
जे भने पनि हुन्छ, देश चुनावमय हुन्छ जब
पारसमणि घिमिरे
अरे हजुर अनौठो नमाने हुन्छ, जे भने पनि हुन्छ
काठमाडौंलाई पेरिस बनाउने भने पनि हुन्छ
रोम बनाउने भने पनि हुन्छ।
नेपाललाई
स्विजरल्यान्ड अनि सिंगापुर
बनाउने कुरा त पुरानै हुन्
मोनोरेल अनि मेटरोरेलका किस्सा पनि
नयाँ रहेनन् अब ।
हरेक भान्सा धेरै महँगो बनिसक्यो
पहिले थोरै पैसाले धेरै सामान आउँथ्यो
अहिले धेरै पैसाले थोरैमात्र आउँछ ।
भौतिक पुर्वाधारको त कुरै नगर्नोस्
अहिले ग्रामीण ईलाका मात्र होइन
शहरीबस्ती पनि दुर्गम है लाग्छन्
अन्तर के भो र हजुर,
हेर्नुस् हाम्रा घोषणापत्रहरु, चुनावी प्रतिबद्धताहरु ।
देशभित्र अनि अन्तर्राष्ट्रिय स्तरमा मात्र हैन
अन्तरिक्षसम्मका सडकसंजाल अनि सम्पर्कसुत्र छन्
यत्रतत्र ।
शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार अनि विकास
मानवअधिकार, महिला सशक्तिकरण, भ्रष्टाचारप्रति शुन्यसहनशिलता
सबै स्थानीय समस्याको, स्थानीय तहमै निकास
२१ औं शताब्दी सुहाउँदो दिगो विकास ।
वातावरणमैत्री अवधारणा, प्रविधिमैत्री जनजीवन
अनि कति हो कति ।
अरे हजुर, अनौठो नमाने हुन्छ
भन्नलाइ मात्रै के भो र ?
जति सक्यो तेति भनिदिए हुन्छ अब
गाउँबस्ती, शहरबजार अनि पुरै देश चुनावमय हुन्छ जब ।