किन फेरि पत्रिकाका अक्षरहरू धमिला देखिए ?

प्रेरणा कथाः धमिला अक्षर

जुनु ढकाल
नयाँ बानेश्वर, काठमाडौं

सानेपामा दन्त चिकित्सकसँग छोरीको दाँत जँचाएर हामी निस्कियौं । छोरीलाई आइसक्रिम खान मन लाग्यो । मैले तिम्रो दाँतको समस्या छ, अहिले आइसक्रिम नखाए हुन्थ्यो भनेर छोरीलाई सम्झाएँ तर उनले जिद्दी गरिन् । हामी आइसक्रिम पसलको खोजीमा दायाँबायाँ हेर्दै हिँडिरहेका थियौँ । एउटा चौतारीमा बसेर एकजना ७० वर्षको हाराहारी उमेर पुग्नु भएको बुवा हातमा कापी र कलम लिएर केही सोच्दै लेख्दै गरी रहनु भएको थियो ।

हामीलाई जिज्ञासा लागेर बुवाको छेउमै गएर उहाँलाई सोध्यौ । उहाँले आफ्नै जीवनमा भोग्नु भएको कथा लेख्दै हुनुहुँदो रहेछ । उहाँको कुरा सुनेर हामीलाई अझै बढी चासो लाग्यो । उहाँले आफ्नु जीवनको कहानीको धेरै भागहरुमध्ये एक भाग आज लेख्नु भएको रहेछ । हाम्रो अनुरोधमा उहाँले चस्मा लगाउँदै कापी पल्टाएर आज लेखेको भाग पढेर हामीलाई सुनाउनु भयो ।

कथा यस प्रकारको थियोः

म खाना नखाई बाँच्न सक्छु होला तर दैनिक एउटा दुइटा पत्रिकाको खबर नपढी बस्न सक्दिनँ । म अवकाश प्राप्त निजामती कर्मचारी हुँ । सेवामा बहाल रहँदादेखिकै मेरो बानी हो पत्रिका पढ्ने । बिहान उठेर नित्य कर्म सकेपछि गेटमा गएर पत्रिकाको बाटो हेर्छु । जब साइकलको घण्टी बजाउँदै पत्रिका बोकेर एकजना भाई आउँछन्, तब म पत्रिका लिएर दंग भएर घाममा राखिएको कुर्सीमा बसेर वेपर्वाह पत्रिका पढ्न थाल्छु ।

सधैं झैं आज पनि पत्रिका हातमा लिएर पढ्न लागेको थिएँ तर मैले त्यसमा लेखिएको अक्षर पढ्न सकिनँ । मधुरो भएर आँखामा जालो लागे जस्तो तीरमिर भएर आयो । आँखा मिचेर फेरि हेर्ने कोसिस गरे तर कसै गर्दा पनि शब्द छुट्याएर पढ्न सकिनँ । मलाई के भएको होला भनेर लगाई राखेको चस्मा निकालेर राम्रोसँग सफा गरेँ । फेरि उस्तै देखियो ।

एउटा हातमा पत्रिका र अर्को हातमा चस्मा बोकेर छोराको कोठामा पसेँ । छोरो आफ्नु ल्यापटपमा केही काम गरिरहेको थियो । मेरो समस्या छोरालाई सुनाएर चस्मा फेर्न जाने इच्छा व्यक्त गरेँ । कुरा सुनेर छोराले झर्केर भन्यो, ‘म मेरै अफिसको काममा व्यस्त छू । दिउसो बुहारीसँग गएर चस्मा बनाएर आउनु ।’

म मुन्टो हल्लाएर भान्सामा गएँ ।

बुहारी खाना बनाउन लागेकी रहेछिन् । मैले नम्र भएर बुहारीलाई भनेँ, ‘सपना, आज दिउँसो बाबुलाई स्कूल पुर्याउँदै तिमी र म एकछिन मेरो चस्मा बनाउन जाउँ है !’ मेरो बोली भुइँमा झर्न नपाउँदै बुहारीले कर्कश स्वरमा बोलिन्, ‘मैले सात दिनबाट पार्लर जाने सोच बनाएर बल्ल आज समय मिलाएको छु । फेरि पोहोर मात्र त्यत्रो १५०० खर्च गरेर बनाएको चस्मा किन अहिले नै फेर्नु पर्यो ? के पैसा बोटमा फल्छ जस्तो लाग्छ तपाईंलाई ?’

