किताब कथा: ‘१९९७ देखि २०१७ साल- एक अवलाेकन’

आफ्नै कथा: तर शुरु कसरी र कहाँबाट गर्ने?

अरविन्द रिमाल

‘विषय प्रवेश’काे सिलसिलामा त्यति सब कुरा लेखिसकेपछि पनि उ असमञ्जसमै थियाे ।

ऊ को हाे र, यस्तो ‘आत्मवृत्तान्त’ लेख्ने ? उसकाे के हैसियत ? यो उसकाे धृष्टता त होइन ? यस्ताे विचार आएकाे थियाे, उसमा ।

कोही काव्य रचना गर्छन् त कोही कथा, उपन्यास आदि लेख्छन् । त्यस्तो लेख्नेहरूमा पनि सानाठूला सब प्रकारका कलमहरू उत्तिकै सल्बलाएका पाइन्छन् । तिनमा आआफ्नै हेतु अन्तर्निहित होलान् किन्तु ‘इच्छाको अभाव नै ज्ञानको द्योतक हो’ भन्ने गुरुवाक्यउपर श्रद्धा एवं विश्वास राख्ने उसमा त्यस्तो इच्छा वा आकाङ्क्षा पनि केही थिएन । तथापि, एउटा इच्छा बाँकी थियाे अर्थात् सद्गुरुदेवको उपदेशले उसमा चाहनुपर्ने र इच्छा गर्नुपर्ने कारणकै तिरोहित गरून् र उसका आफ्ना चाहनाहरू अमन बनून् ।

हो, उसले केही दुनियाँ देखेको छ, देशविदेश पनि घुमेको छ, कतिपय असाधारण घटनाहरूको साक्षी पनि भएको छ । तथापि उसलाई अब पाउनुपर्ने वा केही चाहनुपर्ने इच्छा छैन । फेरि किन त यत्रो जमर्को ? माथि नै भनिहाल्याे उसले– यो केवल बहिनीसरह मीना आचार्य र मित्र गोविन्द नापितका लगातार घच्घचाइलाई उसकाे सद्गुरुदेव भगवानबाट प्राप्त प्रेरणाको परिणाम हो ।

संस्मरणात्मक यो पुस्तकमा व्यक्त भावना र विचारहरू उसका निजी हुन् । कुनै दिवंगत वा जीवित व्यक्तिहरूप्रति पूर्वाग्रह राख्नु वा तिनको अतिप्रशंसा गर्नु यस पुस्तककाे उद्देश्य होइन । यो इतिहास- सम्बन्धी निबन्ध पनि होइन, न त यो इतिहासवृत्त नै हो । यो कुनै डायरीमा आधारित छैन । याे त तिनताकाकाे घटनाक्रमलाई आजको आफ्नो ८८ वर्षे स्मृतिबाट पुन: उतार्ने चेष्टामात्र हो । यसमा चर्चित अधिकांश व्यक्तिहरूमध्ये धेरै त दिवंगत भइसकेका छन् त, कोही वयाेवृद्ध भइसकेका छन्, त्यसैकारण दिवंगत भएकाका परिवारजनहरू तथा वृद्धावस्थामा टेकेको कसैलाई उसका कुनै अभिव्यक्तिले चोट पुर्‍यायाे वा पीडा दियो भने त्यो जानीबुझी होइन, अनायासरूपमा भएको हो, भन्ने ठानिदिन ऊ सबैसँग विनम्र अनुराेध गर्दछ । पछि गएर यहाँ चर्चित अनेक व्यक्तिहरूले विविध प्रशासनिक- सामाजिक चरित्र लिए, तर त्यससँग कुनै सरोकार नराखी यस पुस्तकमा त्यतिबेला जो जुन भूमिकामा थियो त्यसैलाई नै उसले प्रधानता दिएको हाे ।

