
तरकारी प्रसंगमा माननीय प्रदीप ज्ञवालीलाई पत्र
बाबुराम पौडेल
माननीय प्रदीप ज्ञवाली ज्यू,
पूर्व मन्त्री, नेपाल सरकार ।
तपाईले हालै मेरो भान्छामा दुई थरी तर्कारी पाक्न छाड्यो भनेर दिनु भएको अभिव्यक्तिप्रति दुई चार सकारात्मकताबाहेक मुलुकभर तपाईको अभिब्यक्तिको ट्रोल बनेर भाईरल भयो । लगत्तै संसद भवनबाट अर्की एक जना माननीया ज्यूको सालेनकिरा आएपछि उनको कीराले बजार पिट्न थालेर तपाईप्रतिको ट्रोलले विश्राम लिंदै गर्दा आज स्वयं उक्त ट्रोलप्रति तपाईको दुख मनाउ संचारमाध्यम र सामाजिक संजालमा देखियो ।
राष्ट्रिय जीवनका महत्वपूर्ण पदमा पुगेका र अब पनि त्यो सम्भावना बोकेका तपाई जस्ता शालिन र निष्कलङ्क व्यक्तित्वको अभिव्यक्तिमा अथाह ओजन हुन्छ । तपाईहरुले बोल्ने एउटा शब्दको झिल्कोले मुलुकभर डढेलो सल्काउन पनि सक्छ । ठिक तपाईले बोलेकै शब्दहरु ऐरे गैरेले कहीं कतै बोलेको भए कस्ले पो सुन्थ्यो वा टिप्पणी गर्थ्यो होला र ? त्यसो त तपाईको भान्छामा एउटा, दूईटा, पाँचोटै प्रकारका तर्कारी वा ब्यन्जन पाक्नु नपाक्नुसँग जनताको सरोकार रहन्न है फेरि ।
बरु तपाईले कर्णालीका जनताले चार गाँस ढिंडो निल्नका लागि डोब्ने नुन पाएका छन् कि छैनन् भनेर बोल्नु पर्थ्यो । तपाईको भान्छामा पाक्नु पर्ने दूईथरी तर्कारी उत्पादन गर्ने किसानले मल, बीउ, पानी र लागत मूल्य उठने सम्मको बजार पाएका छन् कि छैनन् भनेर बोल्नु पर्थ्यो । बरु तपाईंले कृषक लुटने बिचौलिया नियन्त्रण गरेर तपाईं र हामी जस्ता न्यून आय भएका आम नेपालीले दूईटा तर्कारी किन्न पुग्ने पैसो एउटै तरकारीलाई तिर्नु परेको बिषयमा बोल्नु पर्थ्यो । उखु किसानलाई ४ बर्षदेखिको भुक्तानी नदिएर सताएका मिल वालालाई सरकारले पनि कारबाही गर्न नसकेर नेपालमा उखु खेती नै हुन छाडेको बिषयमा बोल्या भए आहा ।
कर्णालीको उत्पादन समथरमा झार्ने, समथरबाट त्याहाँ नून र खाद्यान्न पुराउने, कृषि उत्पादन कालागि अत्यावस्यक रासायनिक मल किनेर बेच्ने सरकारले यथोचित समयमा कृषकलाई मल उपलब्ध गराईदिने, तराईका अन्न भण्डारमा प्लटिङ् रोक्ने, पहाडमा किसान उठिबास लगाउने बाँदर नियन्त्रण गर्ने, नेपाली किसानका उत्पादन नबिकेर फाल्ने र पारीबाट आएका तरकारी फलफूलले बजार ओगट्ने स्थितिको ब्यबस्थापन बारेमा पो बोल्ने होला नि तपाईहरु त । बोल्ने मात्र होईन कि गर्ने ठाउँमा पठाएको हैन र तपाईलाई पटक पटक ? उल्लेखितानुसार गर्न पहल गरेको भए तपाईं प्रति सायद कटाक्ष नआउने थियो कि ?
फेरि नेपालका सांसदको आम्दानीले त दूईटा तर्कारी खान नसक्ने रहेछ भने त्यो पद भन्दा तलका, अधिकृत, सुब्बा, अथवा सरकारी पदै नभएका, मजदूर, दैनिक ज्यालादारी लगायतका भान्छामा त एक थरी तर्कारी पनि नपाक्ने पो भयो त ? तरकारीबाहेक मुलुकका अन्य जटिल समस्या र तथ्यको उदाहरण दिनु भएको भए बरु जाती हुन्थ्यो कि ?
माननीय ज्यू,
हाल नेपालमा बार्षिक १७ अरबको तरकारी मात्र भारतबाट आयात हुने रहेछ । अत्यधिक बिषादी र रासायनिक मल हालिएको त्यो तरकारी दुई थरी हैन एक थरी पनि कम खानुस् भन्छु म त । एक थरी खानेले बरु भबिष्यमा अस्पतालहरुमा उपचार बापत लाग्ने पैसो पो जोगाउला त । किन्न नसकेर तरकारी नखाने पो बरु निरोगी रहने देखियो नि ।
लामो नलेखम् , माननीय ज्यू आफै जानकार हुनुहुन्छ । आफ्नै करेसा बारी वा उत्पादन हुनेले सकेसम्म अर्ग्यानिक फलाएर खाउँ । स्वदेशी उत्पादन बढाउने प्रेरणा र सरकारी प्रयत्न जारी राखेर विदेशी आयात निर्भरता घटाउँ । त्यसपछि खाउँ न दुई वा तीन थरी तरकारी, हुन्न र ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)