आँखामा सगरमाथा, मनमा स्वर्ग

ई. सुष्मा खत्री रन्जित

‘तिमी कुन देशबाट आएको ?’

नेपालबाट (मात्र) भन्दा धेरैजसोलाई थाहा नहुने हुँदा हामी माउन्ट एभरेस्टको देशबाट आएको भन्थ्यौं । अनि बुद्ध जन्मेको देश भन्थ्यौं । विदेश बसेर पढ्दा या कतै विदेश घुम्न जाँदा ‘तिमीहरू त गइराख्छौ नि त एभरेस्ट’ भन्थे ।

‘कहाँ जानु र टाढा छ, त्यहाँ त शेर्पाहरू मात्रै जान्छन्, फेरि लेक लाग्छ, त्यहाँ त हिमाल चढ्नेहरू मात्र जान्छन्’, लाजले मुन्टो निहुराएर अनेकन बहाना बनाएर उत्तर दिन्थ्यौ । हुनचाहिँ फेरि अनेकन हिमाल, पहाडको पोस्टकार्ड बोकेर गएका हुन्थ्यौं र त्यहि विदेशी साथीभाइलाई बाँड्थ्यौ । ‘मेरो देश यस्तो छ’ भनेर चिनाउँथ्यौ ।

यस्तैमा कट्यो आधा जिन्दगी । पढियो, कमाइयो, बच्चा हुर्काइयो । फुर्सदमा घुमघाम, ट्रेकिङ यतै कतै नजिकै गइयो । घान्द्रुक, धम्पुस, अस्ट्रेलियन क्याम्प यस्तै यस्तै मात्रै । हिमालको नजिक पुगेको त्यति मात्र थियो ।

यो दुई वर्ष त कोरोना महामारीले सब डामाडोल । परिवार, समाज अनि देश र विश्वकै स्थिति । कति आफन्त समेतलाई कोरोनाले बिचल्ली बनायो । बिस्तारै महामारीको प्रकोप कम हुदै गइरहेको थियो । चाडवाडको अघिपछि के गरौं, कसो गरौं भन्दै मन चञ्चल हुदै थियो । हिमाल देखिने मौसम शुरू हुँदै थियो ।पर्यटक आउने बन्देज भर्खर मात्र खुल्दै मात्र थिए । हवाईमार्ग र ट्राभल एजेन्सीको ब्यापार बढाउन आन्तरिक पर्यटनलाई जोड दिनु नै विकल्प थियो ।नेपालीलाई सस्तो प्याकेज भनेर ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालतिर समेत प्रचार गर्दै थिए । केही बर्ष अघिदेखि हामीले पनि हिमालछेउ, त्यसमा पनि सगरमाथाछेउ पुग्ने विचार अनि कोशिस त गरेका हौं । तर जुराएन नै भन्नु पर्यो । विदेशी पर्यटक भएसम्म हामीले मौका नपाउने रहेछौं । डलर र नेपाली रूपैयाँको अन्तरको महत्व भन्नु पर्यो । केलाई र कसलाई प्राथमिक राख्ने भन्ने कुरामा पनि भरपर्दो रहेछ । यतिसम्मन कि होटलवाला र ट्राभल गाइडले सम्म पनि प्राथमिकतामा नराखिदिने रहेछन् । तर, यो कोरोनाले गर्दा हामीलाई मौका मिल्यो । सबैजनाको प्राथमिकतामा हामी नेपाली पर्यौ जस्तो लाग्यो ।

