मेरा हजुरबाजस्तै नाम्चेको बाटो


भीष्म उप्रेती

आजको यात्रा नाम्चे बजारसम्मको मात्रै हो । नाम्चे बजार यहाँबाट धेरै टाढा नभएकोले त्यति हतार गरिहाल्नुपर्ने केही थिएन । तैपनि बिहानको शितल मौसममै बाटो काटिहाल्न पाए दिनभरि आरामले नाम्चे बजार घुम्न पनि हुन्थ्यो, घुम्न मन नलागे मज्जाले थकाइ मारेर बसे पनि हुन्थ्यो । त्यस लोभले गर्दा हतार गरेरै तयार भयौँ । होटेलमा उपलब्ध भएकोमध्ये आ–आफ्नो रुचिको ब्रेकफाष्ट खाएर सबेरै लाग्यौँ बाटो ।


एकछिनसम्म त तेर्सो र ओरालो हिँडेजस्तो अनुभूति नै नहुने बाटोले डो¥यायो । यसरी बाटोले डो-याउँदै लैजान थालेपछि मलाई जहिले पनि आफु सानो बच्चा भएको सम्झना हुन्छ । झापामा बाल्यकालमा हजुरबाको कहिले दाहिने त कहिले देब्रे हातको औला समातेर कति पटक र बुबाको हातको औँला समातेर कति पटक हिँडेको छु खेतबारीमा, स्कुल जाँदा आउँदा, किनमेलको लागि बजार जाँदा आउँदा र मावल जाँदा पनि । यो बाटो पनि मलाई यतिबेला मेरा हजुरबाजस्तै लाग्यो जसले मलाई मेरो एउटा लक्ष्यसम्म जान सहयोग गरिरहेको थियो । जीवनमा बोकिएका सम्झनाहरूमध्ये सबैभन्दा प्रिय र रमाइलो सम्झना बाल्यकालको नै हो जहाँ अनेकौँ किसिमका तनाव, उतारचढाव र जिम्मेवारी हुँदैनन् । तिनै मीठा सम्झनाहरूमा हराउँदै म हिँडिरहेँ बाटोसँगै ताते गर्दै ।


तर दूधकोशीमाथि बनेको झोलुङ्गे पुल तरेपछि भने बाटो पसिना चुहाउँदै उकालो उक्लन थाल्यो । अब हामीले पनि पसिना नचुहाई हुँदै भएन । फेरि सुनौलो बिहान दिनमा परिवर्तन हुँदै जाँदा घाम कडा हुँदै गइरहेको थियो । हामी त्यही घामलाई कहिले पिठ्यूँमा थाप्दै त कहिले रूखका पातहरूले दिएको सिँयाल ओड्दै उक्लँदै गयौँ । बाटामा अरू पनि मानिसहरू थिए उकालो उक्लने । र, फाट्टफुट्ट नाम्चेतिरबाट सबेरै झरेका मानिसहरू पनि भेटिन थालेका थिए ।


रूखहरूकै छाया ओढेर केही बेर उकालो, ओरालो र फेरि तेर्सो अनि फेरि उकालो बाटो हिँडेपछि एउटा रमाइलो ठाउँ आइपुग्यो । यहाँ दूधकोशी र सोलु खोलाको दोभान थियो । यहाँबाट अलि माथि दूधकोशीमा बनेका दुइटा झोलुङ्गे पुल देखिन्थे । तीमध्ये एउटा पुरानो थियो र अर्को नयाँ । एउटा अलि तल थियो भने अर्को चाहिँ अलि माथि उचाइमा । जहाँबाट गए पनि हुने । तर अधिकांश मानिसहरू नयाँ पुलबाटै हिँडेका देख्यौँ ।
कलिलो घाम उदाएको थियो त्यस भेगभरि न्यानो छरेर । हरिया रूखहरू, हरिया कान्लाकान्ली र सेतो नदीमा घामको कलिलो किरण पोखिँदा साँच्चिकै चित्ताकर्षक बन्यो वातावरण । हामीले आफ्नो रुकस्याक बिसायौँ । ढुङ्गामाथि बसेर एकछिन आराम ग¥यौँ । कहिले प्रकृतिको सुन्दरताको त कहिले हाम्रो आफ्नै फोटो खिच्यौँ । अलिअलि आएको पसिना पूरै ओभाइसकेपछि पुनः लाग्यौँ यात्राको उकालो ।