जुन नेता र कार्यकर्ताहरूको उत्सर्ग, निःस्वार्थता र त्यागका कारण नेपालमा प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलन जन्म्यो, बढ्यो र हुर्क्याे, तिनीहरूप्रति ऐतिहासिक न्याय होस् भन्दै यो संस्मरणात्मक पुस्तक तयार भएको सम्झे पनि हुन्छ । फेरि, अर्को महत्वपूर्ण कुरा के पनि हो भने, ऊजस्ता अनेक व्यक्तिहरू नेपालको कम्युनिष्ट आन्दोलनको आधारशीलाको रूपमा थिए । ऊजस्तै अन्य व्यक्तिहरूका कार्यकलाप र योगदानहरूको समष्टि एवं सामूहिकरूप नै राष्ट्र तथा जनताको इतिहास-निर्माण प्रक्रियाको एउटा महत्वपूर्ण अंग भएका हुँदा त्यस्ता व्यक्तिहरूको नाम र कार्य सिंगो इतिहासमा उल्लेख नभए पनि तिनीहरू ती प्रक्रियाहरूमा भाग लिइरहेकै हुन्थे । विनम्र शब्दमा भन्नुपर्दा यो लेखक पनि त्यही कोटीमा पर्थ्यो ।

प्रसँगवश, यो पुस्तक ‘मुक्ति योद्धा निर्मल लामा’ नामक स्मृतिग्रन्थमा उसकाे लेख प्रकाशित हुनुसँग र त्योभन्दा निकैअघि २०५२ सालमा नेपालको विद्यार्थी आन्दोलनबारे नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) एमालेसमर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको एउटा गोष्ठीमा उसकाे सहभागितापश्चात् उसलाई एउटा लेख लेखिदिन भएको आग्रहसँग पनि सम्बन्धित थियाे । उसका पुराना कमरेड- मित्र मकबूल शाहले उसलाई लिएर गएका उक्त गाेष्ठी वाल्मिकी संस्कृत महाविद्यालयकाे सभा भवनमा भएकाे थियाे, जसकाे अध्यक्षता टङ्क कार्कीले गरेकाे सम्झना उनलाई पनि हाेला । ती दुवै लेखहरूमा नेपालको प्रजातान्त्रिक तथा कम्युनिष्ट एवम् विद्यार्थी आन्दोलन एउटा निर्णायक चरणबाट गुज्रिरहेको इतिहासमाथि चर्चा गरिएको छ जसबारे उसले यस पुस्तकमा उपयुक्त स्थानमा प्रकाश पारकै छ ।

कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई आफ्नो आँखाको नानीजस्तै हिफाजत गरी राख्ने, उनीहरूको स्याहार-सम्भार गर्ने जमाना थियो, त्यो । अहिले जस्तो कार्यकर्ताहरू नेताहरूद्वारा पालिने र कलकारखानाहरूमा तयार गरिने वस्तुसरह ठानिने जमाना थिएन । त्यसैकारण, राणाशासन समाप्तिपछि प्रजातान्त्रिक अभ्यासमा हिँडेको नेपालको एउटा महत्वपूर्ण राजनीतिक अवस्थामा तथा नेपालको कम्युनिष्ट आन्दोलनको कीर्तिमान अभियानको अवधिमा उसका अत्यन्त निकट, प्रेमी कमरेड एवं मित्र रहेका निर्मल लामाबारे छोटो चर्चा हुनु स्वाभाविक नै ठान्दछ, ऊ ।

