परपुरुषको म्यासेज: ल ल बाइ ! बुढीले थाह पाई भने मार्छे !

ऋतु श्री क्षेत्री
खोटाङ, हालः मोरङ

कतिपय सम्बन्धहरु दिन र रात जस्तै हुन्छन्, सुर्योदयसँगै जोडिन्छन् अनि सुर्यास्तसँगै सक्किन्छन् । कुनै दिन एकदमै आफ्नो आत्मिय लागेका मानिसहरु कालान्तरसम्म पनि त्यति नै आत्मिय लाग्छन् भन्ने हुँदैन । भनिन्छ नि, समय आउँछ तर पर्खिदैन, ठिक त्यस्तै बन्न मन पराउँछु म पनि ।

एक परपुरुष जो अपरिचित त पक्कै होइन तर मेरा लागि त्यो अनुहार परिचित छैन । समयले नपर्खे झै मलाई पनि त्यो अनुहार भुल्न मन लाग्छ ।

एक साँझ इन्स्टाग्रामको म्यासेज नोटिफिकेसन बज्छ । बेवास्ता गरेर नै टारिदिन्छु तर फेरि फेरि सोही क्रम जारी रहन्छ । केही दिनको लगातार म्यासेजले बाध्य बनाउँछ रिप्लाइ गर्न ।

केही समयको कुराकानी पछि ऊ भन्छ, ‘तिम्रो याद आएर म्यासेज गरेको, तिमी पो बोल्दिनौ त, फेसबूकमा पनि ब्लक गरिछौ, ल अब बाइ ल, फेरि पछि बोल्छु । कम्सेकम आफू नबोलाए पनि मैले बोलाउँदा त बोल्ने गर है । ल ल अहिलेलाई बाइ ! बुढीले थाह पाई भने मार्छे !

कुरा सकिन्छ । कुरा त सकिन्छ तर मेरो मनमा भने अनेकौं खुल्दुली उत्पन्न हुन्छ ।

सोच्छु, साँच्चै कति निर्दयी हुन्छन् पुरुषहरु । घरमा ७ महिनाकी गर्भवती श्रीमती छे तर श्रीमान भने कुनै परस्त्रीलाई तिम्रो याद आयो भन्दै म्यासेज गर्छ । अझ भन्छ बुढीले थाहा नपाइ गरेको । छिः कस्तो घटिया मान्छे । बिचरी ! त्यो श्रीमती के सोच्दी हो ? कस्तो लाग्दो होला यस्तो नालायाक श्रीमानलाई देख्दा ? जे भए पनि ऊ पनि एक नारी हो र नारी श्रीमानका ती सब गल्ती सहन सक्छे, सिवाय परस्त्रीसँगको प्रेम । बिचरी साँच्चै कसरी जिन्दगी कटाउँछे होला यस्तो मान्छेसँग ।

मनमनै यो पनि सोच्छु, ‘थ्यांक गड ! धन्न ! म बचेछु नत्र आज त्यो ठाउँमा म हुन्थेँ र मेरो श्रीमान यसरी मेरो साथमा रहेर परस्त्रीलाई तिम्रो याद आयो भन्थ्यो भने मेरो के हाल हुन्थ्यो ?’

धन्य ! भगवान बचायौ मलाई । बेलैमा सहि बाटो देखायौ । अब अगाडि पनि कतै मेरा पाइला डगमगाए भने सहि बाटो देखाउनुस् है ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button