आमा ! बहिनीको फोन लागेन, यो खबर हजुरलाई कसरी सुनाउनु ?

लघुकथाः बाध्यता

अन्जु तिमल्सिना घिमिरे
ललितपुर ।

‘आमा, म पनि विदेश जानुपर्ला’ बत्ती कात्दै गर्नुभएको आमा छोराको कुराले झस्कनु भयो ।

‘किन जानुपर्यो कान्छा ? जेजति छ, यहीँ दुख गरेर खाउलाँ’, आमाले भन्नुभयो ।

सानैदेखि पारिवारिक दायित्व वहन गर्दै आएको विजयले आफुले चाहे जसरी पढ्न र अघि बढ्न पाएको थिएन् । आमाको शीरमा सिन्दुर त छ तर बुवाको भने दुई सन्तान जन्मिएपछि अत्तोपत्तो छैन । बुवालाई खोज्ने प्रयास जति गरे पनि ऊ सफल हुन सकेको थिएन । जीवितै छन् वा छैनन् आजसम्म थाहा छैन ।

विजयले दुख गरेरै बहिनीको रूचि अनुसार डाक्टर पढाउँदै थियो ।

‘बहिनीको पढाई पूरा गर्न अझै खर्च आवश्यक छ । आमा पनि दुखै दुखले रोगी हुनुभयो’, यस्तै अनेक सोचेर जीवन गुजारा गर्न केही सहज होला कि भनेर उस्मा साथीहरू जस्तै विदेशिने विचार आएको थियो । विदेशीनु विजयको लागि रहर नभएर बाध्यता थियो ।

आमालाई धेरै सम्झाईबुझाई गरेर विजयले आफु केही समय विदेश जाने नै निधो गर्यो । आमाले पनि छोराको इच्छालाई बारम्बार नाइँ भन्न सक्नु भएन ।

आमाको स्वीकृतिलाई ऊ आफ्नो तागत सम्झन्थ्यो । साथीहरूसँग बुझेर विदेश जान आवश्यक कागजात केही महिनापछि बनायो । पैसाको बन्दोबस्त आफैले मिलायो । छोराको विदेश जाने पक्का भएपछि आमाको आँखा टिल्पिलायो । आमाको आँखा टिल्पिलाएको देखेर छोरोले कस्सिएर अङ्गालो मार्दै भन्यो, ‘ए बुढिमाउ ! किन दुख मन गर्नुभएको ? अहिले उमेरमा दुख गरियो भने पछि बसिबसी खान पाइन्छ क्या ! चैत बैशाखमा बतासले छानो उडाउँला अनि असार साउनमा बाढीले बगाउँला भन्ने डर । कति दिन आकाशको पानी धुरीबाट चुहिँदा भए जति भाडा थापेर रातदिन काट्नु आमा ?’

छोराको यो परिपक्क जवाफ सुनेर आमाको मन भक्कानियो । आँखाबाट आँसुको धारा चुहाउँदै, भर्खरै दारी जुङ्गाको रेखी बस्दै गरेको छोराको गाला मुसार्दै भनिन्, ‘कति बुझ्ने मेरो छोरा, यति बुझ्ने सन्तान भएपछि कुन आमालाई दुख हुन्छ होला र !

केही महिना पछि विजय ठुलो जहाजमा ठुलै सपना बोकेर खाडीतिर उड्यो । पुगेको खबर बहिनीलाई मेसेन्जरबाट सुनायो । बहिनी घर भएको बेला भिडियो कल गरेर आमाको न्यास्रो मेटाउँथ्यो । आमा छोडेर अहिलेसम्म एक्लो नभएकोले आमाको यादमा विजय पनि एक्लै खुबै रुन्थ्यो तर दुखी कहिल्यै देखिदैन्थ्यो ।

करिब छ महिना जति पछि सधै झैँ छोराले गर्ने नम्बरबाट फोन आयो । आमा छोराको फोनको घण्टीले खुसी हुँदै मस्काउँदा मस्काउदैको भाँडा छोडेर कम्बरमा बाधेको पटुकीमा चिसो हात पुछ्दै ‘हेल्लो ! कान्छा सन्चै छौँ ?’ भन्नुभयो । उताबाट सधैँ झैँ बोल्ने छोराको स्वर नभएर छोराको साथी थियो ।

‘आमा ! बहिनीको फोन लागेन । यो खबर हजुरलाई कसरी सुनाउनु ?’, यस्तो अत्यासपुर्ण बोलीले आमा आत्तिदै ‘भनन् बाबु के भो ? के खबर ? सबै ठिक त छ अनि विजय खोई त ?’ धेरै प्रश्न एकैपटक एकै स्वासमा गर्नु भयो ।

उताबाट भने एउटै जवाफ आयो, ‘आमा ! विजय अब हाम्रो माझ रहेन ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button