
दिदीले बिबिएस सकेबित्तिकै घरमा हाउगुजी
रुपान्तरणः थोपा थोपा साहस (छोटो कथा)
प्रतिमा पन्थी
प्रताडित नबनाईएको, घरेलु कामको लागि पनि बराबर सम्मान पाइएको, इज्जत, मान, प्रतिष्ठा पाइएको भए आजका स्त्रीहरुले यो दोहोरो व्यवहार सम्हाल्न पर्दैनथ्यो । पुँजीवादी समाजमा धन र सम्पत्तिको महत्व बड्दै गयो । र, यसको जोरजाम गर्ने मुख्य र शक्तिशाली बन्दै गए । जसको काँधमा टेकेर यो सम्पन्नता हासिल भयो, त्यही काँधमाथिी घोच्न सुरु हुन लायो । यस्तो नभएको भए महिलाहरु (तुलनात्मक रुपमा अहिलेको भन्दा बढी) स्वतन्त्र हुन पनि पाउँथे होला ।
खैर समाज परिवर्तनशील छ । आज पनि प्राय घरमा महिलाहरु पैसा कमाउने भए पनि घरको सम्पुर्ण जिम्मेवारी उनीहरुले नै बोकेका छन् । दोहोरोतेहेरो भुमिका र थाम्न नसक्ने जिम्मेवारीका कारण धेरै जसो महिला मानसिक पिडामा छन् । झन् बिडम्बना भनेको त्यो पिडा व्यक्त गर्ने ठाँउ वा बुझिदिने मान्छे नपाउनु हो । यसो हुँदा मनको पिडा बाँझिएर शरिरतिर सर्छ र दिर्घरोग बनिदिन्छ । त्यसैले यो सब देखेर हुर्केकाहरुमा आजभोलि विस्तारै जिम्मेवारी कम गर्ने सिलसिलामा एउटा मात्र बच्चा जन्माउने, बच्चै नजन्माउने र अझ बढी स्वतन्त्रताका लागि बिहे नै नगर्ने संस्कार र सोच गर्भित त हुदैँन ? एक दिन यो पनि जन्मेर हुर्किने छ । हेप्नी र हिंसा गर्ने चलन नचलाएको भए यो संसार नै अर्कै हुन्थ्यो ।
हामी घरमा तीन दिदीबहिनी र एक भाई छौं । सबैले बराबरी माया र संरक्षण पायौं । छोरी हुर्केपछि जतिसुकै शिक्षित बाआमा भए पनि उनीहरुलाई चलिआएको संस्कारमा नै चल्न मन लाग्ने रैछ । हाम्रो घरमा पनि त्यस्तै देखेँ मैले । जेठी दिदीले बिबिएस सकेबित्तिकै घरमा हाउगुजी सुरु भएको थियो । ममी र बाबाले अलि नजिकको मान्छेसँग भेट भयो कि ‘छोरीले बिबिस पास गरिसकी, अब राम्रै केटो र परिवार पाइएला, यसो स्वर गर्नुहोला’ भनेको हामीले आफ्नै कानले सुनेका छौ । फेरि दिदीलाई पनि त्यस्तै लाग्दो रैछ, ‘अब यति पास गरेपछि त अझ धेरै पढेको मान्छे पाँउछु होला ।’ भनेजस्तै भयो, बाआमाले राम्रो ज्वाईं र घरपरिवार भेटाए । दिदीले उसले चाहेको जस्तै उसले भन्दा अलि धेरै पढेको श्रीमान । म माथिकी दिदीको पनि दुरुस्तै कहानी भयो । दुई दिदीलाई बिहे गरिदिँदा तराईको २ बिघा खेत बेचेको पनि कसरी बिर्सन सक्छु र ?
