
प्रार्थना, पुजुठाना वा प्लुथानबाट प्यूठान ?
प्यूठान शब्दको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न धारणा पाईन्छन् । कर्कपेट्रीकले प्रार्थना (पुरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनले पुजुठानाबाट प्यूठान, ओल्डफिल्डले प्रार्थनाबाट प्यूठान नाम रहन गएको र योगी नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले समय-समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ । सुरक्षा सम्बन्धी शब्द- पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भने तर्क आम रुपमा बलियो रहेको छ ।
प्यूठान राज्यको स्थापना यति नै समयमा भएको हो भन्ने निश्चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । वि.सं. १५१५-१५६० तिर चन्दवंशी राजाहरुले स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भएतापनि किटानी गर्न सकिने अवस्था छैन । प्यूठान राज्य राजधानी भित्रीकोटमा रहेको र मोदनीबर्मनले वि.सं. १५१५ मा आफ्ना कान्छा छोरा ज्वाई चन्दवंशका लटराज चन्दलाई राजा बनाएका प्रमाण भेट्न सकिन्छ । प्यूठान जिल्लाभित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजी कालु पाण्डेलाई लेखेका पत्रमा ‘प्यूठाना पर्वतभित्र कति राजा छन् …’ भनिनुले पनि अनुमान गर्न सकिन्छ ।
प्यूठान जिल्लाको नामाकरण सर्वप्रथम मगर जातीबाट गरिएको कुरा यहाँका स्थानहरुको नामाकरणबाट अनुमान लगाउन सकिन्छ । भिंग्री, सारी, कोचिवाङ, मर्कावाङ, तोरवाङ, खवाङ, स्यालिवाङ आदि प्राचिनकालमा लिच्छवीकालहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औँ शताब्दीसम्म रह्यो । पाल्पाली राजा मुकुन्द सेनका समकालिन प्यूठानी राजा रुद्रसिंह पछि मोतिचन्द (प्रथम) यहाँका राजा भए । यशोदाको विवाह मुकुन्द सेन (प्रथम) का नाती कर्ण सेनसँग भएको बताइन्छ । मोतिचन्द पश्चात रुद्र चन्द, गजकेशरी चन्द भएको बुझिन्छ । वि.सं. १७६० तिर पृथ्वीपती शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२ मा राजा माणिक चन्दको ताम्रपत्र देखा पर्दछ । वि.सं. १८३५ मा मोतिचन्द (द्वितिय) प्यूठानका राजा थिए । खुंग्री, भिंग्री, इश्मा र मुसिकोट प्यूठानका अनुयायी भएको कुरा ह्यामिल्टनले उल्लेख गरेको पाइन्छ । मोतिचन्द प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकिकरण अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ । प्यूठानको एकीकरण गरीसकेपछि खुंग्री र उदयपुरका शासकहरु नेपाल नरेशको छत्र छाँयामा रजौटाको रुपमा रहे । खुंग्री र उदयपुरका राजालाई राज्य पनि २०१७ ले आजीवन राजाको प्रदान गरेकोमा हाल उक्त ऐन खारेज गरेपछि रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ ।
वि.सं. २०१९ साल पूर्व प्यूठान भित्रीकोट, नारीकोट, उदयपुरकोट, माडीखोला, कालाशेष र वाइसखुवा गरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाइसखुवा रोल्पामा गाभिए । संघियताको कार्यान्वयनसँग-सँगै हाल १ वटा निर्वाचन क्षेत्र, ७ वटा गाउँपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ भने प्रशासनिक केन्द्र खलंगा प्यूठानमा रहेको छ ।

