कुकुर रोइरहेको थियोे
लघुकथा: मनका तरङ्ग
अम्बिका खरेल उप्रेती
विराटनगर-१२
शंकाले लंकाले खान्छ भन्छन् । सत्यता कहाँसम्म हो, थाहा छैन दिलमायालाई । कुकुर एकोहोरो र अनौठो किसिमले कराएको आवाज कानमा पर्यो । सपना हो कि जस्तो लाग्यो तर होइन रहेछ । उठेर झ्यालबाट बाटोतिर आँखा डुलाइन् । कुकुर आफ्नो घरको धुरीतिर हेरेर रोइरहेछ, अलग-अलग आवाजमा ।
मनमा चिसो भयो । आमालाई सम्झिन उनले । सानामा चियाको चुस्कीसँगै बुबासँग गर्नुभएको कुरा । खै गाउँमा के घटना घट्छ, रातभरि कुकुर रोइरहेको थियोे । सपना पनि खालि मासुभात खाएको देख्छु, पल्ला घरका भन्जालाई पो केही हुन्छ कि । त्यति भन्दाभन्दै मानिसहरू ओहोरदोहोर गर्छन् । साने भान्जा त सारै भएर अस्पताल लगे नि । म भन्दै थिएँ नि, ठुलीका बा केही त हुन्छ । एकैछिनमा पल्लाघरे भान्जा बिते रे भन्ने खबर आउँछ ।
‘तिमीले भनेको कुरा ठ्याक्कै पुग्छ’ भन्नुहुन्थ्यो बाले । फेरि केही दिनमा आज हाप्सिँलो कराउँदै थियोे फेरि के हुन्छ गाउँमा भन्नुहुन्थ्यो, नभन्दै कोही न कोहीको मृत्युुको खबर सुनिन्थ्यो ।
दिलमायाले उठेर घडी हेरिन् । रातको बार बजेको रहेछ । उठेर एक गिलास पानी खाइन् र फेरि ओछ्यानमै पल्टिन ।मनलाई संसारै घुमाइन । दिमागलाई थिच्दैथिच्दै ल्यायो अनेक तरङ्गले मुटु अमिलो भएर दुख्न थाल्यो । सास रोकिएला जस्तो भयो । छट्पटी हुन थाल्यो । कतै परिवार कि आफूलाई …. हैन, हैन केही हुँदैन । अझै मैले केही गर्नुछ ।आफैँले आफ्नै मन बुझाइन् । संसारै अन्धकार भएर आयो । छेउमै श्रीमान् घ्वारघ्वार गर्दै घुर्दै थिए ।
कसरी मस्तले सुत्न सक्छन् मान्छे ? मनलाई शान्ति दिन बाहिरी आँखालाई वातावरणमा डुलाइन् । आकाशमा जून टहटह लागेका थिए । सलल बग्दै एक लामपुच्छ्रे तारो जमिनमा खस्यो । ओहो ! तारा खसेको देख्नु त शुभ लक्षण भन्छन् । मेरो अधिकृतमा बढुवा हुने पक्का हो त ? मेरो अभिलाषा पूरा हुन्छ, सुतिरहेकी छोरीलाई नियालिन् मेरो बढुवा हुनु नै तिम्रो भाग्य चम्कनु हो नत्र साधारण व्यक्तिले कहाँ छोराछोरीलाई सक्षम बनाउन सक्छन् र ?
मनमा खुसीको लड्डु फुटाउँदै पर्लक्क बिस्तारामा पल्टिन दिलमाया ।
आचे ! पर भाग, कात्तिक लागेर सुत्न नदिने भए डाँगाहरूले । दिलमाया कि आमा उता कोठामा फतफताउँछिन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)