मनभित्र एउटा चित्र कोरेको, ठूलो मान्छे हुन घरै छोडेको

टंक सुवेदी

भालेको डाकमा छोडेको गाउँ
सेतो हिमाल रमाइलो ठाउँ
भेडाको लस्कर, जुरेलीको आवाज
पोल्टाको मकै मायालु रिवाज ।

शुक्रबारे स्कुल, चिप्लो बाटो
सधैं प्यारो आफ्नो ढुङा माटो
असारे गीत न्याउलिको भाका
बाबुको गाली आमाको काख ।

खोलाको पौडी खाली खुट्टा दौडी
कति कुदियो पैसा न कौडी
पाउँदा खाइयो कति दिन भोकै
बाटोको खाजा भटमास र मकै ।

कहिले काफल कहिले ऐसेलु
शहरी जीवन छिटै बैसालु
सिनेमा हेर्न सुकुलमा बसी
गाउँमा बन्थ्यो पातको मसी ।

काठको गाडी आमाको साडी
क्या मिठो हुन्थ्यो तराईको ताडी
पहाडको पानी बाटोमा लाउँदा
टाउकोमा फोका असिना आउँदा ।

भुल्नु कसरी अतीतका कुरा
कति सिङगै कतिधेरै अपुरा
मनभित्र एउटा चित्र कोरेको
ठूलो मान्छे हुन घरै छोडेको ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button