
धादिङ अर्थात हिमालयदेखि महाभारतसम्म
जिल्लानाम्चा-७
उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एक मात्र जिल्लाको रुपमा परिचित धादिङ प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ ।
धादिङ जिल्ला अनेकौ नदिनाला तथा प्राकृतिक मनोरम दृश्यहरुले भरिपूर्ण जिल्ला हो । गंगाजमुना झरना, झर्लाङको तातोेपानी मूल, गुप्तेश्वर तथा चमेरे गुफा जस्ता गुफाहरु, विन्दुकेशर, सिद्धलेक तथा विभिन्न फाँटहरु नै यो जिल्लाको पहिचान बोकेका विशेषताहरु हुन् ।
यो जिल्लाको पूर्वमा रसुवा, नुवाकोट र काठमाण्डौ जिल्ला पर्दछन् भने पश्चिममा गोर्खा पर्दछ । त्यसैगरी उत्तरमा छिमेकी मुलुक चीन पर्दछ भने दक्षिणमा मकवानपुर र चितवन जिल्ला पर्दछन् । धादिङ जिल्लाको क्षेत्रफल १९२४.९ वर्ग कि.मी. रहेको छ भने यहाँ समशीतोष्ण मौसमी हावापानी पाईन्छ । यो जिल्ला २७० ४०’ उत्तर देखि २८० १४’ उत्तरी अक्षांश र ८४० ३५’ पूर्व देखि ८०० १७’ पूर्व देशान्तरसम्म फैलिएको छ भने धरातलीय उचाई समुद्री सतहबाट ५०० मिटर देखि ७५०० मिटरसम्म रहेको छ (गणेश हिमाल ७११० मिटर) ।
त्रिशुली, बुढी गण्डकी र आंखु खोला जिल्लाका मुख्य नदीहरु हुन् । जिल्लाको मुख्य पेशा कृषि हो भने ७० प्रतिशत भन्दा बढी स्थानीयवासीहरु हालसम्म पनि कृषि पेशामा आबद्ध रहेका छन् । पशुपंक्षीको बिक्री, बैदेशिक रोजागर, बालुवा उत्पादन एवं प्रशोधन र विभिन्न श्रममूलक प्रविधिमा आधारित व्यवसाय नै यहाँका अधिकांश परिवारको आम्दानीको स्रोत हो । काठमाण्डौसँग सीमा जोडिएको हुनाले जिल्लाका केही क्षेत्रहरुमा व्यावसायिक तरकारी खेतीलाई पनि जीविकोपार्जनको प्रमुख आधार बनाएको पाईन्छ ।
धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन् । २०३२ सालभन्दा पहिले सुनौला बजारमा रहेको सदरमुकाम हाल धादिङबेसी (निलकण्ठ नगरपालिका) मा रहेको छ ।
(जिल्ला प्रशासन कार्यालय, धादिङको वेभसाइटबाट)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)