
लुकेको समाजः यौनकर्मी महिलाबारे विस्तृत चिरफार

यौनकर्मी महिलाहरुको कथा अध्ययन र सम्बोधन गर्नुपर्ने विषय
सुशीला शर्मा
महिला विरुद्धका सबै प्रकारका विभेद उन्मूलन सम्बन्धी सन १९७९मा स्थापित सिड (सीइडीएयब्लु) मा महिला मानव अधिकारको सवाल उठाइएको छ । महिला मानव अधिकारभित्र दासता, विभेदरहित, शिक्षित हुन पाउने, सम्पतिमा अधिकार र समान ज्यालालाई जोड दिने गरिन्छ । महिला अधिकार मानव अधिकार हो भन्ने भनाई आजकल प्रचलनमा छ । हामी अझै पनि विश्वभरी नै देख्न सक्छौ कि महिला र बालिकाहरु लैङ्गिकताकै आधारमा विभेदित छन् ।
महिलाले अधिकार प्राप्त गर्नु भनेको व्यक्तिगत रुपमा मानव अधिकार प्राप्त गर्नु हो । महिला अधिकारको प्रत्याभूतिले देश र समाजको परिवर्तन पनि देखाउँछ । यस अन्तर्गत विद्यमान कानुन र नीतिहरु परिवर्तन गर्ने, सचेतना र मनस्थ्तििमा परिवर्तन गर्ने, महिला संगठन र आन्दोलनहरुमा लगानी पनि पर्दछन् । यसरी सेडले निश्चित गरेका अधिकारका परिभाषाभित्र यौनकर्मी महिलाका अधिकारहरु कतिको कार्यान्वयन भएका छन भन्ने कुराको पनि लेखाजोखा गर्नुपर्ने हुन्छ ।
नेपालको संविधानले भेदभाव विरुद्धको व्यवस्था र असमानता विरुद्ध संरक्षणको नीतिको व्यवस्था गरेको छ । यसले सामाजिक वा सांस्कृतिक रुपमा पिछडिएका महिलाहरुको संरक्षण, सशक्तिकरण वा विकासका लागि गर्न सकिने सकारात्मक कार्यका लागि उपायहरु प्रदान गर्दछ । भेदभावरहित प्रावधानहरुले समान अधिकारहरु, शारीरिक मानसिक, यौन वा अन्य प्रकारका शोषण र हिंसाको शिकार हुनु नपर्ने अधिकार समावेश गर्दछ । यसका वावजुद पनि यौनकर्मीहरुले राज्य र गैरराज्य पक्षबाट वहिष्कार, भेदभाव अनि हिंसाको सामना गरिरहेका छन् ।
यौनकर्मी महिलाहरुका दैनिक घटनाहरुका कथाबाट नै पनि उनीहरु स्वाभिमानपूर्ण बाँच्न पाउने अधिकारबाट बञ्चित रहेका छन् भन्ने देखिन आउँछ । मेरो शरीर मेरो छनौट र अधिकार जस्ता नाराहरु महिलावादी आन्दोलनमा देखिए पनि निम्न वर्गका यौन पेशा गरेर जीविकोपार्जन गर्ने महिलाहरुलाई कानुनी तथा सामाजिक,आर्थिक बार बन्देजहरु निकै नै छन् । स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था स्वासा नेपालकी अध्यक्ष शान्ति तिवारीका अनुसार हाल नेपालमा २९ यौनकर्मी महिलाहरुले समूह, संस्था, सञ्जालको नेतृत्व गरिरहेको तथा स्वासा नेपालले यौनकर्मीहरुको सुरक्षित अवस्थाको लागि एडभोकेट गरिरहेको छ । यो लेख १०० वटा घटना अध्ययनलाई आधार मानेर तयार पारिएको हो ।
यौनकर्मीको अधिकारले विशेष गरी यौनकर्मी र उनीहरुका ग्राहकहरुको मानव, स्वास्थ्य र श्रम अधिकारहरु समावेश गर्ने व्यक्ति र संस्थाहरुद्धारा विश्वव्यापी रुपमा पछ्याइएका विभिन्न उद्देश्यहरु समेट्दा यी आन्दोलनका लक्ष्यहरु विविध छन् । यौन सम्बन्धी सेवाहरु प्रदान गर्ने व्यक्तिहरु जो वयश्क भिडियो कलाकार, फोन सेक्स अपरेटर, वेवक्याम मोडेलहरु, स्ट्रिप क्लबका नर्तकहरु जो सुकै पनि यौनकर्मी हुन सक्छन् । नेपालको सन्दर्भमा स्ट्रिट भेन्डर, गृहिणी, होटल मजदूर, मनोरञ्जन क्षेत्रभित्रैबाट पनि यौनकर्मीहरुले आफ्नो पेशा सञ्चालन गरिरहेका छन् । स्वैच्छिक यौनकर्मलाई महिला अधिकारको मुद्धाको रुपमा पनि चित्रण