‘म पनि दिदीसँगै जाने हो, दाई, अंकल र ठुल्बुवा देख्दा पनि डर लाग्छ’

अवलोकन र अनुभुति

सरिता पौडेल

पाँच दिनअगाडि १२ बर्षकी बालिकाले बच्चा जन्माएको सन्दर्भलाई लिएर विभिन्न संचारमाध्यामहरुमा आआफ्ना तरिकाबाट समाचार प्रकाशन प्रसारण भइरहेका थिए । यसै सन्दर्भलाई बुझ्न र आवश्यक सहयोगहेतु महिला अधिकारकर्मी मीना खरेल लगायतको टोली नवलपुरस्थित पिडितको घरमा गएका थियौं । हामी त्यहाँ पुगेर बस्तुस्थिति बुझ्दै घरका अन्य सदस्यहरुलाई कमाजोर नहुन र संयमित भएर अगाडिका काम गर्न अभिप्रेरित गर्ने क्रम चलिरहेको थियो ।

त्यतिकैमा कालो रंगको फ्रक लगाएकी गहुँगोरी सानी नानी हस्याङफस्याङ गर्दै घरभित्र छिर्छिन् । उनकी आमाले संकेत गरेपछि नमस्कार गर्छिन् । एक छिन हाम्रो मुखमा हेरिराख्छिन् । हाम्रो कुराकानी सुनिरहेकी हुन्छिन् । उनले बिस्तारै मेरो छेउमा आएर केहि बोलेजस्तो लाग्यो । मैले उनलाई अलि नजिक बोलाएर कपाल सुम्सुदाउदै बोल्न सहज बनाएकी थिएँ । त्यतिबेला उनी केहि डराएकीजस्ती देखिएकी थिइन । मैले एकछिन उनीसँग केहि रमाइला कुरा गरेपछि मात्र उसले अघिदेखि भन्न मन लागेको कुरा भन्न लागी । उनले यसरी बोल्न शुरु गरिन् ।

बालिकाः आमा ! हजुर वकिल हो ?
मः होइन नानु म पत्रकार हो ।
बालिकाः आमा म पनि संस्थामा जान्छु नि ।
मः किन जाने नानु ?
बालिकाः पढ्न ।
मः यहाँ पढ्न पाएकी छैनौ ?
बालिकाः छु ।
मः अनि किन जाने त नानु ?
बालिकाः दिदीसँगै बस्न ।

म अक्क न बक्क भएँ । उनका आँखाभरी आँसु थियो । उनले अगाडि भन्दै गइन्, आमा म यहाँ बसे भने त्यो बात्तुलले मलाई पनि दिदीलाई जस्तै गर्छ । मलाई पनि हजुरसागै लैजानुस् है । मलाइ डर लाग्छ ।

विस्तारामा सुतिरहेकी दिदीतिर जान्छिन् । दिदीलाई आफ्ना कलिला हातले मुर्साछिन् ।
मलाई आमा भनेर सम्बोधन गर्दा हामी सबैलाई भावुक बनाएको थियो । उनको गतिविधि नियालिरहेकी मीना खरेलले सानी बालिकालाई छेउमा बोलाएर सानो स्वरमा भनिन् ।

मिठो स्वरकी हँसिली ती अबोध बालिकाले धेरै कुरा भन्न खोजेजस्तो लाग्यो । खरेलले उनलाई बोल्न सहज होस् भनेर आफु नजिकै बोलाइन् ।

दिदी ५ दिनकी सुत्केरी छिन् । उनको घरमा केही दिनदेखि दिदीको स्वास्थ्य र सुरक्षाका लागि पुर्नस्थापना गृहमा लैजाने सल्लाह भइरहेको रहेछ । यसै सिलसिलामा महिला अधिकारकर्मी मीना खरेल, कानून व्यवसाय फुलमाया रानाभाट र भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलसहितको टोली त्यहा पुगेको थियो ।

त्यसैले पनि उनलाई हामी किन त्यहाँ गएका हौ भन्ने बिषयको बारेमा जामकारी थियो ।

बहिनीको डर

म ९ बर्षकी भएँ । ४ कक्षामा पढ्छु । आमा, दिदीलाई लाने बेला मलाई जसरी पनि लानुस् है । केही दिन अघि म साथीको घरमा खेल्न गएको बेलामा बात्तुलले तेरो दिदी आजकल कहाँ छ देखिदैंन त ? भनेर सोधेको थियो । मैले मलाई के थाहा भनेर भागेगेँ । मलाई आजकल त्यो जस्तै अरु दाई, अंकल ठुलो बाबा देख्दा पनि निकै डर लाग्छ ।

उनकी १२ बर्षीय दिदीलाई बात्तुल भनिने ५५ बर्षको छिमेकीले जवरजस्तीकरण गरेको रहेछ । दिदी गर्भवती भइन् । बच्चालाई जन्म पनि दिइन् । तर सामाजिक र पारिवारिक कठिनाईसँगै आर्थिक विपन्न, र मानसिक रुपमा विछिप्त छिन् । ५ दिनकी सुत्केरी दिदीको आडैमा बसेकी बहिनीले यसो भनिरहँदा दिदीका गहभरी आँसु थिए । केही बोल्न खोजेजस्तो गरे पनि उनी बोल्न सकिरहेकी थिइनन् । ‘दिदीलाई लानुहुन्छ ? आमाबुवा फेरि काममा जानुहुन्छ । म मात्र घरमा बस्नुपर्छ । घरमा एक्लै बस्न निकै डर लाग्छ । म पनि दिदीसंगै जाने हो ।’