झोलुङ्गे पुल तरेर अलि माथि पुगेपछि एक जना मानिस गाउँतिरबाट ढाकरभरि बन्दा, काउली, रायोको साग लगायत तरकारी बोकेर उक्लँदै गरेका भेटिए । उनीसँग कुरा गर्न मन लाग्यो । अभिवादन गरेँ । तोक्माले ढाकर अड्याउँदै उभिए र अभिवादन फर्काए ।
“कहाँबाट ल्याउनुभएको तरकारी ?” सोधेँ ।
“तल खोलापारिको गाउँबाट । नाम्चेमा हप्तामा १ दिन हाट लाग्छ । त्यसदिन तरकारीको व्यापार राम्रो हुन्छ । धेरै होटेल छ नि नाम्चेमा । त्यसैले आलु र अरू तरकारी बाँकी दिन गाउँबाट किनेर ल्याउँछु र हाटको दिन बेच्छु ।” उनले भने ।


“राम्रो नाफा हुन्छ ?” सोधेँ ।


“राम्रै हुन्छ ।” उनले ढाकरको ठूलो बन्दा देखाउँदै भने– “यो एउटा बन्दालाई गाउँमा सय रूपैयाँ तिरेर ल्या’को । नाम्चेमा किलोको सय रूपैयाँमा बिक्छ । तर दुःख पनि धेरै छ हजुर ।”


बन्दा झन्डै ५ किलो जतिको थियो । गाउँबाट ओसार्दा हुने शारीरिक श्रम धेरै छ, तर नाफा पनि राम्रो नै हुने रहेछ । “कति वर्षदेखि यो काम गर्दै हुनुहुन्छ ?” फेरि सोधेँ ।


“१२ वर्ष भयो । अहिले त छोरालाई पनि ल्याएको छु । उसले पनि यही काम गर्छ ।” उनले भने ।


“घर चाहिँ कहाँ नि तपाईंको ?” हाम्रो कुरा सुनिरहनुभएको रविजीले सोध्नुभयो ।


“काठमाडौँ कीर्तिपुर हजुर ।” उनले भने ।


काठमाडौँको मान्छे नाम्चेमा तरकारी व्यापार गर्दा रहेछन् । मलाई उनको मेहनत र लगनशीलता स्तुत्य लाग्यो ।


“हप्तामा १ दिन मात्र बेच्नुहुन्छ कि अरू दिन पनि?” सोधेँ ।


“अलिअलि त अरू दिन पनि बेच्छु । खास गरी बिहान र बेलुका । तर अरू दिन त आपैmँ तरकारी किन्न गाउँ जानुपर्छ । पसल बन्द नै हुन्छ ।” उनले भने ।


अघिल्लो पटक नाम्चे आउँदा मैले बजारभरि किराना पसल, लुगा, जुत्ता र हिमाल आरोहण वा पदयात्रामा चाहिने सामग्रीको पसल, बरू चियापसल र होटेलहरू प्रशस्तै देखेको थिएँ । तर तरकारी पसल कहीँ पनि देखेको थिइनँ । त्यही हाट लागेको दिन त्यहाँका व्यापारीहरू र होटेलवालाले साताभरिलाई पुग्ने र नबिग्रने खालका तरकारी किनेर राख्दा हुन् । साग भने त्यहीँ नाम्चेकै वरपर पनि पाइहालिँदो हो ।


उनी हामीसँग विदा भएर हिँडे । हामी अझै एकछिन उभियौँ र बिस्तारै बाटो नाप्न थाल्यौँ ।
उकालो नै भए पनि बाटो जङ्गलभित्रबाट गयो । अब रूखहरूको छायाले हामीलाई माया ग¥यो । हिँड्नलाई सजिलो भयो । हामी उक्लँदै गयौँ । निकैबेर यसरी नै उकालो चढेपछि एउटा अलि सम्म परेको ठाउँ आइपुग्यो । यस ठाउँमा नाम्चेतिर उक्लने र नाम्चेबाट ओर्लने पनि थुप्रै पर्यटकहरूको जमघट थियो । स्याउ र सुन्तला बेच्ने महिलाहरू पनि थिए यहाँ । मानिसहरू ब्यागप्याक बिसाएर पानी पिइरहेका थिए, गफ गरिरहेका थिए, फोटो खिचिरहेका थिए । यहाँ एउटा शौचालयको समेत निर्माण गरिएको रहेछ । कोही कोही त्यसको उपयोग पनि गरिरहेका थिए ।


केही मानिसहरू एक छेउमा झुरुप्प जम्मा भएका थिए र क्यामरा तेस्र्याएर टाढाको फोटो खिच्दै थिए । खासगरी तलबाट नाम्चेतिर गइरहेका पर्यटकहरू बढी खुशी थिए, बढी उत्तेजित थिए र त्यस उत्तेजना एवम् खुशीलाई बेपर्वाह प्रदर्शन गरिरहेका थिए ।


मलाई थाहा थियो यहाँबाट मौसम राम्रो भएको बेलामा सगरमाथाको दृश्य झुलुक्क देखिन्छ । मौसम राम्रो थियो । मानिसहरू त्यही दृश्य हेरिहरेका थिए ।