अहिले तिनीहरुको बिहे भएको ५ र ६ बर्ष भयो । घरपरिवार, व्यवहारमा र जागिरमा अल्झेका छन् । तिनका खसमले घरको सिन्को भाँच्दैनन् रे । २ र २ वटा सन्तानका आमाहरु ३२ र ३० बर्षका भए । उनीहरुको जीवन माकुराको जालोमा फसेको मच्छरजस्तो लाग्छ मलाई । जिम्मेवारीले थिच्दाथिच्दा निधारमा धर्सा र आँखा वरिपरि पिडा कलेटी परेको छ । तर धर्धरी रुन र कराउन सक्दैनन् । बाहिरबाट सब सम्म देखिन्छ । तर मनको पिडा कतै खाल्डोमा भासिएका छन् त कतै पहाड बनेका छन् ।
जेठी दिदी अस्ति भर्खरै थला परी विरामी पर्दा उसका छोराछोरी यता पठाउँछे, विचरी । अलि तङ्गिएपछि लिएर गई । म सोच्छु कि माइती टाढा हुनेले कति सास्ती पाउँदा हुन् । आफुलाई गारो परेको सम्झेर आमाले छोरीहरुलाई नजिक दिदेको रे । त्यसै भन्छिन् आमा ।

अर्की दिदीको पनि हाल त्यस्तै छ । उसका घरका अलि सामन्ती परेछन् । साह्रै हेप्नी । संसारले कुरा गर्ला उसको घरको वारेमा तर ऊ बाआमालाई वा कसैलाई केहि सुनाउँदिन । हाम्रो संस्कारले चाहेको जस्तो संस्कारी छोरी र बुहारी बनेकी छ ऊ । श्र्रंङ्गारले अनुहारको पिडा छोप्छे र ओठ तन्काउँछे, हाँसेको भाव देखाउन । तर मबाट कसैको पिडा लुकेको छैन । निदाउनलाई र मन शान्त पार्नलाई दवाई निल्न थालेपछि त्यो मान्छेलाई पहिलाको स्थितिमा फर्काउन गारो छ । सकिन्छ पनि तर प्रयास त आफैंले गर्नुपर्छ ।
डाक्टरले भनेको जे पनि पत्याउने चलन छ यहाँ । शरिर कर्कर खान्छ, मनमा अनेक सोच आउँछ, मुटु एकदम धड्किन्छ भन्यो भने फिजिसियन डाक्टर साबले सिधै एन्टान्जाईटी वा डिप्रेसनको औषधी अरु विभिन्न थरिका औषधीसँगै मिसाएर पठाउँछन् । तर यो चाहि भनिदिँदैनन् कि यो औषधि यो विमारका लागि, यो अर्को यसका लागि भनेर ।
म यो देखेरै वाक्क छु । मलाई उनीहरुको जीवशैली देखेर वितृष्णा जागेको छ, बिहे, श्रीमान, परिवार र बच्चाबच्चीबाट ।
अब कान्छीको पालो भन्छन् घरमा । मेरो मनले मेरा आफ्नै बाआमालाई पापी भन्छ त्यो बेलामा, जानिजानी त्यो भड्खालोमा जाक्न किन तम्सेका भनेर म कराउँछु । उनीहरु सम्झाएजस्तो गर्छन्, ‘सबैको एउटै कहाँ हुन्छ र ! बरु तँ आफै रोज न ।’
‘मैले रोज्ने हो, मोज गर्ने हो, छोड्ने हो तर बिहेसिहेचाँहि होइन’ भनेको छु कयौ पटक । उनीहरु ‘कुकुरले नपाको दुःख पाउँछेस्’ भन्छन् मलाई । म कुकुरको नियति नै त्यहि होला तर मेरो नियति मैले आफै कोर्ने हो । ‘बाआमा मेरा कारण चिन्तित हुन पर्देन । म अचम्म पर्छु । घरबार जोडिदिँदा पिडाको नियति कोरेर लखेटेका छोरीहरुको चिन्ता गर, मेरो होइन । मलाई डर लाग्छ, कुन दिन मैले आफ्नै दिदीहरु जिन्दगीको बोझ थाम्न नसकेर पंखामा बाधिएको तिनकै सबभन्दा मनपर्ने चुन्निको पासोमा झुण्डिएको देख्न पर्ने हो भनेर । मलाई मेरो जिन्दगी आफ्नो तरिकाको बनाउन देऊ । बरु दिदीहरुको मन छामेर ढाड्स देउ ।’ यति भनेपछि घरमा सन्नाटा छाउँछ । कोहि कसैसँग बोल्दैन ।
मेरो जीवनप्रति मेरो आफ्नै निर्णय हुनुपर्छ भन्नेमा म दृढता समेट्ने प्रयास गर्दैछु ।
म यो परम्परागत जीवनशैलीमा फिट हुँदिन । पुँजीवादले जन्माएको यो विभेदपुर्ण चलन बोक्ने अर्को चक्का बन्नु छैन मलाई । मलाई हेपाहाहरुको दास बन्नु छैन । म त स्वतन्त्र उड्ने हो । यो पित्तृसत्ताको पिछलग्गु भएर खुम्चिएर, संस्कारको नाममा अर्को जड बन्ने मन छैन । आफ्नो लागि आफैले उचित निर्णय गर्ने हो । नयाँ संस्कार र समाज रुपान्तरणका लागि आफुले पनि काँध थाप्ने हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)