अन्न खेर नफालौं, फाले अन्नले सराप्छ
शान्ता भट्टराई (पौडेल)
विराटनगर
भान्सामा बस्दा आमाले सधैँ भन्नुहुन्थ्यो, “एक सितो पनि नपोखी,चाटीचुटी पारेर खानुपर्छ, खानेकुरा फाल्नु हुन्न नत्र अन्नले सराप्छ । जे कुराको पनि जतन गर्न जान्नुपर्छ।”
“अन्नले कसरी सराप्छ? मान्छे हो र गाली गर्नलाई ?”, आकाशमा वादल मडारिए झैं बाल मस्तिष्कमा प्रश्न मडारिन्थ्यो तर चित्त बुझ्दो जवाफ भेट्दैनथ्यो तापनि डरैले, करैले खाना नपोखी खान अभ्यस्त भएँ । नपोखी खान धेरै निहुरिँदा कहिलेकाँही ‘घिच्रो’ दुखेको अनुभव पनि छ । सँगैका बालसखीहरु थालमाभन्दा भुइँमा धेरै पोखेर खान्थे, भाइबैनीले पोखाइदिन्थे ।
त्यस्तो दृश्य देख्दा बालमस्तिष्क मनमनै प्रश्न गर्थो, “साथीहरु स्वतन्त्र ! मलाई भने किन यस्तो कसिकसाउ ?” मुखले भन्ने हिम्मत हुँदैनथ्यो । ति दिन सम्झिँदा लाग्छ, अहिलेका आमा पुस्ताले आफ्ना सन्तानलाई छेउमा बसेर गृहकार्य सिकाएभन्दा कम्ति थिएन मेरा लागि त्यो अभ्यास । डरैडर करैकरमा सिकेको त्यो अभ्यासले आज मलाई खानेकुराको मात्र नभई हरेक कुराको जतन , जगेडा गर्न सिकाएको छ । समयक्रमसँगै बुझ्ने भएपछि अन्नलाई माया गर्न थालेँ । कालान्तरमा सन्तानलाई पनि यस विषयमा अभ्यस्त गराएँ । म सानो छँदा मेरी आमाले दोहोर्याई तेहेर्याई भनिरहने माथिका वाक्यले मलाई त्यसबेला झट्का दिन्छ जुन बेला खानेकुरा फालिएको देख्छु चाहे त्यो भोज भतेर, वनभोजमा होस् या व्यक्ति विशेषकोमा । झन् भोज भतेरमा प्लेटभरि लिने अनि एक भाग खाएर दुई भाग फाल्ने भद्र भलाद्मीहरुको (खा’को रिस गरेको अर्थ नलागोस्) भिड देख्दा यो मन साह्रै कुँडिन्छ, के भनम् भनम् हुन्छ । यति खान्छु भनेर पेट अड्कल्न नजानेको हो या अन्नको महत्व नबुझेको/बुझ्न नचाहेको हो अथवा अलि अलि खानेकुरा नफाले ‘ठूलो मान्छे’ भइँदैन भन्ने मानसिकताले हो, मैलै आजसम्म बुझ्न नसकेको कुरो ।
अन्नपानीको शरीर, कहिले काँही बिसन्चो भएको अवस्थामा खानेकुरा फालिनुलाई स्वभाविक मान्न सकिएला तर सामान्य अवस्थामा खानेकुरा फालिनुलाई म चाहिँ स्वभाविक मान्न सक्दिनँ । लोगभोगमा उपस्थित हुँदा सुरुमा थोरै लिएर पछि मिठो लागे/ थप्न मन भए फेरि थपेर खाँदा केही हानी/ नोक्सानी पक्कै हुँदैन होला । चोखो रहे अरुले खान मिल्छ । कतिपय सुख्खा चिज भोलिपल्ट खान मिल्ने हुन्छ। काँचो बाँकी रहे अर्को दिनको लागि हुन्छ भन्ने कुराको जानकारी नभएको त पक्कै होइन होला । तर पनि खानेकुरा फालिएकै हुन्छ । भाँडामा त धेरथोर उब्रिन्छ नै । लोगभोगमा, धेरै मान्छे अड्कल पनि हुँदैन; निम्तालुले जानाजान फाल्नु हुँदैन भन्ने मेरो आशय ।
यी त भए भोज भतेरका कुरा, आफ्नै परिवारलाई नियमित रूपमा पकाएको खानेकुरा पनि फालिएको देख्दा साह्रै दुःख लाग्छ । ताउलोमा जाउलो टल्किरहेको, सुख्खा रोटी पौडी खेल्दै हुन्छ, भातको चोइली सर्लक्क बैठकमा बसेर चियाइरहेको हुन्छ । गफै गफमा निस्फिक्री भनेको सुनिन्छ, “अलिअलि फालिन्छ त ! त्यतिका लागि त वस्तु पालेको !” केही हदसम्म यस कुरालाई पनि नराम्रो मान्न नसकिएला, बढी भएको खानेकुरा सिधै माटोमा फाल्नु परेन; वस्तुको मुखमा पुग्छ तर सबैतिर गाईवस्तु पाल्ने अवस्था पक्कै छैन । अर्को कुरा, जीवनको कुनै पनि मोडमा एक छाक भोकै बस्नु पर्ने अवस्था आइलाग्यो भने खोजखाज गरेरै भए पनि ‘अन्न’ जुटाउनुपर्छ, एकै छाक त हो नि भनेर घाँस, पराल र खोस्टा (खोसेला) खान सकिन्छ र ?
हिजोआज अन्न फल्ने जमिनमा ‘लहलह’ घरहरु फलेका छन्, बँचेखुचेका माटोको उर्वराशक्ति मानवीय क्रियाकलापकै कारण दिनानुदिन घट्दो क्रममा छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरताका कारण हाम्रा होनहार युवा युवतीहरु आफ्नो खेतबारी बाँझो राखेर पराया भूमिलाई हराभरा बनाउन बाध्य छन् । भोकमरीका कारण कतिपय कुपोषणको शिकार भएका छन्, कैयौँ मानिस मृत्युको मुखमा पुग्न विवश छन् । भोज भतेरका नाममा खानेकुरा फाल्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । हामीले गरेको अभ्यास नै पुस्तान्तरण हुने हो । हामी नै यी र यस्ता विषयमा संवेदनशील भएनौँ भने पछिल्लो पुस्ताले के सिक्लान् ? आफू थालमा भन्दा डाइनिङ टेबलमा धेरै खाना पोखेर खाने अनि सन्तानलाई “नपोखी खाने ढङ्ग छैन ?” भन्दै रुखो बोलीले हप्काउनुको कुनै अर्थ हुँदैन त्यसैले अन्नको महत्व बुझौँ, अन्नलाई माया गरौँ ।
आफ्ना सन्तानलाई अन्नको महत्व बारेमा बुझाऔँ । ‘ठूलो पल्टिने’ र ‘ठूलो हात’ गर्ने नाममा हामीलाई पाल्ने अन्नलाई जानाजान खेर फाल्ने काम कसैले/कहिल्यै नगरौँ ।
सबैको भलो यसैमा छ ।
माटो रहे अन्न छ
अन्न रहे हामी छौँ ।
खाना फाल्ने बानी खराब छ
अन्नले सराप्छ ।।
सबैलाई चेतना भया !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)