पर चुचुराहरू देखिए । एउटा अलि गोलो खालको सगरमाथा र त्यसैको छेउमा आकाशै छेडुँलाभैmँ गरेर उभिएको नुप्से । नुप्सेचाहिँ सगरमाथाको अंगरक्षकजस्तो लाग्दो रहेछ । सगरमाथाभन्दा पनि नुप्से चाहिँ अग्लोजस्तो देखिन्छ यहाँ र नाम्चे दुवै ठाउँबाट हेर्दा । सगरमाथाको ठिक पछिल्तिर सेतो बादल थियो । त्यो बादल जहिले पनि त्यसरी नै देखिन्छ । त्यो हिउँको वाफ हो रे । तर त्यस्तै वाफ सँगैको नुप्से हिमालमा भने थिएन । मलाई सगरमाथा हेरिरहँदा त्यसको टुप्पोमुनि रहेको हिलारी स्टेप कुन रहेछ जान्न मन लाग्यो । मैले हिलारी स्टेप ज्यादै डरलाग्दो छ भनेको सुनेको छु । त्यसैबेला त्यहाँ एक जना विदेशी लिएर एउटा नेपाली भाइ आइपुगे । उनलाई सोधेँ । उनले हातले इशारा गर्दै भने– “हिलारी स्टेप ठ्याक्कै चाहिँ देखिँदैन । तर त्यो सगरमाथाको बायाँपट्टिको किनारमा देखिएकोभन्दा ठिक मुनि छ ।”


,कोलेट र कोने एकदम खुशी थिए सगरमाथा देखेर । उनीहरू पटक पटक फोटो खिचिरहेका थिए ।
करिव १५ मिनेट जति त्यहाँ बसेर हामी उकालो लाग्यौँ ।


बिहानको ११ बजेतिर हामी नाम्चेको चेकपोष्टमा पुग्यौँ । नाम्चे बजारको प्रवेश मार्गमै सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोष्ट थियो । त्यहाँ नाम्चे प्रवेश गर्ने वा त्यसभन्दा अघि जाने सबैले यस चेकपोष्टमा नाम, ठेगाना लगायतका सूचनाहरू लेखाएर मात्र जानुपर्ने नियम रहेछ । हामीले नियमको पालना ग-यौँ ।


कोलेट र कोने अलि पछि परेका थिए । त्यसैले एकछिन उनीहरूलाई पनि कुरेर सँगै जाने विचारले पर्खन थाल्यौँ । तर निकैबेर पर्खिसक्दा पनि उनीहरू आएनन् । गइसके कि ? शङ्का लाग्यो र हामी पनि नाम्चे बजारतिर लाग्यौँ । बजारभित्रको बाटो हुँदै हिँड्न थाल्यौँ ।


ढुङ्गा छापेर सिँढी बनाइएको बाटोमा शहरभित्र प्रवेश गर्न प्रवेशद्वार थियो । त्यस प्रवेशद्वारसँग टाँसिएको सार्वजनिक धारो थियो । झलमल्ल घाम लागेको दिनमा नाम्चे बजारका मानिसहरू यहाँ आएर लुगा धुने र नुहाउने पनि गर्दा रहेछन् । अहिले पनि केही महिलाहरू लुगा धुँदै थिए । तहतह तरेली परेको भूभागमा आर्क आकारमा त्यस धारो र त्यस वरिपरिको खुला ठाउँलाई घेरेर झुरुप्प बनेका घरहरू थिए । सबै घरका छाना टिनका थिए र ती रङ्गीन थिए । ती रङ्गीन टिनका छानाले समेत यहाँ आइपुग्ने मानिसलाई एक किसिमको उल्लासको माहौल सिर्जना गरिदिन्थे ।


हामी त्यस प्रवेशद्वारबाट भित्र पसेर सिँढीहरू चढ्दै बाक्लैसँग घरहरू भएतिर गयौँ । होटेल तिब्बतमा बस्नलाई रिजर्भ गरेको भनिएको थियो । स्थानीय मान्छेलाई उक्त होटेल जाने बाटो देखाइमागेर अघि बढ्यौँ ।
होटेलमा पुग्दा कोलेट र कोने होटेलमै थिए । उनीहरूलाई त्यहाँ देख्दा हामीलाई अचम्म लाग्यो । रविजीले सोध्नुभयो– “तपार्इंहरू कहिले आइपुग्नुभएको ? हामीभन्दा पछि हुनुहुन्थ्यो त ?”


