
कञ्चनपुर: ‘मल्ली माल र तल्ली माल’
कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा समावेश रहेको थियो ।
सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो । नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । कञ्चनपुर नयाँ जिल्लाको रुपमा स्थापित हुँदा यसको सदरमुकाम हालको बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको र सोही बेलौरी नजिकको कञ्ज नामक ग्रामबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको भन्ने इतिहासका अध्येताहरुको भनाई पाइन्छ । यस जिल्लाको हालको सदरमुकाम २०१९ सालपछि कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरमा सारिएको देखिन्छ ।
नेपालको संविधानबमोजिम संघीय गणतन्त्र नेपालको मूल संरचना ३ तह (संघ, प्रदेश र स्थानीय) मा हुने व्यवस्था र राज्यको पुनर्संरचना अनुसार सात प्रदेशमध्ये कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित जिल्ला हो ।

यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ । यो जिल्ला २८० ३२’ उत्तरीदेखि २९० २८’ उत्तरी अक्षांश र ८०० ३’ पूर्वदेखि ८०० ३३’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ ।
भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । महाकाली, जोगबुढा, चौधर, मोहना, स्याली, बनारा, डोडा, सोनवरा नदीहरु यस जिल्ला भएर बग्ने प्रमुख नदीहरु हुन । महाकालीबाहेक अन्य सबै नदिहरुको मुहान महाभारत पर्वत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला रहेका छन् ।
जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय श्रृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ । औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ । औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ४ निर्वाचन क्षेत्रहरू ७ नगरपालिका र २ गाउपालिकामा विभाजन गरिएको छ ।
प्रमुख व्यापारीक केन्द्र: महेन्द्रनगर, बेलौरी बजार, दैजी बजार, झलारी बजार, गुलरिया बजार ।
पर्यटकिय स्थलहरू: झिलमिला ताल, शुक्लाफाँटा राष्टिय निकुञ्ज, दोधारा-चाॅदनी पुल, रानी ताल, बेदकोट ताल ।
(जिल्ला प्रशासन कार्यालय, कन्चनपुरको वेभसाइटबाट)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)