
बर्दिया: ‘पश्चिम’ अन्नभण्डार
बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्नभण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेशको बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्गकि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६ प्रतिशत) तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । बिगतमा आदीबासी थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।
बि.स. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले ईष्टईण्डिया कम्पनीलाई सहयोग गरेवापत बि.स. १८७३ को सुगौली सन्धीबाट गुमेको भु-भाग मध्ये बि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कंञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दियालगाएत उल्लेखित जिल्लाहरु नयाँ मुलुकको रुपमा पनि चिनिन्छन् । यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवम् पौराणीक आख्यानहरु रहेको पाइन्छ । ति मध्ये केही यस प्रकार छन् ।
थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरनक्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ ।
साविक पदनाह गा.वि.स. हालको बारबर्दिया नगरपालिकामा वारवर्दिया भन्ने गाँउ छ, पहिले यसै ठाँउमा हरिहर उपाध्याय नामका ठुला जमिन्दारको महल थियो । वर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरबाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो, अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।
जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, देशकै ठूलो कर्णाली नदी, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक साँस्कृतिक, सहिष्णुता समाज समेतले बर्दियाको चिनारी दिइरहेको छ ।
(स्रोतः जिल्ला प्रशासन कार्यालय, बर्दिया)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)