काठमाडौंबाट प्लेनमा लुक्ला तेन्जिङ हिलारी विमानस्थल (२८६० मि.) मा अवतरण गर्यौ । पथप्रदर्शक भाइहरू आइसक्नु भएको रहेछ । उहाँहरूले नगिचैको होटलमा लग्नु भयो । मिठ्ठो नेपाली खाना खाइयो । हामी ५ जना थियौं । हामी बुढाबुढी, अर्को साथीको बुढाबुढी र मेरो भाइ । हिँड्न नसकिएला कि भनेर २ वटा घोडा र २ जना सामान बोक्ने बन्दोबस्त गरिएको थियो । सामान १ जनाको ५, ६ केजी । त्यसमा पनि भाइ एकजनाचाहिँँ अर्कोपल्ट बेस क्याम्प जाने तयारी भन्दै १० केजी सामान आफै बोकी हिँड्यो । हिँड्न नसक्नेचाहिँ म । तैपनि हिँड्न थालेँ । घोडा त डोर्याउनेजस्तो मात्र भयो भनेर म उकालो शुरू हुन थालेपछि चढेँ । यो कुन गाँउ, यो कुन हिमाल भन्दै सोध्दै हिँड्यौ । अनेकन हिमालहरू वरीपरी देखिँदै थिए । खोला, खहरे र सानाठूला झोलुङ्गे पुल त कति हो कति । दूधकोशीलाई पछ्याउँदै हिँड्ने बाटो रहेछ । मोटर बाटोचाहिँ होइन । बीचबीचमा चोप्लुङ, वेशीघाट हुदै चिया चमेना, खाना खादै गफ गर्दै हिँडियो । कैंयन झोलुङ्गे पुल अनि दूधकोशीकै लामो झोलुङ्गे पुल तरेपछि हामी बस्ने होटल आइपुग्यो, सनसनराइज होटेल, फाक्दिंगमा । लुक्लाभन्दा अलि कम उचाई करिब २६४० मि. मा अवस्थित । यस्तै ४ बजेको थियो होला । चौंरी, याक, जोक्के चराएर गोठ फर्काउने तर्खरमा । चियासिया, खाना खाएर एकछिन गफगाफ गरेपछि कोठातिर पस्यौं । दुधकोशीको कलकल आवाज सुनिइनै रह्यो । कहिले बिहान होला र खुल्ला हिमाल देख्न पाइएला भनेर बिउँझेपिच्छे झ्यालको पर्दा खोलेर हेर्न थाल्यौं ।

भोलिपल्ट बिहान चिया नास्ता गरेर घोडासहित दोस्रो दिनको हिँडाई शुरू गरियो । जो हिँड्न सक्दैन, उसलाई पालैपालो घोडा भएकोले कुनै चिन्ता थिएन, सामान बोक्ने भार थिएन । कहिँ घोडामा, कहिँ पैदल गर्दै बाटोको रमणीय दृश्य क्यामरामा कैद गर्दै अगाडि बढ्यौं ।

दोस्रो दिनको हिँडाईमा उकालो नै बढी थियो । तर, बाटोका अग्ला अग्ला झरनाहरूले एकछिन रुकेर फोटो खिच्न यी मनहरूलाई बाध्य नै तुल्याउँथ्यो ।अरूलाई ५ घण्टाको हिँडाई भने पनि हामीलाई ७-८ घण्टासम्म लाग्ने । हुन पनि जति माथि गयो, उति अक्सिजन कम र लेक लाग्ने हुनाले शरीरलाई वातावरणमा भिजाउँदै लग्नु नै राम्रो हुने रहेछ । नाम्चे ३४०० मि.को उचाइसम्म पुग्नु थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको गेटछिर्नु अघि पैसा तिरेर टिकट काट्नु पर्ने रहेछ । त्यसपछि केही ओरालो अनि फेरि उकालो । दुई ठाउँमा त अग्लो अग्लो झरना रहेछ । मन नै लोभ्याउने फोटो खिच्दै हिँड्यौ । ओरालो र सम्म बाटोमा चाहिँ म घोडाबाट ओर्लेर हिँड्थें । उकालोमा चाहिँ दम आउने हुनाले घोडामा चढ्थें । ओरालोमा घोडामा गाह्रो नै हुने रहेछ । अरू हिँड्न सक्ने मज्जासँग हिँडे । नसक्ने घोडामा । हिँड्दैहिँड्दा दुधकोशी र भोटेकोशीको दोभान देखियो । केहीमाथि हिलारी झोलुङ्गे पुल तर्यौ । अग्लो ठाउँमा बनेको पुल । त्यो अग्लो ठाउँबाट तलतिर हेर्यो भने भोटेकोशी र दुधकोशीको दोभान देखिने, माथितिर हेर्यो भने सगरमाथाको चुचुरो देखिने रहेछ । तर बादलले डामडुम्म छोपेकोले सगरमाथा देखेनौं ।