निर्मल लामा गम्भीर अवस्थामा टिचिङ्ग अस्पताल भर्ना भएकाे सुनेर ऊ उनलाई भेट्न गयाे र आगन्तुक-पुस्तिकामा हस्ताक्षर गर्‍याे । उता कोठा बाहिरको चोटा र बरण्डामा विभिन्न उमेरका र व्यवसायका नरनारीहरूको समूह थियाे । काेही भूईमै बसेका र कोही उभिएका । वातावरण सर्वत्र गम्भीर थियो । मसीनो स्वरमा मात्र कतै कुनै कुराकानी वा भावना अभिव्यक्त भइरहेको देखिन्थ्यो । बिरामीलाई यसो हेरेर फर्किने शुभचिन्तकहरू बाहेक अरु जम्मै नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)- का कार्यकर्ताहरू जस्तो लाग्दथे । आफ्ना नेताको त्यस्तो अवस्थाबाट पीडित भएका ती निष्ठावान कार्यकर्ताहरू शुरुका दिनदेखि नै त्यहाँ त्यसरी नै दिन र रात काटिरहेका थिए होलान् भन्ने लाग्याे, उसलाई । आखिर, त्यस्तो अभिव्यक्ति नै अन्ततोगत्वा पार्टी नेतामाथि प्रतिबद्धताको द्योतक हो भने पार्टी नेताले आर्जन गर्ने र गरेको वास्तविक सम्पदा पनि त्यही नै हो । आज आफूलाई ‘कम्युनिष्ट नेता’ भनिटाेपल्ने कतिपय व्यक्तिहरूले २०४६-७ सालको जनआन्दोलनपछि अगाध भौतिक सम्पत्ति बटुलेको र सुविधा भोगेको वियोगपूर्ण स्थितिलाई देख्दा निर्मल लामाको सम्पत्ति र सम्पदा कता हो कता बढी गरिमापूर्ण एवं समृद्ध देखिन्थ्यो ।

कोठाभित्र पस्नासाथ देखिने दृश्य अत्यन्त पीडादायी थियो । अक्सीजन लिँदा निर्मलको मुखबाट निस्कने आवाज पनि वेदनापूर्ण थियो । उता उनको सिराननेरै बसेकी महिला, उनकी श्रीमतीका भावभंगिमा देख्दा उनले विधाताले अन्ततः अपवादविना सबै प्राणीको निम्ति विधान गरेको एकमात्र सत्यलाई स्वीकार गरिसकेको लाग्थ्यो । त्यसबेला उसलाई मित्र कवि शारदाविक्रम बस्नेतको रचनामा सुविख्यात गायक फत्येमानले गाएका यो मार्मिक गीतको सम्झना भएकाे थियाे:

जडदेह यो अवश्य, एकदिन समाप्त होला
चैतन्य ता अमर छ, संस्कार लिएर जाला …
मृत्युको त्रासभन्दा अरु छैन केही ठूलो
त्यसलाई जित्नै पर्छ शक्तिसँगै छ अर्को ।’

अन्य आगन्तुकहरूबीच ऊ अरु केहीबेर त्यहीँ उभ्भिरह्याे । कसैसँग केही सोध्नाको कुनै अर्थ थिएन र सान्त्वना एवं सहानुभूतिका शब्दहरू पनि फाल्तु हुन जान्थे । यस्तो अवस्थामा जुन भाव उत्पन्न हुन्छ त्यसलाई आफूभित्रै राखेर र निर्मल लामालाई अन्तिम अभिवादन गरेर ऊ फर्कियाे ।

Ad

बाहिर बरण्डामा आँउदा फेरि मनमा एक्कासी यो विचार आयो: ओहो ! कसैको घरपरिवारमा पनि जन्म र मृत्युको बेला भेला हुने समूह त यस्तै हुन्छ भने, आखिर अपवादविना प्रत्येक कम्युनिष्ट समूह आफूलाई ‘मजदूर वर्गको अग्रगामी दस्ता’ मात्र किन भन्दछ ? त्यसलाई त सवै वर्ग र जीविकाका मानिसहरूको मद्दत नभइकन काम चल्दोरहेन छ । फेरि, त्यसले किन आफूलाई समाजको एउटा समुदायसँग मात्र वैचारिक प्रतिबद्धता वा घनिष्ठता जनाएको ? के कृषक, बुद्धिजीवी, छात्र, युवक अनावश्यक सामाजिक तहका हुन् त ? सहायता पनि लिने तर विचारधारात्मक सहयोगी चाहिँ नमान्ने किन यस्तो जडसूत्रवाद, किन यस्तो विडम्वना ?

धेरै पछाडिको चर्चा अघिबाटै भन्ने प्रश्न ऊठ्ला ! यो प्रश्न स्वाभाविक छ । परन्तु, यस्तै दृष्टिकोण र व्यवहारवाट नै १९९७ सालको ऐतिहासिक आन्दोलनका ध्येयहरूप्रति वेवास्ता हुनपुग्दा , २००७ सालको राणाविरोधी क्रान्तिको ध्येयप्रति विश्वासघात हुनपुग्दा अनि वामपन्थी संकीर्णतावादले राजनीतिक राजमार्गमा पथविचलन ल्याएकोहुँदा २०१७ सालको प्रतिगमन काण्ड सहज भएको हाेइन, र ?

