कोशीले लोभ्याएको मनलाई संखुवासभा-भोजपुरको स्वागत बयानसाध्य छैन

यात्रा

गोविन्द श्रृङ्खला

नेपाल सानो मुलुक, भन्दा त यसै भनिन्छ तर यहाँका भौगोलिक विकटता, हिमाल, पहाड र तराइको विषमताले देशको आकार सानो भए पनि पहूचका हिसावले हाम्रो मुलुक अझै पनि विशाल नै छ । सूदूर पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म १०३१ कि.मि.को पूर्व पश्चिम राजमार्गले जोडेको भौगोलिक अवस्थिती होस् या दार्चुलादेखि ताप्लेजङ्गसम्मको महाभारतको आलिङ्गन होस्, यसको विशालता प्रष्टै हुन्छ । भिन्न भिन्न क्षेत्रमा रहेको सामाजिक, संस्कृतिक र भाषिक विविधताले नेपालको विशालता झनै प्रष्टिन्छ । नेपालको पश्चिमी समाजभन्दा पूर्वी समाज चेतनाका हिसाबले अगाडि छ भन्ने मैले सुनेको कथन सत्य हुने नै भयो तर विगतका विभिन्न आन्दोलनमा नेपालको पश्चिमी समाजले देखाएको अभूतपूर्व चेतनाको परिपक्कताले अब नेपालका हरेक समाज उत्तिकै चेतनशील बन्दै गरेको सन्देश सबैमाझ उदाङ्गै छ ।

२०६८ पौष ३ गते तराईलाई कुहिरोले ढपक्कै ढाकेको थियो । विराटनगरको बाक्लो बस्तीलाई छिचोल्दै हाम्रो यात्रा अघि बढ्छ इटहरीतर्फ । बिहानको ११ बजेको समय कुहिरोले बाटो दृश्यविहीन बनेको छ । नजिकैको बस्तुसमेत देख्न सकिदैन । कार्यालयको कामको सिलसिलामा हामी पूर्वी पहाडी जिल्लाको यात्राका क्रममा विराटनगर इटहरि धरान भेडेटार धनकुटा हुंदै संखुवासभा तथा भोजपुर जिल्लाको यात्रा तय गर्नु थियो । पूर्वी पहाडी जिल्लाको यात्रा मेरा लागि नयाँ र रोमाञ्चक थियो ।

हुन त म यस अघि तेह्रथुम र धनकुटाको यात्रा गरिसकेको थिए तर पनि चीनको सीमासंग जोडिएको संखुवासभा जिल्लाको यात्रा मेरा लागि अत्यन्तै नौलो थियो । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक उज्ज्वल आचार्य, सोही कार्यालयका शाखा अधिकृत कृष्ण निरौला कृषि विकास बैंक मुख्य कार्यालयका ध्रुव पौडेल,अनि हाम्रो यात्रालाई अनवरत अघि बढाउने जिम्मा लिएका सवारी चालक राजेश भाई र म गरि पाँच जनाको टोली कार्यालयको कामको सीलसीलामा पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा पहिलो दिन संखुवासभाको चैनपुर पुग्ने अठोटका साथ विराटनगरबाट प्रस्थान गरेका थियौं । हाम्रो यात्रालाई बा ८ च ३०८६ न.ंको महिन्द्रा बोलेरो गाडिले सहज बनाइरहेको थियो । करिव सात घण्टाको अविराम यात्रा पछि हामी साझ करिव छ बजे चैनपुर पुग्यौं । चितवन तरुण दलका अध्यक्ष्य शिव.पौडेलको हत्याको विरोधमा नेपाली कांग्रसले सो दिन मशाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेछ ।