“हामी खुरुखुरु आइरह्यौँ । बाटोमा तपाईंहरूलाई चेकपोष्टमा बसिरहेको देखेका थियौँ ।” कानेले भनिन् ।


“हामीलाई देखेपछि बोलाउनु पर्दैन त ?” मैले सोधेँ ।


“एकछिन आराम गर्न खोजेको होला भनेर नबोलाई हिँडेको हामी ।” कोलेटले भनिन् ।


भोलाजी, उहाँका टोलीका सहयोगीहरू तथा उहाँका विदेशी पर्यटक पाहुनाहरू होटेलमै थिए । रविजी भोलाजीलाई भेटेपछि त्यत्तिकै फुरुङ्ग परिहाल्नुभयो । धेरै समय एक्लै दुःखसुख भोगेपछि भेटिएको अभिभावकजस्तो रविजी निर्धक्क देखिनुभयो । उहाँले मेरो पनि परिचय गराउनुभयो भोलाजीसँग । खासमा रविजीले मेरो बारेमा भोलाजीलाई पहिले नै भनिसक्नुभएको थियो जसरी उहाँले मलाई पनि भोलाजीको बारेमा केही जानकारी गराउनुभएको थियो । पुख्र्यौली घर ताप्लेजुङ भएका भोलाजीका जेठो दाजुले हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सिडिसन नामको कम्पनी चलाउन थाल्नुभएछ । पछि उहाँले भोलाजीको माइलो दाजु र भोलाजीलाई समेत त्यही कम्पनीमा समावेश गर्नुभएको रहेछ । भोलाजी अहिले त्यस कम्पनीको एक प्रमुख खम्बा हुनुभएको रहेछ । यो कम्पनी नेपालका हिमालहरूमा पर्वतारोहण गराउने ठूला कम्पनीहरूमा एउटा रहेछ । हरेक वर्ष वसन्त ऋतुको समयमा सगरमाथा, ल्होत्से, अमादब्लम वा पुमोरी हिमाल आरोहण गर्ने ठूलो टोलीलाई लिएर भोलाजी आधारशिविरतिर आइरहनुहुँदो रहेछ । त्यसैले यताका होटेलहरूतिर सबैले उहाँ र उहाँका कम्पनीका मानिसहरूलाई धेरै राम्ररी चिन्दा रहेछन् । राम्रो व्यापार गराउने कम्पनी भएपछि उहाँलाई खानेबस्ने आदि सुविधामा पनि प्राथमिकता दिँदा रहेछन् ।
भोलाजीलाई रविजीले भान्जा भन्नुहुँदो रहेछ । त्यसो हुनाले बेलाबेलामा मैले पनि उहाँलाई भान्जा भन्न थालेँ । र, अर्को कुरा, भेटघाट र चिनजान मात्र नभएको रहेछ, झापामा हामी एकै नगरपालिकाका वासिन्दा रहेछौँ । म झापामा घरबाट धुलाबारी, काँकरभिट्टा र पारि भारतको नक्सालबाडी, सिलिगुडी जाँदा अनेकौँ पटक धाइजन मोडमा रहेको उहाँको घर अगाडिको बाटोबाट हिँडेको रहेछु उहाँहरूको बुबाले स्थापना गर्नुभएको धान कुट्ने मिल हेर्दै । यस परिचयले हामीलाई ह्वात्तै नजिकै ल्याइदियो । वर्षौंदेखिका चिरपरिचित जसरी सहजै कुरा गर्न सक्ने भयौँ हामी । यसले हामी बीचमा एक किसिमको अनौपचारिक सम्बन्धको स्थापना ग¥यो चाँडै नै । मेरो बाँकी यात्रा झनै रमाइलो हुने भयो ।


हाम्रो लागि छुट्याएको कोठामा लगेर रविजी र मैले सामान राख्यौँ । एउटा अर्को कोठा कोलेट र कोनेका लागि उपलब्ध थियो । यात्रामा लगाएका लुगाहरू बदलेर हलुका भएँ । आजको वास यहीँ नै हुने थियो । खासमा पर्यटक लिएर आउँदा उचाइ र वातावरणसँग तादात्म्य मिलाएर पर्यटकलाई उचाइमा सहज बनाउन अर्को एक दिन पनि नाम्चेमै बस्ने चलन रहेछ । भोलाजीको टोली त्यही अनुसार आज यहाँ बसेको रहेछ । हामी चाहिँ भोलि भोलाजीहरूसँगै अघि जाने कि एक दिन बस्ने भन्ने विषयमा छलफलकै क्रममा थियौँ । खासमा रविजी र मलाई भोलि नै हिँड्न खासै समस्या होलाजस्तो लागेको थिएन । तर यति उचाइमा सामान्यतया नहिँडेका कोलेट र कोनेको निर्णयमा धेरै कुरा निर्भर हुने अवस्था थियो ।


