माघीमा थारु ‘विशेष’

गुरुदत्त ज्ञवाली

थारु शब्द थरुहटबाट बनेको हो वा थारुबाट थरुहट बनेको हो ? यो कुरो अनुसंधानकै जिम्मामा राखौं । प्राकृत भाषाका हिसाबले गवाँरबाट थारु शब्दको उदय भएको हो । गाउँमा बस्ने गवाँर हो, जसरी दुनमा बस्ने दनुवार हो । दुन भनेको दमार हो जसको अर्थ हुन्छ जंगलको किनारको फाँट । थारु भाषामा दमारलाई दमारा वा डम्मारा पनि भनिन्छ । प्रचलित सभ्य समाज भन्दा टाढा रहेका, जंगलको किनारमा खेती वा दासको रुपमा बस्ने तराइबासीलाई थारु भन्ने गरिन्छ । समग्रमा थारु भनेको गाउँले भनेको हो । यदाकदा थारुहरु थार मरभुमिबाट आएका हुन् भन्ने तर्क पनि आउला । यो तर्क उचित छैन । मानव उत्पत्ति र बिकासका कुरा अध्ययन गर्दा सबै जात जाति अष्ट्रेलोपिथेकस हुँदै होमिनिड एवं होमिनिन बंश पार गर्दै आर्य सभ्यतामा प्रवेश गरेको पाइन्छ । थारुका आदि पुरुष आर्य सभ्यताकै उपज हुन् भन्ने कुरामा दुई मत छैन ।

हालसम्मको भाषाको मुल स्रोत संस्कृत भाषा नै मानिन्छ । भाषा बग्दै, मिसिँदै छुट्टिँदै जाँदा अनेकथरी बन्दछन् । हिन्दी मिश्रित भाषाको स्वरुप थारु भाषा हो । उही समुहको मान्छे गढवाल कुमायु हुँदै जुम्ला पुग्दा खस भाषा बोल्ने भयो । मधेसका पाण्डे, पाठक, त्रिपाठी , कुमाल, मिश्र आदिले हिन्दी , मैथिली, भोजपुरी , अवधि आदि भाषा बोल्छन् सोही जात थरका मान्छे पहाडतिर नेपाली भाषा बोल्छन् । तसर्थ सोही बमोजिम थारुहरुलाई पनि बुझ्नु पर्दछ ।

नेपालमा बसोबास गर्ने थारुहरुमध्ये सबभन्दा पुरानो र धेरै जनसंख्या भएको दंगोरिया थारु हो । यसबाहेक कठरिया, राना, राजबंशी, कुवर, कुमाल आदि थर वा समुहका थारु छन् । थारु भनेको जात होइन, बिशेष भुगोलमा बस्ने बासिन्दा हुन् । थारुमा अनेक जात हुन्छन् । बसाइ सराइको हिसाबले काठमाण्डौमा बस्दै आएका ज्यापुहरु पनि थारु नै हुन् । थरुहटबाट काम गर्न लगिएका मान्छे, नेवारी भाषामा ज्या भनेको काम र पु भनेको मान्छे हो जसलाई दासको रुपमा लगिएको थियो । राम्ररी ख्याल गरेर हे¥यौँ भने ज्यापु र थारुहरुको रहन सहन वा जीवन पद्दति ठ्याक्कै मिल्दछ । तराइभन्दा माथि पहाडको काँठ, दुन वा दमारमा बस्ने जो एघारौँ शताब्दीपछि मगर भनिए । मगरको आगमन भन्दा पहिलेका बासिन्दा, उनीहरु र थारु एउटै बंशका हुन् । मगरहरु पनि पुनः तराइ झरेर थारु बनेको पनि पाइन्छ । उदाहरणको लागि कैलालीको उजेलीसेमरामा करिया मगरिया थरका थारु छन् । थारु भाषामा करिया भनेको कालो र मगरिया भनेको मगर हो अर्थात काले मगर ।