गरिएको छ । राज्य र समाजले बेश्यावृतिलाई अपराधिकरण गर्न या गैरकानुनी राख्न खोज्छन् । तर यस पेशामा धेरै पुरुष र तेश्रो लिङ्गी व्यक्तिहरुको पनि संलग्नता रहेको छ । यौन सेवा प्रदान गर्नकै लागि तयार हुने यौनकर्मीहरु आफूलाई अपराधीको रुपमा चिनाउन चाहँदैनन् । उनीहरुको मान्यता छ कि उनीहरुको व्यवसाय सेवामा आधारित काम हो र यस कामलाई पनि मान्यता दिनुपर्दछ । यौन सेवा प्रदान गरेबापत लगाईने कानुन, थिचोमिचो यौनकर्मीहरुको मानव अधिकारको उल्लंघन हो ।
धेरै जसो देशहरुमा जहाँ यौनकार्य वैध छ त्यहाँ पनि सबै प्रकारका यौनकर्मीहरुले उनीहरु कलंकित भएको महसुस गर्छन् । सिमान्तिकृत भएकै कारणले उनीहरु भेदभावविरुद्ध कानुनी समाधान खोज्नबाट बञ्चित हुन्छन् । साथै पारिश्रमिक भुक्तान नगरेका, बलात्कारमा परेको घटनाहरुलाई लिएर कानुनी उपचारमा जान सक्दैनन् ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी अन्तर्गतको नेपालको छैठौं आवधिक प्रतिवेदन उपरको निश्कर्ष टिप्पणीमा वेश्यावृत्तिमा संलग्न महिलाहरु लगायत मानव बेचबिखनका पीडितहरुले आफू बेचिएकै परिणामस्वरुप गरेका कार्यहरुको लागि पक्राउ गरिएको, थुनामा राखिएको र निर्वासन गरिएको सम्बन्धी जानकारी आएको भन्ने उल्लेख गर्नुलाई एकप्रकारले सकारात्मक रुपमा लिन सकिन्छ तर यहाँनेर बुझ्नुपर्ने कुरा भनेको मानव बेचबिखन र स्वैच्छिक रुपले अप्नाईएको यौनकार्य फरक हुन् । यौनको डिमाण्डलाई सेवामूलक तरिकाले यौनकर्मी महिलाहरुले पारिश्रमिकसहित स्वैच्छिक रुपले पूरा गरिदिन्छन् भने यसलाई निरपराधीकरण गरिकन देशका सम्बन्धित निकाय अघि बढ्नुपर्छ भन्ने पनि स्वयं यौनकर्मीहरुको र महिला मानवअधिकारकर्मीहरुको पनि आवाज बनिरहेको छ ।
पोर्नोग्राफी, यौन प्रदर्शन, यौनिक सरोगेसी तथा वेश्यावृति पनि एक प्रकारको यौन कार्य हो । जसले ग्राहकसंग प्रत्यक्ष रुपमा सेवा तथा पारिश्रमिकसँग सम्बन्ध राख्छ । परिभाषा अन्तर्गत यौनकार्य र यौन बेचबिखन दुबै एकै कुरा हो भनिएको छ तर यौन कार्य या यौन श्रमले आफूखुसी यो कार्यमा संलग्न हुन चाहेको बताउँछ भने यौन बेचबिखनमा बलजफ्ती यौनकार्यमा लगाईन्छ । तर यौनकार्यमा आफूखुसी सहभागी भएकाहरु पनि बेचबिखनमा पर्ने सम्भावना हुन्छ । जबर्जस्ती यौन बेचबिखन तथा यौन शोषण मानव अधिकारको उलङ्गघन हो । यो जोसुकैमाथि पर्न सक्छ । यौन बेचबिखनको जोखिममा युवती, किशोरी, पुरुष, केटाहरु सबै जोखिममा हुन सक्छन् । जब व्यक्तिले आफ्नै ईच्छाले यौन बेचबिखनमा भाग लिन्छ यो सहमतिजन्य हुन्छ र यसले उनीहरुको मानव अधिकारमा प्रभाव पार्दैन । यसलाई सेक्सवर्क पनि भनिन्छ । यौनकार्यका फरकहरु सबै दृश्य नै हुन्छन भन्ने छैन् । हामीले बेचबिखनमा परेका व्यक्तिहरुलाई चिन्न सक्दैनौं । यौनकर्मी हुनुका पीडा, ईतिहास, पृष्ठभूमि हामीले कल्पना गरेको भन्दा विल्कुल भिन्न हुन सक्छन् ।