बुहारीको वचनले मेरो हातमा रहेको पत्रिका भुँईमा खस्यो । म मेरो त्यही मधुरो चस्मा लगाएर मन खिन्न बनाउँदै आफ्नु कोठामा फर्केर जान लागेको थिएँ, मेरो अनुहार देखेर बैठक कोठामा खेलिरहेको मेरो आठ वर्षको नातीले मेरो हात समातेर सोध्यो, ‘हजुरबुवा, के भयो तपाईंलाई ? कि आज पनि मामुले गाली गर्नु भयो, हो ?’

त्यो अबोध नातिलाई बोकेर म आफ्नु कोठा पसेँ । उसलाई मैले अनायासै भर्खर घटेको सबै घटना सुनाएँ । मेरो कुरा सुनेर नाती भावुक भएर मलाई अंगालो हालेर बोल्न थाल्यो, ‘आज म स्कुल जान्न, हजुरलाई लिएर चस्मा बनाउन जान्छु । बाबा अफिस र मामु पार्लर गएपछि मेरो खुत्रुकेबाट पैसा निकालेर हजुर र म चस्मा बनाउन जानु पर्छ है ।’

त्यति भनेर ऊ रुन थाल्यो ठूलो आवाज निकालेर, ‘मलाई पेट दुख्यो, आज स्कूल जान्न ।’

त्यतिको बहाना बनाएर मेरो नाती आज स्कूल जानबाट बच्यो । छोरा–बुहारी निस्केपछि उसले आफ्नो खुत्रुकेबाट पैसा निकाल्न मलाई सहयोग माग्यो । मैले उसलाई यसो गर्न दिइनँ । आफ्नु पेन्सनको पैसा बुहारीलाई घर खर्च दिएर थोरै जोगाएको थिएँ । त्यही पैसा लिएर नातिको हात समाएर म चस्मा बनाउन गएँ । चस्मा बनाएर आएर हतारहतार पत्रिका पढ्न थालेँ ।

हेडलाइन पढ्दा नै म भावुक भएँ, जेष्ठ नागरिक दिवसको अवसरमा उहाँहरुको सम्मानमा खादा वितरण भनेर समाचार छापिएको थियो । मेरो मनमा सयौं प्रश्नहरू आए, जेष्ठ नागरिकहरुको आजको आवश्यकता खादा हो कि चस्मा हो ? घृणा हो कि माया हो ? हेँला हो कि सम्मान हो ? यतिकैमा मेरो आँखाबाट झरेको पानीको थोपाले फेरि पत्रिकाका अक्षरहरू धमिला देखिए ।

कथा सुनेर मेरो आँखा रसाएर आयो, गला अबरुद्ध भए झैँ भयो । केही बोल्न सकिनँ । छोरीतिर फेरि हेरेँ, ध्यानपूर्वक कथा सुनिरहेकी हाम्री छोरीले कथा सुनी सकेर भावुक हुँदै भनिन्, ‘बाबा ! म आइसक्रिम नखाने । मैले आइसक्रिम खाएँ भने मेरो दाँत अझ खराब हुन्छ ।’

‘… अनि म उहाँ हजुरबुवा जस्तै बुढो भएपछि मसँग पनि दाँत उपचार गर्ने पैसा नहुनसक्छ । त्यसैले आजैबाट म पैसा बचत गर्छु । अहिले धेरै पटक आइसक्रिमवालालाई दिने पैसा मैले खुत्रुकेमा जम्मा गरेँ भने मलाई भविष्यमा बुवाको जस्तो समस्या आयो भने त्यो पैसाले मेरो उपचार हुनेछ ।’

छोरीको कुराले हामी झन् चकित भयौं । हामीलाई लाग्यो, भविष्यसम्म आफ्नु स्वास्थ्य राम्रो राख्नको लागि बच्चा बेलादेखि नै ध्यान पुर्याउन जरुरी हुने रहेछ । समय धेरै बितिसकेको थियो । फेरि पनि उहाँका जीवनका यस्ता कहानीहरु सुन्न बेला बेला त्यो चौतारीमा आउने वाचा गरेर बुवासँग बिदा भएर हामी घरतर्फ छिटो छिटो पाइला अगाडि बढायौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button