आजको बाँकी दिन हामी आफूलाई मन लागेको जसरी बिताउन स्वतन्त्र थियौँ । त्यसैले दिउँसोको खाना खाएपछि मैले एकछिन नाम्चेमा भएको राष्ट्रिय वाणिज्य बैंकमा जाने विचार गरेँ । पेशाले केन्द्रीय बैंकमा काम गर्ने मैले यहाँको बैंकिङ कारोवारको अवस्था बारे जान्न चाहेँ । कोलेट र कोनेले मिथुनलाई लिएर आफ्नै किसिमले नाम्चे बजार घुम्ने विचार गरे । रविजीले के गर्ने सोच बनाइसक्नुभएको थिएन ।


“बजारतिर घुम्न निस्कौँ एकछिन, बजारमा राम्रो कफी सप छ, मीठो कफी पाइन्छ ।” तुसुन्दरजीले भन्नुभयो । तुसुन्दरजी राष्ट्रिय वाणिज्य बैंकको नाम्चे शाखाको व्यवस्थापक ।
हामी बजारतिर लाग्यौँ ।
बजारको बीचमा बाक्लोसँग ठडिएका घरहरूलाई छल्दै हामी एउटा सानो चोकमा पुग्यौँ । बाटोमाथि पनि पसलहरू थिए, बाटोमुनि पनि पसलहरू थिए । हामी बाटोमाथिको एउटा पसलमा पस्यौँ । पसलको नाम थियो – वालमार्ट ट्रेकिङ स्टोर । यो पसल तुसुन्दरजीकै रहेछ । दिउँसो उहाँकी श्रीमती बस्नुहुँदो रहेछ पसलमा । यसैगरी, यस पसलको ठिक अगाडि बाटोमुनि रहेको पसल पनि तुसुन्दरजीकै रहेछ । हामी त्यहाँ पनि गयौँ । बाटोभन्दा मुनिको पसल चाहिँ ठूलो रहेछ । उहाँको पसलमा खाद्यान्न, लुगा, कस्मेटिक, औषधी, पुस्तकहरू, उपहारमा लैजाने सामग्रीका साथै हिमाली पदयात्राको लागि चाहिने सबै सामान पाइने रहेछ । मैले उहाँको पसलबाट केही ट्वाइलेट पेपर, लेक लाग्दा खाने औषधी र चुइगम लिएँ । तुसुन्दरजीले पैसा लिन मान्नु नै भएन । मैले लिऊँ कि नलिऊँ को दोधारमा परेको असजिलो मान्दै लिएँ । नलिऊँ भने पनि बाटोको लागि चाहिएकै थियो । अलिअलि शरम पनि लाग्यो ।


“यहाँ व्यापार कत्तिको हुन्छ ?” तुसुन्दरजीलाई सोधेँ ।


“ठिकै छ । सिजनको बेलामा राम्रो छ ।” उहाँले भन्नुभयो ।


हामी ओरालो बाटो झर्दै अलि तल गयौँ । त्यहाँ एकदम सफा र सुन्दर कफी पसल रहेछ ‘नाम्चे बेकरी’ नामको । ठूलो पनि । भित्र विदेशीहरूको भीड थियो । हामीले एउटा छेउमा बस्ने ठाउँ पायौँ ।
कफीसपका साहुजी तुसुन्दरजीलाई देखेर त्यहीँ आउनुभयो । उहाँहरू चिरपरिचित हुनु स्वाभाविकै हो । तुसुन्दरजीले उहाँसँग मेरो परिचय गराउनुभयो । उहाँको नाम गेल्बु शेर्पा रहेछ । उहाँ एकछिन हामीसँगै बस्नुभयो । हामीले उहाँको यस व्यवसाय, यसको शुरुवात गर्दाको अवस्था र अरू सम्भावनाको बारेमा पनि कुरा ग¥यौँ । पर्यटकहरू आउन्जेलसम्म त सम्भावना एकदमै धेरै छ भन्नुभयो उहाँले । कफीसँगै पाउरोटी, कुकिज आदि विभिन्न बेकरीका परिकारहरू पनि पाइने रहेछ । कफी काठमाडौँबाट ल्याउनु हुँदो रहेछ । बाँकी सबै त्यहीँ बनाउनुहुँदो रहेछ । नाम्चेजस्तो ठाउँमा काठमाडौँमा जत्तिकै ताजा र मीठो बेकरीका सामान पाइनु साँच्चै खुशीको कुरा लाग्यो मलाई । यति दुर्गम र उचाइमा आएर पनि आफ्नो रूचिको खानेकुरा पाउनु धेरै खुशी दिने र आनन्दको कुरा हो । विदेशी पर्यटकहरूको लागि त यो बेकरी साँच्चिकै खुशी बोकेर बसेकोजस्तो लाग्यो ।


म बिस्तारै पसलको अवलोकन पनि गर्दै थिएँ । सबै सिटहरू लगभग भरिएका थिए । अर्डर लिने र डेलिभरी दिने काममा कर्मचारीहरू एकदम व्यस्त थिए । एकजना भाइ कफी बनाउनमै खटिएका थिए । यो सबै हेरेपछि मैले गेल्बुजीलाई सोधेँ – “पसल त राम्रोसँग चल्ने रहेछ है ?”