नेपालले हालसम्म यौनकर्मीहरुको विषयमा कुनै कानुनी प्रावधान बनाएको छैन् । सरकारले यौनपेशालाई यो पेशा हो भनेर पहिचान गरेको पनि छैन अनि पेशालाई प्रत्यक्ष रुपमा अपराधिकरण पनि गरेको छैन । तर यौन उद्धेश्यका लागि या श्रमको लागि हुने मानव बेचबिखनको कानुन भने विद्यमान छ नेपालमा । तिनै कानुनमार्फत कहिलेकाँही यौनकर्मीहरलाई पनि अप्ठ्यारोमा पारेको देखिन्छ । तर मानव वेचबिखन र सुरक्षित यौनपेशालाई छुट्याएर हेर्नुपर्ने धारणा मानवअधिकारकर्मीहरुको रहेको पाईन्छ । नेपालले सन् २००७ देखि तेश्रो लिङ्गी पहिचान दिएको छ । नेपाल दक्षिण एशियामै तेश्रो लिङ्गीलाई पहिचान दिने पहिलो देश बन्न पुगेको छ । तर तेश्रो लिङ्गी पनि र यौनकर्मी पनि भएर काम गर्दा उनीहरुले दोहोरो घृणा र अपमान भने समाज, प्रहरी प्रशासनबाट सहँदै आएको कुरा उल्लेखित यौनकर्मीहरुको कथामा पनि आएका छन् ।
जनचेतनाको अभाव, स्टेरियोटाईप माईण्ड सेटका कारण यौनकर्मी महिलाहरुको उपस्थितिलाई स्वीकार्न हाम्रो समाजलाई गाहृो भईरहेको छ । यस कुरालाई सेवा प्रदायकहरुले बुझेर कानुन निर्माता समक्ष यो कुरा पुर्याउनुपर्ने देखिन्छ ।
यौनकर्मी महिलाहरुका समस्याहरु
यौन श्रमिकहरुमाथिको विभेद वर्ग जाति धर्मको विभेदभन्दा पनि बढी छ । यौन श्रमलाई श्रमको रुपमा लिईदैन बरु फोहोरी र अनैतिक जीवनशैली जसले निर्दोष जनसमुदायलाई चुनौती दिईरहेको समाजको समस्याको रुपमा हेरिन्छ । जसको फलस्वरुप यौन श्रममा संलग्नहरुको परिवारहरु मानव अधिकारबाट बञ्चित हुन्छन् । महिलाहरुका स्वास्थ्य सेवामा पहूँच हुँदैन । साथै बारम्बार हिंसा, दूव्र्यवहार र शोषणको सिकार हुन पुग्छन् । यौन श्रमिक महिलाका बालबालिकाहरु कार्यस्थल, विद्यालयमा पनि दूव्र्यवहारमा परेका छन् । प्राय यस घटना कथामा जोडिएका यौन कार्यमा लागेका महिलाहरुका बाध्यताहरुको मात्रकुरा गरीन्छ,जबकी उनीहरुका आवश्यकताको कुराहरु विरलै गरेको पाईन्छ । यौन कार्यमा लागेका महिलाहरुका समस्या भनेका घरेलु, सामाजिक,प्रहरी लगायत ग्राहकका हिंसाहरु नै बढी छन् । अन्य पेशामा संलग्न आम मानिसका जस्तै यौनकर्मीहरुका पनि हातमुख जोर्ने लगायतका समस्याहरु हुन सक्छन् । बुँदागत रुपमा हेर्दा निम्न अनुसारका समस्याहरु यौनकर्मी महिलाहरुले भोगिरहेको पाउन सकिन्छ ।
- आर्थिक अभाव
- प्रहरी प्रशासनबाट लखेटिएका
- एच.आई.भि. तथा यौन संक्रमणबाहेक अन्य सेवामा पहूँच नहुनु
- समाजबाट अपहेलित
- नागरिकता नभएका कारण आफैंले बचत गर्न नपाएका
- स्वैच्छिक यौन कार्य र जबर्जस्ती यौनकार्यलाई एउटै डालोमा राखेर हेर्ने गरिएकोले थप पीडित बनाईएको ।
- यौनकार्यलाई कार्यका रुपमा नमानिएकोले महिलाहरुमा आत्मलाञ्छनाको भाव धेरै हुने
- घरेलु हिंसा
- समाजबाट एक्ल्याईनु
- द्धन्दको कारणले बिस्थापित भएर आउनु ।
अर्को एक कथा छ कास्की जिल्लाको एक गाउँमा गरिब परिवारमा कान्छी छोरीको रुपमा जन्मेकी रिता थापा (नाम परिवर्तन) को । पारिवारिक आर्थिक अवस्था नाजुक भएकै कारणले गर्दा सोचेको जति पढ्न सकिनन् उनले । गाउँमा घाँस दाउरा, घरको काम गरेर दिनहरु बितिरहेको थियो । यस्तैमा छिमेकमा बस्ने केटासँग प्रेम र केही समयपछि उनको विहे भयो । विवाहको १ वर्षपछि उनीहरुको एक सन्तान पनि भयो । तर ती प्रेम गरेर विवाह गरेका उनका लोग्नेले अचानक अर्को श्रीमती विवाह गरे । यसरी अर्को विवाह गरेपछि उनका लोग्नेले र परिवारले उनलाई हेला गर्न थाले, वास्ता गर्न पनि छोडिदिए । असह्य भएपछि घर छोडेर हिडेकी रिता छिमेकी दाईसँग विन्ति गरेर काम