श्रीमतीको चाहना स-साना खुशी

सलुजा बस्नेत

जेनिशा पुर्लुक्क सोफामा पल्टिन्छिन् । दिउँसोको बल्ल २ बजेको छ । छोरालाई स्कुल अनि दिपेशलाई अफिस पठाएर बचेका काम गर्दा त सधैं २ कै हाराहारी हुन आउँछ । तर आज अलि तल्लो पेट र ढाड सदाभन्दा बढी नै दुखेको अनुभव हुन्छ जेनिशालाई, उनी दोस्रो पटक आमा जो बन्दैछिन् । त्यसमा जेनिशा खास गम्भिर चै देखिन्न् ।

जेनिशा र दिपेशको करिब ७ वर्षअघि आइ.टि. अफिसमा भएको भेट छोटो समयमा नै प्रेम विवाहमा परिणत भएको थियो । विवाह त्यति सजिलो गरी चैं भएको होइन । आफु सरहका कुटुम्ब त खोज्नै पर्यो जेनिशाका आमाबाउले पनि । सजिलैसँग मान्ने दिपेशको गतिलो आधार पनि होस् कसरी, काभ्रेमा साधारण खेती किसानी गरेका बाउआमाले निकै दुखसँग पढाइएका दिपेशको ? उता जेनिशाका आमाबुवा सम्पन्न र आइ.एन.जी.ओ.मा ब्यस्त जीवन बिताउने अभिभावक जो थिए । जेनिशाकी आमा रमलाको पद र सम्मान निकै अग्लो भएता पनि आफ्नो ब्यस्त जीवनबाट भने थाकिसकेकी थिइन् । पद, पैसा र इज्जतको चक्करमा पछि दौडिएका श्रीमानले आफ्नो निजी जिन्दगी बिर्सिएसरह लाग्थ्यो रमिलालाई । कहिलेकाहीँ ठट्टामा ‘नानी ! विवाह गर्दा चाहिँ केटा जतिसुकै साधारण भए पनि आफुलाई एकदम माया गर्ने छान्नु है’ भन्ने गर्थिन् पनि । जेनिशाको कुराले दिपेशलाई त्यस्तै पाएकी पनि हुन्छिन् आमाले ।

तर आमाको मन न परो ! आफुलाई पनि विवाहअघि दिपेश जस्तै माया गर्ने श्रीमान तर हाल उनको घरमा अफिसका काममाबाहेक बोलचाल नहुने भएकोले आफ्नी छोरीको हालत त्यस्तै त हुँदैन भन्ने तनाव बोकेकी आमाको अर्को तनावचाहीँ एउटा सिन्कासमेत नभाँचेकी जेनिशाले दिपेशसँग संघर्ष गर्न सक्छे कि भन्नेमा हुन्छ । तर, त्यति बेला जेनिशाको हठ् अगाडि घुँडा टेक्नु नै परेको थियो उनका आमाबाउलाई पनि ।

२ बजे सोफामा सुतेकी जेनिशाको फोन एक्कासी बज्छ र एकै रिंगमा फोन उठाउँछिन् पनि जेनिशाले । अरु बेला आफ्नो मोबाइललाई खास महत्व नदिएता पनि यो बेला दिपेशले नै गरेका हुन् भन्ने प्रस्ट नै हुन्छ उनलाई । फोन नउठ्ने बिषयलाई लिएर आफन्तहरुबाट धेरै गाली पनि खाने गरेकी जेनिशालाई दिपेशले फोन आज तिम्रो घाँटीमै झुन्डिएको छ कि क्या हो भनेर ठट्टा गर्न पनि पछि हट्दैन । सदा झैँ दिपेशले आज के खायौ त भन्ने प्रश्न सोध्छ जेनिशालाई । उनको एक कलले अघिकी थकित जेनिशाको आधाउधि थकान त यतिक्कै हराएर जान्छ्र । जेनिशा पढेलेखेकी र ओपन मान्डेड भएता पनि आफ्नी आमाका असन्तुष्टीहरुलाई नजिकबाट अनुभव गरेकीले होला, श्रीमानका विषयमा अलि बढी नै गम्भीर हुन्छिन् । झन् दुई दिनअघि साथी सोमीको फोनले थप तनाव भएकी हुन्छिन् जेनिशा । सोमीका श्रीमानले काम परेर समेत फोन गर्दा झर्किएर फोन काटेको र आफुले त कहिले फोन गर्न नजानेको कुरा सुनाएकी हुन्छिन् ।

४ वर्षअघि नै विवाह भएकी सोमीले समय बित्दै जाँदा श्रीमानको मायामा पनि परिवर्तन हुदै जान्छ भनेको त झन् जेनिशाको दिमागमा गुन्जिनै रहेको हुन्छ । एकोहोरिएकी जेनिशाले अचानक बेलको आवाज सुनेर ढोका खोल्न दौडन्छिन् र ढोकामा दिपेश गुलाबको फुल लिएर उभिएको पाउँछिन् । दोधारमा भएकी जेनिशा आज के परेछ भनेर एक पटक सबै मितिहरु सरसर्ती याद गर्छिन् र पनि ठम्याउन सक्दिन् । यत्तिकैमा उताबाट हेप्पी रोज डे डियर भनेको सुन्छिन् । अनि त झन् जेनिशालाई के नै चाहियो र ? खुशीको बाँध भत्किएकी जेनिशाको त्यो रातको भान्छा यस्तो हुनपुग्छ कि दिपेशले हात चाटेको चाट्यै हुनपुग्छ ।

