जुनेली रातलाई साथी बनाएर गन्तव्यमा पुगेँ

यसपालिको दसैँ र मेरो अनुभव

हरिप्रसाद गौतम
शिक्षक

हरेक वर्षजस्तै यस वर्ष पनि उसै गरी दसैँ आयो । महामारीका बिचमा आएको भए पनि यसपालिको बडादसैँ पोहोरभन्दा अलि बढी चहलपहलका साथमा भित्रिएको हो कि जस्तो लाग्दै थियो । यसै लहरमा लहरिँदै गाउँघर घुम्ने योजना बनाएँ मैले पनि र उभिएँ टिकट काउन्टरमा । टिकट बुकिङका बारेमा सोध्न पनि लाम नै लाग्नुपर्ने र अन्त्यमा ‘यहाँ होइन उता जानोस्’ भन्ने उत्तरले तीन ठाउँमा उभिन बाध्य भएँ । लुछाचुँडी गरेर एसीवाला रात्रिबसको टिकट लिई हाम्रो आठ जनाको रमाइलो टिम बुटवल पुग्यो ।

यात्रामा हुने बाधालाई दशैँको रमाइलाले हटाउँदै धुलो, जाम आदिलाई चिर्दै हामी बुटवल पुग्यौँ । केही साथीलाई अर्को दिन बिहान गुल्मीको बस चढाएर म बुटवलको चहलपहलमा रम्न थालेँ । बाटो बिस्तार र जामले बुटवल पनि अछुतो रहेनछ । यस्तैमा भाइको बसाइ शङ्करनगर पुगेँ र परिवारजनको मीठो आतिथ्यमा रमाउँदा मख्ख परेँ । काठमाडौंको शीतलता साँच्चै याद आयो त्यहाँको गर्मीले । एकै छिनपछि बहिनीलाई भेट्न मिलनचोक पुगेँ । घरमा भाञ्जीसँग मात्रै भेट भएकाले बहिनी र ज्वाइँलाई उहाँकै व्यवसाय मल्टी इन्टरप्राइनजेज भएको ठाउँ मिलनचोकमै पुगेर भेटेँ । साँझपख ज्वाइँको साथमा वनवाटिका माइलो भाइको परिवार भएको ठाउँ पुगेँ । गर्मीले भतभती पोले पनि भोलि कान्छो भाइको नयाँ व्यवसाय हेर्न जाने योजना बनाएर सुतेँ ।

जहाँ पुगे पनि बिहान उठेर हिँड्ने बानी भएकाले म कान्छो भाइसँग शङ्करनगरको चक्कर लगाई केशरमणि दाइसँग भेटघाट र चियापान गरेँ । खानपान सकेर भाइसँग मणिग्रामतिर हानिएँ । माइली फुपूलाई भेट्ने योजना भए पनि फुपूको अपर्झट काम परेर उहाँलाई बुटवल जान परेकाले म उहाँलाई भेट्न नपाएर खिन्न थिएँ । काठमाडौंमा जेठमा नहुने गर्मी त्यहाँ यति बेला पनि थियो । लगाएका लुगा भिजेका थिए । शरीरले शीतलता खोजेको बेला एक जना आफन्तले मलाई गुल्मी जाने गाडीको सिट मिलाइदिएर फोन गर्नुभो । हुन त मेरो काम पनि बाँकी नै थियो अनि दाजुभाइ र इष्टमित्रसँगको भेटघाट पनि सकिएको थिएन तैपनि सबै कुरालाई थाती राखी गुल्मीतिर जाने गाडीमा चढेँ । राजिव भाइ, धनिश्वरजी, सिर्जना बहिनी र आफन्तसँग गरिने यस दिनेको यात्रा पनि निकै रमाइलो हुने कल्पनामा गर्दै रहेँ ।