Ad

ठाउँठाउँमा सार्वजनिक शौचालयको अभाव भएन । तोपडॉडा भन्ने ठाउँमा त पैसा तिरेर र सित्तैमा दुई थरीको शौचालय रहेछ । त्यहि अनुहारको सहुलियत ।त्यहि नजिकै फलफूल, पानी, कोक पनि बेचिरहेको । भाउचाहिँँ असाध्य महङ्गो । बोकेर ल्याउन पर्ने भएकोले त्यस्तो भएको होला । खुम्बु विकास समितिले फोहोर व्यवस्थापन राम्रोसँग गरेको रहेछ । ठाउँठाउँमा नकुहिने फोहोर, प्लास्टिकको लागि ढुङ्गाको सानो घरजस्तो फोहोर फ्याँक्न प्वाल बनाई राखिदिएको रहेछ । यस्तो सह्रानिय कार्यको लागि धन्यवाद नै भन्नु पर्छ ।

दिन ढल्कँदै थियो । नाम्चे बजार नजिकदै थियो । हामी ३ घोडामै टक्रकटक्रक हिँड्दै थियौं । भारतीय सिनेमाकर्मीका टोलीका सदस्यहरू देखिनथाले । उनीहरूको सुटिङ चलिरहेको रहेछ । शेर्पाहरूको कथा पनि जोडेको छ रे । स्थानीय परम्परालाई कुन रूपमा ढालेको होला । मलाई त शङ्कै लाग्छ । ड्रोनबाट खिचिरहेका रहेछन् । हाम्रो घोडा रोकेर मुख्य बाटोबाट घोडा लग्न पाईन्न भनेर घोडाबाट ओर्लिन लगाए । साथीको त हतारमा घोडाबाट ओर्लंदा हातमा घाउ र खुट्टा अड्केर पाइन्ट नै च्यातियो । एकछिन त खुबै रिस उठ्यो । सुटिङको लागि नाम्चेबजार पूरै नै भाडामा किनेछ कि जस्तो लाग्यो । अरू पर्यटक बटुवाहरूलाई पनि रोकेर राखेका रहेछन् । हामी हिँडेर बजार हुदै होटल पुग्यौं, खुम्बु लजमा । घोडा अर्को बाटोबाट डोर्याउँदै ल्याइयो । त्यहिँ चिया नास्ता गर्यौं । थाकेकोले गर्दा कहिँ निस्केनौं । हामीलाई बस्न अर्को अपार्मेन्ट दिइयो । किनकि हामीले नास्ता गरेको लज नजिकै भारतीय सिनेकर्मी टोलीको हल्ला सुनिने रहेछ । पानी सिमसिम पर्दै थियो । हामी अपाट्र्मेन्ट पुग्यौ । हाम्रो गाइड भाइले नै थर्मसमा तातोतातो कफि ल्याइदिनु भयो । त्यति माथि पुगेर पनि सुविधासम्पन्न अपार्टमेन्ट देखेर हामी छक्क पर्यौं । कोठामा अट्याच तातो पानि भएको बाथरुम । बेड पनि तताउने म्याट राखिएको । सिटिङरूमको सोफामै बसेर हिमाल देखिने । त्यहिँ बसेर तात्तातो कफि पियौं । बेलुकाको खाना खान पहिलेकै लजको डाइनिङ हलमा गयौं । हल्का थुक्पा र स्न्याक्सहरू लियौं । काठमाडौंभन्दा केही कम छैन जस्तो भान भयो । मम, पिज्जा सबै रहेछ । तातो पानी थर्मसमा लिएर अपाट्र्मेन्ट फर्किएर आरामले सुत्यौं ।