महंगा–महंगा उपहार पाएर दङ्ग हुने हिजोकी जेनिशा आज एउटा साधारण फुलले दङ्ग छिन् अनि फराकिलो महलमा बसेकीलाई आज २ कोठामा बस्दा पनि साँघुरोपनको रत्तिभर मतलब हुँदैन । माइतीकी एक्ली सन्तान भएता पनि उनलाई माइतको रमझमप्रति खास ध्यान हुँदैन । संगत गुनाको फल जस्तो दिपेशले जेनिशालाई साना साना कुरामा खुशी हुन सिकाइसकेको हुन्छ । दिपेश एकदम चलाख श्रीमान । वास्तवमा दिपेशमा कुरैले पनि जेनिशालाई खुशी राख्ने कला हुन्छ । सायद त्यो जेनिशालाई देख्दा प्रस्ट हुनसक्छ्र । एउटी श्रीमतीले श्रीमानबाट खास ठुलो कुरो के नै खोजेकी हुँदिरछे र, केवल श्रीमानको आफुतर्फको थोरै ध्यानबाहेक ? अपवादबाहेक हरेक श्रीमतीको मन जेनिशाको जस्तै नै होला भन्न सकिन्छ तर त्यहाँ फरक यति मात्र हुन्छ कि हरेक दिनलाई उत्सव बनाउन खोजी हिँड्ने दिपेशमा भएका गुण झैँ अरु श्रीमानहरुमा पनि हुनुपर्यो । यस्ता थुप्रा सानातिना दिपेशका ट्रिक्सले जेनिशाको मन जितिसकेको हुन्छ ।

हिजो बुवाका ठुला महंगा उपहारहरु सम्हाल्न नजानेर आमाको गाली खाने जेनिशा आज त्यो साधारण गुलाबलाई अघि गिलासको पानीमा डुबाइसकेकी हुन्छिन् । पेशागत तवरमा कत्तिको सफल थियो दिपेश ? त्यो त ऊ नै जानोस् तर आफ्नो व्यक्तिगत जीवनमा हामीले देख्दा उसलाई धेरै सफल मान्न सकिन्छ्र । हालसम्म पनि केलाई सफलता मान्ने त भन्ने कुरामा हामी अन्योलमा नै छौं । तर पनि हामीले आफ्नो जीवनको धेरै समय आफ्नो घरमा नै बिताउने हुनाले कमसेकम घरमा खुशी भएर बस्न पाउनुलाई हाम्रो प्रमुख सफलता मान्न सक्छौं ।

जेनिशाभन्दा धेरै खुशी उनकी आमा रमिला हुन्छिन र नहुनु पनि कसरी आफुले चिताएको कुरा जो पुगेको हुन्छ उनको । हाल यी दम्पतिलाई अफिसले दिएको फ्ल्याट भैसेपाटीमा देख्न सकिन्छ जो दुई छोरा छोरीका आमाबाउ बनिसकेका छन् । छोरा १८ र छोरी १० बर्षका भए पनि जेनिशालाई श्रीमानले गर्ने मायामा केहि परिवर्तन भने देखिदैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

  1. सरल प्रस्तुतिभित्र लुकेको गहन भावले छोयो ।
    कथाकी अामा रमिलाले दिएको खुसी र मायाको परिभाषा कथाको उत्कृष्ट अङ्ग लाग्यो । शीर्षक र कथाको विषयवस्तुबिचको तादाम्यता मिलेकाले कथा सार्थक र व्यवहारिक लाग्यो । सबैभन्दा ठुलो कुरा नै कथाको सन्देशमा हुने गर्छ । हो पनि । जीवनमा कति धेरै गहकिला, लामा छोटा र बान्कीका कथा पढिए होलान् तर छोटोमा पनि रसिलो, कसिलो र सन्देशमूलक कथा कमै पढिएको रहेछ । कथाकारभित्र विषयवस्तुलार्इ सिँगार्ने कला हुन्छ तसर्थ स्रष्टाप्रति हार्दिक नमन, पाठक यस्तै कथाको प्रतीक्षामा रहिरहने छ ।
    यो कथा मान्छेको जीवनमा लागु होअोस् ।
    यही गोरेटोमा हिँड्दा पनि असफल भएकाहरू र ठगिएकाहरू पनि छन् । समाज हो,विविधता त भइहाल्छ ।

  2. सरल प्रस्तुतिभित्र लुकेको गहन भावले छोयो ।
    कथाकी अामा रमिलाले दिएको खुसी र मायाको परिभाषा कथाको उत्कृष्ट अङ्ग लाग्यो । शीर्षक र कथाको विषयवस्तुबिचको तादाम्यता मिलेकाले कथा सार्थक र व्यवहारिक लाग्यो । सबैभन्दा ठुलो कुरा नै कथाको सन्देशमा हुने गर्छ । हो पनि । जीवनमा कति धेरै गहकिला, लामा छोटा र बान्कीका कथा पढिए होलान् तर छोटोमा पनि रसिलो, कसिलो र सन्देशमूलक कथा कमै पढिएको रहेछ । कथाकारभित्र विषयवस्तुलार्इ सिँगार्ने कला हुन्छ तसर्थ स्रष्टाप्रति हार्दिक नमन, पाठक यस्तै कथाको प्रतीक्षामा रहिरहने छ ।
    यो कथा धेरै मान्छेको जीवनमा लागु होअोस् ।
    हुन त यही गोरेटोमा हिँड्दा पनि असफल भएकाहरू र ठगिएकाहरू पनि छन् । समाज हो,विविधता त भइहाल्छ तैपनि ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button