त्यो बेलाका उपियाँले आजभोलि कसको रगत प्युँदा हुन् ?

डोल्पा डायरी

विष्णु पादुका

सधैं हिँडिरहेको बाटोमा नयाँ अपेक्षा कमै हुन्छन् । कुनै चमत्कारको आशा हुँदैन दृश्य र भोगाइमा । तर, अवान्छित घटना नहोस् भन्ने चाहना भइरहन्छ । यो अनुभुती सबैलाई हुन्छ होला । भुइँमान्छेले उडानलाई कि अवसर कि बाध्यता सम्झिनु पर्छ । आर्थिक महङ्गी एउटा पाटो, जिउहजुरको अर्को चटारो । यी दुवै कुरालाई तिलाञ्जली दिँदै सडक यात्रा तय गरियो । उसो त विगत बाईस बर्षदेखि हिँडिरहेको बाटो हो । बाटो र यात्रु उही भए पनि भोगाइ यात्रापिच्छे फरक हुन्छन् ।

कोहलपुर बसघाटमा झोला बोकेर प्रवेश गर्दा बित्तिकै लिलाम बोलिएको खसी झैँ तानातान शुरु भयो । त्यसै पनि थाहा हुन्छ कर्णाली प्रदेश प्रवेश गर्ने बसको स्थिती । रंग खुइलिएका, सिट च्यातिएका चश्मा लाएर हेर्नुपर्ने नम्बर प्लेट, पछाडिको भाग कुच्चिएको देख्दा नै जुम्ला, दैलेख, रुकुम र जाजरकोट जाने बस हो भनेर पत्ता लागिहाल्छ । तर, गाडी नेपालगन्जबाट नै भरिएर आइपुग्ने हुनाले यहाँ तानातान मोलमोलाइ र हानाहान हुने गर्छ । जसोतसो टिकट लिइयो । टिकटमा तोकिएको समय नाघेको एक घण्टामा बस आइपुग्यो । बसको भित्री गल्ली आलुका बोराले भरिएको थियो । सिटहरुमा मान्छे कोचिएका थिए । भित्र बाहिर गर्न उभिन सकिने स्थिति थिएन । हातपाउ टेकेर भए पनि अन्तिम सिटसम्म पुगियो । बसको माथिल्लो खोपामा बोराका झोलाहरु थिए । पुराना कम्मलहरु थिए । यात्रुहरुको पसिनाले बस भित्र उकुस मुकुस थियो । बस नचल्दा सम्म हावा फैलिने सम्भावना थिएन । बोरामाथी अटेजती यात्रु भरेर बस चल्यो । यात्रा शुरु भएकोमा भन्दा बसभित्र हावा छिरेकोमा आनन्द आयो । रात्रीकालिन यात्रा हुनाले आँखाहरु बाहिरी वातावरणमा भुल्ने कुरा भएन ।

एउटा गीत एक मिनेट बज्न नपाउँदै अर्को गीत बजाउ भन्ने फर्माइस हुन्थ्यो । केही डेउडा र गडवाली गीत टिक्न पाउँथे । हिन्दी गीतले पनि थोरै मौका पाउँथे बज्ने । मलाई भने फर्माइस सुनेर एउटा बिगतमा पुर्‍यायो यो परिवेशले ।