रातभर पानी परेकोले मौसम खुलेछ । मिर्मिरेमा नै उठेर झ्यालतिर आँखा । अगाडि कोन्दे रेन्ज मनमोहक देखियो । झ्यालबाट फोटो खिच्न शुरू भयो । केही बेरमा तल ओर्लियौं । कहॉबाट राम्रो हिमाल देखिन्छ भन्दै नाम्चे मुख्यद्वारसम्म पुग्यौं । चारैतिर हिमाल । थामसेर्कु, आमादब्लाङ, कुसुम केन्गारू, कोन्दे रेन्ज, के के हुन् के के । गाइड भाइले कुनै शेर्पा भाषामा नाम, कुनै नेपालीमा भन्दा हामीलाई त याद गर्न नै मुस्किल ।

अब तेस्रो दिनको यात्रा शुरू । हल्का नास्ता गरेर तयार भयौं । स्याङबोचे हुँदै एभरेस्ट भ्यू होटल पुग्ने । भन्नलाई २ घण्टाको हिँडाई । हामी अलमल गर्दै हिँड्नेहरूलाई ४ घण्टा । आज एउटा मात्र घोडा, मेरो लागि मात्र । सबै जना हिँडे । उचाइमा पुगेर घोडाबाट नै नाम्चेबजार पूरै देखिने गरी धेरै फोटोहरू लिएँ ।मानिस हिँड्ने खुड्किला बनाइएको छोटो बाटो रहेछ । घोडालाई खुड्किलो ओर्लिन उक्लिन गाह्रो हुने रहेछ । हामी घोडा हिँड्ने लामो बाटोतर्फ लाग्यौं । तैपनि हामी पहिला पुगेछौं । घोडासँगै हिड्ने भाइ पसिनापसिना भएका थिए । घोडाले दौडाइदियो । स्याङ्बोचे पुरानो एअरपोर्ट नजिकै गाइड भाइको घर रहेछ । त्यहाँ उहाँको परिवारसंग भेट्यौं । शेर्पाली नास्तामा आलुको तात्तातो रोटीमा चौरीको नौनी । अनि चिज बनाउँदा निस्केको पानीमा अकबरे खुर्सानी राखेर बनाइएको सससँग खाँदा त मिठ्ठो स्वाद मुख्खैमा झुन्डियो ।

मौसम फेरि डामडुम्म भयो । पानी पर्ला जस्तो भयो । केही बेर त्यहि पुरानो रनवेमा घोडा चढेर सबैजसोले रमाइलो गर्यौं । यौवनका रहरहरू अहिले आएर पुरा गर्ने कोशिस गर्दैथियौं । सगरमाथा अझै देख्न पाएका छैनौ । हिड्यौं अझैमाथि । ३७८० मि.बाट ३८८० मि.को गन्तव्यतिर । रमणीय दृश्य देखेर म पनि घोडाबाट ओर्लेर हिँड्न थालेँ । रातो, हरियो, पहेँलो, प्याजी अनेकन फूल फुलिरहेका रङ्गिन डाँडा । बाटो माथितिर हेर्दा पनि त्यस्तै, तलतिर हेर्दा पनि त्यस्तै रमणिय । पानी छिट्टाइसकेको थियो । टाढाटाढा झारल र घोडाहरू सँगसँगै चरिरहेका । होटल आइपुग्ने बेलामा चौंरी चरिरहेका थिए । अगाडि गएर नै फोटो खिच्यौं । जब होटल पुगियो, मौसमले साथ दिएन । एभरेस्ट भ्यू देखिने होटल आइपुगेर पनि कुनै हिमाल नदेख्दा सबैको मुख नै निन्याउरो भयो । होटल छिर्यौं । खाना खायौं र आआफ्नो कोठामा गएर ओच्छ्यानमा घुस्रियों । हामीलाई पुर्याउने भाइहरू फर्के । सिमसिम पानि पर्न शुरू भयो । कतै पानी परेपछि हिमाल देखिन्छ कि भन्ने आसै आसमा रात पर्यो । मेरो पेट गडबड भई नै रहेको थियो । बेलुका खाना खादै अर्को ग्रुपसँग गफसफ भयो । आगो बालेर न्यानो पारिएको थियो डाइनिङ हल । मलाई अलि सन्चो नभएकोले चाँडै कोठामा फर्केँ । रातभर सिमसिम पानी परे पनि अर्को दिन पनि मौसम खुलेन । गुगल सर्च गर्दा २ दिनपछि मात्र मौसम खुल्ने देखाइरहेको थियो । फर्कने टिकट मिलेसम्म सार्ने निधो गरियो । टिकट मिल्यो । २ दिन खुम्जुङ्ग गाउँ बस्ने विचार गर्यौं । किनकि त्यहि होटलमा बस्न महङ्गो थियो ।