१४औँ शताब्दी भन्दा पहिले थारु नामको थर जात थिएन । जहाँ अहिले थारुहरुको बस्ती छ ,प्रायः आवादी नै थिएन । दाङबाट बिस्थापित भए पछि जंगल फँडानी गरेर आवादी भएको हो । त्यसबेला बाँके, बर्दिया कैलाली र कञ्चनपुर नेपलमै थिएन । उक्त भुभाग सन १८७२को सुगौली सन्धि पछि मात्र नेपालमा परेको हो । त्यस पछि मात्र त्यस क्षेत्रमा दँगौरा थारु पश्चिम तर्फ लागेका हुन् । १८७२ भन्दा पहिले धनगढी र कञ्चनपुर तिर राना र कठरियाहरुको बसोबास थियो जसलाई थारु भनिदैनथ्यो । राना र कठरियाहरु तत्कालीन भारतका बासिन्दा हुन् । उनीहरु १८७२को सुगौली सन्धि पछि स्वतः नेपाली भएका हुन् । दँगौरा थारुको संसर्गले उनीहरुलाई पनि थारु भनिएको हो । उनीहरुको हालको भारतमा समेत ठूलै संख्यामा बसोबास छ । भनिन्छ रानाहरु भारतको कुनै जमानाका राज घरानाका सदस्य हुन् । युद्धमा लोग्ने मारिएपछि ज्यान बचाउन उत्तर भारततिर हानिएका मलिाहरु ले दाससमेत साथमा लिएर आएका थिए । कालान्तरमा उनै दाससंग बैबाहिक संबन्ध राखेर बंश बिकास भएको हो । कठरियाहरु जमिन्दारका कारिन्दा हुन् र उनीहरु पनि फरक प्रशंगमा भागेरै आएको कुरा कतै उल्लेख भएता पनि इतिहास स्पष्ट छैन । नेपालगञ्जमा गैरथारुको बस्ती सन् १८७२ भन्दा पहिले नै थियो । उनीहरु समेत नयाँमुलुक बन्दा स्वतः नेपाली भएका हुन् ।

दँगोरिया थारुलाई दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तिर डँगौरा भनिन्छ । यो जात वा थरको उत्पत्ति दाङबाट भएको हो । संभवतः १४औँ सताब्दीमा दङ्गीशरण नाम गरेका राजाले राज्य गर्दथे । उनको राज्य राप्तीमा थियो र राजधानी हालको तुल्सीपुरमा थियो । उनी क्षत्री थिए । छिमेकी राज्यसंगको युद्धमा उनी पराजित भए र भागे । साथमा उनका भाइभारदार समेत भागे । भाग्दै जाँदा कोही उत्तर पहाडतिर लागे भने कोही तराइका जंगल मैदान तिर लागे । पहाडतिर लाग्ने डाँगी भए जो आज पनि डाँगी क्षत्रीले चिनिन्छन् र अचेल डिसी भनिन्छ । तराइ थरुहट तिर गएकाहरु थारु भए । थारुहरु पछि जातीय बर्गिकरणमा बैश्यमा परे । आदिबासी जनजातिमा परे । यसरी दङ्गीशरणले राज्य गरेको कारणले त्यस भुमिको नाम दाङ भयो भने उनका रैतिहरु दंगौरा भए । हामीले ख्याल गरेर हे¥यौँ भने पुराना दंगोरिया थारुको टाउकोमा सेतो टोपी हुन्छ । टोपी नेपालीको पहिचान हो । टोपीको इतिहास जुम्ला राज्य संग गाँसिएको छ ।

लखेटिएको दङ्गीशरणको बंश वा प्रजा, जित्ने राजाका दास भए । फलस्वरुप उनमा दास मानसिकताको मनोबैज्ञानिक असर बाँकी छ । एउटा कुरा यो पनि जान्दा रमाइलो लाग्ला । आजसम्म पनि जंगलमा बस्दै आएको जाति राउटे कुनै जमानाका राजा थिए । हारेर लखेटिएको राजपरिवार दास बन्न चाहेन । ज्यान बचाउनको लागि जंगलमै जीवन बिताए । राउटी भनेको छाप्रो हो र छाप्रामा बस्ने भएकाले राउटे भनिएको हो । उनीहरु पनि क्षत्री नै हुन् अझ शाही ठकुरी हुन् ।

दंगोरिया थारुको प्राचीन पहिरन दाङमा देख्न पाइन्छ । पछाडि तना बाँध्ने चोली र करीब लुंगी प्रकारको घाँघर महिलाको पहिरन हो । अन्यत्रका थारु महिलाले प्रयोग गर्ने लहँगा त दक्षिण भारतबाट आयातित हो, त्यो बेलाको सभ्य पहिरन हो । संयुक्त परिवारमा बस्न मन पराउने यो बर्ग सुरक्षाको दृष्टिले पनि त्यसो गरेको हुन सक्छ । डांकाको डरले यिनीहरुका घर बस्ती गुजुप्प परेका हुन्छन् । ३, ४ पुस्तासम्म एकै ठाउँ र बढीमा २०० जनाको संख्यासम्म एउटै परिवारमा बस्न सक्ने प्रचलनको अन्त्य धेरै पुरानो भएको छैन ।