दशैंको छुट्टी थियो । हामी एक एक बर्ष बिराएर दशैको टीका थाप्न घरमा आउँथ्यौं । स्कुलबाट घरमा आउन सात दिन फर्कन सात दिन लाग्थ्यो । पन्ध्र दिनको बिदा बाटोमा नै ठिक्क हुन्थ्यो । एकदुइदिन जसरी पनि ढिलो हुन्थ्यो । अध्यक्ष र हेडसरको खप्की खाइन्थ्यो । त्यही पिरले पनि दशैं न आए हुन्थ्यो भन्ने लाग्थ्यो । यो कुराको मर्म बुवाले थाहा पाउनु भएछ कि, दशैको टिकाकै दिन स्वर्गे हुनुभयो । अनि निधार खाली हुन गयो सबै दशैँमा । हामी दशैं घरमा आउँदै थियौं । त्यसबेला सुर्खेतको पोख्रे सम्म बस पुग्थ्यो । हामी अरु विद्यालयका शिक्षक सहित दस बार्ह्रजना थियौँ । रुकुम जाजरकोट र डोल्पाको सिमामा पर्ने त्रिवेणी बजारमा भेटिएका थियौं । विद्यालय छोडेको दिनदेखि बाटोमा पैदल हिड्ने मान्छेको भिड देखिन्थ्यो । शिक्षक कर्मचारी तल्लो क्षेत्रतिर र स्थानीय मानिसहरू माथितिर सबै आफ्नो घरमा पुग्न हतारमा थिए । अन्यत्र तीस रुपैयाँ छाक थियो दालभात । रुकुम र जाजरकोटको सिमामा पर्ने चिहानबगर मा एउटा होटल थियो जम्मा बार्ह्र रुपैयाँमा भरपेट दाल भात पाइने । त्यो पनि छुट्दैनथ्यो । दिनभर पाक्थ्यो त्यहाँ खाना । त्यसको पनि भिन्न कथा थियो, छ । स्यानीपिप्लीको बिहानको खाना पछि कैनकाँडाको लेक उकालो छ । बिस्तारै चड्दा साँझ पर्थ्यो । हामी त्यही गति र लयमा थियौँ ।

डाँडामा रहेका होटलहरुमा बाडिएर बास बसियो । बिहान झिसमिसैमा उठेर ओरालो लाग्यौं । सालघारिको वनमा एकेक जना हिड्न मिल्ने गोरेटो बाटो थियो । माटो पुरै रातो थियो । बिहान गर्चे बाट उठेर उकालिएकाहरू सधैं भेटिन्थे त्यो हाम्रो ओरालोमा । तर यसपटक हामी ओर्लन सकिरहेका थिएनौं । तल बाट आउनेको लर्को लामो थियो । सबैले बोराको झोलामा सिलाएर बोरैका फिता लाएर बोकेका थिए । प्राय सबैको पोसाक उस्तै उस्तै थियो । सबैका काँधमा नेसनल चाइनिज टेपरेकर्डर थिए । सबैले बजाएकै थिए । तर, अचम्म सबैको क्यासेटमा बज्ने गीत भिन्न भिन्न थियो । टाढाबाट सुन्दा मौरी भन्किए जस्तो आवाज आउँथ्यो सालघारीमा । नजिक आउँदा पनि कुन गीत बजेको छ छुट्याउन गार्हो थियो । बजारमा आएका सबै गीत बजेको हुनुपर्छ । अहिलेको झैँ तस्विर लिने मोबाइल भएको भए उहाँहरुलाई स्मृतिमा राख्न कति सजिलो हुन्थ्यो होला । लेख्न मिल्ने मोबाइल भएको भए त्यसैबेला ताजा अनुभुति लेखिन्थ्यो होला । डायरीमा लेख्ने चेतना अलि नबसेको रहेछ कि, यस्तै लाग्छ आजभोलि ।

संगीतको रुचि त्यो बेलादेखि अहिले पनि उस्तै छ । दिनचर्या र जीवनस्तर उस्तै छ । यत्ती हो बीस बाईस बर्षमा बस अलिक माथी पुगेका छन् । पुराना होटल सुके नयाँ खुले । बाटो फेरियो । यात्रु उनै छन् । बाटोमा भेटिने होटलमा खाजा नास्ता खाउँ भन्यो कि रक्सी र माछा मासु मात्र भेटिन्छ । बोइलर कुखुराको मासु र भेरीको माछा ।

मध्यरात हुँदा एउटा होटलअघि बस रोकियो । सबैजना खाना खान झर्ने फरमानी आदेश आयो । झरेका मध्ये धेरैले खाना अघि नास्ता मगाए । गडवाली टोपी मोजा बिनाका प्लास्टिकका जुत्ता त्यस्तै काँधमा कलेटी परेका कमिज र इस्तकोटमा सजिएकाहरुले टेवल भरिए । कसैले उठेर नै छिटो छिटो सिनित्त पारे । बाहिर उभिएर हेर्ने हामी दुइचार जना थियौं ।