खोज्दै एक होटलमा पुग्छिन् । यसरी होटलमा ग्राहक खाना खानमात्रै होइन, यौन सम्बन्धको लागि पनि आउने रहेछन् भन्ने उनलाई थाहा भयो । पैसा पाउने भएपछि उनी पनि ग्राहकसँग यौन सम्बन्ध राख्न थालिन्् । त्यही पैसाले उनी घरखर्च चलाउन थालिन् । एक पटक उनी ग्राहकसँगै बसेर खाना खाँदै गर्दा प्रहरीले चौकीमा पनि लगेका छन् । धन्न संस्थाहरुका कर्मचारीमार्फत चौकीबाट छुटकारा पाएकी छन् उनले । अहिले उनी होटलबाट यौन सम्बन्धमा नगई आफैं सम्पर्क गरेर या ग्राहकले सम्पर्क गरेर जान्छिन् । यसमा कोही ग्राहकहरु भनेजति पैसा दिदैनन् भने कोही ग्राहक कण्डम लगाउन मान्दैनन् । दुईजना यौनकर्मी महिलाहरु जो आफ्ना बच्चाहरुको किड्नी र मुटुको उपचार गराईरहेका छन् । उनीहरुको पेशा यौनकर्मी नै हो । यसले यौनकर्मीहरुले पनि समाजमा रहेर आफ्नो परिवार पाल्ने हेतु नै कार्य गरिरहेको देखाउँछ र यौनकमीको आम्दानी पनि अन्य पेशामा आवद्ध भएका व्यक्तीहरु सरह नै जिम्मेवारी पुरा गर्दै संन्तान तथा परिवारमा लगानी गरेको देखिन्छ ।
यौनकर्मी महिलाहरुले यौन पेशाका अतिरिक्त संलग्न भएका पेशाहरु
- गृहिणी
- ज्याला मजदुरी (घर बनाउने काम)
- फलफूल बेच्ने, तरकारी व्यापार
- डान्सबार तथा होटलमा काम गर्ने
- चिया पसल
- गार्मेन्टमा काम गर्ने
- सरकारी गैर सरकारी संस्थामा काम गर्ने कर्मचारीहरु
- बसाई सराई गरेर आएकाहरु ।
दुई जना यौनकर्मी महिलाहरु, जो लेबर काम गर्छन्, उनीहरुको काम घर बनाएको ठाउँमा श्रम गर्नु हो । प्राय यसरी श्रममा आधारित कार्यमा संलग्न भएका यौनकर्मी महिलाहरुको असुरक्षित यौन सम्बन्ध भएर गर्भधारण हुने तथा यौनजन्य संक्रमणहरु पनि देखिने गरेको पाईन्छ । अझ गर्भवती र सुत्केरी अवस्थामा पनि यौन सम्बन्ध राख्नुपर्ने कुरा पनि खुल्नमा आएका छन् । आफूले गरेको कामको ज्याला नपाउँदा उनीहरुको शोषण भईरहेको हुन्छ ।
यौन पेशामा संलग्न हुँदा देखिएका समस्याहरु
महिलालाई सामान्यतया नै काम गर्न त अप्ठ्यारो छ भने यौन पेशा आफैंमा चुनौतीपूर्ण छ । परिवार समाजले यस पेशालाई स्वीकारेको छैन । यो पेशा प्रतक्ष्य रुपमा कानुनबाट पनि वर्जित छ । तर पनि आवश्यकताले यो काम गरेको पाईन्छ । ईतिहास हेर्दा पनि यो काम सदीयौ देखि गरिरहेको र महिलाहरु यौन पेशामा प्रतक्ष्य या अतिरिक्त पेशाको रुपमा संलग्न रहँदै आएका कुरालाई नकार्न सकिदैन् । यस्तो परिस्थितिमा यौनकर्मी महिलाहरुले अनेक झमेलाहरु पार गर्नुपर्ने हुन्छ । अन्य पेशाजस्तै महिलाहरु बिभिन्न कारणले यो पेशामा आउँछन् तर यो पेशामा बाध्यता र समस्याका कारण मात्रै आउछन भन्ने सोचाई धेरै नै भएकोले पनि यौनकर्मी महिलालाई थप समस्याहरु पर्न सक्छन् । जसमध्ये केही बुँदाहरु निम्न अनुसार छन् ।
- पारिश्रमिक माग्दा गाली बेईज्जती गर्ने
- एक्लै संघर्ष गर्नुपर्ने
- ग्राहकले नै बदनाम गराईदिने
- एच.आई.भि तथा यौन संक्रमण हुन सक्ने
- श्रम गरे अनुसारको पारिश्रमिक नपाउने
- कुटपिट र धम्की
- लुटपाट
- झुक्याउने, छल्ने
- प्रहरी प्रशासनको धर पकड र गालिगलौज
- नागरिकता नभएकोले बचत गर्न नपाउनु, सामाजिक सुरक्षा नहुनु
- यौनकर्मीको कामलाई कामको मान्यता नदिनु ।