दास मानसिकताको फाइदा लिएर दक्षिण भारतका ब्यापारीले अत्याधिक मात्रामा शोषण गरे । बचेको हैसियत पनि उत्तरबाट झरेका पहाडिया नेपाली जमिन्दारले समेत दोहन गरे । आवागमन र मिल्दो भाषाका कारणले दक्षिणका भारतीय ब्यापारीसंग नजिक हुनु पर्ने यिनीहरको बाध्यता पनि हो ।

थारुहरु गरीब हुन्छन्, कमैया मात्र हुन्छन् भन्ने एउटा मानसिकता छ आम नेपालीमा, त्यो भने उनीहरुप्रतिको अज्ञानता हो । ठूला ठूला जमिन्दार थिए र छन् थारुहरुमा । भनिन्छ थारु तराइका धरति पुत्रै हुन् । लप्पनछप्पन नजान्ने साम्यवादी चरित्रको यो बर्ग धनी र गरीबका कारणले ठूलो र सानो देखिदैन । खेति मात्र मुख्य पेशा भएको यो बर्गको आर्थिक अवस्था बस्तु बिनिमयको कारणले बिग्रँदै गएको हो । दक्षिणतिरका बाठा ब्यापारी महाजन भनिने बनियाबाट हरेक समान धानसंग साटेर खरीद गर्ने कारणले वरालो लागेका हुन् । १ भाग खुर्सानी बराबर ६, ७ भागसम्म धान दिएर साटेपछि कति दिन टिक्न सकिन्छ र ? यो अवस्था सम्पूर्ण दैनिक उपभोग्य बस्तुमा लागु हुने गर्दथ्यो र आजसम्म पनि यसबाट मुक्त भएको देखिन्न यो समाज ।

हिन्दु धर्म मान्ने शैव सम्प्रदायको यो बर्ग नगण्य मात्रामा बैष्णव सम्प्रदयमा संलग्न भएको पाइन्छ जसलाई भगत भनिन्छ । भुत प्रेतलाई कुल देवताकै रुपमा मान्ने यो समुहले स्वास्थोपचारमा समेत भुतकै बिश्वाँस मान्दछ । देबी दुर्गाका भक्त मानिने यो जाति प्रकृति पुजकको रुपमा चिनिन्छन् । खेतिको काम सकेर फुर्सदको समयमा नाचगान र अन्य मनोरञ्जनमा यो बर्ग अत्यन्तै सौखिन मानिन्छ । झुमडा नाच, मयुर नाच जसलाई बड्का नाच पनि भनिन्छ र महिलाहरुको सखिया नाच मुख्य आकषर्क सांस्कृतिक नाच हुन् । प्रमुख चाड माघी समग्र थारुहरुको लोकप्रिय चाड हो । यो चाड यिनीहरुको बार्षिक उत्सव पनि हो । छुट्टै क्यालेण्डर नभएता पनि माघी वा माघे सक्रान्तिलाई नयाँ बर्षको रुपमा मान्दछन् । आर्थिक कारोबार, खेतिपाति, नोकर चाकरको बन्दोबस्त वा कमैयाहरु बस्ने छोड्ने आदि कुराको टुंगो माघमै लगाइने हुँदा नयाँ बर्षको रुपमा मानिएको हो । अन्य चाड पर्बमा नाग पञ्चमी, भाद्रमा पर्ने बड्की आइतबार, दसैं, लक्ष्मीपूजा, होली आदि पर्ब धुमधामले मान्दछन् । मुिस्लम समुदायसंग निकट सम्बन्ध भएको स्थानमा उनीहरुको नयाँ बर्षको रुपमा रहेको मोहर्रम वा ताजिया पर्बलाई थारु समुदायले समेत ब्रतको रुपमा मान्दछन् । यसबाहेक रोपाइँ सकेपछिको खुशीयाली पर्ब ड्युहार पूजा, धान पाकेपछिको नयाँ अन्न स्याहार्दाको लवांगी पूजा पनि ठूलै पर्बको रुपमा मान्दछन् । नयाँ अन्नको अपभ्रंश लवांग हो । कतिपय न अक्षरलाई ल भन्दछन् जस्तो कि नदीलाई लदी । नया बस्तीलाई लौबस्ती वा लौबस्ता, नदियाके पार लाई लदियाके पार आदि ।