अबको यात्रा झन् कस्तो होला । धन्न चालकले रक्सी पिएको देखिएन र मन ढुक्क भयो । करिव एक घण्टा लाग्यो बस छुट्न । सब आको हो ? सहचालकको चेतावनीपछि बस गुड्यो ।

Ad

बसभित्र अब दुर्गन्धको युद्द शुरु भयो । कतिले उल्टि गर्न थाले । म अन्तिम सिटमा छु । झ्यालबाट हावा आएर थोरै राहत मिलेको थियो अघिसम्म । अब उल्टिका छिटा पनि आउन सक्ने सम्भावना भएकोले झ्याल बन्द गर्नु बाध्यता बन्यो । कसैकसैले कालापहाडदेखि लगाएर आएका जुत्ता खोलिदिए मोजाको दुर्गन्धले रक्सिको गन्धलाई जित्दो रहेछ । म असैह्य भयो । बोरामाथि हात खुट्टा टेक्दै ढोका नेर आएँ । सहचालक सिटको सिढिमा बसेका थिए । सोधे, ‘के भओ सर ?’

म गन्धले आत्तिएँ बरु यहिँ उभिन्छु है । थाके यतै बस्छु बरु सिढिमा । ‘यस्तै हो सर, तपाईं पहिलो चोटि हो र ?’ सोधे ।

‘होइन, बाईस बर्षदेखि हिँड्दैछु ।’

‘अनि त बानी लाग्नु पर्ने सर ।’

अरु कुरा भन्दा अन्तिमको ‘सर’ शब्दले मलाई घोचिरह्यो । बोल्न मन लागेन । पछाडी भन्दा ढोकामा राहत भयो । उभिनुको दुख त छँदैछ । जसोतसो जाजरकोट खलंगा दुई बजे पुगियो । आलु प्याज त्यहीँ झार्नुपर्ने रहेछ । सहचालकले पचासौं पटक बिलमा भएको नम्बरमा फोन गरे । फोन उठेन । सबै यात्रु बाहिर निस्किए एकेक गर्दै । प्राय सबैले चुरोट सल्काए । केही बेरमा सहचालकको मोबाइलमा फोन आयो । आलुको साहुको । बस थोरै अघि बढ्यो । आलु साहुको पसल अघि । डिग्गिमा पनि आलुको बोरा भरिएको रहेछ । एक घण्टामा आलुप्याज उतारे पछि बल्ल ओरालो लाग्यो बस ।

‘अब झ्याल ढोका पुरै बन्द है’, गुरुजीले आदेश दिए । अबको पालो धुलोको थियो । गन्तब्यसम्म अबको यात्रा धुलोसँगै हो ।

मुखमा रुमाल मास्क लगाएर म ढोकामै उभिएँ । घरीघरी ढाड र खुट्टा दुख्दा सिढिमै बसिदिन्थेँ । दुखाइको निर्ममता आफ्नै प्रकारको हुन्छ । रातको यात्रा थियो । परेली जोडिने सम्भावना रहेन । रिम्न बजारमा पुगेपछि अगाडिको सिट खाली भयो । म क्याविनमा छिरेँ । अगाडी साँघुरो बाटो देखिन्थ्यो । ढुङ्गा र खाल्डा देखिन्थे । मन झसङ्ग हुन्थ्यो । एकतिर ताछेको भित्तो अर्कोतिर नदी लिएर बाटो अघि बढेको थियो । पैदल धेरै पटक हिडेको बाटो हुनाले कहाँ पुगियो भनेर अड्कल हुन्थ्यो । माथि वनमा आगो लागेको रहेछ । कलाकारले बनाएको अमुर्त चित्र जस्तो देखिन्थ्यो रातमा । सायद यस्ता यात्राहरु पनि जीवनका लागि आगो नै हुन् ।