पानी दर्किदै थियो । रेनकोट लगाएर हिजोको भाइहरूलाई बोलाएर खुम्जुङ्ग ओर्लियौं । २० मिनेट भनेकोमा ४०-४५ मिनेटमा आमादाब्लाङ लज पुग्यौं । १०० मि. तल । मिठ्ठो नेपाली खाना खाएर ओछ्यानभित्र बसेर झ्यालमा हिमाल देख्ने प्रतीक्षामा बसियो । जाडोले मकै खान मन लागेर भुट्न लगायौं । कोठाको झ्यालबाटै खुम्बिला हिमाल अगाडि नै खुल्दै देखिन थाल्यो । साँझ पर्दै थियो । आलु उसिन्न भन्यौं । याकको सुकुटी माग्यौं । चियापान गर्नेले चिया, मदिरापान गर्नेले रम मगाउँदै तातो आगोको वरिपरी बसेर रमाइलो गर्‍यौं । खाना खाएपछि आआफ्नो कोठातिर लागियो । भोलिपल्ट हिमाल देख्ने आश त बाँकि नै रह्यो । बिउँझने बित्तिकै सबको झ्यालतिर आँखा । ए अलि अलि देखियो, यो झ्यालबाट देखियो, त्यो झ्यालबाट देखिन्छ भन्दै, कहिले बादलले ढाक्ने, कहिले खुल्ला कि भन्ने आसमा बाहिर निस्क्यौं । केही परसम्म खुम्जुङ्गको स्कुल बाहिरबाटै अवलोकन गर्‍यौं । आआफ्नो इच्छाअनुसार सोच्ने, हेर्ने र क्यामरामा कैद गर्नु पर्ने सबले गरे नै । हिलारीले बनाई दिएको स्कुल, राम्रोसँग चलारहेको रहेछ । हिलारीले अलिमाथि कोन्दे गाँउमा बनाइदिएको हस्पिटल पनि राम्रोसँग चलाइरहेको रहेछ । स्थानीय जनसमुदायको पनि ठूलो हात रहेछ । सफा गाँउ, सबैको घरको छानो एउटै रङ्गको, फिक्का हरियो । टाढाबाट हेर्दा पनि राम्रो । फोहोर ब्यवस्थापन राम्रोसँग गरेको । धेरैको बारीमा ग्रिन हाउस प्रविधी अपनाएर काउली, गाजर, साग, बरेलाजस्ता तरकारी फलाइरहेका ।

बिहानको नास्तापछि त्यहि नगिचै रहेको गुम्बा गयौं । यतिको टाउकोको खपटा सुरक्षित गरी राखिएको रहेछ । टिकट काटेर भित्र जानुपर्ने रहेछ । पुरानो गुम्बा रहेछ तर भित्रको कलात्मक र अग्ला अग्ला वुद्धको मुर्ति देख्दा छक्क परिन्छ । प्रार्थना गर्‍यौं, ठूला ठूला माने घुमायौं । बादल फाटी आकाश खुलोस भन्ने इच्छा राख्यौं । फर्हिंदा बाटोमा लस्करै चौंरी र याक भेटिए । चराउन लागेका होलान् । पूर्णेको दिन । एक हुल शेर्पा शेर्पीनीहरू देउसी भैलो खेले जस्तो घरघर हिँड्ने रहेछन् । दक्षिणा खादामा राखेर दिनुपर्ने रहेछ । पछि आशिष दिएर त्यो खादा हामीलाई नै लगाइदिने रहेछ । हामी कोही स्कुल छेउकै भ्यूप्वाइन्ट उक्लियौ, कोही कोठामा । टुप्पोमा पुगेपछि बादल हट्छ कि भनेर केही बेर पर्खदै बस्यौं । कहिले थामसेर्कु कहिले आमादाब्लाङ झल्याकझुलुक देखिन थाल्यो । मौसम खुल्छ कि भन्ने अनुमान लगाएर, त्यसबाट ओर्लेर हिलारी मेमोरियल भ्यू प्वाइन्टतिर उक्लिन लाग्यौं । पानी सिमसिम पर्दापर्दै रेनकोट र छाता बोकेर हिँडेका थियौं ।

