सुदुरपश्चिमको ‘हिलस्टेसन’ डडेल्धुरा

जिल्लानाम्चा-४

सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा एउटा सुन्दर जिल्ला हो । यस प्रदेशका डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यहि डडेल्धुरा जिल्ला हुदै जान्छ । सुदुरपश्चिम प्रदेशको हिलस्टेसनको रुपमा रहेको तथा माथि उल्लेखित ६ वटै जिल्लाको प्रवेश बिन्दुको रुपमा रहेको डडेल्धुरा जिल्लाको महत्व सुदुरपश्चिम प्रदेशमै विशेष रहेको छ ।

डडेल्धुरा जिल्ला नेपाल भरमै बढी राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्था कार्यरत भएको जिल्ला मध्येको रुपमा लिइन्छ । ५ वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको यस जिल्लाको कूल जनसंख्या मध्ये झण्डै आधा जनसंख्या जिल्लाको दक्षिणी भेगमा पर्ने भित्री मधेसका आलिताल गाउँपालिका र परशुराम न.पा. ले ओगटेको छ ।

अमरगढी नगरपालिका वडा नं। ५ खलंगामा सदरमुकाम रहेको यो जिल्ला अत्यन्त मनोरम, भौगोलिक विविधतायुक्त, समथर भित्रि मधेस, चुरे श्रृङखला, महाभारत पर्वत, घना हरियाली वनजंगल, उग्रतारा, घटाल आदि धार्मिक महत्वका शक्ति पिठहरु, आलिताल लगायत अन्य ताल तलैयाहरु, नदिनालाहरु, शिखर लेक जस्ता प्राकृतिक स्थलहरुको सौन्दर्यताले यो जिल्ला भरिपूर्ण छ साथै यस जिल्लाको सदरमुकाममा अमरगढी किल्ला र अमरसिंह थापाको सालिकले झनै आकर्षण तुल्याएको छ । यस जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कञ्चनपुर जिल्ला रहेका छन् । यस जिल्लाको करिव ७५ प्रतिशत भू–भाग वनजंगलले ढाकेको छ । यस जिल्लाको संक्षिप्त परिचय निम्नानुसार रहेको छ ।

१५३८ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस डडेल्धुरा जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको पिथौरागढ जिल्ला र महाकाली नदी, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कन्चनपुर जिल्लासंग सिमाना जोडिएको छ । ४६२ देखि २६३९ मिटर उचाईसम्म भएको भित्रि मधेश, चुरे पहाडदेखि महाभारतको लेक, घनघस्या, तुषरानी जस्ता नामचलेका लेक यस जिल्लामा रहेका छन् ।

यस जिल्लाको दक्षिणि भु–भाग आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा उष्ण र बाँकी पहाडी भु–भागमा समशितोष्ण हावापानी पाईन्छ । सदरमुकाममा गर्मी याममा ३२ डिग्री सेल्सीयससम्म र जाडोयाममा सुन्य ० डिग्री सेल्सीयससम्म तापक्रम रहन्छ भने वर्षा याममा १३४३ मि.मि. सम्म वर्षा हुने गर्दछ ।

प्राकृतिक सम्पदा

क. प्रमुख नदिनालाहरुः यहाको प्रमुख नदिनालाहरुमा महाकाली र सेती हुन् । तर यी नदीहरु जिल्लाको आर्थिक बिकासको दृष्टिकोणले त्यति उपयोगी मानिदैनन् । अन्य सहायक खोलाहरुमा रंगुन, रडुवा, पन्तुरा, रुपाली गाड, घटाल, सुर्नायाँ, रुवाखोला, सकायल, तिलाडीगाड, दोगाड, आरा, सिर्ष, कलेना, लोपा, सिराड, सादनी, ठूलिगाड, डोटीगाड आदि मूख्य पर्दछन ।

ख. वन जंगलः कूल भु–भागको लगभग ७५ प्रतिशत वनजंगलले ढाकीएको यस जिल्लाको दक्षिणी भेगमा उष्ण सदाबहार सल्ला, साल, सिसम जस्ता वृक्षहरु भरीभराउ भई हरियाली तथा प्राकृतिक दृष्टिकोणले सुसम्पन्न वनजंगल छन भने उच्च पहाडी भेगमा समशितोष्ण कोणधारी वनजंगलले सजिसजाउ छन् ।

ग. वन्यजन्तुः यस जिल्लामा पाईने प्रमूख बन्य जन्तुहरुमा बाघ, चितुवा, भालु, घोरल, थार, जरायो, दुम्सी, रतुवा, बादर, स्याल, लंगुर, बदेल आदि हुन् ।

घ. झरना र तालः यस जिल्लाको विशेष उल्लेखनिय ताल तथा झरनाहरुमा आलिताल गांउपालिकामा रहेको ३०० मिटर लम्वाई ८० मीटर चौडाई २० मीटर गहिराई भएको आलिताल र बोडापाथी पर्दछन् । भागेश्वर गाउँपालिका अन्तरगत साहिलको झरना, आलिताल गाउँपालिकाकै कुमोडगाड झरना आदि उल्लेखनीय छन् ।

महत्वपूर्ण धार्मिक स्थल

क. घटाल थान
ख. पर्शुराम मन्दिर
ग. उग्रतारा मन्दिर
घ. भागेश्वर मन्दिर
ङ. डागेश्वरी मन्दिर
च. समैजि मन्दिर
छ. असीग्राम मन्दिर
ज. गन्यापधुरा
झ. सहश्रलिङ्ग

ऐतिहासिक स्थल

अजयमेरु गाउँपालिका अन्तरगत पर्ने अजयमेरुकोट तथा अमरगढी नगरपालिकास्थित अमरगढी किल्ला यस जिल्लाको प्रमूख ऐतिहासिक स्थलको रुपमा प्रसिद्ध छन् ।

(जिल्ला प्रशासन कार्यालय, डडेलधुराकोे वेभसाइटबाट)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button