झण्डै हाम्रो गाडी मसाल जुलुशको चपेटामा परेको थियो जे होस निमेष भरको फरकमा हामी सुरक्षित बनेकोमा खुशी पनि लाग्यो । हामी सुरक्षित हाम्रो कार्यलय रहेको स्थान सम्म पुग्यौं । हामी आउने खवर कृषि विकास बैंक चैनपुर शाखाका प्रबन्धक धनन्जय अधिकारीलाई पहिले नै गराइसकेका थियौं । वहाँहरु हामीलाई पर्खेर बस्नु भएको रहेछ । पहाडी वातावरण,चिसो सिरेटो चलेको थियो,त्यो चिसो सिरेटोमा पनि एक प्रकारको आनन्द जोडिएको थियो । त्यो चिसोपन भित्र नेपालीपन थियो आफ्नै माटोको गन्ध थियो र प्रदुषण रहित अपनत्वको भाव थियो । दिनभरीको एकोहोरो यात्रा र थकानलाई त्यहाँको मोहकताले छुमन्तर गरेझै लाग्यो । अघि सम्म अङ्ग अङ्गमा भैरहेको पीडा कुन्नि कता हरायो पत्तै भएन । कृषि विकास बैंक चैनपुरका साथीहरुको अतिथ्यमा हामी त्यसदिन त्यही रमाउंदै बस्यौं । भोलीपल्ट हामीले कार्यक्रम गर्नु थियो सवेरै, त्यसैले साँझ करिव नौ बजे तिर हामी ओछ्यानमा पसिसकेका थियौं ।

पौष ४ गते विहान करिव ७ बजे नित्य कर्म पश्चात हामी नजीकैको चिया पसलमा तात्तातो चिया खायौं । विहानको चिसोपनमा चियाको मीठो चुस्किले वेग्लै आनन्दको अनुभूती गराएको थियो । हामी ठट्टा र रमाइलो गर्दै चिया खाइरहेका थियौं । नजीकै दुई तीन जनाले कुरा गर्दै थिए आज त नेपाल बन्द सवै ठप्प होला है ? अर्कोले थप्दै थियो बन्दमा ठप्प भैहाल्छ नि । उनिहरुको यो वार्ता उनिहरुका लागि सहज भए पनि मेरा लागि एक दिनको वर्वादी थियो किन भने हामी सोहीदिन खाँदबाँरी पुग्नु पर्ने थियो । आज त फिटिक्कै गाडि चल्दैन रे हाम्रो सवारी चालक राजेश भाइले मेरो कानैमा आएर भने पछि म हारेको खेलाडि झै भएँ । धन्य पूर्वी प्रहरी प्रमुख डिआइजी साप पनि सोही दिन खाँदवारी जाने कार्याक्रम रहेछ, केही साहस आयो । कृषि विकास बैंक चैनपुरका प्रबन्धकले प्रहरीसंग अनुरोध गरी हामी पनि प्रहरीकै गाडीसँग जाने व्यबस्था मिलाए पछि हामी पुलकित भयौं ।

हतार हतार गरि त्यस दिनको कार्यक्रम सकेर खाँदवारी प्रस्थान ग¥यौं । कच्चि सडक धुलै धुलो खाल्डा खुल्डि र पहाडी सडकको जोखिमपूर्ण यात्रा आफैमा कहाली लाग्दो थियो । भण्डारी गाउ बानेश्वर लोहाकोट सभाखोला तुम्लिङ्गटार हुंदै करिव ३ बजे तिर हामी खाँदवारी पुग्दा हामीले ठूलै युद्ध जितेर आएको महसुस ग¥यौं । किनभने हाम्रो आजको वास प्रहरीले सहयोग नगरेको भए चैनपुर मै हुने निश्चित थियो र हामीलाई तोकिएको समय अत्यन्तै कम थियो काम धेरै गर्नु थियो । खाँदवारीको अफिसमा त्यहाँका प्रबन्धक लगायत अन्य कर्मचारी साथीहरुले हामीलाई न्यानो स्वागत गरे । कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यबस्था पनि मिलाइदिए । अवेर सम्म भए पनि आजै कार्यक्रम सक्न पाए भोली भोजपुरको यात्रा गर्न हुन्थ्यो भन्ने हाम्रो चाहना थियो । नभन्दै त्यस्तै व्यबस्था मिल्यो ।