डाँडाको टुप्पोमा पुग्दानपुग्दै चारैतिर हिमाल देखिन थाल्यो । पानी रोकियो । हामी खुसीले कहाँ कताबाट फोटो खिच्ने भन्दै हतारिन थाल्यौं । सगरमाथा आँखैअगाडि देखियो । सूर्यास्त हुँदै थियो । हिमालमा परेको सूर्यको मनमोहक किरणसँगै हाम्रो मन पनि हर्षित भइरहेको थियो । साथीहरू अझै माथिबाट सगरमाथा राम्रो देखियो भन्दै अगाडि बढिरहेका थिए । हुन पनि त्यो डाँडा सुन्दर, कोणधारी धूपी र सल्लाका बुट्यानदेखि रूख समेतले क्यामरामा कैद गरिएका अनेकन सुनौला हिमालको स्वरूपलाई सुनमा सुगन्ध थपिदिए जस्तो । पूर्णेको साँझ । त्यसमा लाइन लागेर फर्किरहेका याक र चौंरीहरू । सेता, काला, कैला । म वर्णन गर्नै सकिरहेको छैन । स्वर्गमा पुगेको आभास नै भयो मलाई त । अनेकों पोजमा फोटो खिच्न भ्यायौं हामीले । साँझ झमक्क परून्जेल पनि हामीलाई त्यहाँ बस्न पुगेको थिएन । विस्तार ओर्लियौं । अघि गाह्रो गरी चढेको उकालो, एकै छिनमा ओर्लेजस्तो भयो ।

बाटोमा देखिएको बेकरीमा पसेर कफि खाने भन्दै ओर्लियौं। तर बन्द भइसकेछ । ढोका ढकढक्याएको त खोले । मिठ्ठो बेकरी परिकार पाइने रहेछ । काठमाडौंको भन्दा केहि कम रहेनछ । लज पुगेर खाना खाइवरी अस्ति पानीमा भिजेको लुगा, झोला सब अँगेनाको वरिपरी राखेर सुकायौं । भोलि बिहान एभरेस्ट भ्यूप्वाइन्ट होटलमा सगरमाथालाई फेरि दर्शन गर्न पाइएला कि भनेर हिँड्ने योजनाका साथ सामान मिलाइवरी सुत्न गयौं । कोठामा चाहिँ चिसै थियो ।