“म सन्तुष्ट छु सर ।” उनले भने ।


तातो कफीले आनन्द दियो । मैले गेल्बुजीको उद्यमशीलता एवम् सफल व्यवसायको लागि बधाई दिएँ । उनी खुशीले बिहान घामको प्रकाशले छोएको हिमालजस्तै देखिए ।


पूर्वतिरको डाँडामाथिबाट साँझ झर्दै झर्दै नाम्चेमा आइपुग्न लागेको थियो । तुसुन्दरजीलाई पनि अफिस बन्द गर्न जानुपर्ने थियो । हामी कफीसपबाट बाहिर निस्कियौँ ।
भौगोलिक बनावटको हिसाबले वरिपरिबाट अग्ला हिमालहरूले घेरिएको चिसो नाम्चेमा बसाइएको बजार सफा थियो, सकेसम्म व्यवस्थित बनाउन खोजिएको थियो । तर बाटाहरू भने गल्लीजस्ता साँघुरा नै लाग्थे । त्यसो त यहाँ मोटरगाडी चलाएर हिँड्ने अवस्था पनि थिएन र सम्भावना पनि थिएन । चौडा र फराकिलो बाटोको आवश्यकता किन प¥यो र ? फेरि भौगोलिक कारणले गर्दा पनि सबैतिर फराकिला बाटाहरूको सम्भावना थिएन ।


यस सानो बजारलाई व्यापार र मानिसहरूको चहलपलह, फेन्सी लुगादेखि घरका छानाहरूमा समेत रङहरूको प्रयोग, संसारभरि छापिएका अनेकौँ किताबहरू सजाएर राखेका पसलहरू, विभिन्न पसलहरूमा बजिरहेका नेपाली, हिन्दी र अङग्रेजी गीतका धूनहरूले गुल्जार र जीवन्त बनाएका थिए । केही महङ्गो मात्र हो, यहाँ सुविधासम्पन्न शहरमा उपभोग गर्न पाइने धेरै चिजहरू उपलब्ध थिए । पहिलो पटक यहाँ आइपुग्ने नेपाली नै पनि यहाँको सुविधा, जाँगर, उत्साह र जीउँदोपना देखेर अचम्ममा पर्दछ भने सात समुद्र पारिबाट नेपाल भनेको गरीब र अविकसित देश हो भन्ने भावना मानसमा बोकेर यहाँ आइपुगेका विदेशीहरू त अझ ठूलो अचम्ममा पर्ने नै भए । उनीहरूमध्ये कतिपयको हाउभाउबाट यो देखिन्थ्यो भने कतिले त मुखै फोरेर भन्थे पनि ।
होटेल फर्केँ । साँझ झमक्क पर्न लागेको थियो यद्यपि नाम्चे बजार बिजुलीबत्तीको उज्यालोमा झलमल्ल थियो । होटेलमा हाम्रो टोलीका साथै भोलाजीका टोलीका पनि सबैजना जम्मा हुनुभएको थियो । मैले पहिला कोलेट र कोनेलाई भेटेँ । “के गरेर बिताउनुभयो समय ?” सोधेँ ।


“हामी घुम्न गयौँ । माथि आर्मी क्याम्पमा गयौँ र एडमन्ड हिलारीको मूर्तिसँग फोटो खिच्यौँ ।” कोलेटले भनिन् ।
“हामीले त्यहाँबाट सगरमाथा पनि देख्यौँ फेरि एकपल्ट ।” खुशीले एकदम पुलकित हुँदै भनिन् कोनेले ।


म मुस्कुराएँ । सम्झेँ – ३ वर्ष अघि एकाबिहानै घुँडासम्म आउने हिउँमा टेक्दै म पनि पुगेको थिएँ त्यहाँ । र, सगरमाथालाई एकदम प्रष्टसँग हेरेको थिएँ मन लागेसम्म । मैले पनि फोटाहरू खिचेको थिएँ एका बिहानै देखिएको स्निग्ध सगरमाथाको । पुराना सम्झनाहरू जागेर आउँदा कति धेरै आनन्द र बाँचेको अनुभव हुन्छ । दुःखका सम्झनाहरू पनि त्यो समय बितेर गएको धेरै पछि फेरि स्मृतिमा आउँदा खुशी र रमाइलो लाग्ने न्यानोपन बोकेर आउँछन् । यिनै सम्झनाहरूले मानिसलाई बचाउँछन्, बाँच्न प्रेरणा दिन्छन् ।