साँझ करिव ६ बजे कार्यक्रम सकेर थकित मुद्रामा खाँदवारीको चिसो वातावरणलाई आत्मसात् गर्दै भोलीको कल्पनामा रात वितायौं । कार्यालयमा सवै व्यबस्था भएको हुंदा त्यस दिनको हाम्रो विश्राम अविश्मरणिय नै भयो । भोलीपल्ट अर्थात पौष ५ गते, अत्यन्तै चिसो वातावरण हामी सवैको मुटु लगलग कापिरहेको थियो । कार्यालयका सहयोगीले हामी सवैलाई तात्तातो चिया तयार गरि ल्याइ दिए । जाडो यामको तातो चियाले हामीलाई केही उर्जा मिल्यो । चिया पिए पछि हामी विना विलम्ब भोजपुरका लागि प्रस्थान गर्नु थियो । टोलीका सवैलाई मैले छिट्टै प्रस्थान गर्न अनुरोध गरें । सवै हतार हतार तयार हुनु भयो । हामी करिव ८ बजे खाँदवारीबाट भोजपुरका लागि प्रस्थान गर्‍यौं । उकाली ओराली साघुरो बाटो हाम्रो गाडि आफ्नै गतिमा एकोहोरो कुदिरहेको थियो गाडिमा जडित रेडियोबाट गित गुन्जिरहेको थियो “आगे आगे तोपैको गोला पिछे पिछे मेशिन गन बरर”, यस क्षेत्रको नियती, परिवार पाल्न सेनामा भर्ति हुनुको पीडा ओहो कस्तो वास्तविकता । उही हिजोको बाटो, पहाडी सडक जोखिमका थुप्रै संभावनाहरु छिचोल्दै हाम्रो जीप तुम्लिङ्गटारको समथर मैदानमा आइपुग्यो । संखुवासभा एउटा अनौठो भौगोलिक बनोट भएको जिल्ला, हिमाल पहाड र तराइको झझल्को दिने सवै भौगोलिकता यस जिल्लाको विशेषता नै रहेछ ।

हाम्रो यात्रा निरन्तर अघि बढिरहेको छ र राजेश भाइले हाम्रो यात्रालाई सहज बनाइरहेका छन् । गाडिको म्यूजीक प्लेयरबाट मधुर गीतहरु गुन्जिरहेका छन् र हरेक गितका बारेमा हाम्रो टोलीले समीक्षा गरिरहेको छ । कुन गीत कस्तो छ शव्द गहकिला छन् कि भाव पक्ष बलीयो छ हामी समीक्षात्मक टिप्पणी पनि गरिरहेका छौ । करिव चार घण्टाको यात्रा पछि हामी पुनः चैनपुर हुंदै धनकुटाको बसन्तपुर आइपुग्यौं । विहान खाजा खाने अवसर पनि मिलेन र बाटोमा कहिं कतै व्यबस्था पनि भएन हामी पाँचै जनाको पेटमा मुसा कुदिरहेका थिए । अव एउटा राम्रो होटल हेरेर खाना खाने निधो भयो । करिव आधा घण्टा खाना खाने काममा अल्झिए पनि फेरी करिव पौने एक बजे हाम्रो यात्रा अघि बढ्यो । करिव दुई बजे हामी धनकटाको हिले पुग्दा चिसो सिरेटो चलिरहेको थियो ।

हामी हिलेबाट पाख्रिवास हुंदै अरुण नदि लेगुवाघाटको फेरि तरेर भोजपुरको यात्रा तय गर्नु थियो । करिव ३ बजे हामी लेगुवाघाट पुग्यौं । हाम्रो गाडि फेरिबाट तार्ने काममा केही विलम्ब भयो । करिव आधा घण्टाको समय पश्चात गाडि तारियो । अरुण नदीको विशालता लम्पसार नदीको शालीनता र पहाडी मनोरम दृश्यले सवैको मन जितेको थियो । नजीकै नदीमा पुल निर्माणको काम भैरहेको थियो । मैले मित्र ध्रुव पौडेल संग भने “अव अर्को पटक आउदा त पुलबाटै यात्रा हुन्छ होला है ?” उहाँले निराश स्वरमा देशको नियती प्रति व्यङ्ग गर्दै भन्नु भयो “खै संविधान निर्माण जस्तो भयो भयो भने त भन्न सकिन्न ।” अरुण नदि तरेपछि भोजपुर जिल्ला पर्दोरहछ । पारिपट्टि चिया खाने विचार ग¥यौं । चिया पसल नजीकै रहेको एक जना व्यक्तिलाई भोजपुर जाने बाटोका बारेमा सोध्दा हाम्रो भोजपुरको यात्रा करिव करिव यहि टुग्ंयाउनु पर्ने आशयको भनाइ आयो । उसले त यहाँ सम्म भन्यो कि हाम्रो गाडि भोजपुर सम्म पुग्नै सक्दैन । अघि सम्मको उत्साह एक्कासी सुकेको पात झै भयो । तै पनि भोजपुरबाट आउने गाडिहरुलाई सोध खोज गरेर निर्णय गर्नु पर्छ भन्ने निधो ग¥यौं । राजेश भाईले भोजपुरबाट आउने गाडि चलकलाई सोधे पछि बाटो ठिकै भएको र गाडि जान सक्ने जानकारी भयो । त्यस पछि मात्र हाम्रो यात्रा अगाडि बढ्यो । भोजपुरको यात्रा तय गर्ने निधो भए पछि लेगुवाघाटबाट उकालो लाग्यौं । केही बेरको उकालो पछि जरायोटार भन्ने स्थानमा आइपुग्यौं । जरायोटार समथर मैदान रहेछ । ठूलै टार ।