अलिअलि सामान बोकेर हामी ५ जना उकालो हिड्न लाग्यौं, रमणिय दृश्यहरूको फोटो फटाफट खिच्दै । सूर्योदयको प्रकाशका किरणहरु हिमालमा परिसकेको थियो । हामी एभरेस्ट भ्यू होटल पुग्नलाई हतार हतार हिँड्यौ । हिड्न सक्ने अघि पुगे, नसक्ने पछि । माथि टावरमा पुग्दा आहा भन्दै चारैतिर हिमाल सेताम्मे । अगाडि नै नुप्से, लोत्से, सगरमाथा । त्यसपछि चुखुङ् री, थामसेर्कु, आमादाब्लाङ झन् नजिकै देखियो । खुम्बिला, सुमेरु पर्वत । कति हो कति हिमालको नाम नै याद नहुने । पोज पोजको फोटो खिचियो । कतिलाई प्रत्यक्ष भिडियो देखाइयो । बिहानभरी भोक प्यास केही ध्याउन्न भएन । हेलिकोप्टर कतिबेलाको लागि बोलाउने भन्दै थिए गाइड भाइ । हाम्रो सामान लिएर अघि नै आइसकेछन् अरु भाइहरू । नास्ता लिएर हेलिप्याडतिर ओर्लियौं । १० नै बज्न लागिसकेछ । त्यहाँबाट पनि उत्तिकै राम्रो दृश्य देखिने रहेछ । हेलिकोप्टर कुर्दै थियौं । तलतिरबाट हुस्सु र बादलले ड्यामडुमै छोपिहाहाल्यो ।मौसमको भर हुन्न भनेको हो रहेछ । लुक्लाबाट उडेको हेलिकोप्टर पनि पछाडिबाट बल्ल बल्ल अवतरण गर्‍यो, दुई विदेशी यात्रु लिएर । हतारहतार हाम्रो सामान लोड गरेर हामीलाई चढ्न भन्यो । तर कुहिरो र हुस्सुले गर्दा उडाउन सकेन र हामीलाई ओराल्यो । डाँडाको अर्कातिर भएको हिलारी मेमोरियल नजिकैको हेलिकोप्टर आउनु भनेर हामी १५, २० मिनेट हिँडेर तल ओर्लियौं । त्यहा हेलिकोप्टर आइसकेको रहेछ । त्यहाँबाट १० मिनेट जतिमा त लुक्ला ओर्लिहाल्यौं । ३ दिन लगाएर हिँडेर माथि गएको ठाँउबाट १५, २० मिनेट पनि लागेन ओर्लिन । लुक्लामा, जाँदा खाना खाएको होटलमा पुगेर १ दिनलाई पहिल्यै कोठा मिलाइएको थियो । त्यै पनि काठमाडौं फर्किनेछ हवाई टिकट पाइन्छ कि भनेर बुझ्यौ । रहेनछ । मौसमको कारणले केही दिन अघिदेखिको उडान रद्द भएर बसेको रहेछ । खाना खाएपछि कोहि बजारतिर, कोही त्यतै डाँडा लुक्ला विमानस्थलको उडान भर्ने र अवतरण गरेको रमिता हेरेर बसियो । साँझ ५ बजेसम्म दुवै हवाइजहाज र हेलिकोप्टर आउनेजाने क्रम चली नै रह्यो । भोलिपल्ट बिहानै ताराको पहिलो उडान भए पनि पहिले विदेशीको चार्टर र अर्को भारतीयको फिल्म सुटिङको कार्गोमा प्राथमिकतामा राखेर २, ३ घण्टा कुराई हामीलाई तेस्रोमा बल्ल उडायो ।

जे भए पनि सकुसल काठमाडौं अवतरण गरियो । हप्ता दिनको हाम्रो यात्रा अविस्मरणीय रह्यो । सबै आआफ्नो गन्तव्यतिर लागे । बर्षौदेखिको सगरमाथालाई नजिकबाट नियाल्ने इच्छा पूरा भयो । हुन त कालापत्थर पुगेर सगरमाथा अझ नजिकबाट नियाल्ने योजना थियो हाम्रो । बेसक्याम्प पुग्न त धेरै कसरत गर्नु पर्छ । एकैचोटि माथि पुग्दा लेक लाग्ने धेरै सम्भावना हुने रहेछ । धेरै कुरा विचार पुयाउन पर्ने रहेछ । खुम्बु हिमाली क्षेत्रमा अनगिन्ती हिमालहरू रहेछन् । पदयात्राको लागि विभिन्न गन्तव्यहरु प्रशस्त छन् । गुगल, नक्सा चित्रहरू अनि ट्राभल गाइडद्वारा पनि धेरै जानकारी लिन सकिँदो रहेछ ।

यति पुगेर आएको नै मेरो लागि ठूलो काम गरे जस्तो लाग्यो र सन्तोषको लामो श्वास फेरेँ । यो त मेरो डायरीमा सुरक्षित राख्न लेखिएको मेरो संस्मरण हो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. भारतीय सिनेमाकर्मीका … सुटिङ चलिरहेको रहेछ । शेर्पाहरूको कथा पनि जोडेको छ रे । स्थानीय परम्परालाई कुन रूपमा ढालेको होला । मलाई त शङ्कै लाग्छ । …। हाम्रो घोडा रोकेर मुख्य बाटोबाट घोडा लग्न पाईन्न भनेर घोडाबाट ओर्लिन लगाए । …लाग्यो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button