
कुनै दिन फोन आएन भने बाआमाका मनमा के आउँछ ?
अत्यास्
प्रकाश बेल्बासे
बाको सपना,
छोराको भिसा लागोस् !
त्यसपछी,
आमाले छोरा फर्किएको सपना देख्न थाल्छीन् ।
अनि बिस्तारै बिस्तारै, सुस्त सुस्त
बा/ आमैमा परिवर्तनहरु देखा पर्न थाल्छन् ।
आमा र बा पहिला जस्तो कुरा गर्दैनन् । ठट्टा गर्दैनन् !
केही कुरा खान मनले रहर गर्दैन । कतै भोज भतेर पुग्न जाँगरले अल्छि मान्छ । थाहै नपाई कमजोरीले गाल्छ ।
न बारिको फेरामा केरा पाक्दा हर्क लाग्छ । न आगनको आरु फुल्दा अनुहार फुल्छ । न बाजा बजेको मन पर्छ । न कोही नाच्दा हेर्नस् लाग्छ ।
मनले एउटै कुरा खोज्छ, फोन ।
साँझ फोन आउँछ । फोनको भित्तामा छोराको अनुहार आउँछ । ठिक त्यहि बेला बाको आँतमा जाँगर आउँछ । आमाको मुहारमा हर्ष आउँछ ।
फोन सकिन्छ, सवै सकिन्छ । बस् एउटै थोक दिमागमा आउँछ, अब भोलीको साँझ कतिवेला आउँछ ।
एउटा फोनले, भोक ल्याउँछ । दवै खाने जाँगर ल्याउँछ । बा/आमाका बिच एक्कैछिन गफको बिषय ल्याउँछ ।
त्यसपछि अँध्यारो रात आउँछ । छटपटि आउँछ । अलिवेर पछि निद्रा आउँछ । निद्रामा सपना आउँछ । सपनामा सन्तान आउँछ ।
सपना प्राय: अक्तिलो आउँछ । जिउ लुल्याउने आउँछ । अनि बल्लतल्ल बिहान आउँछ ।
त्यसपछि दिमागमा एकैथोक मात्रै आउँछ, भरे कतिखेर आउँछ ।
भरे आउँछ, फेरि फोन आउँछ ।
कुनै दिन आएन भने फोन, बिचार गर्नुस् त- गाउँमा रहेका बा/ आमाका मनमा के आउँछ ?
न ध्यानमा दवै आउँछ । न भोक आउँछ । बस् मनमा चिसो आउँछ । कि भयो की- फगत भुटो आउँछ ।
त्यो दिन न निद्रा आउँछ न सपना आउँछ ।
न बा/ आमाबिच गफ आउँछ ।
आउने एकैथोप,
साँझ कतिखेर पर्ला छटपटि आउँछ ।
यस्तै छ । मेरा टोलतिर यस्तै छ । गाउँभरि यस्तै छ । देशैभरि यस्तै छ ।
फोनले आस र सास जोगाएको छ ।
आउँछन् भन्ने आस् । सँगै बस्छौँ भन्ने आस् ।
त्यहि आसमा- छोरालाई खेत चाहिन्छ भनेर, बाँझो राख्दैनन् बा । नसकेरै, काँसेरै, धकेरै, लत्रेरै बाहरुले गरिरहेका छन् ।
आमाहरुले घर स्यार गरिरहनुभएको छ ।
आगनमा आँप फुल्छ, बाले सुसार गर्नुहुन्छ । फल्छ र पाक्छ, तर खाँदैनन् बा / आमा- सन्तानको कलेसले आँप ताछेर खान मनले दिन्न ।
खस्छ, कुहिन्छ ।
मनले सम्झिरहन्छ- केटाकेटि भा कति खाँदा हुन् ।
पहिला पहिला बेलौति फल्दा आमाले काँडा राख्नुहुन्थ्यो बुटाको फेँदमा । पाक्ला र केटाकेटिले खालान भनेर । बेलौति हँडेलामै सकिन्थे । गाउँका केटाकेटिहरुले काँडा फालेर सक्थे ।
अचेल, बेलौती पाकेर कुँहिदासम्म पनि खाने कोहि हुँदैनन् । आमाले बाटो हिँड्ने कोहि खोजिरहनुहुन्छ, र कोहि भेटिए टिपेर दिनुहुन्छ ।
सन्तान घर फर्कन्छन् भन्ने आस सबैलाई छ । यसैले त गाउँमा, बा/ आमाहरु- सकिनसकी घर बारि स्यारेर बस्नुभएको छ ।
उहाँहरुलाई अब यि पाखापखेरामा सन्तान आउन्नन भन्ने कता कता लाग्छ तर मनले मान्दैन ।
कहिलेकाँही त एक्लै बडबडाउनु हुन्च- ह्याँ न आएर काँ जालान् र !
साँच्चै काँ जालान् ? कहाँ गएका छन् ?
कोही कमाउन बिदेश गएका छन् । कोही देशमै शहर गएका छन् । कोही ब्या गर्न आउने गरि गएका छन् । कसैले ब्या गरि बुहारी लिएर गएका छन् ।
नाति नातिना उनैसँग छन् । थिए, बा/ आमैसँग पनि स्याना हुँदा आफ्ना सन्तान काखैमा थिए ।
समय बदलियो । बा/ आमाको धुन बदलियो ।
बिहान उठेर डोको खोज्ने जमाना पनि थियो । अहिले समयले गेस्टिकको टेप्लेट खोज्न लाउँछ ।
उनिहरुले सन्तानको अनुहार हेरेर उसका समस्या थाहा पाउँथे । अहिले उनिहरुका अनुहार हेर्ने को छ ? समस्या बुझ्ने को छ ?
त्यै एउटा फोन छ ।
के गाउँमा बस्ने सवै बा/ आमाहरुका फोनमा हरेक दिन सन्तानले घन्टि बजाउँछन् ?
जन्माई, हुर्काई, पढाई त्यसैको बलमा गाउँबाहिर बसेका सन्तानहरुबाट फोनसम्म नपाउने बा/ आमालाई- ति सन्तानले दिने सुख कस्तो हो !
तपाई को हो ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)