पुस्तकको शीर्षक एउटा तर विषयले हालसम्म सिलसिला पक्रन नसकेकोमा क्षमा चाहन्छ, ऊ । उसले परम्परावादी, औपचारिकता निर्वाह गर्ने पद्धतिभन्दा फरकढंगले आफ्नो विचार प्रस्तुत गर्न चाहेकाेले पुसत्कले यस्ता माेड लिएकाे हाे ।

२०४६-७ सालको संयुक्त जनआन्दोलनको लगत्तैपछि देशमा राजनीतिक गतिहीनता, भ्रष्टाचार, वहुआयामिक अपराधीकरण, मूल्यमान्यताहरूको चरम ह्रास र त्यसैको दुष्परिणामले गर्दा माओवादी आतङ्कवादी हिंस्रक घटनाक्रम अघि बढ्दै गयाे । यसका लागि मूलतः सत्ताधारी नेपाली कांग्रेस दोषी थियाे भने एकल नेकपा एमाले सरकार तथा पूर्वपञ्चायतपक्षी भनिने राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रधानमन्त्रित्वमा गठित राप्रपा-एमाले संयुक्त सरकार अनि राप्रपा-कांग्रेस संयुक्त सरकार दोषी पनि उत्तिकै दाेषी थिए । यिनै दलका शीर्ष नेताहरूको सत्ता राजनीतिले गर्दा निरंकुश राजतन्त्रवादीहरू सल्बलाएका कारणबाट मुलुकको संवैधानिक राजतन्त्रात्मक संसदीय सत्ता खल्बलिन पुग्याे भने त्यस राजनीतिक असन्तुलनले गर्दा नेपालका घरेलू मामलाहरूमा विदेशी चलखेल- हस्तक्षेप- ठाडाे दवाव, मुख्यतः भारतीय र अमेरिकी, बढ्दै गए, आजसम्म पनि बढ्दै गइरहेका छन् । यसैको दुष्परिणामस्वरूप देशभक्ति अहिले सबैभन्दा सस्तो वस्तु भएको छ भने राष्ट्रियता चाहिँ पाखे विचारमा दरिन पुगेको छ । यस्तो अवस्थामा शान्त एवं सन्तुलित भएर १९९७ देखिको इतिहास चर्चा त कठिन उद्यम ठहर्छ भने नेपालीहरूले पृथ्वीनारायण शाह , राष्ट्रिय एकीकरण, त्सकाे विकासक्रम, भीमसेन थापा, जङ्गबहादुर राणा, चन्द्रशम्शेर राणा, राजा त्रिभुवन वीर विक्रम शाह, राजा महेन्द्र वीर विक्रम शाह, विश्वेश्वरप्रसाद कोइराला, टंकप्रसाद आचार्य आदिको इतिहास- विवेचना कहिले गर्ने हो, खोई ? जेहोस्, एकदिन न एकदिन त्यो नभई छाड्दैन । हाललाई त्यतापट्टि चिन्ता नगरौं ।

सोभियत संघको पतनपछि र यता चीनको उलटफेरपछि पनि कार्ल मार्क्स तथा चे ग्वेभाराको जीवनी एवं कार्यप्रति पश्चिमी जगतको बौद्धिक क्षेत्रमा रुचि बढेकाे देखिन्छ । अहिलेको अमेरिकी धुरीको एकपक्षीय पूँजीवादी- साम्राज्यवादी अव्यवस्थाबाट स्वयं पूँजीवादी अधिवक्ताहरू, इतिहासकारहरू र थिङ्कट्यांक चिन्तित भइरहेका छन् र त्यसकाे समाधान खोजिरहेका छन् भने नेपालको प्राचीन र आधुनिक युगबीचको निर्णायक अवधि १९९७, २००७ र २०१७ सालबारे नेपालमै पनि ऐतिहासिक पुनरावलोकन अवश्य हुनेछ । नेपालमा भारतीय तथा पश्चिमी राजनीतिक- आर्थिक साँस्कृतिक- सैनिक दवाव हुँदाहुँदै पनि नेपालको इतिहासको कुनै पनि महत्वपूर्ण चरणको समीक्षा के रोकिएला त ?

