
चित्लाङ, कुश्लेचौर र मार्खु पौवामा गाडी बोकेका मान्छेहरु हिँडेर फर्के र सधैँ पछि परे

अक्षरसँगको प्रेम !
सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक, हाल: लिमासोल, साइप्रस
जंगेको निकृष्ट हुकुमे शासन
बिक्रम संवत् १९१० को मुलुकी ऐनको
बाछिटाले
निथ्रुक्क बिझाएको मेरो पुर्खाको
नपढेको, नलेखेको
सम्झदाँ सधैं दुखी रहने
लिपिबद्ध नभएको नमिठो इतिहास ।
मेरा बाउ–बाजेले
काँध खुईलाएर
मुटुमा रगत जमाएर
ख्वाँक्क खोक्दा काँचो रगत ओकलेर
भिमफेदीको उकालोमा
चुईँचुईँ फोर्ड कम्पनीको मोटर गाडी बोक्दै गरेको
बर्बरताको अचाक्ली पिल्सिएको इतिहास ।
अक्षरको अ सम्म चिन्न नपाएको
दासताको ज्वालाले पोलेको
कालो अँगार खरानी भएको
अमिल्दो इतिहास ।
अक्षर चिन्न नजानेर होइन
अक्षर चिन्न नपाएर
पछिपछि धेरै पारिएको
बाठ्ठोहरु बठ्याईको
श्यामकर्ण घोडा चढेर
काँशी–बनारस हेलिए
गुरु थापेर लेखे, पढे
ठूलो अनि असल–ज्ञानी बनेर
देश फर्के
सुन्दर इतिहासको जग बसाले
सेरोफेरो सबै मेरो
हालीमुहालीको सिद्धान्त सुत्रपात गरे
सोझो गाउँको सोझो मान्छेहरु
मकवानपुरको
चित्लाङ, कुश्लेचौर र मार्खु पौवाको
अफ्ट्यारो बाटोहरुमा
आफू लडेर मोटर गाडी नलडाएर
चक्का (पांग्रा) निकालेका
जर्मनी फोर्ड गाडीको भरिया बने
गाडी शहर छिरे
शहरको चिप्लो सडकमा
रातो, पिरो चिल्लो मान्छे बोकेर गुडे
गाडी बोकेका मान्छेहरु
हिँडेर फर्के
सधैं पछि परे ।
अक्षर चिन्न नदिएकोहरुलाई सम्झँदा
झ्वाँक चलेर
रिस
लामाले टाँप्च्यो गरेर
जरैसम्म छिनालेको टुपीबाट
फुसफुस धुँवा निस्कन्छ ।
समय बदलियो
युगले मुहार फेर्यो
पापको घडा भरेर होला
एउटै बाको दर्जनौं सन्तानको कलहले
राणाजीहरुको पतन भए
उनले जस्तै अक्षर चिन्न पाउने
अधिकारको सुनिश्चित भयो
मेरो बा औंलाले भुँईमा लेखेर कखरा सिके
मैले सिसाकलमले कागजमै लेखेर
अक्षर चिन्ने मौका पाएँ ।
मलाई अक्षर चिनाउने प्रिय गुरुवर्गमा
कोटीकोटी नमन ।
आजभोलि मन अक्षर बनेर
पाना भरी पोख्छन्
पानाहरु जिन्दगी बनेर बाँची रहन्छन्
मौनता सन्नाटाको सन्निकट रुमलिँदै
हृदयको नेपथ्यबाट
विरहको सुस्केरा सुसेल्दै
एक सर्को लापरबाहीको लापड
मेरो कनपट्टि–कन्पारो चुमेर जान्छन्
पीडा छचल्केर पोख्नु अगावै
भावना अक्षर बनी
मनको कोरा पानामा
मिलेर अनुच्छेद बनी
लावलस्करै लस्करै
बाटो छेउमा रोपेको रुख जस्तै गरी
बस्छन् मिलेर ।
पढन्ते कुलको चिराग होइन म
ढाकरमा भारी बोक्दै
बासँग हलोको अनौमा
झुन्डेर बनेको हो मेरो जीवन
डिग्रीहरुको प्रमाणपत्र छैन मसँग
दीक्षान्त समारोहको अनुभव के हो थाहा छैन
र, पनि
अगाध प्रेम छ अक्षरसँग ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)