दसबर्षे जनयुद्धको उर्वर भूमिको मुटुबाट हिँडेको यो बाटोमा कुनै बेला प्रहरीको चेकिङ्गमा झोलाको चेन बिग्रेर बोरामा लुगा बोकेर हिडेको पल याद आउँथ्यो बेला बेला प्रहरी चेक पोस्ट आउँदा । आजभोली सिङ्गै बस पनि चेक जाँच हुँदैन । नम्बर टिपायो पुग्यो । जसोतसो बस रुकुमको आठबिसकोट नगरपालिका पुग्यो र हामिलाई बिदा दियो । राडी ज्युला बजारमा ८,२० कोट भनेर लेखिएका बोर्डहरु देख्दा नाम लामो पनि अरुची हुने रहेछ कि झैँ लाग्यो । त्यसपछि झोलुङ्गे पुल तर्ने र जीप चढ्ने यात्रा सुरु हुन्छ । अपरिचित यात्रु परिचित मार्ग अनि नौलो अनुभूतिसँग दगुर्नु थियो । जीपमा पनि उही ठेलमठेल । उहि दुर्गन्ध उहि धुलो । उहि आदेश फरमान । जोल्टिङ्ग खाँदै जीप काए हुँदै मैदे पुग्यो । प्रहरी चौकी रहेछ । चौकी भएको घर देखेर पुरानो कुरा फेरि याद बनेर आयो ।

त्यो दिन चिसामा खाना खाएर गोकर्णराज पौडेल र म हिँड्दै थियौं डोल्पातिर । हामी आफ्नै गतिमा थियौं बिस्तारै गफ गर्दै हिड्दै । हामीलाई भेटाउन एकजना भाइ आए । हामीले नै बोल्न शुरु गर्‍यौं । घर गोतामकोट हो भने । नाम अहिले याद आएन । नेपालगञ्ज होटलमा काम गर्थेँ घरमा आमा बिरामी छिन् भन्ने खबर पाएर आएको भनेर हामीसँग बोल्दै आए । हामी पनि स्थानीय भाइसँग थप कुराकानी गर्दै आयौं । राडिज्युलामा खाजा खाउँ भनेको पैसा छैन म त खान्न भने । हामीलाई खल्लो लाग्यो । खाउ खाउ पैसा पर्दैन भनेर खाजा बाँडेर खायौं उमालेको रारा चाउचाउ । उनले हामीलाई छोडेनन् । दिनभर रमाइला गफ गर्दै मैदे पुगेर बास बस्यौं । असारको महिना थियो । यहि प्रहरी चौकी भएको घरमा होटल थियो बास बसियो । दुइतिर दुइटा मुदुस माथी हामिलाई सुत्न भनियो । भुइँमा त्यो भाइलाई सुत्न दिइयो । ढोकामा चुक्कुल छेस्किनी केही थिएन ।

भित्रबाट एउटा ढुङ्गोले बन्द गरी ढोका अड्याउने प्रबन्ध रहेछ । उपलब्ध खाना खाएपछि हामी निदायौं । बिहान उज्यालो नहुँदै म ब्युँझिएँ । सानो लाइट सिरानमा थियो बालेर घडी हेरेँ पाँच बज्न लागेको थियो । लाइट घुमाएर कोठामा हेरेँ । त्यो हिजो सँगै कोठामा सुतेको भाइ थिएन । गोकर्ण सरको झोला र झोलामाथि राखेको पाइन्ट सर्ट पनि थिएन । सरलाई उठाएर सोधेँ । दुबै झस्कियौं । ओहो त्यही केटोले पो चोर्‍यो । उठेर खोज खबर गरियो । पत्ता लागेन । पैसा झोला कपडा झोलामा भएका कागजपत्र सबै चोरी भयो । हिजो दिउँसोदेखि चोर पालेर राखिएको रहेछ । काएदेखि दुनैसम्म गोकर्ण सर हाफ पाइन्टमा हिँड्न बाध्य हुनु भयो । झोलामा रहेको नागरिकता हराएकोले बाटोमा पर्ने चौकीमा निवेदन दिएर हिँडियो । दुई महिनापछि कतै फालिएको अवस्थामा भेटिएको भनी नागरिकता भेटियो । अरु सामान भेटिएन । त्यो चोरको अपराधी प्रवृत्ति बढेछ । एकजना यात्रुलाई ढुङ्गा हानेर मारेको अपराधमा त्यो अहिले डोल्पा जेलमा सजाय काट्दै छ ।

