दाङ: राजधानीबाट सडक दुरी ४२५ किमि, हवाई २८०

दाङ जिल्ला राजधानी काठमाडौँदेखि सडकमार्गबाट करिव ४२५ कि.मि. पश्चिम दक्षिणमा अवस्थित छ । तथापी दाङ र काठमाडौँको हवाई दुरी भने करिव २८० कि.मि. पश्चिम दक्षिण मात्र रहेको छ । यो जिल्लाका केही स्थानलाई छोडी अधिकतम भू-भाग उर्वर भएकोले यसले पर्याप्त आर्थिक सम्भावना बोकेको छ भने ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले पनि यस जिल्ला छुट्टै पहिचान र महत्व बोकेको जिल्ला हो ।

नेपाल मानचित्रमा ८२० २’ देखि ८५0 ५४’ सम्म पूर्वी देशान्तर र २७० ३६ देखि २८० २९ सम्म उत्तरी अक्षांशबीच फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको लक्षिणी सीमानामा भारतको उत्तर प्रदेशको बलारामपुर र श्रावस्ती गरी दुई वटा जिल्ला पर्दछ भने पश्चिममा सल्यान र बाँके जिल्ला पर्दछ । त्यसैगरी उत्तरमा सल्यान, प्यूठान र रोल्ला जिल्ला पर्दछन् । त्यस्तै पूर्वी सीमानामा प्यूठान र अर्घाखाँची तथा कपिलवस्तु जिल्ला पर्दछन् । भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेशका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिरबाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतबाट निर्मित दुई उपत्यका रहेका छन् । माथिल्लो उपत्यका दाङ र तल्लो उपत्यका देउखुरीको नामबाट परिचित छन् ।

दाङ उपत्यका नेपालकै ठुलो उपत्यकाकै रुपमा मात्र परिचित नभई एसियाकै ठुला उपत्यकाहरुमध्ये एक मानिन्छ । जिल्लाको घोराही उप-महानगरपालिकाको सैघा र बंगलाचुली गाउँपालिकाको स्यूजा, काभ्रे, लोहारपानी, हाँसीपुर स्थानहरु पहाडी क्षेत्रमा पर्ने र विकट मानिन्छन् । पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । दाङ उपत्यका महाभारत र चुरे पहाडको बीचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला बीचमा रेहेको छ ।

यस जिल्लाको दक्षिण/पूर्वी भेकमा पर्ने राप्ती गाउँपालिकाको सिसहनीया भानपुर जिल्लाकै सबैभन्दा न्यूनतम उचाई विन्दु (समुन्द्र सतहबाट २१३ मिटर) रहेको क्षेत्र मानिएको छ भने जिल्लाको पूर्वी सीमानामा पर्ने दुर्गम पहाडी बंगलाचुलीको हाँसीपुरको अर्खले अधिकतम उच्च विन्दु (समुन्द्र सतहबाट २०५८ मिटर) रहेको मानिएको छ । जिल्लाको औसत लम्बाई (पूर्व-पश्चिम ९० कि.मि.) र औसत चौडाई (उत्तर-दक्षिण ७२ कि.मि.) रहेको छ ।

राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रही पूर्वबाट पश्चिमतर्फ बगेको छ । यी नदीहरुबाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा सिस्ने खोला, कटुवा खोला, सेवार खोला, पत्रे खोला, संक्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला आदि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटै दह, किचेनी तह, ज्यामिरे दह पर्दछन् भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरना हुन् ।

Advertise
Hike & Write …

नेपालको मानचित्रमा दाङ भारतसँग जोडिएता पनि यहाँ अन्य तराईको दाँजोमा गर्मीको महशुस कम हुन्छ । जिल्लाको दक्षिणमा पर्ने देउखुरी तथा सो भन्दा दक्षिणी क्षेत्रमा उष्ण प्रकारको जलवायु छ भने उत्तरी क्षेत्रमा उपोष्ण प्रकारको जलवायु, उत्तरी पहाडी क्षेत्रको शितोष्ण प्रकारको जलवायु रहेको छ । यहाँको वायुमण्डलको सापेक्षिक आद्रता कम भएका कारण हावा सुख्खा महसुस हुन्छ । जिल्लाको कुल क्षेत्रफलको करिव २/३ क्षेत्रफल (१९२९.५५ बर्ग कि.मि.) वन जंगलले ढाकेको छ भने कृषि क्षेत्र ६९९.५ बर्ग कि.मि., अनुत्पादित क्षेत्र २०४.४५ बर्ग कि.मि. र चरीचरण क्षेत्र १२९.५ बर्ग कि.मि. रहेको छ । यहाँ कोइला र चुनढुङ्गाको साथै तामा, मट्टीतेल लगायतका खनिज पदार्थको प्रचुर सम्भावना रहेको मानिन्छ ।

जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याइलो माटो, चुरे क्षेत्रमा बलौटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोलानालाहरुमा प्रशस्त मात्रामा वालुवा, ढुङ्गा तथा यी दुबैको मिस्कट पाइन्छ । जिल्लामा थारु, क्षेत्री, ब्राह्मण, नेवार, मुसलमान, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको छ ।

(जिल्ला प्रशासन कार्यालय, दाङको वेभसाइटबाट)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button