चाडवाड नछेक्ने बुहारी लच्छिनका हुन्छन् रे
मीरा पुडासैनी
‘सुन्नुस न म त परसरेछु’, दशैंको टिकाको दिन एकाबिहानै नन्दाले नरेशलाई सुनाई ।
उसको महिना पुगेको २-३ दिन भएको थियो, फुलपातीको दिनसम्म नछुने भएको भए दशैं नि जोगिन्थ्यो भन्ने लागेको पनि हो तर सधें २७-२८ दिनमा पर सर्ने नन्दालाई यो पालीको दशैंको टिको पनि सायद नजुरेकै रहेछ । यो वर्ष ५ वर्ष हुन्छ उसले दशैंमा घर, माइती कतै पनि टिका नलगाएको, कहिले यता घरमा छेको पर्ने कहिले उता माइतीमा छेको पर्ने, सुतक, जुठोले गर्दा ।
अब यो सालको टिको पनि उम्कियो भन्ने सोचेर मन साह्रै खिन्न भयो । तर, त्यो भन्दा चिन्ता र ग्लानी त टिकाको दिन बिहानै ‘परसरेका’ले भएको थियो उसलाई ।
यो मासिक चक्र कहाँ सधै नियमित हुन्छ र ? कहिलेकाहीँ यस्तै अप्ठेरो बेलामा फसाइदिन्छ नि ।
‘यादवकी बुहारी त कस्ती लच्छिनकि छे, कहिल्यै पनि तिथि श्राद्द, दशैं, तिहार छेकेकी छैन, हाम्री त के हो के हो, यसपाला पनि महिना पुगेको छ क्यारे, यो दशै पनि छेक्छे यसले त, अस्ति बाको श्राद्द झन्डै बरबाद पारेकी’, दुई दिनअघि पल्लाघरे काकीसँग नन्दाकी सासुले भनेकी थिइन् ।
सासुहरू यस्ता कुरामा अलि संकिर्णण नै सोच्दा हुन कि ?
उसलाई त्यो कुरा सुनेपछि साह्रै नराम्रो लागेको थियो । किन होला है नारी भएरै पनि नारीको समस्या, पिडाहरू बुझ्दैनन् ? हरेक घरमा नारी चाहें बुहारी होस् या सासू एकले अर्काको पिर मर्म बुझेदेखि त कस्तो सजिलो हुन्थ्यो होला है दुवै सासू अनि बुहारीलाई ।
पुरातन सोच, बुहार्तन पुस्तान्तरण हुनैपर्छ भन्ने अडान अनि बुहारी भित्रिएपछि त घर व्यवहार र सम्पुर्ण कामकाजका जिम्मेवारी बुहारीले बहन गर्नैपर्छ भन्ने सोचाई परिवर्तन गर्न सकिए, सकेको काम मिलेर गरेदेखि त ती दुवै प्राणीहरूलाई सजिलो हुने थियो होला नि है ।
नभन्दै टिकाको दिन एकाबिहानै ऊ पर सरी, अब यसमा नन्दाको त के नै पो दोष ?
