लक्ष्मीको आगमन भएको छ । छोराको आशा लगाएर बसेका सबै निरास हुन्छन् । तैपनि अब परिस्थिति बदलिन सकिदैन । सो स्वीकार भावमा जान्छन् । छोरा या छोरी हुनुभन्दा शिशु जन्माउने आमाको कष्ट चै कसैको मानसपटलमा आउँदैन । त्यहाँ बच्चा जन्मिसकेकाहरु पनि प्रजननको पिडा भुल्दो होलान् शायद ।
छोरी लक्ष्मी त भनियो तर शब्दमा मात्र । छोरी पराया धन भन्ने मान्यता भएको हाम्रो समाजले उसलाई के लक्ष्मी मान्थे र । छोरा र छोरीबीच मतभिन्नता हुन्थ्यो नै । हुर्किंदै गरेकी उनी समयसंगै हिस्सी पर्न थाली । फुलबुट्टे जामामा सजिएर छमछम नाच्दा पनि उत्तौली भनेर गाली बर्सिन्थ्यो । कति परिधि भित्र रहेर बाच्नु पर्ने बाध्यता । उफ् ।
त्यो कोमल मनले यस्तै होला जिन्दगी भनेर स्वीकार गरी ।
समयको बहावसंगै हुर्कदै गरेकी उनी विद्यालयबाट महाविद्यालय प्रवेश गरिन् । धेरै कुरा बुझ्ने समझदार विवेकशील हुँदा पनि घरमा भने उनको कुनै अस्तित्व खासै थिएन । सोह्र वर्षमा प्रवेश हुने बित्तिकै बिहेको सुरसार हुन थाल्यो । छिटोभन्दा छिटो राम्रो केटोलाई भिराइदिन पाए बोझ हट्थ्यो भन्ने सोच्थे। छोरी राजी छ या छैन मतलबको बिषय नै थिएन । करकापमा बुवा दाजुको निगरानीमा बिहे पनि हुन्छ ।
अब त केहि राम्रो होला कि भनेर सोचेकी उनी झन् पिडित हुनपुग्छिन् । एउटा कारागारबाट अर्को कारागारमा स्थान्तरण गरिएको जस्तो । माइतीमा त कमसेकम बोल्न त पाउँथ्यो । लोग्नेघरमा त पुरै मौनधारण नै गर्नु पर्ने अवस्था भयो । झनै गारो । घरबाट पराया धन भनिएर हेला लोग्नेघरमा अर्काका सन्तान भनेर हेला । आखिर हेला त जहाँ पनि खेप्नु नै रहेछ । घरमा बुवाको आदेश पालन अब लोग्नेघरमा ससुरा, सासु, जेठान, जेठानी, देवर, श्रीमान् सबको आदेश पालन गर्नु पर्ने बाध्यता । जीवन आफ्नो नै होइन कि जस्तो लाग्थ्यो । केवल सबको खुसी र राजीमा जिउनु पर्ने । कस्तो जीवन ? दिक्क मान्थी ।
समय एवंरितले चल्दै थियो । उनको पदोनत्ति हुने भो । गर्वमा भ्रुण आएपछि खुसीका दिनहरु आए र बुहारीबाट आमाको स्थान मिल्ने भो भनेर आनन्दित बनेकी उनी गर्भवती हुने क्रम र प्रजननको पिडाबाट अछुतो त रहन सकिनन्, जसोतसो तमाम पिडामा पनि केहि खुसी खोज्दै मनमा अनेकन अपेक्षा राख्दै झिनो खुसीको आशामा जीवनका मोडहरुलाई पार गर्दै जाँदा आफ्ना सन्तानहरु कतिखेर ठुला भए पत्तो नै भएन ।
शायद जीवनले अझै परिक्षा लिन नसकेको हो कि अचानक श्रीमानको मृत्युले अर्को बज्रपात थपियो । तैपनि छोराछोरीको सहारा छ नि भनेर मनलाई बुझाउन थालिन् । तर भाग्यको खेल अर्कै थियो । श्रीमान बितेपछि त बिस्तारै परिवारमा उनी छोराछोरीको नजरमा पनि बोझ नै हुन पुगिन् । आधुनिक संस्कृति र विदेशी संस्कारले गाँजेको कारण उनलाई उचित व्यवहार गरेनन् सन्तानले पनि । दुखीको जीवनमा दुख नै दुख हुँदो रहेछ भनेर एकान्तमा आफ्नो झार्थिन् । जिन्दगी कहिले स्वतन्त्र भएन । नारीको जीवन सधै परतन्त्रमा नै निहित हुनुपर्ने बाध्यता । कस्तो कहालीलाग्दो यो जिन्दगी ।
सबका लागि मरिमेट्ने उनी आज उनको आँशु पुछिदिने पनि कोहि छैन । जीवनको अन्तिम अवस्थामा आइपुग्दासम्म पनि आनन्दको सास फेर्न नपाउने अवस्थामा मृत्यु कुरेर बसेकी उनको यो सब अवस्था को जिम्मेवार को हो ?
यो एउटा प्रतिनिधि कथा मात्र हो तर आजको समाजको ऐना हो । समाज, देश र भौतिक संसार जतिसुकै विकसित भनिरहँदा पनि संस्कार, सोच र चेतना विकसित नहुँदाको विकराल परिस्थिति हो यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)