कलापारखी डा. डिल्लीरमणबारे लेख्न बस्दा हात आफै जोडिएर अन्जली मुद्रामा परिणत हुन्छ

प्रा. डा. वीणा पौड्याल

काठमाडौको केल टोलमा जन्मेर लाजिम्पाटमा जिन्दगी बिताएका डा. डिल्लीरमण रेग्मीलाई वरिष्ठ राजनितिज्ञ, दानवीर, समाजसेवी, इतिहासकारको रुपमा धेरैले परिचय गराएका छन् । उनको अर्को बिशिष्ट पहिचान कलाका पारखीको रुपमा रहेको छ ।

डिल्लीरमण रेग्मी प्रतिभाशाली छात्रको रुपमा स्कूलमा प्रसिद्ध थिए । दरबार हाई स्कूलमा पढनु पहिले यिनले संस्कृतमा प्रथमा ( आइ. ए.) पास गरिसकेका थिए । नेपालबाट १० कक्षाको अन्तिम परिक्षा लिने ब्यबस्था नभएकोले सन् १९३२ मा यिनले पटनाबाट म्याट्रिक परीक्षा उतीर्ण गरेका थिए ।

त्रिचन्द्र कलेजबाट आइ. ए. र पटना विश्वविद्यालयबाटै अर्थशास्त्रमा एम. ए. गरे । मद्रास विश्वविद्यालयबाट एम. लिट. (मास्टर अफ लिटरेचर), पटना विश्वविद्यालबाट अर्थशास्त्रमा पी. एच. डी. र १९६५ मा डी. लिट. गरेर यिनले कर्तिमान राखे । रुसले यिनलाई विशेष सम्मान दिएको थियो । रुसको तास्कन्द विश्वविद्यालयबाट डी. एस्सी. उपाधि प्राप्त गर्ने डा. रेग्मी पहिलो नेपाली हुन् ।

डा.रेग्मीको बारेमा लेख्न बस्दा ,श्रध्दाले शिर निहुरिन्छ, हात आफै जोडिएर अन्जली मुद्रामा परिणत हुन्छ । रेग्मीको बारेमा केहि लेख्न बस्दा बिषयको सुरुवात कहाँबाट गर्ने भन्ने हुन्छ ।

हिजो पुष ३ गते डा. रेग्मीको ११० औं जन्म जयन्ती हो । ज्ञानोदय आश्रम लाजिम्पाटमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति र डिल्लीरमण रेग्मी प्रतिष्ठानले शान्ति दिवस समारोह भव्य रुपमा मनायो ।

त्यही समारोहमा सुशीला प्रधानाङले लेखेको, प्रा. डा. ध्रुवकुमार घिमिरेले सम्पादन गरेको डिल्लीरमण रेग्मी (बालोपयोगी जीवनी) पुस्तक लोकार्पण भयो । यस पुस्तकबाट बालबालिकाले डा. रेग्मीको बारेमा सहज ढंगले धेरै कुराको जानकारी पाउँछन् । २०३७ सालमा डा. रेग्मीले लाजिम्पाटमा रहेको आफ्नो घर र त्यहाँ भएका पुस्तक र कलाका सामग्री सबै नै नेपाल सरकारलाई दिने निर्णय गरे । सरकारले डा. रेग्मीको निर्णयलाई सम्मान गर्दै डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति गठन आदेश २०६० जारी भयो । यस पुस्तकालय परिसरमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित मूर्ति, स्तुप राखेर डा. रेग्मीले नेपाली समाजको धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गरेका छन् ।

शाक्यमुनि बुद्ध जन्ममूर्ति, बुट र ट्यूनिकमा सजिएका सूर्यमूर्ति, आफ्ना पुर्खा र नेपाली समाजलाई दर्शाउने थुप्रै मूर्ति र चित्रहरु यहाँ अवलोकन गर्न सकिन्छ । यसबाट डा. रेग्मीको कला पारखी ब्यक्तित्वको पाटो उजागर हुन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button