
राजनीतिका बाछिटा प्रवाससम्म !
सुशील लामा
राजनीति शब्द नै काफी नीतिहरुको राजा । राम्रा-राम्रा नीति र विधि बनाएर देश र देशभित्र रहेको जनताको जिवनलाई सुन्दर अनि सुरक्षित बनाउने विधि । जानकार बिद्वत बनेर यो शिर्षकलाई अगिंकार गरेर यो कुराहरु लेखी रहेको छैन । म भुंईँमान्छे, देखेको र आफैंले भोगेको कुरालाई ओकल्न मन लागेर गरेको कोशिश मात्रै हो ।
भुमण्डलीकरणको उपज भन्दै दर्जनौं देशहरूमा हामी नेपाली पुगेका छन् । बिरताको गौरवमय इतिहास कोर्न सफल नेपाली आज कर्मशिल नेपालीको पहिचान बनाउ उद्धेलित हुँदैगरेको अवस्थाहरु जगजाहेर छ । कोहि रहरले । कोहि बाध्यताले ।
शिक्षा अपरिहार्य जिबनको लागि । दु:ख-सुख गरेर सुरु गर्छ पढ्न स्वदेशमा जब माध्यमिक तहको शिक्षा हासिल गर्छ । जोसुकै होस् जुनसुकै ठाउँबाट प्रतिनिधित्व गरेको होस् । अपवादबाहेक सबै-सबैको योजना परदेशकै हुन्छ । चाहे पढ्नको लागि होस् या काम गर्नको लागि होस् ।
साँच्चै मैले देखेको आफ्नै गाउँको कथा । गाउँमा घरहरु छन् । घरमा मान्छे नि बस्छन् । तर युवा मान्छेहरु बिरलै पाईन्छ । युवाशक्ती पलायन हुनुभनेको घाटा हो देशको निम्ति । पलायन भएबापत बैंदेशिक मुन्द्रात भित्रीन्छ । दु:खको कुरा त्यहीँ भित्रेको पैसा जिबन बाँच्न चाहिने आधारभुत कुराहरु आयात गर्न पैसा पठाएको मान्छे जसरी फेरि निर्यात हुन्छ अन्तै कुनै मुलुकमा ।
कुरा आफ्नै गरौं । जिबनको महत्त्वपूर्ण समय अरुको देशमा खर्चेको निक्कै बर्ष भैसकेको छ । रहरले, बाध्यताले कसैले ठेलेर परदेश पठाएको हो भन्दिन म । जिबन बाँच्ने क्रमको एक प्रकार ठान्ने गर्दछु । आफ्नो खेतवारि बाँझो छोडेर आर्काको देशको उराठ मरुभूमिको बगैंचामा दुबो रोपेर हराभरा बनाएको कर्म सहि हो वा गलत हो केही भन्न सक्दिन म । हामी दोष अरुलाई दिन जानेको छौँ । आफुले के गर्दैछु भन्ने कुराको अवलोकन कहिल्यैं गर्दैनौं । अरुले जे गर्यो त्यहीँ गर्नुपर्ने संस्कृतिले गर्दानी थुप्रै तन्नेरी युवा-युवती आप्रवाशी बनेको छन् । आफ्नो हो भन्ने हक नभएका देशहरुमा । भलै खर्चेको समय सँग सुम्पेको रगतपसिना बापत आएको रेमिट्यान्स ले देशको अर्थतन्त्रलाई टेवा दिएको छ ।
प्रजातन्त्रको आगमनसँगै मौलाएको बैंदेशिक रोजगारको गति निरन्तर अघि बढ्दै गरेको सत्यलाई नकार्न सकिँदैन । अझ प्रजातन्त्र सँगै पाउलिन थालेको लथालिङ्ग-भताभुंग राजनीतिले मान्छेलाई मात्रै होईन । खोला, नाला, जंगल, भिर, पखेरा धरी राजनीतिमय बनेको छ ।
हुँदाहुँदा आफ्नो देश छोडेर आर्काको मुलुकमा श्रमगर्न आईपुगेको साथिभाईमा भएको, गरेको राजनीति देख्दा खोइ के भनौं खुशी लागेर आउँछ । तन्नेरी बैँस बाध्यताको पेरुङ्गेंमा खाँदेर निस्कन्छन् परदेश सबै-सबै आफ्नाहरु छोडेर । बा-आमा,इँष्ट-मित्र, थुप्रै मन परेको वस्तुहरु छोडेर झर्छन् । तर राजनीतिलाई छोडेर जिऊँन नसकिदो रहेछ ।
मेरो मतलब राजनीति गर्नैं हुन्न । राजनीतिबाट टाढा रहनु पर्छ भन्न खोजेको होईन । परदेशमा नानाथरी पार्टिको झण्डा बोक्नु गलत हो भन्न खोजेको पनि होईन । कसैंको नैसर्गिक अधिकार माथी बोल्ने अनुमति छैन मसँग । र पनि राजनीतिको नाऊँमा झाँङ्गेको बिकृती देखेर मनमा लागेको कुरा शेर मात्रै गर्न खोजेको हुँ । एकजना स्वतन्त्र नेपालको स्वतन्त्र नेपालीको हैसियतले ।
अनेक राजनीतिको भातृ संगठनदेखि क्षेत्रीय, केन्द्रीय, जातिय संघ र संगठन च्याँऊ सरि उम्रेको कुरालाई नजर अन्दाज गर्न कहाँ सकिन्छ र हजुर । त्यसैले त ओकल्दैंछु मनको कुरा ।
अलिकति कुरा शेर गर्छु । आफैमाथी घटेको ।
केही समय अगाडि एकजना यतैं आएर परिचीत भएको मित्रले सोध्यो मसँग, “ओँई लामा तँ कुन पार्टी सँग आवद्ध छ ?”