प्यूठान जिल्ला पहाडी क्षेत्रमा अवस्थित जिल्ला हो, जुन काठमाण्डौँबाट पश्चिम दिशातर्फ करिब २५० किलोमिटरको दुरीमा रहेको छ । यसले करिब १३०९ वर्गकिलोमिटर क्षेत्र ओगटेर रहेको छ । यसको अवस्थिती हेर्दा २७५२’ उत्तरदेखि २८२२’ उत्तरी अक्षांशसम्म र ८२३६’ पूर्वदेखि ८२६’ पूर्वीदेशान्तरसम्म फैलिएको छ । यो जिल्ला ५ वटा जिल्लासँग जोडिएर रहेको छ । यसको पूर्वी दिशामा गुल्मी र अर्घाखाँची, पश्चिममा रोल्पा र दाङ, उत्तरमा रोल्पा र बाग्लुङ्ग, दक्षिणमा दाङ र अर्घाखाँची जिल्लाहरु रहेका छन् ।
यो जिल्लाको कुल क्षेत्रफल १,३२,८९० हेक्टर रहेको छ जसमध्ये ७२६९४ (५४.७%) हेक्टर भू-भाग वनले ढाकेको छ । वुट्यान तथा चरन क्षेत्रले १२८९९ (९.७१%) हेक्टर भू-भाग ढाकेको छ भने बाँकी भू-भाग कृषि भू-भाग तथा खोलानालाले ढाकेको छ ।
यो जिल्लाको तल्लो भाग वांगेशाल क्षेत्र समुद्र सतहबाट ३०५ मिटर र माथिल्लो भाग स्याउलिवाङ स्थित कोठीभिर ३६५९ मिटरमा अवस्थित छ ।
यसको दक्षिण भागमा चुरे क्षेत्र, पश्चिममा महाभारत पहाड पर्दछ भने उत्तरी भू-भागमा तल्लो हिमाली क्षेत्र पर्दछ तसर्थ चुरे क्षेत्रमा पाइने कमजोर चट्टानदेखि महाभारत पर्वतमा पाइने कडा चट्टान र महाभारत पर्वतदेखि माथि चुनढुङ्गा मिश्रित चट्टान रहेको पाइन्छ ।
भू-गर्भ बनावट अनुसार यस जिल्लामा तामा, चुन ढुङ्गा, कोईला, सुन, मार्वल, स्लेट जस्ता खनिज पदार्थको प्रशस्त सम्भावना रहेतापनि अध्ययन अनुसन्धानको कमीले यस जिल्लामा कुन कुन खानी, कहाँ र के कति मात्रामा पाईन्छन्? त्यसको एकीन गर्न गाह्रो रहेको छ । अरङ्ग खोला तथा स्याउलिवाङ्गमा सुन खानीको खोज कार्य भएको छ । फोप्लीमा चुन ढुङ्गा खानी सञ्चालनमा आएको छ ।
भू-गर्भ बनावट अनुसार यस जिल्लामा पाईने चट्टानहरुमा फाईनाईट, डोलोमाईट, स्टेल, लाईम स्टोन, बाबाजाईट इत्यादी पाइन्छन् ।
यस जिल्लामा फ्रयान मन्टल, स्याण्डी लोमी बोल्डर, लोमी बोल्डर्स माटो पाइन्छ ।
भौगोलिक बनौट अनुसार यस जिल्लाको जलवायुमा विविधता रहेको पाइन्छ । यहाँ उष्ण, उपोष्ण तथा शितोष्ण किसिमको हावापानी पाइन्छ ।
बङ्गालको खाडीबाट चल्ने मनसुनी वायुबाट यो जिल्लामा वृष्टि हुन्छ । मनसुनी वर्षा आषाढ महिनाबाट शुरु भई भाद्र महिनासम्म सक्रिय रहन्छ । हिउँद ऋतुमा पश्चिमी मनसुनी हावाबाट छिटपुट पानी पर्छ । सन् १९८१ देखि २०१० सम्मको तथ्याङ्कको आधारमा यस जिल्लामा वार्षिक औषत सरदर १८४७ मिमि वर्षा हुने गरेको पाइन्छ ।
यो जिल्लाको तापक्रम अधिकतम ४० डिग्री सेल्सियस र न्यूनतम १२ डिग्री सेल्सियससम्म पुगेको पाइन्छ ।
यो जिल्लामा गृष्म ऋतुको बैशाख-जेष्ठ महिनामा पश्चिम र उत्तरी दिशाबाट आँधी-तुफान आउने गर्दछ । उत्तरी तर्फबाट आउने आँधीबेहरी भन्दा पश्चिमतर्फबाट आउने आँधीबेहरी बढी हानीकारक रहेको पाइन्छ ।
यो जिल्ला सुख्खा एवं खडेरीबाट प्रभावित नभएता पनि विगतको तुलनामा जलवायु परिवर्तनको अनुभूति हुन थालेको छ । प्रजातिहरुको फूल फूल्ने र फल लाग्ने समयमा आएको परिवर्तन तथा मनसुन आगमनको अनिश्चितताले कृषि कार्य प्रभावित भएको छ तथापी लामो समय खडेरी परी ठूलो असर परी खडेरी प्रभावित भनि घोषणा अवस्था हालसम्म आएको पाइँदैन ।
हिमाल, पहाड, पर्वत भू-बनावट रहेको यस जिल्लामा प्रशस्त मात्रामा नदी तथा खोला-नालाहरु रहेका छन् । महाभारत पर्वत उद्गम बिन्दु रहेको राप्ती, झिमरुक (धर्मावति) र माडीखोला (माण्डवि) यस जिल्लाको तीन प्रमुख नदीहरु हुन्, जसमध्ये राप्ती नदी दाङ्ग जिल्लाको देउखुरी उपत्यका तथा बाँके जिल्लाको बैजापुर क्षेत्र हुँदै भारतमा पुगेर प्रसिद्ध गंगा नदीमा समाहित हुन्छ ।
