घुँडा टेकेर प्रेम प्रस्ताव राख्न ल्याएको गुलाफ, घुँडा त टेकेँ तर श्रद्धाञ्जली दिन

अन्तिम पन्ना

एलिशा थाम्देन लिम्बु
कोशी सेन्ट जेम्स कलेज, इटहरी–९, सुनसरी

थिएन जीवन यस्तो
थियो पहिला जस्तो
नघट्नुपर्ने दुर्घटना त्यो
किन मेरै जीवनमा घट्यो
जीवन बाँच्ने सहारा त कलम भयो
जीवन जिउने आधार त आफैले लगेर गयो ।

भनिन्छ, हरेक सफल व्यक्तिको कष्टकर कथा हुन्छ । एक सफल साहित्यकारको नि यस्तै कहानी छ । धेरैको मन जित्ने उनका लेखहरु सधैँ एउटै व्यक्तिलाई समर्पित हुन्छ । र, यो रहस्य उनको २५ वर्ष पुरानो डायरीको अन्तिम पन्नामा दबिएको छ, जुन मैले खोल्न पुगेँ ।

फेब्रुअरी १, त्यो मेरो जीवन कायापलट गर्ने दिन थियो । म र मेरा साथीहरू फूटबल खेल्दै थियौं । म एक छिन थकान मेट्न खेलमैदान बाहिर निस्किएँ ।

अचानक मेरा आँखा मृगनयनमा ठोकिन पुगे । काला-काला आँखामुनि कालो गाजलको रेखा, नेप्टो-नेप्टो नाकमा टिलिक्क टल्किएको फुली, सेता दन्तलहरको छेउमा निस्किएको दारा, कालो रेसमी कपाल अनि पिपल पाते ओठ !

एक टकले उनलाई हेरिरहेँ । प्याट्ट रमेशले मेरो टाउकोमा हान्यो, ‘के हेरेको ट्वाल्ल आज मात्र आकांक्षलाई देखेको जस्तै !’

ल्या ! बल्ल पो चिनेँ । उनी त हामीसँगै २ वर्ष अगाडि पढ्ने साथी पो रहेछिन् ।

म एकदमै खराब विद्यार्थी थिएँ । म स्कुल जानुको कारण नि त्यही भकुण्डो थियो । न कापी न कलम, भकुण्डो उडाउन पाए मलाई पुग्थ्यो । तर, त्यस दिनदेखि मेरो स्कुल जाने नयाँ बहाना भयो । आकांक्षाका नयनले घायल भएको दिललाई दिलाशा दिन स्कुल जान थालेँ । उनी प्रायः मुस्कुराइरहन्थिन् तर मलाई लाग्थ्यो, मलाई हेरेर मुस्कुराएकी होलिन् । मलाई उनको नजिक जान अनि उनका ओठबाट ठोकिदै निस्केका हरेक शब्दहरुलाई स्पर्श गर्न मन लाग्थ्यो । उनको ध्वनिबाकसबाट निस्केका हरेक मिठा शब्द मेरै लागि निस्केका होलान् झैँ लाग्थ्यो । उनी बोल्दा आँखा झिमिक्क नगरी हेरिरहुँ झैँ लाग्थ्यो तर ममा त्यत्रो आँट थिएन । उनीसँग कुराकानी गर्न त मन लाग्थ्यो तर उनको अगाडि बोली नै फुट्दैन्थ्यो ।

उनीप्रतिको मेरो प्रेम मेरो मनभित्र थोपा थोपा हुँदै समुन्द्र र माना पाथी हुदै मुरीसम्म बढेर पुगिसकेको थियो । तर त्यो कुरा न त म उनलाई नै भन्नसक्थेँ न त मेरा साथीहरूलाई नै । त्यसैले मैले पनि आफ्ना भावना कागतमा कहिले कविताको रुपमा त कहिले गजलको रुपमा कोर्न थालेँ । कागतको प्लेन बनाइ उडाउने म अचानक कागतको सिरानी लगाउन थालेको थिएँ । खै के जादु चलाइ आकांक्षाले पहिलो नजरमै कि एउटा कागत च्यात्न मात्र जान्ने बाँदर अचानक कागतमा शब्दहरू कोर्ने लेखक भएको थियो । उनको सुन्दरताको वर्णन गर्दागर्दा धेरै पन्ना सकिए तर मनका भावना सकिएनन् । उनीसँगको संसार सजाउँदा सजाउँदा सायद कलमको मसी सकियो होला तर मेरा मनका शब्दहरु सकिएनन् ।

