आमाको मन, छोराछोरीको ‘फन’

पुस्तान्तर

मन्दिरा चापागाईं

सडकको जाम र धूवाँधुलोले लखतरान भएर घर पुग्दा आज पनि सातै बज्यो । छोराछोरी आँगनमा खेल्दै रछ्न् । सोफामा झोला, टेबुलमा मास्क, भुँईमा मोजा, बेसिनमा कपप्लेट कट्कटिइरहेका । पानी पँधेरै चुलो अधेरै ।

कन्सिरी तात्तिएर आयो । ओई, ‘भित्र आओ त !’

‘यो लथालिङ्ग र भताभुङ्ग के गरेको ? आफ्ना सामान, आफूले गरेको फोहोर ब्यवस्थापन गर्नु पर्दैन ? कुन तिमेरकी आमालाई नोकर राखेका छौ र थुपार्दिएका ? कुन जन्मका साहू रहेछौ नि तिमीहरु मेरा ?’ मैले पनि अठारै पूराण एकैचोटि वाचन गरें ।

छोरी सोफाको झोला र मोजा टिपेर कोठामा पसी । छोरा भाँडा माझेर हिँड्यो । एकैछिनमा घरमा सन्नाटा छायो ।

मलाई पनि कस्तो पारो तात्तिएको । राम्ररी सम्झाएको भए हुन्थ्यो नि । आखिर म त पचासको नोट पो हूँ त । पाँच दश बीस पच्चीस सबैका अनुभव अटाएका छन् पचासमा, भन्छ एउटा मन । बच्चा हुन् र ? जहिल्यै ज्यू ज्यू गर्न । नाङ्लो ठटाएर हात्ती तर्साउँनु नि पर्छ कहिलेकाहीँ, भन्छ अर्को मन ।

खाना तयार गरें । केटाकेटीलाई बोलाउनु पर्यो । अघि त्यतिबिधि प्रवचन दिएको छ । तर छोरीले त ढोकाको चुक्कुल लगाईछ । एकपटक आमाले गाली गर्दा सल बोकेर पासो लाग्न हिडेको सम्झें । बुझ्ने भएकप् छोरीलाई त्यो फलानथोक … चैं नभनेको भानि हुने मैले नि ।

छोराको कोठामा पसें, पसिनै पसिनाले निथ्रुक्क भएर पल्टिएको रछ । मन अमिलो भयो । फेरि छोरीको कोठामा छिँडिबाट चियाँए । मधुरो विद्युतको प्रकाश, जोडले पंखा चलिरहेको, ऊ आफ्नै सुरमा उता फर्केर बरबराई रहेकी । सार्है चित्त दुखाएछु । गएर कान समाएर माफी मागौं या के गरौं ?

अन्यमनस्कताको शिकार भएँ म ।

‘किन एकोहोरिनु भएको मेरी आमा ? नयाँ जेनेरेसन पो त, दिदीले टिकटक बनाएकी हो’, छोरोले भन्यो ।

‘अनि त चैं असिनपसिन भएर के पुरुषार्थ गरेर आ’को नि ?’

‘सिक्स प्याक बनाउनु पर्यो नि । प्ल्यांक गरेर आएको ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button