फुर्वाको मायाले कुवेत गएकी जुनुमाया फुर्वाकै मायाले रोइरहेकी छिन्

कथाः विवशता

सुमन घिसिङ
मण्डन देउपुर नपा १, काभ्रे

फुर्वा सधैं झैँ विद्यालयबाट फर्केको छ । ७ वर्षको ऊ अहिले २ कक्षामा पढ्छ । घरायसी तथा आर्थिक समस्याका कारण बाआमा जिउँदो भएर पनि टुहुरो भएको छ । जसकारण ऊ आफ्नो मामा माइजूसँग निस्सासिएर बस्न बाध्य छ ।

ऊ बिहान गाडीको पुच्छर भएर विद्यालय पुग्छ र पुच्छर भएरै घर आइपुग्छ । उसलाई लिन आउन गाडी आउँछ तर मायाले हात समाउँदै पैदल सहयात्री बन्ने कोहि आउँदैन । विद्यालयमा जसरी लामा लामा अक्षर खोप्ने र घोक्ने कुराहरूप्रति सजग बन्ने चलन छ, त्योभन्दा बढी घरमा मामा माइजू नियम र निर्देशनको परिधिले तर्साउँछ । घरमा त्यो निर्दोष बालकको मनोविज्ञान बुझेर सिकाउने,न्यानो मायाको आभास दिलाउने कोहि छैन । त्यसैले त ऊ रित्तो र एक्लो छ ।

उसको बाआमाको विवाह सानैमा भएको थियो । १८ वर्षको उमेरमै फुर्वालाई जन्म दिए । बाआमा दुवैपट्टिको पारिवारिक पृष्ठभूमि कमजोर रहेको कारण उनीहरुको वर्तमान अवस्था पनि निम्न बन्न पुगेको छ । बिस्तारै उमेर र मानसिक परिपक्वताले जुनुमायालाई जिम्मेवार बनाउँदै लग्यो भने विक्रमलाई उमेरको उत्तेजनाले उत्ताउलो र गैरजिम्मेवारतिर । वैचारिक फरक व्यवहार साथै कम्जोर आर्थिक अवस्थाले उनीहरुको झैझगडा नै दिनचर्या बनेको थियो । विक्रमको जाँड, जुवा तथा परस्त्री मोहका कारण विक्षिप्त भई तीन वर्ष अगाडि गाउँठाउँ सम्पूर्ण परिवार त्यागेर छोराका साथ जुनुमाया सिन्धुलीबाट काठमाडौं ओर्लिएकी थिइन् ।

परिचय दिने माटो, परिवार, जीवनसाथी छोडेर आएकी जुनुमाया काठमाडौंको बौद्ध नजिकै गलैचा कारखानामा काम गरेर गुजारा चलाउने चेष्टा गरिरहेकी थिइन् । एक वर्षसम्म काम गर्दा पनि दुख सयबाट उनान्सय नभएको देखेर कामप्रतिको मोह घट्दै र नयाँ भविष्यको सोच र खोजीमा थिइन् । आफू सधैं यही काम गरेर बसे आफूसँगै आफ्नो कलिला छोराले दुख पाउने सोचेर रोई कराई दिनरात काम गरेर विदेश जाने पैसा जम्मा गरेकी थिइन् । आफ्नो भाइ बुहारीलाई जिम्मा लगाएर दलालीमार्फत उनी कुबेत पुगेकी थिइन् ।

छोरोको राम्रो ख्याल गर्छन् भन्नेमा विश्वस्त भएर गएकी जुनुमाया छिमेकी तथा अन्यले आफ्नो छोरोको अवस्थाबारे बताउँदा आँसु बगाउँछिन् । एक मनले सोच्छिन्, त्यहाँबाट निकालेर अन्तै राखौँ तर उसलाई सहयोग गर्ने को छ ? ऊ गुँड र आहार नभेट्टिएको पन्छी झैँ भौतारएरै कुवेत पुगेकी थिइन् । भाइबुहारीलाई छोरोप्रतिको कुरा सुनाउँदा रिसाएर घरबाटै लखेट्छ कि भन्ने डरले जुनुमाया एक शब्द बोल्दिनन् छोरोप्रतिको अन्यायको बारेमा ।

फुर्वा कालो वर्ण र गम्भीर स्वभावको छ । सायद सानैदेखि डरको परिधिले बाँधिएकाले होला । विद्यालयमा बाल मनोरञ्जनात्मक कार्यक्रम हुँदा बच्चाहरु आ–आफ्नै तरिकाले रमाउँछन् तर फुर्वा कहिल्यै हँसिलो हुन्न ।

स्कुले बच्चाहरु जताततै दौडिएको देख्छु, फुर्वा भने एकोहोरिएको मात्र देख्छु भन्नुहुन्छ स्कुलका सरमिसहरु र थप्छन्, फुर्वाको अनुहारमा कहिल्यै हाँसो देखिँदैन ।

प्रेरणा मिसले थपिन्, फुर्वाको काम त मामा माइजूको सानो छोरोको केयर गर्नु, कोठा बडार्नु, बोत्तलमा पानी भर्नु हो रे । राति विद्यालयले दिएको होमवर्क गर्न खोज्दा बत्ती निभाउँछ रे ।

दिएको सामान्य गृहकार्य कहिल्यै नगर्ने जस्ता कुराले सबैजना हैरान भइसकेको थिए । उसैको नाममा विद्यालयमा मिटिङ हुन्थ्यो । विद्यालयले पनि फुर्वाको लागि त्यति हेरचाह नगर्दा पनि हुन्छ भन्नेसम्म कुरा गर्थ्यो । विद्यालयले सबै समस्या बुझ्न खोज्दा मामा माइजूले आफै लगेर पाल्नुसम्म भनेका थिए ।