त्यो घरसँगको तितो स्मृति कहिल्यै बिर्सन सकिन मैले आज पर्यन्त । जहाँ अहिले प्रहरी चौकी रहेछ । जीपको नम्बर टिपियो । अघि बढ्यो बाटो अनि हामी डोरियौँ । साना साना खोलामा जिप पानीमै हेलिन्छ । चौखा पुगियो । जहाँ अर्को पुलिस चौकी छ । कुनै बेला चौखाका होटलमा बास पाइन मुस्किल हुन्थ्यो । त्यो बेलाका उपियाँले आजभोलि कसको रगत प्युँदा हुन् । जहाँ हामी उपियाँको आतंकले मध्यरातमै बिस्तारा छोडेर हिडेका थियौं कुनै बेला । बाटो छेउका घट्ट देख्दा अर्को कुरा याद आउँछ । सडक बन्नु अघि घट्ट छेउमा केरा दूध दहि र मकैका रोटी बेच्न राखिएका हुन्थे । दुई रुपैयाँ कोसा केरा र दस रुपैयाँ मानोको दूध या दहि खाए पछि पेट टन्न हुन्थ्यो ।

जीप रोक्यो । गर्मी नै थियो । चालकले सहचालकलाई भने, ‘जा जा फुच्चे एउटा कोक र मेघाश्री ल्या ।’

जीप बिस्तारै हिड्यो । मुखमा भएको गुट्खाको अघिल्लो खेप कोकले कुल्ला गरेर थुके । अनि नयाँ गुट्का फेरि भरे मुखमा । मानौ गुट्का अनिवार्य छ जीपलाई डिजल झैँ । यात्रा भरी कुनै चालक भेटिएन गुट्का नखाने । तल्लुबगर पुगेपछि जाजरकोट छोडेर रुकुम पस्नु पर्‍यो झलुङ्गे पुल तर्दै । ट्याक्टरमा आएको सामान पल्टी गर्ने काममा गाउँलेहरू जुटेका रहेछन् । पुलमा भिड थियो । केही बेर छेउमा रोकियौं । हामी मध्ये सबैलाई हतार थियो जिपमा पुगेर सजिलो सिट छोप्न । सिमेन्ट सरिया बिस्कुट चाउचाउ चामलका बोरा पारी तार्ने भिडले हामिलाई रोक्यो । मैले यसै मेसोमा एक दुई तस्बिर लिएँ मोबाइलमा । मनमा भने पुरै परिवेश बस्यो ।

जनयुद्ध झेलेर सुस्ताएको यो भूगोलको रुपरंग फेरिन नसकेकोमा, दिनचर्या हिजो भन्दा अझ जटिल देख्दा मन त्यसै अमिलियो । भद्दा गरिबी बेचेर राजधानीमा सेमिनार गर्दै लाखौं सकिन्छ । दुर दराजका यी बस्ती उस्तै छन् । मान्छेहरूका चिरिएका पैताला उस्तै छन्, जोडिएका छैनन् । छाक टार्न धौधौ हुने स्थितिमा तात्विक फरक आएको छैन, भाषणमा जति फलाके पनि ।

जति अगाडि बढ्यो, त्यति कठिन जीवन छ यो यात्रामा । रुख बिरुवाको हरियोबाहेक घर छेउछाउ हरिया तरकारी देख्न पाइन्न । एकतिर भेरी अर्कोतिर ताछेर बनेको सडकमा उकालोमा फोर ह्विलर जिप चढ्न पनि गाह्रो हुने रहेछ । माथिबाट झर्ने ढुङ्गाले पाइलैपिच्छे खतराको घण्टी बजाइरहन्छ ।