‘एक वर्षको ३ सय ६५ दिनमा हरेक महिनाको एकपटक नारी शरिरबाट ३-४ दिनसम्म रगत बग्नु पर्ने नारीहरूको शारिरिक प्रकृया सधैं कहाँ जोडघटाउ र गुणनजस्तो ठ्याक्कै मिल्ने हुन्छ त ?’, यस्तै सोच्दै थिई ।
नन्दाकी सासुलाई बुहारीको परसराईको चिन्ता थिएन, चिन्ता त केवल दशैंको दिनमा बुहारी परनसरेकी भए भातभान्साको चटारो पर्दैनथ्यो भन्ने थियो ।
‘यसपाला पनि दशैंमा महिना पुग्छ क्यारे, म त सक्दिन दशैं उम्काउन, खै के गर्ने हो गर्नु नि’, सासुले भनेको सम्झेर झसङ्ग हुन्छे नन्दा ।
‘हे भगवान ! आजको दिन उम्काईदिएको भए हुन्थ्यो नि है । पाहुनापासा सबै आजै आउँथे, लौ अब कति सुन्नु पर्ने हो मैले, अस्तिदेखि नै ओैषधी खा कि खा भन्दै हुनुहुन्थ्यो आमा, मैले मानिनँ, अब आज घरमा बसिनसक्नु हुने भयो’, मनमनै सोच्दै थिई ।
परसर्ने महिना पुगेको थियो, पर नै सरे पनि गाह्रोसाह्रो पर्ने जति भान्साका कुटाईपिसाई र केलाईकुलाई सबथोक गरेर राखेकी थिई नन्दाले ।
ओैषधी नै खाइदिऊँ कि जस्तो पनि लागेको थियो उसलाई तर एकपटक त्यसैगरी घरको पुजाको निम्ति उसले खाएको महिनावारी परसार्ने ओैषधीले झन्डै मरेकी थिइन र १५-२० दिनसम्म रगतको खोलो बगेकोले उसको हेमोग्लोविन पनि ८ मा झरेको थियो । त्यही सम्झिएर पनि उसलाई ओैषधी खाने आटँ आएको थिएन ।
उसले आफ्नो शरिरमाथि अत्याचार गर्न सकिन । दशैं त बर्षैपिच्छे आइहाल्थ्यो तर उसको शरीर तलमाथि भए उसका बालबच्चाको के हुन्छ होला ? यस्तै सम्झिन थालेकी छ आजकल ऊ । हुन पनि हो, नारीले आफ्नो शरिरको माया आफैले नगरे कसले गर्छ त खै ?
उमेर र तागत सधैं कहाँ एकनास रहन्छ र ? श्रीमानले त श्रीमती बलिया र राम्रा हुदाँसम्म माया गर्छन् रे । खै कस्ले पो भनेको सम्झिई उसले । अनि अहिले त झन् उमेरले पनि र २-३ वर्षदेखि थाइराइडले गर्दा उसको नियमित हुने महिनावारी गडवड भएको थियो, एन्टिथाइराइड हर्मोन खाँदै थिई नन्दा ।
महिलाका यस्ता पीडा महिलाले नै नबुझिदिएर धेरै जस्तो महिला समाजमा कष्टकर जीवन बिताइरहेका हुन्छन् । अझ पुरूषहरूले पनि यो समस्या बुझेनन् भने त कस्तो होला ती महिलाहरूको स्थिति ? तर नन्दाका श्रीमान त्यस्ता थिएनन् । श्रीमतीले परसरेको कुरा भन्ने बित्तिकै उनले ‘आजको भान्सा म नै सम्हालिदिउँला नि त, किन चिन्ता गर्छौ, म पकाउने जति काम सबै गर्दिन्छु, तिमी भाँडाचाहिँ माझिदिनु नि है, नभए भाँडा पनि टल्काइदिन्छु म नै’ भनी नुहाइधुवाई भान्सातिर लागे ।
अब भातभान्सा, भाडाँ माझ्ने र सरसफाईजस्ता काम नै महिलाको विर्ता सम्झिइने यो समाजमा नन्दाका घरका पुरूषहरू श्रीमान र ससुराबाट यस्तो कुराको निम्ति पुरा सहयोग पाउने गरेकी थिई । परिवारको प्रगतिशिल विचारले गर्दा नन्दालाई त सजिलो थियो । तर, नन्दाजस्ता धेरै बुहारीको भाग्यमा यस्तो नहुन सक्छ ।
महिनावारी, प्रसव पीडा भोगेका नारीहरूले नारीहरूलाई नै माया, सम्मान, साथ र सहयोग दिए हरेक परिवार कति सुन्दर हुने थियो ।
त्यस दिन टिका लगाउन आएका ५०-६० जना जति पाहुनापासा उम्काएका थिए नन्दाका परिवारले, बेलुकीपख नन्दालाई श्रीमानको दिनभरिको भात भान्सा र चटारोले थकित अनुहार देखेर साह्रै माया लागेर आयो । निधार त खाली रह्यो तर श्रीमानको साथ र सहयोगले नन्दाको मन भरिएको थियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)