पहाडी बाटो साँघुरो, त्यसैमाथि बाटोभरी हिलो लाग्दथ्यों, पूर्वी पहाडि क्षेत्रको अत्यन्तै विकटताको नमूना हो यो । जरायोटारबाट केही वेरको यात्रा पछि हामी भण्डारी गाँउमा आइपुग्यौं । पुसको महिना चिसो हावा एकोहोरो वहिरहेको थियो र हाम्रो गाडि पनि हावाको वेगलाई चिर्दै अघि बढिरहेको थियो । बाटोको छेउछाउमा रहेका घरहरु जाडोले कठ्याग्रिएका रुखहरु र धुले बाटोमा एकोहोरो कुदिरहेको हाम्रो गाडि त्यो भन्दा बढि वर्णन गर्न लायक केही छैन त्यो ठाउँमा ।

केही वेर हाम्रो गाडीभित्र पनि सुनसान छायो । म्यूजिक प्लेयर पनि मौन छ । यात्रीहरु पनि मौन छन्, छ त केवल गाडीको इन्जिनको अविराम आवाज जसले गाडिको वेगलाई स्वचालित गराइरहेको छ । केही क्षण पछि माथी टाढाबाट तल एउटा सानो बजार देखा प¥यो । सडक छेउको दुरी जनाउ दिने पिलरमा लेखेको देखियो प्याउली २ कि.मी. । हामीले सहजै अनुमान लगायौं भोजपुरको प्याउली बजार आउन अव केवल दुई कि.मि. मात्र बाकीं छ । चार पाँच मिनेटको यात्रा पछि प्याउली बजार आइपुग्यौं । सडकको तल माथी केही घरहरु वरिपरिका बारी र कान्लाहरुमा साग र तरकारीको हरियाली, राजेश भाइले एक छिन गाडि रोकें । भ्m्यालको सिसा उघारेर हामीले बाहिर नियालेर हे¥यौं । समग्रमा रमाइलै लाग्यों । पहाडि रमणियतामा रम्न जान्ने नेपालीका लागि यस्ता स्थानको महत्व झनै हुन्छ । यति वेला सम्म झण्डै साढे चार बज्न लागेको थियो समयको चाप अत्यन्तै थियो, हामी साँझ सम्म भोजपुर पुग्नै पर्ने थियो किनभने भोली विहानै देखि हामीले कार्यक्रमको लागि समय निर्धारण गरिसकेका थियौं । एक दुई मिनेटको विश्राम पछि हाम्रो यात्रा पुनः सुचारु भयो ।

कोक्रामा नानी हल्ले झै गाडिले हामीलाई हल्लाइरहेको थियो । कहिले टाउको गाडिको छतमा ठोकिन्छ त कहिले कुहिनोले साथीलाई धक्का दिन पुग्छ सडकको हविगत यस्तै थियो । प्याउली बजारबाट झण्डै ४५ मिनेटको यात्रा पछि हामी हिले भन्ज्याङ्ग आइपुग्यौं । हिले भन्ज्याङ्ग आइपुग्दा अध्यारो हुनै लागेको थियो । हिले भन्ज्याङ्गबाट भोजपुरको दिङ्गला र सदरमुकाम जाने बाटो छुट्टिदो रहेछ । हिले भन्ज्याङ्गबाट दिङ्गला देख्दा मैले बालगुरु षढानन्दलाई सम्झे किन भने हामीले सानो छंदा उनको बारेमा विद्यालयमा पढेका थियौं । उत्तर पश्चिमको त्यो विशाल क्षेत्रलाई क्रमशः रजनीले छोप्दै गए पछि हाम्रा आँखा पनि धुमिल बन्दै गए । हिले भन्ज्याङ्गको खोंचबाट चलेको सिरेटोले हाम्रो मुटु कापिरहेको थियो । जाडोले मुटु नै कमाएपछि मैले साथहिरु माझ आग्रह गरें, “जति ढिलो भए पनि एक÷एक कप चिया त खाएरै जाउंँ ।”