यौनकर्मी महिलाहरुले आफ्ना पेशा गरेबापत झेल्नुपरेका यी समस्याहरुमा पनि थुप्रैका थुप्रै कथाहरु छन् ।
विर्तामोड घर बताउने ज्योति उप्रेतीको परिवारमा ४ जना सदस्य छन् । उनको लोग्ने सफारी चलाउँछन् भने छोरीको १९ वर्षको उमेरमा विवाह भईसकेको छ । उनको छोरो साथीभाईको संगतमा लागेर लागु औषध सेवन गर्ने भएको छ । उनी आफैंले असुरक्षित यौन सम्बन्ध राख्दा ६ महिनाको गर्भ पतन गर्नुपरेको छ । गर्भपतन गर्दा पनि भ्रूण आधामात्र निस्किएको हुँदा आफैं हातैले तानेर निकालेको कथा सुनाउँछिन् । उनकोे लोग्नेले भ्रूण आफ्नो नभएको र आफूले उपचार पनि नगर्ने भनेकोले उनलाई स्वास्थ्य सँगसँगै आर्थिक अवस्थाले पनि एकदम असहज भएको थियो । उता छोराको गाँजा खाने बानीमा सुधार ल्याउन सकिएको छैन् । घर व्यवहार धान्न र स्वास्थ्य पनि जोगाउन ज्योतिलाई हम्मे हम्मे परेको छ । यो कथाले यौनकर्मी महिलाले सुरक्षित यौन व्यवहार र आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने अनि परिवारको अवस्थालाई पनि ध्यान दिनुपर्ने देखाउँछ ।
असुरक्षित यौन व्यवहारले निम्त्याउन सक्ने एच.आई.भि. तथा यौन संक्रमणको जोखिमबारेको पनि एउटा कथा यहाँ प्रस्तुत गरिएको छ । झापा जिल्लाको दमकमा बस्ने पूजा धिमालको परिवारमा ४ जना सदस्यहरु छन् । लोग्ने बैदेशिक रोजगारीमा गएका पूजाको छोराछोरी माध्यमिक शिक्षाका विद्यार्थीहरु हुन् । उनको लोग्ने पनि वैदेशिक रोजगारीमा भएको र पूजाले पनि आम्दानी गर्ने हुनाले उनीहरुको आर्थिक अवस्था राम्रै चलिरहेको थियो । गत दुइृ महिना अगाडिमात्र पूजालाई अनलाईन बुकिङ्गमार्फत एच.आई.भि. जाँच गर्दा पोजिटिभ देखिन्छ । पूजा अहिले एआरटि लिईरहेकी छिन् । उनलाई श्रिमान र छोराछोरीले थाहा पाए भने घृणाको पात्र हुनुपर्ला भन्ने ठूलो चिन्ता छ ।
सोनिका क्षेत्री (नाम परिवर्तन) एक पटक आफ्नो नियमित ग्राहकसंग आफ्नो यौन सेवा गरेवापतको पारिश्रमिक माग्दा भड्किएर उल्टै समाजको अगाडि यो त भालु आईमाई हो, यसलाई हाम्रो समाजमा राख्न हुँदैन भनी गालिबेईज्जति गरेको घटना सुनाउँछिन् । यसरी यौन सम्बन्ध स्थापित गरेर आफ्नो स्वार्थ पूरा भएपछि महिलालाई अपमान गर्ने, पारिश्रमिक नदिने पुरुष ग्राहकहरु पनि हाम्रो समाजमा छन् । पहिले सोनिकालाई यस्ता घटनामा बोल्न डर, लाज लाग्थ्यो । यस्तो मुद्धामा कसले बोलिदिन्छन् र जस्तो पनि लाग्थ्यो तर आफ्नो अधिकारबारे जानकारी गराउने संस्थाका सदस्यहरु भेटिएकोले आफूले अधिकार पाउने छु भन्ने उनको आशा छ ।
प्रहरी प्रशासनको धरपकड दर्शाउने अर्को कथा पनि छ । सर्लाही जिल्लाको एक नगरपालिकामा होटलबाट प्रहरीले छापा मारी महिला यौनकर्मीहरुलाई प्रहरी कार्यालयमा लगेको थियो । सिडिओ तथा प्रहरी अधिकारीसंग अनुरोध गर्दै समुदायमा आधारित संस्था (सिबिओ) सदस्यले यौनकर्मी महिलाहरुलाई प्रहरीकोबाट छुटाएका थिए ।
झापा जिल्लामा यस्तै प्रकृतिको घटना छ प्रहरी दमन सम्बन्धी । २१ देखि २५ वर्ष उमेरका ७ जना होटलमा काम गर्ने यौनकर्मी महिलाहरुलाई प्रहरीले एरेस्ट गर्यो । यो हुनुमा आमा समूहको पनि कारण रहेको थियो । यौनकर्मी महिलाहरु आम्दा नेपालको सम्पर्कमा थिए । उनीहरुले आम्दाबाट प्रेप तथा कण्डम लिने गर्दछन् । उनीहरुलाई ती सामाग्री झोलामा लिएको आधारमा पक्डेर कार्वाही चलाउनुलाई यौनकर्मीहरुको सुरक्षित तरिकाले आफ्नो पेशा गर्न पाउनुपर्ने अधिकारको उलंघन भएको छ । यो घटनाको विरोध गर्दै बैठक सम्पन्न भएर माग राख्दा पनि ती पक्डिएका यौनकर्मी महिलाहरुलाई कोर्टको आदेश अनुसार २५ दिन पछि मात्र रिहाई गर्ने निर्णय भएको थियो ।