“हामीले मिथुनलाई केही सामान पनि किनिदियौँ ।” कोनेले फेरि भनिन् ।


“के किनिदिनुभयो ?” आँखाभरि उत्सुकता भरेर सोधेँ ।


“मैले उनलाई पदयात्रामा हिँड्न सजिलो हुने जुत्ता किनिदिएँ ।” कोनेले भनिन् ।


“मैले चाहिँ बाक्लो ज्याकेट र पञ्जा किनिदिएँ ।” कोलेटले भनिन् ।


बिहानै ख्याल गरेको थिएँ मिथुन पुरानो साधारण चप्पल लगाएर हिँडिरहेका थिए । भन्थे – “नाम्चेमा छोडेको छु जुत्ता, त्यहीँ पुगेपछि लगाउँछु ।” तर होइन रहेछ । उनको दिदीको घर नाम्चेमा होइन, माथि खुम्जुङमा हो भने मिथुनले नाम्चे आइपुगेपछि । त्यहीँ जुत्ता छोडेको भने उनले तर खुम्जुङ हाम्रो आधारशिविर जाने बाटोमा पर्दैनथ्यो । उनले उनको गरिबी र विवशतालाई छोप्न खोजेका मात्र रहेछन् । यसैगरी, उनको ज्याकेट पनि पुरानो र पातलो खालको थियो । मैलो पनि थियो, अलिअलि गन्हाउँथ्यो पनि । यसले सगरमाथा आधारशिविरसम्म पु-याएर सुरक्षित एवम् स्वस्थ मिथुनलाई नाम्चे र तल लुक्लासम्म फर्काएर ल्याउला भन्ने कुरामा मलाई शंका लागेको थियो ।


यसैबेला मिथुन आइपुगे नयाँ ज्याकेट र जुत्ता लगाएर । वास्तवमा ज्याकेट र जुत्ता दुवै राम्रा र महङ्गा पनि थिए ।


“तिमीलाई बधाइ छ मिथुन ।” भनेँ ।


उनी बिहानको कलिलो न्यानो किरण परेको हिमालको सेतो चुचुरोजस्तो उज्यालो र आकर्षक देखिए मुस्कुराएर । उनको आँखामा असिम सन्तुष्टी भरिएको थियो, कोने र कोलेटप्रतिको कृतज्ञता थियो ।


“धन्यवाद सर ।” उनले भने ।


अब यो मान्छे यस यात्राभरि जाडोले मर्दैन – सोचेँ र ढुक्क भएँ । साथै, के पनि सोचेँ भने यो केटोले यात्राभरि पूर्ण इमान्दार भएर सहयोगी भूमिका खेल्नेछ । कोलेट र कोनेको मानवीय भावना देखेर द्रविभूत पनि भएँ । मैले ती दुइटी महिलालाई राम्रो काम गरेको भनेर पुनः एक पटक धन्यवाद दिएँ ।


होटेलको किचेन कोठाबाट अर्को डाइनिङ कोठामा गएँ । रविजी, भोलाजी र होटेलका दाइ त्यहीँ हुनुहुन्थ्यो । अरू धेरै पर्यटकहरू बेलुकाको खाना खाइरहेका थिए । म रविजीको छेउमा गएर बसेँ । भोलाजीसँगै एकजना गोरा पनि थिए । उनी भोलाजीको टोलीका सदस्य रहेछन् । परिचय भयो । उनको नाम मार्क ब्रान्ड रहेछ । धेरै वर्षदेखि भोलाजीकै कम्पनीसँग जोडिएका रहेछन् । बेलाइती नागरिक उनी सिङ्गापुरमा बस्दा रहेछन् । त्यहाँ ट्राभल एजेन्सी चलाउँदा रहेछन् । बेलाइती र सिङ्गापुरका पर्यटकहरूलाई जम्मा गरेर भोलाजीको कम्पनीसँग सहकार्य गरी नेपाल भ्रमण गराउँदा रहेछन् । कहिले हिमाल चढ्ने पर्यटकहरू त कहिले पदयात्रामा जाने पर्यटकहरू लिएर आउँदा रहेछन् । यस खुम्बु क्षेत्रमा उनी चिरपरिचित रहेछन् । यस यात्रामा उनीसँगको सहकार्य पनि रमाइलै हुने अनुमान गरेँ ।


त्यहाँ होटेलका साहुजी मिङ्मा शेर्पा पनि थिए । उनीसँग पनि परिचय भयो । अधबैंशे उमेरका थिए उनी । अग्लो जीउडालका, कपाल अलिअलि तिलचामले भएका । बिस्तारैसँग बोल्ने तर खुलेर मज्जाले कुरा गर्ने स्वभाव रहेछ उनको । मिङ्मा दाइको होटेल माथि खुम्जुङमा पनि रहेछ । खुम्जुङमा चाहिँ उनकी श्रीमतीले होटेल चलाउँदिरहिछिन् । दुवै ठाउँको व्यापार राम्रै छ भने उनले ।
“मिङ्मा दाइ त खुम्बु गाउँपालिकाका वडा सदस्य पनि हो नि”, भोलाजीले भन्नुभयो ।