अरु साथहिरुको मनमा पनि यस्तै लागेको रहेछ मेरो प्रस्तावमा सवैले सहमति जनाउनु भयो । हामी हतार हतार चिया खाएर लाग्यौं भोजपुर सदरमुकामलाई लक्ष्य बनाउंदै । समयको चापलाई ध्यानमा राख्दै राजेश भाइले गाडिको गति बढाइरहेका थिए । हामीलाई भोजपुर पुग्न झण्डै दुई घण्टाको यात्रा तय गर्नु थियो । यात्रा अनवरत अघि बढिरहेकै छ, सडकखण्डले छोएका विभिन्न स्थानहरुको झुण्डमा रहेको अर्को स्थान श्यामशीलालाई पनि हामीले पछि पार्दै भोजपुर सदरमुकाम छोप्न हतारिएका छौं । हामी अघि बढिरहेका छौं विश्रामको कुनै गुन्जायस छैन बाटो छोट्टिदै छ क्रमशः भोजपुर नजिकिदै छ ।

झण्डै साढे छ बजेतिर हाम्रो गाडिले अंधेरी खोला त¥यों । हामी भोक र थकाइले चूर चुर भएका छौं । “भोजपुर आउन अव कति होला”, मैले साथीहरु माझ प्रश्न राखें । हामी सवै भोजपुरका लागि नयाँ थियौं कसैले यति नै समय लाग्छ भन्न नसके पनि अनुमान भने सवैले लगाए अव एक घण्टा भित्र पुगिन्छ होला । उकालो चड्दै समथर बाटो पहिल्याउंदै भैसीपंखा भन्ने स्थानमा आइ पुग्दा तल विजुलीको झिलिमिली देखा प¥यों । हामीले अनुमान लगायौं त्यही नै भोजपुर हुनु पर्दछ । निक्कै घुम्ति र मोडहरु पार गर्दा पनि भोजपुर अझै आइ पुग्दैन देख्दा कति नजिक तर बाटोको लम्बाइ भने अत्यन्तै पट्याटलाग्दो । अन्नतः हामीले लक्षित गरेर हिडेको भोजपुरलाई हामीले छोपिहाल्यौं, रातिको पौने आठबजे । भोजपुर सदरमुकाममा पहिलो पटक पाइला टेक्दा मैले संसार जितेको महसुस गरें किनभने दिउसो लेगुवाघाटमा एक जना स्थानीयले भने अनुसार हामी प्याउली बजारबाट अघि जानै सक्दैनौ भन्ने थियो तर पनि भोजपुर सदरमुकामलाई मैले आत्मसात् गर्न पाएँ । कृषि विकास बैंक भोजपुरका साथीहरु हाम्रै पर्खाइमा हुनुहुंदो रहेछ ।

भोक तिर्खा र थकाइले लखतरान परेका हामीलाई त्यहाँका साथीहरुले अत्यन्तै हार्दिकताका साथ आतिथ्यता दिनुभयो । रातीको खाना खाएर सुत्दा झण्डै १० बजेको थियो । भोजपुरको एक दिने बसाइलाई अत्यन्तै उत्साह र रोमाञ्चक बनाउदैं भोलीको कार्यक्रम समयमै सक्ने योजना बनाउंदा बनाउंदै हामी मीठो निद्राको आलिङ्गनमा समाहित भयौं ।

कोशीले लोभ्याएको मनलाई संखुवासभा र भोजपुरले यति धेरै स्वागत गर्‍यो यति धेरै आत्मसात् गर्‍यो र यति धेरै हार्दिकता देखायो कि हामीले त्यसको मापन नै गर्न सकेनौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button