चुनौतीहरु
- यौनकर्मी महिलाहरुलाई आफ्नो पेशा स्वैच्छिक रुपमा र सुरक्षित रुपले नै गर्दै आईरहे पनि हाम्रो सामाजिक मूल्य मान्यता, परिवार समाजबाट भोग्नुपर्ने हेला विभेद कायम नै छ । एक युवतीलाई आफ्ना आमा, दिदिबहिनी, नाता सबै भूमिका निभाईकन पनि यदि अतिरिक्त आम्दानीको लागि यौन पेशा पनि रोजेकी छु भन्न सक्ने अवस्था छैन् । यस पेशामा यौनकर्मीकहाँ जाने ग्राहकले यौनको सेवा लिएको हुन्छ तर सेवा प्रदान गर्ने यौनकर्मी भने छाँयामा,लुकेर, गाली गलौज सहेर सेवा प्रदान गरिरहेकी हुन्छिन् । उमेर बढ्दै जाँदा ग्राहक घटेका उदाहरणहरु पनि प्रसस्तै देख्न सकिन्छ । एक ५३ वर्षीय महिला आफ्नो बढ्दो उमेरकै कारण यौनपेशामा मन्दी आएको बताउँछिन् । उनी भन्छिन भविष्यमा एक्लै परिन्छ भनेर विवाहगरीयो र सहारा बनाए । यौन पेशा गर्दै सम्पती परिवारकै सदस्यको नाममा राखिदिएर श्रिमानको मृत्यु भएपछि भने आफू घरमै अपमानित हुनुका साथै परिवारकै सदस्यबाट यौन दुरासयपूर्ण व्यवहारको सिकार भए ।
- आफ्नो पेशाबाहेक बाहिरी ज्ञान र सूचना, सचेतनाको कमीले गर्दा ठगिएको र आफ्ना अधिकारबारे बेखबर भएर दुखी जीवन गुजार्नुपर्ने अवस्था पनि छन यौनकर्मी महिलाहरुलाई ।
- ग्राहकबाट कुटपिट, पारिश्रमिक माग्दा उल्टै अपशब्द र समाजबाट नै बहिष्कार गर्नुपर्ने पनि बनाईदिन्छन कुनै ग्राहकले ।
- कानुन नभएकोले प्रहरी प्रशासनले पक्डिएर अनेक झमेला खडा गरिदिने गर्छन् ।
- पाठेघरको समस्या, यौन संक्रमण र अनिच्छित गर्भधारणहरु पनि यौन पेशामा घटिरहने घटना हुन् । यसमा सेवा सुविधाको पर्याप्तता नभएकोले पनि समस्याहरु देखिएका छन् ।
- ग्राहकले एकजनाले फोन गरेर भेट्न बोलाउने तर यौनकर्मी महिला भेट्न जाँदा तीन चार जनासम्म ग्राहकहरु बसिरहेका हुने जस्ता घटना पनि देखिने गरेका । रिपोर्टिङ्ग संयन्त्र चुस्त नभएकोले पनि यस्ता घटना न्यूनिकरण हुन कठिनाई परिरहेको देखिन्छ ।
- तीनचार जना ग्राहकलाई यौन सेवा पुर्याएबापत पारिश्रमिक भने एक जनाको मात्रै दिएर ठगिने गरेका उदाहरणहरु पनि थुप्रै देखिन्छन् ।
यौनकर्मीहरुको हालको अवस्था
- संस्थाहरुमा आएर केही नयाँ कुराहरु सिकेपछि आत्मविश्वास बढेको
- सुरक्षित हुने तथा परेका समस्यामा छलफल गर्ने गरेको
- साथी बनाउन सफल भएको
- कानुनी प्रकृयाहरु थाहा भएको
- स्वास्थ्य सेवाहरुको बारेमा जानकारी भएको
- संगठित भएको
- आफ्नो कामलाई स्वीकार गरेको
- परिवारका सदस्यहरुको बिमार, पठनपाठनमा आर्थिक मद्धत गर्दै आर्थिक अवस्थामा सुधार ल्याएको ।
यसरी पहिले लाज सरमले बाहिर अरु मान्छेसंग नबोल्ने, आफ्ना पीर समस्याहरु नबताउने यौनकर्मी महिलाहरु धेरैले आजकल आफ्ना कुराहरु छलफल गर्ने गरेका छन्, जुन कार्य गर्न उनीहरुलाई स्थानीय संघ संस्थाहरु, यौनकर्मी महिलाहरुको समुदायमा आधारित संस्था तथा संगठनहरुले सहयोग गरिरहेको छ ।
निश्कर्ष