जुनुमायाले आवश्यक खर्च प्रदान गर्दा पनि फुर्वाप्रति किन यस्तो व्यवहार देखाउँछ्न् । यस्तै सोच्छ्न् वरिपरिकाहरु ।

फुर्वाको जीवन रङ्ग उडेको पुष्प जस्तै भएको छ । एकोहोरो भइरहन्छ । आँखा अगाडि जे आउँछ, हेरी टोलाइरहन्छ। एउटै कुरा पटक पटक दोहोर्याएर भन्नुपर्छ । उसको बाल मष्तिस्कमा के खेलिरहेको छ ? कसैलाई थाहा छैन । कहिलेकाहीँ मामा माइजूले पिट्दा पनि स्वर निकालेर कहिल्यै रोएन । मरुभूमिमा पानीको थोपो झारेर के गर्नु ? त्यसैले ऊ मौन बस्छ। उसको मनमा घर छोडेर जाने कुरा पनि नआएको होइन । अस्ति एकछिन् घर छोडेर जाँदा फर्केपश्चात् हात खुट्टा बाँधेर पिटेको सम्झेर ऊ अगुल्टोले हानेको कुकुर बिजुली चम्के झैँ छ ।

विक्रम आज छोरो र श्रीमतीसँग सम्पर्कविहिन भएको तीन वर्षपछि छोरोको अदृश्य चुम्बकीय शक्तिले तानेर वा भनौँ बुद्धि आएर वा कुनै स्वार्थ बोकेर खोजनिती गर्दै विद्यालय आइपुगेछ । विद्यालयलाई उसको मामा, माइजूबाट बाहिरी कुनै व्यक्ति तथा उसको बाबापट्टिको मान्छे झुक्किएर आएमा पनि भेट्न नदिनु भनेर भनेको कारण विद्यालयले उसलाई भेट्न दिएनन् । फुर्वाको तलमाथि केहि भएमा विद्यालयले जिम्मा लिनुपर्छ भन्ने जस्ता कुराले पनि विद्यालय संवेदनशील हुनुपर्ने थियो, र त्यसका लागि विद्यालय बाध्य थियो । पटकपटक गेट बाहिरबाट निराश पारामा आँसु झारेर बसेको देखेपछि सबैको मन पग्लिएछ । त्यसैले चार, पाँच दिनपछि विक्रमलाई विद्यालयले भेट्न अनुमति दियो ।

हिजोसम्म बाको नाम के हो भनी सोध्दा बा मरिसक्यो भन्ने फुर्वा अलमलमा छ । छोरोसँग भेटेपछि विक्रम अंगालो हालेर भक्कानियो र गालामा म्वाँई खाइदियो अनि निकै बेर गम्भीर भएर आँसु झारिरह्यो । २० मिनेटको समय छुट्टाएको थियो । आफ्नै छोरो भेट्न पनि समय निकालेर भेट्नु परेकोमा रिस र त्योभन्दा बढी विगतमा गरेको गल्तीको पछुतो लागेको थियो । त्यसपछि विद्यालयले फुर्वालाई भित्र लाग्यो ।

निकै बेर झोक्राएर बसेको विक्रमले एकाउन्ट सेसनमा गएर खाजा र एक वर्षको मासिक पैसा लिन आग्रह गर्यो । अघिसम्म मामा माइजू निर्णय भनेर भेट्न नदिएको स्कुलले सजिलै पैसा लिइने पनि रहेकोमा थोरै घृणा पोखे । विक्रम अन्तिम चोटी फेरि भेटेर छोरोलाई लुगा, जुत्ता साथै साइकल किनिदुन्छु भनेर आश्वासन दिएर गयो । त्यसपश्चात् स्कुल र विक्रमको आवतजावत बाक्लिएको थियो ।

यसै क्रममा जुनुमायाले पनि विद्यालसँग कुरा गरेर मामा माइजूबाट छोरो छुट्टाएर होस्टेलमा राखिन् । अब कहिल्यै मामा कहाँ जानु नपर्ने कुराले फुर्वा खुसी छ । जुन दिनदेखि होस्टेल आयो, सोही समयदेखि फुर्वामा परिवर्तन आएको छ । ऊ साथीहरूसँग बोल्ने, हाँस्ने र खेल्ने गर्छ । उसले सामान्य लेखपढ जानिसकेको छ । भिडियो कलमार्फत आमासँग कुरा गर्छ । दिनभरिको नालिबेली सुनाउँछ र जुनुमायाको गह खुसीको आँसुले भर्छ ।

आज फुर्वाको जीवनमा वसन्त आए जस्तै भएको छ । विक्रम पनि विगतको गल्तीबाट सजग भएको छ। जिम्मेवार भएको छ । ऊ जुनुमायालाई नभन्ने सर्तमा फुर्वाको आवश्यकता पूरा गरिरहेको छ । विद्यालयले अनुकुल भूमिका खेलिरहेका छ ।

आज जुनुमाया परदेशमा जति दुख पाए पनि छोरोको खुसीमा खुसी छिन् भने विक्रम पनि छोरोलाई भेट्न पाएको र छोरोको निम्ति केहि गर्न पाएकोमा भाग्यमानी ठानेको छ । परिस्थितिले जे जस्तो गरेता पनि उनीहरुको छुट्टाछुट्टै रहेता पनि उनीहरुको मन एउटै छ, उद्धेश्य एउटै छ, मिठो सपना बुन्नेमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button