समस्त थारुहरुकै एउटा अनौठो रहर माछा मार्नुृ हो । तरकारीको रुपमा भन्दा पनि मनोरञ्जनको रुपमा फुर्सदको समयमा खासगरेर महिलाहरु माछा मार्ने गर्छन् । ढकिया बुन्नु उनीहरुको जातीय कला हो भनिन्छ । थारुमा कुनै फरक जातपात हुँदैन र कामको आधारमा सानो ठूलो पनि भएको पाइन्न । थारु शब्दले नै अनकंटार जंगलमा बस्ने, सभ्य समाजदेखि बिमुख रहेको, सरकारी पहुँच भन्दा धेरै टाढा रहेको कारणले अशिक्षित हुन पुगे । अशिक्षित भएकै कारणले ठगिए पनि ।

नेपालको तराइभागमा मेचीदेखि महाकालीसम्म अनेक जात थरका थारुको बसोबास छ । भौगोकि कारणले थारु भनिएको कुरो माथिनै उल्लेख भयो । स्मरणीय छ, उही मान्छे पहाडतिर बस्दा पहाडिया भए भने तराइमा बसोबास गर्ने थारु भए । कुमाल पहाडतिर पनि छन्, पहाडिया कुमाल पहाडिया जोगी कुँवर छन् । उनै जातका मान्छे तराइमा थारु समुहमा पर्दछन् । समय यस्तो पनि थियो जुनसुकै जात थरको मान्छे तराइमा झरेर थारु समाजमा कैयौं बर्ष बसोबास गर्दा क्रमशः थारुमा परिणत भए । लोहरा थारु, बभना थारु, दर्जी थारु यसका उदाहरण हुन् । हामीले गहिरिएर हे¥यौं भने पुर्बतिरका थारु राइ लिम्बु वा किराँती जस्ता हुन्छन् । पश्चिम खण्डका थारुहरु मगरसंग मिल्दा जुल्दा हुन्छन् । सुदुर पश्चिमका थारुहरु यतैका पहाडी आदिबासी जनजातिसंग मिल्दा जुल्दा देखिन्छन् ।

समय सधै एकैनाशको रहन्न । इतिहासका यी धरति पुत्र, कुनै जमानाका दास, जंगली भनेर चिनिने थारुहरु, नेपालको कलंकको रुपमा रहेको कमैया भनेर चिनिने थारुहरु, भैंस चरवा, कम्लर्नी, ओर्गानी, बुक्रैनी भनेर चिनिने थारुहरु, यसभित्र सुयोग्य तथा शिक्षित नागरिक समेत ओझेलमा परेका थिए । यहाँ उच्च ओहदाका मन्त्री वा नेता थिए । सबै थारुको संकुचित घेरामा हराएका थिए । आज यो जाति अत्यन्त तीब्र गतिमा फड्को मारेर अघि बढेको छ । विजयकुमार गच्छेदार, लबरु राना थारु, फत्तेसिंह थारु, पर्शुनारायण चौधरी, रामजनम चौधरी, लक्ष्मण चौधरीलगायत कैयौं संख्यामा थारु अनुहारहरु उच्च ओहदामा पुगेका छन् । कैयौं नेपाली सेनाका जवान तथा अधिकृत, प्रहरी प्रशासनका जवान तथा अधिकृत तयार गरेको छ । कैयो प्राज्ञ तयार गरेको छ । प्राविधिक तयार गरेको छ ।

आश्चर्य लाग्ला, यो कुरा भन्दा, २०३७ सालमा म पहिलो पटक कैलाली, कञ्चनपुर र बर्दियामा पुग्दा समग्र थारुहरुको जुन स्तर थियो, आज पत्याउने नसकिने गरि बिकास भएको छ । शिक्षामा होस, उद्योगमा होस्, ब्यवसायमा होस्, पहिरनमा होस्, भाषामा होस्, राजनीतिमा होस्, कृषिमा होस् औसत समग्र नेपालीको चेतना वा विकाश भन्दा कैयौँ गुणाले प्रगति भएको छ । थारु भनेर हेप्ने मान्छे, शोषण गर्ने मान्छे, मालिक बनेको मान्छे १ बाट २ भएको होला तर थारु १ बाट १० भएको छ । आज लुगा सिलाउने थारु छ, हलो त जोतेकै थियो, टेक्टर जोतेको मात्र छैन पार्टपुर्जा जोड्ने मिस्त्री भएको छ । फोटोग्राफर भएको छ, डाक्टर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button