बुटवलका गल्ली जाम र भिडभाडले छिचोलिनसक्नुको थियो । बल्लतल्ल त्यहाँबाट निस्केका हामी सिद्धबाबाको मन्दिर र पहरो हुँदै धुलो र अप्ठेरो बाटोबाट झुम्सा, दोभान, केराबारी, जोरधारा, चरचरे, बर्तुङ, तानसेन, भैरवस्थान, अर्गली हुँदै रुरु पुग्यौँ । सिद्धबाबाको डरलाग्दो बाटो, झुम्साको धुलोलाई केराबारीको बटुक र चुकाउनीले बिर्साएझैँ चरचरे अनि बाटाका खाल्डाखुल्डीलाई परवास वरिपरिका दृश्यले बिर्साएका थिए । तानसेनको पाखो र श्रीनगरको सुन्दरताभन्दा त्यसभन्दा माथिबाट देखिने हिमालका दृश्य साँच्चै मनमोहक थिए । ठुलो त्रिशूल, ठुलै रोट अनि मनोकामना सिद्ध हुने आस्थाले चर्चित भैरवस्थानको मन्दिर र नबोल्ने बच्चालाई कुवाको पानी खुवाएर निको पार्ने भन्ने विश्वास बोकेको जुगेपानी पार गरेर हार्थोक, लघुवा, जोर्ते, अर्गलीको फाँट हुँदै हामी रुरुकन्याको ध्यानले प्रसिद्ध तीर्थस्थल रुरु पुगेका थियौँ ।

रुरुमाथि पर्ने ससुराली गाउँ आजको मेरो गन्तव्य हुनाले म थोर्गाको फलाँटेमा उत्रेँ । गोधुली साँझपछिको जुनेली रातलाई साथी बनाएर म गन्तव्यमा पुगेँ । त्यस रात त्यहीँ बसेपछि हामी दुई सप्तमीका दिनमा मेरो मामाघर जान निस्केका थियौँ । बस चढेर बलेटक्सार पुगेका हामी निर्मल वस्त्रालयमा पुगेर भिनाजु र लक्ष्मी भाञ्जीसँग गफ गर्दै गर्दा भाञ्जीले अटोलाई फोन गरी मामाघर भक्तिकोट जाने व्यवस्था मिलाइदिनुभयो । पुराना यादलाई फेरि नयाँ बनाउँदै जोर्तेपोखरीमा झरेर वारिपारि हेर्दै मामाघर भक्तिकोट पुग्यौँ । बाटोमा जाँदै गर्दा जानकी दिदीका घरमा काँक्राको थुप्रो, देखेर दङ्ग पर्‍यौँ । हजुरआमाको दलानमा पनि काँक्रा, फलेदाको रुखमा पुगेर फलेका रानीगिठा, स्कुस, चटेला आदि देखेर हामी दुई हेरेकोहेर्‍यै भयौँ । हजुरआमाले बनाएको मिठो चिया खाएर हामी पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जन्मस्थान चौतारा हेर्दै साँझको खाना बनाउने चर्चामा लाग्यौँ । नातिनी-बजै भान्छामा गफ गरिरहँदा म तलतिर गई कान्छीमाइजूसँग एक छिन गफ गरेँ । पल्तिर देवु भाउजूसँग भने गफ हुन पाएन । बिहान तलतिर पविता भाउजू र जानकी दिदीसँग छोटो भेट गरेर हतारमा त्यहाँबाट निस्केका थियौँ ।

Ad

हिजो साँझ हजुरआमाका गफ र सम्झनाका कुरा हाम्रा लागि निकै प्रेरक थिए । उ बेलाका दु:ख- सुखका कहानी सुनाएर हजुरआमाले हामीलाई धैर्यवान् हुने प्रेरणा दिनुभएको थियो । हजुरआमाकै निर्देशनअनुरुप हामी अर्को दिन बिहान बाँसपाटाका मामामाइजूको घरमा खाना खान जाने योजना बनाएर सुतेका थियौँ । हो, हजुरआमा बुढी हुनुहुन्छ, साथै बिरामी पनि तर उहाँको सक्रियता देख्दा हामी अचम्मित भएका थियौँ । अर्को बिहानको चियापछि तलीगाउँ, घिउबेँसी, रानीवास हुँदै हामी बाँसपाटा पुग्यौँ । अम्बा र कटहर पाकेका, बारीमा उम्रँदै गरेको तोरी, पाक्दै गरेका डल्ले खुर्सानी मात्रै होइन दुइटी माइजूहरूको माया र प्रवेश भाइको सक्रियताले हामीलाई हर्षित बनाएको थियो । यसैबिच हामी वाहादी ठाडाखर्क मामाघर पसेर कान्छीफुपूको घरमा पुग्यौँ । धीत मर्ने गरी अम्बा खायौँ, गफ गर्‍यौँ अनि भाँगोबारी रहनुहुने हाम्रा आदरणीय मामामाइजूहरूलाई भेट्न पुग्यौँ । दुई घर मावलीको मायामा रमाएर हामी अटोको विकल्प बनेको बाइकमा बलेटक्सार पुग्यौँ ।