“मेरो मित्रको प्रश्न मलाई !”
म कुनै पार्टी सार्टी होईन साथी । नेपालको नेपाली पार्टी हुँ भन्दा साथीको छुराको प्रहार जस्तो दुख्ने प्रतिक्रिया ले साँच्चिकै मुटुमा चसक्क दुखेको कुरा भुल्न सक्दिन मैले ।
“खोइ थाहा छैन शिलशिला कहाँ पुगेर रोक्ने हो ?”
बेलाबेलामा आईबकसन्छ नेपालदेखि चर्चित केन्द्रिय नेताहरू । आउँछन् रगतपसिना साँटेर सस्तो जीवन बाँच्दै गरेको नेपाली अन्तर्राष्ट्रिय मजदुरहरुको स्वागतमा मिठा भाषण ओकल्छ्न् । दुईचार दिन घुम्छ्न् । ध्वाँसे सपनाहरू बाँडफाँड गर्छन् अनि फर्कन्छ्न् ।
परदेशमा रहेका कार्यकर्ताहरु परम पुजनिय नेताले देखाएको सपनामा ठुला-ठुला योजना हात पार्छन् कल्पनामा । अनि आफु-आफुमै दम्बको बिजारोपण गर्छन् । अनि फलाकछ्न् जिबन आदर्शको कुरा । राजनीति दर्शनको कुरा । हजारौं माईल टाढाको साईनो नभएको माओको कुरा । लेनिन र कार्लमाक्सको कुरा । लाग्छ, उहाँहरुको कुरा सुन्दा राजनीतिक दर्शनशास्त्री प्लेटो जिउँदै भएको भए राजनीति सिक्न आऊँथ्यो होला ।
सितयुद्ध चकाउदैँ एउटै देशको उस्तै-उस्तै सपना बोकेर आएको नेपाली-नेपालीहरु तिमी यो पार्टिको, म यो पार्टीको, फलना त्यो पार्टिको भन्दै मन फटाउछ्न् । सामाजिक संजालमा युद्ध छेड्छन् । मिल्ने भए पार्टीको नाऊँमा रेलिङ्ग तोडेर सडकभरी टाएर जालाउथ्यो होला । तर संभव नभएर त्यस्तो गर्दैनन् अरुको देशमा । मन मनै जिन्दावाद र मुर्दावादको नारा लगाउदैं परदेशी सडकभरी थरिथरिको झण्डा बोकेर जुलुस निकाल्छ्न् ।
सिंगो देशको प्रतिनिधित्व भन्दा एउटा जिल्लाको, एउटा जातिको, एउटा क्षेत्रको, आ-आफ्नै धर्म र संस्कृतिको माया गर्नेहरु देखिन्छन् । मैले यो कुरालाई नराम्रो भन्न खोजेको होईन । परदेशमा चिन्ने परिचय भनेको नेपाली हो भन्ने कुराको । कहिले आउँछ होला मनमा हेक्का ।
सयौं थुङ्गां फुलको हामी सारा नेपाली… !
कठै के भन्दो होलान् राष्ट्रिय गानाले ? आफू-आफुमै टुटेका- फुटेका मान्छेहरुलाई देखेर ।
एउटा समाजले आर्को समाजको कुरा बहिष्कार गर्छन् । यो जात र त्यो जात, यो ठाउँ र त्यो ठाउँ, के भो त जो जहाँ सुकैको भएपनी हामी नेपाली हौं । जुनसुकै जातको भएपनी सबैको रगत रातोनै हुन्छ । सबैलाई लाग्ने भोक, लाग्ने प्यास उस्तै हो क्यारे र पनि रमिते बन्दैगरेको देख्दा अरुको मुलुकमा… ।
किन नमिल्ने हामी ? किन एक नहुने हामी ? तर यस्तो कुराको सुनवाइ मात्रै सपनाहरुमा मात्रै हुने हो । अझ आधुनिक क्रान्तिकारी राजिनितिले निम्त्याएको जातीय राजनीतिको कुरा गरि साध्य छैन हजुर परदेशमा । अनेक जातजातिको संघ-संगठनले गर्दा नेपाल र नेपाली भन्ने कुरा पासपोर्टमा सिमित भएको छ ।
म यो जातीय संगठनको प्रमुख हुँ । तिम्रो अतिवादी जातले राज गरेर हामीलाई सीमान्तकृत बनायौं । अब हिसाबकिताब हुन्छ युगले मुहार फेरेको छ भन्दै कुर्लिन्छ ड्यासमा उभिएर । लाग्छ यिनको भाषण सुन्दा कतै फेरि आर्को प्रचण्ड जन्मेको त होईन । दुख लाग्छ यस्तो अवस्था देख्दा । के को लागि आएको हो भन्ने कुरा बिर्सेर । नेता र नेत्री बन्ने आभिलाषामा पूरा छिन्न-भिन्न बनाएको छ राष्ट्र र राष्ट्रियतालाई ।
परदेशमा मरे म नेपाली भएर मर्नेछु भन्ने कुराको हेक्का नराखी जातको नाऊँमा, धर्मको नाऊँमा, क्षेत्रको नाऊँमा, पार्टीको नाऊँमा गरेको कुरुप राजनीतिले थाहा छैन कस्ले कस्लाई हराउने हो । कस्ले कस्लाई जित्ने हो ।
संसारकै सुन्दर राज्य नेपालको हबिगत यस्तो हुनुको कारण मध्यको कारण प्रमुख कारण लथालिङ्ग राजनीति पनि होकि जस्तो लाग्छ । महंगो समाजवादी शहर हरुमा सस्तो श्रमको कारोबार गर्दै गरेको भुईँमान्छेको बिचारमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)