म मिङ्मा दाइतिर फर्किएँ । उनी मुस्कुराए । त्यसबेला पनि संघीय तथा प्रदेश संसदको पहिलो चुनावको सरगर्मी बढेको थियो । केही महिना अघि मात्र स्थानीय निकायको निर्वाचन भएको थियो । राजनीतिको हावा सबैतिर चलेको बेलामा त्यहाँ पनि चल्ने नै भयो ।


“यहाँको चुनावको माहौल कस्तो छ दाइ ?” सोधेँ ।


“उमेद्वार छान्ने काम हुँदैछ प्रत्यक्ष र समानुपातिक दुवैतिरको ।” उनले भने ।


“कुन दलको स्थिति बलियो छ यहाँ ?” रविजीले सोध्नुभयो ।


“यहाँ त स्थानीय निकायमा सबै एमालेले जितेको हो । अहिले त माओवादीसँग तालमेलपछि उनीहरू झनै बलियो भएका छन् ।” मिङ्मा दाइले भने । लुक्लादेखि यता दूधकोशी नदी वारि पूरै सगरमाथा आधारशिविर अर्थात् तिब्बतको सिमानासम्म नै खुम्बु गाउँपालिका रहेछ ।
एकछिन सन्नाटा छायो । हामी कोही केही बोलेनौँ । तर एकछिनपछि मिङ्मा दाइले भने – “म त राजनीति खेल्न जान्दिनँ रहेछु । अबदेखि चाहिँ खेल्दिनँ, व्यापारै गर्छु ।”


उनको कुरा मैले राम्ररी बुझिनँ । राजनीति एउटा खेल हो भनेर उनले भने । राजनीतिलाई कतिले त व्यापार पनि बनाएका छन् नेपालमा । राजनीति जीवनपद्धति, जनसेवाको उत्कृष्ट माध्यम र विकासको आधार हुनुपर्ने हो । यसो भएको दिन आम मानिसहरूले समेत मुस्कुराउन पाउने छन् ।


“कसरी यस्तो लाग्यो दाइ ?” सोधेँ ।


“यसपालिको चुनावपछि यस्तो लाग्यो । बरू पछि बसेर अरूलाई सघाउँछु ।” उनले भने ।
यो व्यक्तिको नैसर्गिक इच्छाको कुरा हो । व्यवसाय, पेशा छान्न पाउने र त्यसलाई छोड्न पाउने कुरा मान्छेको आधारभूत अधिकारभित्र पर्छ । मिङ्मा दाइले पनि यस अधिकारलाई पूरा उपभोग गर्न पाउँछन् – सोचेँ । तर, पछि मिङ्मा दाइ उठेर अर्को कोठामा गएपछि भोलाजीले भने अनुसार गएको स्थानीय चुनावको बेलामा उनको १ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको थियो रे । त्यति धेरै रकमको बदला वडा सदस्य । निकै महङ्गो भएछ चुनाव । शायद, चुनाव प्रचारमा नेता, कार्यकर्ता र उम्मेद्वारको ठूलै टोली हिँड्यो होला भोट माग्दै । दुर्गम हिमाली ठाउँ । राति उतै वास बस्नुपर्दा खाना र वासको सबै खर्च मिङ्मा दाइले नै व्यहोरे होलान् । सोझा उनी शायद चुनाव प्रसार गर्न चाहिने सामग्रीको खर्च पनि व्यहोरे होलान् । मैले मिङ्मा दाइलाई हेरेँ । उनी दिउँसोको समुद्रजस्तै शान्त थिए । मलाई उनको माया लागेर आयो ।


बेलुकाको खाना खाइसकेपछि रविजीले कोने र कोलेट दुवैलाई एकैचोटि सोध्नुभयो – “थकाइ कत्तिको लागेको छ? भोलाजीको टोली भोलि हिँड्छ यहाँबाट । तपाईंहरू धेरै थाकेको भए भोलि यहीँ बसौँ, नभए उहाँहरूसँगै जाऔँ भन्ने विचार छ । के गरौँ ?”


“हामी ठिक छौँ । केही समस्या छैन, भोलि नै जाने ।” उनीहरू दुवैले भने ।


भोलि एकदम बिहानबाटै यात्रा शुरु गर्ने सहमति गरेर छुट्टियौँ । भोलिदेखि अगाडिको दृश्य, अनुभूति, भूगोल सबै नयाँ हुने हुनाले त्यसप्रतिको उत्सुकतालाई साथै बोकेर ३४४० मिटर उचाइमा रहेको नाम्चेमा हामीले एक रात बितायौँ ।


(भर्खरै प्रकाशित उप्रेतीकृत ‘हिमाल, शेर्पा र यती’बाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button