नेपालमा आधिकारिक तथ्यांकमा त्यति धेरै यौनकर्मीहरुको संख्या देखिदैन् । तर २०१६ मा एनसिएसीले ५६ हजारको संख्यामा यौनकर्मीहरु रहेको देखाएको थियो भने अनौपचारिक अध्ययन अनुसार झण्डै ४लाखका संख्यामा यौन कर्मी हरु छन भन्ने अनुमान छ । देशका धेरै जिल्लाहरुबाट सुविधासम्पन्न जिल्ला तथा सदरमुकाममा आई विभिन्न हण्डर ठक्कर खाईसकेको अवस्थामा महिलाहरु यौनकर्मी हुन पुगेका छन् । बसाईसराई, द्धन्दका कारण पनि महिलाहरुले यौन पेशालाई आफ्नो पेशा बनाएका छन् । प्रमुख रुपमा आर्थिक समस्याले नै यौन पेशामा आवद्ध भएको पाईन्छ भने यसलाई श्रम र सेवा व्यवसाय जे बनाए पनि उनीहरुको पेशा हो यौन व्यवसाय । तर कोभिड लगायतका अन्य स्वास्थ्य समस्याहरुले अन्य पेशामा रहेका व्यक्तिहरुलाई जस्तै यौनकर्मीहरुको जीवन गुजारामा पनि निकै असर गरेको छ ।
अन्य आम मानिस झैं यौनकर्मी महिलाहरुको पनि जीवन गुजाराका समस्या छन् । समाजमा यौनकर्मीहरुको सम्मानित जीवनलाई नस्वीकारिएको अवस्थामा देशकै प्रहरी प्रशासन लगायत ग्राहक स्वयंले नै उनीहरुलाई गालिगलौज गर्ने, धम्क्याउने, लुटपाट गर्ने तोकेको पारिश्रमिक नदिने लगायतका समस्याहरु अझै पनि यौनकर्मी महिलाहरुले झेली नै रहेका छन् । स्वासा नेपालबाट संकलन गरिएको विगत ६ महिनाको आधार विश्लेषण गरिएको यौनकर्मी महिलाहरुको घटना कथाले यौनकर्मी महिलाहरुको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा सुरक्षित जीवनको लागि सम्बन्धित सरकारी गैर सरकारी निकाय, सुरक्षा निकाय, कानुन निर्माण तहदेखि नै गम्भिर भएर कार्य गर्नुपर्ने देखिन्छ ।
यौन पेशामा संलग्न महिलाहरुमध्ये केहिले आफूले सीपमूलक तालिम भन्दा पनि जिवन निर्वाह गर्नेकाम पाए आफ्नो पेशालाई बदल्ने कुरा पनि बताएका छन् ।मानव अधिकारको सर्वव्यापी सिद्धान्त वमोजिम पेशा चयन गर्ने अधिकारलाई मानेर हेर्यौ भने अन्य पेशामा जान चाहनेका लागि सहयोग गर्नकालागि पनि सम्बन्धित पक्षले ध्यान दिनु जरुरी देखिन्छ । अझै पनि जो यौन पेशालाई निरन्तरता दिन चाहन्छन या दिईरहेछन्, उनीहरुको सुरक्षित यौन व्यवहार र सुरक्ष्ाित कार्यस्थलका लागि सम्बन्धित संघसंस्थाहरु तथा राज्यबाटेैे विशेष पहल, परामर्श,छलफल र शसक्तिकरणका कार्यक्रमहरु ल्याउनुपर्ने पनि आवश्यकता छ । यौनकर्मी महिलाहरुभित्र पनि श्रमिक महिला (जो घर बनाउने कार्यमा लेबरको काम गर्छन) र तेश्रोलिङ्गी महिलाहरु अझै जोखिम र अपमानित हुनुपरेका घटना बिगत ६ महिनाको घटना अध्ययनमा देख्न सकिन्छ । यसलाई पनि मध्यनजर गरेर आगामी कार्यक्रमहरुलाई योजना गर्नुपर्ने देखिन्छ । यौनकर्मी महिलाहरुका आफ्नै र छोराछोरीहरुका नागरिकता,जन्मदर्ता लगायतका प्रशासनिक कागजात पनि प्रमुख समस्या हुने गरेका छन् । कतिपय महिलाहरु घर परिवारबाट अपहेलित भई हिंसामा परेर यौन पेशामा आईपुगेका हुने हुनाले जन्मेका सन्तानको कागजात नै नबन्दा उनीहरुको भविष्य नै अन्यौलमा पर्न जाने हुन्छ । यो विषयलाई पनि आगामी दिनमा सम्बोधन गर्दै जानुपर्ने देखिन्छ ।
आफ्नो जीविका खातिर यौन पेशा गर्दै आएका महिलाहरुको आफ्नो आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउनुपर्ने अधिकारको सम्मान गर्नु नै सबैले सम्मानित जीवन बाँच्न पाउनुपर्छ भन्ने नारालाई न्याय गर्नु हो । यसको लागि बहुसंख्यकले अल्पसंख्यकलाई सहयोग, भरोसा र सम्मान दिनु नै हो ।