त्यहाँबाट फेरि लक्ष्मी भाञ्जीकै व्यवस्थापनमा जिप चढेर हामी यस दिनको गन्तव्यमा पुग्यौँ । यसपालि हाम्रो टीका थिएन । बुबा बित्नुभएको वर्ष हुनाले काठमाडौंमा यत्तिकै बस्नुभन्दा भेटघाट गर्नु र रमाउनु ठिक होला भन्ने सोचेर हामी त्यहाँ पुगेका थियौँ । अर्को दिन नवमी थियो । यस दिनको योजनाअनुरुप म रिडी बजारमा रहनुहुने नारन दाजुकहाँ पुगेको थिएँ । माइली फुपूका छोरा बाहुनदाजुसँग साँझमा काली गण्डकीको किनारैकिनार हिँडेर निर्माणाधीन तीन जिल्ला(गुल्मी, पाल्पा र स्याङ्जा) जोड्ने पुल हेर्न पुग्यौँ । साथै शालिग्राम भेट्टाउने प्रतिस्पर्धामा नदीकिनारमा खुबै घुम्यौँ अनि अर्को दिन बिहान बाहुनदाइ र म प्रभातयात्राका क्रममा रिडी हाइड्रो भएको रिडीखोला हेर्दै निकै माथिसम्म पुग्यौँ ।

हिजो साँझ तास खेलेर रमाएका छोरीहरू उठ्न नपाउँदै हामी प्रभातयात्राबाट फर्किसकेका थियौँ । साना नानीको जिज्ञासु स्वभाव अनि भाउजूको आतिथ्य सत्कारमा रमाएर म एक दिन त्यहीँ बसेँ । अर्को दिन उहाँहरूको टीकापछि फोटो सेसनमा सरिक भएँ अनि दाजु मुर्गिया आमासँग टीका लगाउन भनी बुटवलतिर प्रस्थान गर्नुभयो । भाउजूले मेरा लागि पनि टिकटको व्यवस्था गरिदिनुभयो । त्यसपछि म पनि आफन्तलाई भेट्न पुरानै गन्तव्यमा पुगेँ । एकादशीमा नहिँड्ने भनेकाले अर्को दिनका लागि हामी बुटवलका जाने गाडी खोज्न थाल्यौँ । क्यु फ्री भएकाले होला बसवालाले खबरै नगरेपछि हामीले अर्को गाडी खोज्नुपरेको थियो ।

द्वादशीका दिनमा खाना खाएर हामी प्रतीक्षालयमा पुग्यौँ । हायस गाडीमा चढी हामी साँझ अबेर बुटवल पुग्यौँ । भोलिका लागि टिकट किनेर त्यस रात बुटवल बस्ने हाम्रो योजना थियो तर ओर्लन नपाउँदै अस्तिकै एसी बस भेटिएकाले हामीसँग सँगै आएका राजिव भाइलाई बाई भनेर हामी राजधानीतर्फ लाग्यौँ ।

डाइभर्सन बाँध बाढीले बगाउनाले बाटोका ठाउँठाउँमा भएका घुम्तीले यसपालिको यात्रालाई निकै असजिलो बनाएको रहेछ । जब सोझो बाटो बाङ्गिन्थ्यो, तब ड्राइभर सरकारको बेवास्ता र ठेकेदारको कमजोरी हो भन्दै मुर्मुरिन्थे । हामी गुरुजीसँगै बसेकाले अगाडिका सबै गतिविधिसँग परिचित हुन पाएका थियौँ । रातभरिको वर्षाले बाटो सहज नभए पनि सकुशल कर्मथलो भित्रिन पाएकोमा खुसी भएका छौँ ।

जे होस्, टीका नलगाए पनि भेटघाट र घुमफिरले मन त रमायो तर समयको अभावका कारण जन्मघरै पुग्न र कान्छी आमा, सानीमालगायत आफन्तजनलाई भेट्ने रहर पूरा नहुँदा अलिकति खल्लो लागिरहेको छ । अबका दिनमा यस्तै अवसर मिलोस् र भेट्न पाइयोस् भन्ने कामना गरेका छौँ, अवश्यै पूरा हुनेछ ।

जय दुर्गा भवानी !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button