जब खोला किनारामा पुग्छु …

सुप्रिया खनाल

बाहिरी रमझम अनि कोलाहलबाट छुटकारा पाउने एउटै कुरा हो प्रकृतिको सुन्दरता । खोलाका उर्लिरहेका छालहरू अनि छालसँगै तरङ्गित मनका भावना कति निश्चल ! कति निस्वार्थ ! बस् !आफ्नो वेगमा सिमित । बर्खाको भेलले लेदो नै किन नमिसाएको होस् तर पनि कति स्वच्छ !

जब जब खोला किनारामा पुग्छु, तब तब मलाई लाग्छ, मानिसले पनि यी प्रकृतिसँग केही सिकोस् । घना जङ्गल अनि जङ्गलको बीचबाट बगिरहेको सुन्दर झरना कति प्रेमिल ! प्रकृति-प्रकृति नै एक अर्काको परिपूरक भएर चलिरहेछन् । साँच्चै नै जङ्गलबिनाको खोला र खोला बिनाको जङ्गल कल्पना पनि गर्न सकिन्न । यी निर्मल बगिरहेको पानीमा हरिया ती पातका रङ्गहरुले छुट्टै आयाम दिएका छन् ।

साँच्चै नै प्रकृतिको सुन्दरताले जस्तोसुकै पीडा पनि भुलाइदिने । जब जब पीडामा हुन्छु, तब तब प्रकृतिसँग रमाउन मन लाग्छ, भुल्न मन लाग्छ आफैलाई अनि फुल्न मन लाग्छ प्रकृतिसँग ।

यो स्वार्थी संसारमा मानिसलाई निस्वार्थ प्रेम गर्ने भनेकै प्रकृतिले हो । हामीले जति नै पीडा किन नदिऊँ प्रकृतिलाई तर त्यसको बदलामा पनि सधैं माया नै देखाइरहन्छ । बिना स्वार्थ कसैको आवश्यकता पुरा गर्नु भन्दा ठूलो महानता के हुन सक्छ ?

म भन्दिनँ, हरेक कुरा भनेको जस्तो हुन पर्छ । तर, यी स्वार्थी मानिसले यति सिकुन् प्रकृतिसँग घृणाको बदलामा पनि माया दिन, आफ्नो अस्तित्त्व गुमाएर पनि अरूको अस्तित्त्व बचाउन अनि आफू रोएर अरुलाई हँसाउन । तब हरेक मानिसबीच मित्रता कायम हुन्छ अनि खुसी छाउनेछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button