लामा ढुङ्गाको सुख्खा खोलोले बर्खापखको यात्रामा गुल्ट्याएर पनि ज्यान जोगाएको घटना पनि जहिलेसुकै हिँड्दा सम्झिन्छु । ज्यामिरेको भिर काट्दा अर्को डरलाग्दो पल आँखै अघि आउँछ । त्रिवेणीको भिरमा धेरै पटक चिप्लेर लोटेको याद आउँछ । टोपी खस्ने छिमिको उकालो धेरै पटक हिडियो । त्यो सम्झिदा यो यात्रा सहज हो । स्मृति सँगाल्न बाँच्ने हो कि बाँचेर स्मृति सँगालिएका हुन् ? दुवै उस्तै उस्तै हुन् कि ।

हिजोका कठिन यात्रा सम्झिँदै खदाङ्ग पुगियो । भेरी तरियो झोलुङ्गे पुलबाटै । अर्को प्रहरी चौकी जहाँ जीप चढ्नु अघि नाम ठेगाना फोन नं र बाको नाम टिपाइयो । स्वर्गमा रहनुभएका बा हजुरको नाम लिँदा अनुहार सम्झुन्छु अनि गम्भिर हुन्छु आफैमा । फेरि जीप चढियो । कान्छी बजारसम्मको बीचमा आउने सिरबिन्डेको भिरले मलाई बचाएको र प्रहरीलाई एम्बुस थापेर मारेको द्वन्दताकाको घटना अर्को तितो याद पनि विर्सनै सक्दिन । एउटा सल्लोको रुख उस्तै छ जहाँ त्यो दिन पुलिसका लुगा हाँगा भरी फूलाएको थियो । म जोगिएको र सँगै हिडेका यात्रु (पुलिस नै भए पनि) को ज्यान गुमेकोमा मन त्यही दिनमा पुग्यो ।

कान्छी बजारको नाम कसरी जुरेको ? जिज्ञासा भयो । जीपमा छलफल चल्यो । तिनजना महिलाले होटल खोले रे संगै त्यो पुलको मुखमा । बुझ्दै जाँदा तिनैजना सौतामाथि गएका कान्छी श्रीमती हुन् रे । तिनैजनालाई लोग्नेले छोडे रे । कति सत्य हो, निरुपणतिर लागिएन । दुई किलो मिटर जति हिडेर फेरि झोलुङ्गे पुल तरेर त्रिपूरा कोट हुँदै सुँ पानी पुग्नु थियो दुनै पुग्ने जिप चढ्न । हतार हतार असिनपसिन हुँदै पुगियो । साँझ पर्नै लाग्यो । एक पटक पर्स खसेर थाहा नपाइ बेखर्ची भएर भोकै दुनै हिँडेर पुग्नु परेको भित्तिको स्मृति पनि सम्झे । उचाइमा बाटो निक्कै तल सङ्ग्लो भेरी भिन्न आनन्द आउँछ मोतिपुर वरपर । कालागौंडामा जिपको नम्बर टिपाए पछि आउने मोडले सातजनाको ज्यान गएको दुर्घटनास्थल नाघियो । सुलिगाड आउनुअघि काठको पुलमा गाडी तर्दा आङ्ग सिरिङ्ग हुन्छ । आर्मी क्याम्पमा फेरि नम्बर टिपाउँदै गर्दा एघार ओटा मोटरसाइकलमा नेपालको राष्ट्रिय झण्डा सजिएको देख्दा टाढाबाट आएका आन्तरिक पर्यटक फोक्सुण्डो तिर लागेको संकेत पाएँ । धुपी चौर हुँदै दुनै पुग्दा तिनै झण्डा र मोटरसाइकल आँखामा नाचे ।

साँच्चिकै डोल्पा सुन्दर छ । चौबिस घण्टामा भुइँमान्छे पनि त आइपुग्यो यहाँसम्म । जमिन नछोडी आइपुगेको यो समय अवधी सम्भवतः यो पहिलो पटक भएकोले स्मृतिमा समेटेँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button