हाल यौनकर्मीहरुलाई अपराधिका रुपमा चित्रण गरिएका कारण पनि उनीहरुमाथि लुटपाट, आर्थिक शोषण र गोपनियताको उल्लघंन बारम्बार दोहोरिने समस्या भएका हुन यौनकर्मीहरुमाथि यस्ता हिंसामा ग्राहक, घरधनी, होटल मालिक, प्रहरी, स्थानिय आमा समुहहरुको संलग्नता रहेको पाईन्छ । यस्ता समस्याहरुमा सम्बन्धित पक्षसंग पनि परामर्श, छलफल र कानुनी प्रकृयाबारे सेवा प्रदायक संस्थाहरुले कदम चलाउनुपर्ने देखिन्छ । यौनकर्मी महिलाहरुको सम्मानित जीवनको लागि विभिन्न क्षेत्रमा कार्यरत सेवा प्रदायक सेवाग्राहीहरु पनि समेटेर कार्यक्रम बनाउनुपर्ने देखिन्छ ।यौनकर्मीहरु,एजेन्सी तथा ग्राहकहरुबीचको अन्तरक्रिया, सहकार्य छलफलमार्फत पनि यौन पेशालाई सम्मानित र सुरक्षित बनाउन मद्धत मिल्दछ । मानव अधिकारकोबारे अभिमुखीकरण तथा नीति निर्माता समक्ष समस्याको स्थितिको सञ्चार गर्नुपर्ने र यौनपेशालाई निरपराधीकरण गर्नुपर्ने पक्षहरु यौनकर्मी महिलाहरुको कथा अध्ययनले देखाएको छ ।
यौनकर्मी महिलाहरुको हक अधिकार र आत्मसम्मानपूर्ण जीवनयापनको लागि निम्न वुँदाहरुमा ध्यान दिनुपर्ने खाँचो देखिन्छः
- यौनकर्मी महिलाहरुको न्यायमा पहूँचः नेपालले आर्थिक र सामाजिक रुपले पिछडिएका समुदायलाई न्यायमा पहुँचको ग्यारेन्टी गरेको छ तर यौनकर्मी महिलाहरुको मामलामा उनीहरु सामाजिक,आर्थिक र लैङ्गिकताको हिसाबले पिछडिएको र न्यायको आवश्यकता नै परेको अवस्थामा पनि न्यायको पहुँच सजिलो छैन् । प्रहरीले पक्डिएका यौनकर्मीको मुद्धा नलिने घटना अझै पनि विद्यमान छन् । न्यायमा सबैको पहुँचको लागि पनि यस्ता समस्याहरुको सम्बोधन र कार्यान्वयन हुनुपर्ने देखिन्छ ।
- कानुनी प्रावधानहरु यौनकर्मीविरुद्ध भएकाले यौनकर्मी महिलाहरु हिंसामा परेका कुराहरु बाहिर आउन सक्दैनन् । यौनकर्मीको परिचय कुनै एक ठाउँमा कसैले थाहा पाएका उनीहरु समाजबाट बाहिरिने हुन सक्छन् । मौखिक, लैङ्गिक,यौनिक दूव्र्यवहारको शिकार पनि हुन सक्छन् । यौनकर्मीहरु बढीजसो कानुन कार्यान्वयनकर्ताबाट हिंसामा परेका थुप्रै घटनाहरु सुन्नमा आउँछन् । यी र यस्ता खालका घटनाहरु न्यूनिकरणको लागि सम्बन्धित निकायहरुको सकारात्मक पहलकदमी र बहस आवश्यक रहेको देखिन्छ ।
- यौनकर्मी महिलाहरुको स्वास्थ सेवामा पहूँच, एच.आई.भि.र यौन संक्रमणको जाँचमा पहूँच र पर्याप्तता, कण्डमको सहज उपलब्धतालगायत सुरक्षित गर्भपतन सेवाहरुको पनि उपलब्धता सरल बनाउनुपर्ने सम्बन्धित संघसंस्था र राज्यको दायित्वभित्र पर्दछन् ।
- यौनकर्मी महिलाहरुको गोपनियता र आत्मसम्मानको विषयमा विशेष गरेर प्रहरी प्रशासनले ध्यान दिनुपर्ने पनि बिभिन्न समयमा यौनकर्मी महिलाहरुलाई धरपकड गरेर कण्डम लिएर हिडेकै आधारमा र प्रेप (प्रोफाईलएक्सिस) लिएकै आधारमा चौकीमा लाने घटनाले पनि बताउँछ ।
(यो लेख स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था स्वास्वा नेपालको सहयोग र संस्थामा छलफल तथा घटना अध्ययनको आधारमा तयार पारिएको हो ।)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