आफ्नु डायरीभित्र मैले आफ्नै शब्दहरुको साम्राज्य खडा गरेको थिएँ, जहाँ आकांक्षा मेरी रानी र म उनको राजा थिएँ ।

१० तारिख, आकांक्षा मेरो ब्यागको छेउमा बसिरहेकी थिइन् । म हतारहतार गएर आफ्नु ब्यागभित्रको डायरी त हेरिनन् नि भनी मनमनै सोच्दै डायरी हेरेँ । उनलाई सिधा आँखाले हेर्ने समेत हिम्मत जुटाउन सकिन मैले ।

‘आजभोलि तिमीमा यस्तो परिवर्तन कसरी आयो ? पहिला त कापी कलम छुँदा नि छुँदैनथ्यौ त । तिम्रो यो परिवर्तनले सबैलाई छक्क पारेको छ ।’

‘उम्म ! प्रेममा परेको बेला सबै मानिस साहित्यकार हुन्छन् रे’ भन्ने आँट त थिए पो भन्नू । ‘नेपालीमा मात्र भए नि पास गरुम् कि भनेर नि’ भनेँ । उनी मुसुक्क हाँसिन् ।

‘आकांक्षा एउटा प्रस्ताव राखुँ ?’

‘कस्तो प्रस्ताव ?’

‘मेरो डायरीको अन्तिम पन्ना तिम्रो हातले कोरिदेउ ल ।’

जीवनको अन्तिम पन्नामा चलिरहेको कलमले के अरुको डायरीको अन्तिम पन्ना भर्न भ्याउला र ?

‘हजुर ?’

‘जिस्केको । खै, देऊ, आजै भरिदिन्छु ।’

म हतारहतार तर्सिदै उठेर भाग्दै भनेँ, ‘आज होइन, १४ तारिखमा ।’

उनले केही भन्न चाहिरहेको जस्तै लाग्यो तर मेरो लुकिछुपी गरेको प्रेम झन्डै रङ्गे हात पक्डिनु लागेको कारण म हावाभन्दा तेज भागिहालेँ ।

चार दिन गाउँमा बिताएर म घर फर्केँ । भोलिपल्ट प्रेम दिवसमा म आकांक्षालाई आफ्नु मनको कुरा र उनको निमित्त सजिएको यो डायरी समर्पित गर्छु भनी सोचेको थिएँ । सयपल्ट कोल्टे फेरिसकेँ तर रातले अझै कोल्टे फेर्नै मानिरहेको थिएन । बल्ल बल्ल घाम झुल्क्यो । म बिहानै चिरिच्याट्टै परेर तयार भएँ अनि आकांक्षाको घर लागेँ ।

उनको आमाले ढोका खोल्नु भयो । मैले हातको डायरी र गुलाफ पछाडि लुकाएँ । आन्टीलाइ नमस्कार गरेँ, ‘आन्टी आकांक्षा कहाँ छिन् होला ?’

आन्टीले घरपछाडि इसारा गर्दै ‘आफ्नु घरमा’ भन्नू भयो ।

म खुसी हुँदै त्यही दिशातिर लागेँ ।

घरपछाडि जे देखेँ, त्यो मेरो लागि अविश्वसनीय थियो । जब उनी मेरो अगाडि थिइन् तब म तिमीलाइ माया गर्छु भन्न सकिनँ । जब उनी मेरो अगाडि बन्द नयन, रोकिएका ढुकढुकी, अचल शरीरमा माटोमुनि थिइन्, तब म उनलाई कति माया गर्थें भन्न सकिनँ ।

उनको अगाडि घुँडा टेकेर प्रेम प्रस्ताव राख्न ल्याएको गुलाफ, घुँडा त टेकिए तर प्रेम प्रस्ताव होइन, श्रद्धाञ्जली दिनलाई । उनको हातमा माया दिनु थियो मलाई त्यो दिन तर दिन भ्याए केवल आँसुका दुई थोपा ।

आकांक्षा पढ्नु होइन, आफ्ना पुराना साथीहरुलाई अन्तिम पल्ट भेट्न आएकी थिइन् । लेउ आकांक्षाको जीवनको अन्तिम पन्नामा कोरिएको अन्तिम कागतको पन्ना ।

मैले कागत खोलेर हेरेँ ।

‘त्यो चलिरहेको कलमलाई चलिरहन देउ ल किनकी म कहिल्यै मर्न चाहन्न ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button