यो त सैद्धान्तिक कुरा भयो । तर उसले कुन स्थितिबाट लेख्ने ? पूर्ण स्वतन्त्र विचार भन्ने त अमूर्त धारणा हो । तथापि यस्तो विवेचना स्वतन्त्र वामपन्थी दृष्टिकोणमा र राष्ट्रिय संप्रभुताको संरक्षणको भावना तथा देशभक्तिमा आधारित भएको खण्डमा त्यो सर्वतोमुखी हुन सक्तछ । अतः यो पुस्तकका विचार स्वतन्त्र वामपन्थी धारबाट प्रस्तुत गरिएकाे छ । नेपालको इतिहासका महत्वपूर्ण भू-चिन्ह भएका घटना र विचारहरूबारे योभन्दा युक्तिसँगत एवं स्वतन्त्र अभिव्यक्ति अर्को हुन सक्तैनथ्याे ।

श्रद्धेय रामहरि दाइ (शर्मा)का आशीर्वचनबाट सुसम्पन्न याे पुस्तकमा वरिष्ठ पत्रकार- राजनीतिक विश्लेषक मणिराज उपाध्याय, पत्रकार एवम् विद्वान मित्र हरिचरण श्रेष्ठ, डा. मीना आचार्यका सक्षिप्त परन्तु सारगर्भित मन्तव्यबाट तथा इञ्जीनियर- प्रशासक भइकन पनि विभिन्न विषयमा विद्वता राख्ने उसका भतिजा गाैरीनाथ रिमालकाे जाेडदार अभिव्यक्तिबाट अरु समृद्ध भएकाे ऊ ठान्दछ ।

लेखिँदैजाँदा सहायक व्यक्तिहरुकाे नाम उल्लेख भएकाे यस पुस्तक २०६१ सालका साउन- भदाै- असाेजमा बेलायतकाे बर्मिङ्घम शहरमा कार्यरत उसकाे छाेरा सुरज रिमालकाे शान्त रमणीय घरमा लेखीसकी २०६२ सालकाे कार्तिककाे संविधान दिवसमा पहिदाे संस्करण पटक प्रकाशित भएकाे थियाे भने थपिएकाे दाेस्राे संस्करण २०६३ सालकाे वसन्त पञ्चमीमा ।

अध्याय १ काे ‘विषय प्रवेश’देखि अध्याय १२८ सम्म भएकाे ‘अन्त्यमा द्वितीय जनआन्दाेलनकाे सफलतापछिका नाै महिनाकाे समीक्षा’ गरी ६५६ पृष्ठकाे पुस्तक पहिला टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र दाेस्राे उसकाे सद्गुरुदेवका पावन स्मृतिमा उसकी जीवनसँङ्गिनी उर्मिला रिमालकाे आर्थिक सहयाेमा साेही प्रतिष्ठानले प्रकाशित गरेकाे हाे ।

यस पुस्तकमा नेपालकाे, राजनीतिक- साहित्यिक सामाजिक-साँस्कृतिक आदि सबै क्षेत्रका प्रतिनिधि नारनारी त भेट्टिन्छन् नै, साथै अनेक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरु पनि भेट्टिन्छन् भने आसुरी खलनायकहरु पनि निन्दित भएका छन् ।

विष्णु अधिकारी तथा बद्री अधिकारीले टाइप गरेका, हरिकृष्ण बस्ताकाेटीले कभर र ले-आउट गरेकाे उल्लेख पनि नगरिरहन सकेन, उसले ।

लाै त अब यस पुस्तककाे परिचय आँफैले गराई ऊ मित्रजनबाट जय नेपालकाे अभिवादनसहित विदा लिन चाहन्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button