यो जिल्लामा अरङ्गखोला, जुम्रिखोला, गर्तुङ्गखोला र लुङ्गखोला महाभारत पर्वत उद्गम विन्दु भएका खोला-नालाहरु हुन् । यी खोला-नालाहरु स्थायी छन्, जहाँ बाह्रै महिना पानी सुक्दैन र सिंचाईको दृष्टिले उपयुक्त छन् । यी खोलाहरु राप्ती नदीमा समाहित हुन्छन् ।
पर्यटकीय दृष्टिले धार्मिक, ऐतिहासिक, पुरातात्विक ठाउँहरु महत्वपुर्ण हुन्छन् । यस जिल्लामा पर्यटकीय दृष्टिले महत्वपुर्ण स्थानहरुमा स्वर्गद्वारी, ऐरावती, झाँक्रिस्थान, कालिका मन्दिर, शिवालय, गणेश मन्दिर (खलंगा), गौमुखी, मल्लरानी, कोठीभिर, भित्रीकोट आदि प्रसिद्ध रहेका छन् ।
प्यूठान जिल्लाको वन जंगल सम्बन्धमा कुनै पनि पौराणीक कथा तथा कुनै ऐतिहासिक लिखत नपाइएतापनि बुढापाकाको भनाई अनुसार आजभन्दा ८०/९० वर्ष अगाडी यस जिल्लामा मान्छे बस्न नै डराउने घना जंगल थियो । यस जंगलमा भालु, चितुवा, कस्तुरी, रतुवा, व्वांसो लगायतका जनावर तथा डाँफे, मुनाल, मयुर, वनकुखुरा लगायतका थरीथरीका चराचुरुङ्गीहरु प्रशस्त मात्रामा पाइन्थ्यो ।
कृषि नै मुख्य पेशा भएको यस प्यूठान जिल्लामा २००७ साल अगाडी केही मात्रामा जंगलहरु फडानी गरी आवाद गरेको पाइन्छ । तर पनि जनघनत्व कमी नै रहेकोले वन जंगल प्रशस्त नै थियो । तसर्थ पशुपालनमा कुनै खास बाधा थिएन । त्यसबेला वन सम्बन्धी खास ऐन कानुनहरु थिएनन् र वन जंगलको पूर्ण जिम्मेवारी तालुकदार, मुखिया, जिम्मुवालमा रहेको थियो । १/२ पैसा तिरेपछि आफ्ना नजिकका व्यक्ति विशेषलाई वनको जग्गा दिने प्रथा थियो । जसले गर्दा धेरै जसो जग्गा जमिन व्यक्ति विशेषको स्वामित्वमा गएको पाइन्छ ।
जनसंख्याको द्रुततर बृद्धि हुँदै गएपछि जीविकोपार्जनको लागि साधन र श्रोतहरु सिमीत हुँदै गए । बढ्दो जनसंख्यालाई खाना पुर्याउन धौ धौ हुन थाल्यो । कृषि उत्पादन बढाउनुपर्ने बाध्यताले तिरो तिरेको नाताले वन जंगल क्षेत्रको जग्गा पनि कृषि जग्गामा परिणत हुन थाले र वन जंगलको साविक अवस्थामा ह्रास हुँदै आयो । २००७ सालपछि औलो नियन्त्रण भएपछि यस जिल्लाका प्रमुख दुई नदीहरु झिमरुक र माडी खोलाको छेउछाउको ठुलो वन जंगल कृषिको लागि मासिए । अहिले उक्त क्षेत्र कृषिको लागि उपयुक्त क्षेत्र भएको छ । सुकुम्बासीहरु बाहिरबाट नआए पनि एउटै मान्छे कोट र बेसी गर्ने चलनले गर्दा डाँडा पाखा र बेसी सबै ठाउँमा मानिसहरु बसोबास गर्ने भएकोले सबै ठाउँमा वन जंगल तिव्र रुपमा मासिदै गएको पाइन्छ ।
मुखिया, जिम्मुवालको प्रभुत्वपछि वन जंगलको संरक्षण तथा सदुपयोगको लागी वन ऐन २०१८ लागु भएपछि जिल्ला कार्यालय अन्तर्गत शाखा कायम गरि १ रेञ्जर र वन पालेलाई सो काम गर्ने जिम्मेवारी दिइएको देखिन्छ । २०३४ सालमा प्यूठानमा वन डिभिजनको स्थापना भयो । उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो । २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए । २०४० सालदेखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धी कार्यहरु जिल्ला वन कार्यालय प्यूठानले गर्दै आएकोमा संघियताको कार्यान्वयनसँगसँगै २०७५ सालदेखि डिभिजन वन कार्यालय, प्यूठान र यस अन्तर्गत सव डिभिजन वन कार्यालयहरु स्थापित भई कार्य हुँदै आएको छ ।
(जिल्ला प्रशासन कार्यालय, प्यूठानको वेभसाइटबाट)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)