घटनामा परेकी १२ बर्षकी नानीलाई हाल आर्दश नारी विकास केन्द्र र आर्दश गृह नेपालले उद्धार गरी पारिवारिक रुपमा संरक्षण प्रदान गरिरहेको छ । दिदी संस्थामा गएपछि कसैले केही गर्न सक्दैन भन्नेमा बहिनी ढुक्क हुने सोचेर आफु पनि दिदीसँगै जाने इच्छा गरेको बताइन् ।

नानी यसरी बलत्कारको शिकार बनिन्

यहि साउनको १ गते उनी १३ बर्ष लागेकी हुँ । कक्षा ५ मा पढ्थेँ । । हामी साथीहरु कहिले मेरो कहिले साथीको घरमा पालैपालो बसेर होमवर्क गथ्र्यौं । अनि खेल्थ्यौं । त्यो दिन पनि साथीको घरमा होमवर्क गर्न भनेर गएकी थिएँ । म साथीको घरमा पुग्दा उनीहरु घरमा थिएनन् । मैले कता गएछन् साथीहरु भनेर यताउती हेर्दै थिएँ । त्यत्तिकैमा भित्रबाट साथीका बुवा आए । मलाई भित्रै बोलाए । मलाई डर लाग्यो । भित्र लगेपछि उसले पहिले मेरो जीउभरि जतासुकै समात्यो । अनि मलाई जबर्जस्ती गर्यो । म केही बोल्न सकिनँ । रोएर चिच्याउन खोजेकी थिएँ । त्यो पापीले मेरो मुख थुनिदियो । आवाज निकाल्न पनि दिएन । मैले रोएको कसैले पनि सुनेन । पापीले पटक पटक बलत्कार गर्यो । मेरो मुखमा शरिरमा टोक्यो अनि मेरा (छाती र गुप्ताङ्गतर्फ देखाउँदै) अंगमा समाउने चिमोट्ने गर्यो । त्यतिबेला म निकै डराएकी थिएँ । उसले मलाई यसबारे कसैलाई केही भने मेरो बाबुआमा सबै मारिदिने भन्दै धम्कायो । म रुदैं घर आएँ । आमा बुवा दुवै लेवर काममा जानुभएको थियो । अवेला घर आउनुभयो । सबै परिवार नै मारिदिन्छ भन्ने डरले यसबारे कसैलाई केही भन्न सकिनँ । एक्लै मुख छोपेर रोएर सुतेँ । त्यसपछि पनि बेला बेला हाम्रो घरमा आउने, के गरेकी छस् भन्दै सोध्ने, आँखा तर्ने गथ्र्यो । कोही नभएको मौका परे मेरो शरिर समाउने गर्थ्र्यो । म विवश थिएँ । ६ महिनासम्म कसैलाई केही भनिनँ । पापीले हाम्रो गरिबीको फाइदा उठाएर चुप रहन बाध्य बनायो । म विवश थिएँ । बलत्कारपछि म गर्वभति भएछु । मलाई आफु गर्भवती भएको थाहै थिएन । पेट बढ्दै गएपछि मेरी आमाले पिसाव जमेर पो हो कि भनेर जचाउन लानुभयो । पिसाब जाँच गर्दा मेरो पेटमा बच्चा भएको थाहा भयो । भिडियो एक्सरे गरियो अनि मेरो पेटमा साढे ६ महिनाको बच्चा भएको भनियो । त्यसपछि बल्ल मैले मेरी आमालाई आफुमाथि भएको घटनाबारे बेलिविस्तार बताएँ । त्यसपछि त्यो अपराधीलाई प्रहरीले समातेर लग्यो । मलाई भने घरमा सुरक्षा हुदैंन भनेर मलाई एउटा संस्थामा लिएर गए । त्यहाँ मैले झन् पीडा भोग्नुपर्यो । विहान ४ बजे उठेर घरसफा गर्ने, भात पकाउने, भाँडा धुने, सबै काम गर्न लगाउंथे । मसहित संस्थामा बस्ने अर्को एक जना साथीले सबै काम गथ्र्यौ । मलाई बेला बेलामा एकदम गाह्रो हुन्थ्यो । संस्था संचालककी छोरीले मलाई असाध्यै दुर्व्वबहार गर्थी । ३ महिना त्यहाँ बसे । त्यसपछि मेरो महिना पुगेछ । घरबाट आमा जानुभयो र मलाई लिएर आउनुभयो । मैलै भरतपुर अस्पतालमा बच्चालाई जन्म दिएँ । बच्चा त जन्मियो । अब म कहाँ जाउँ ? समाजमा जाऊँ सामाजिक लान्छना । घरमा बसु फेरि शिकार बन्ने चिन्ता । गाउँले व्याउती खान जाने हो भन्दै हेप्छन् । मेरो घटनालाई नजिकबाट हेरेकी ९ बर्षिय बहिनी अहिले पनि असुरक्षित महसुस गरिरहेकी छ ।

उक्त घटनाबारे थाहा पाएपछि गर्भवती बालिकालाई प्रहरीसँगको समन्वयमा महिला अधिकारकर्मी मीना खरेल, अधिवक्ता फुलमाया रानाभाट अनि भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल उद्धार गर्नुभयो र पारिवारिक संरक्षणमा राख्नुभयो । केही दिन अघि बालिकाले बच्चालाई जन्म दिइन् । सुत्केरी बालिका अहिले परिवारको संरक्षणमा छिन् । आमा आफै बालिका भएकाले बच्चालाई जिल्ला प्रशासन कार्यालय संरक्षक रहनेगरि जिल्ला बाल कल्याण समितीको जिम्मामा छ । महिला अधिकारकर्मी खरेल, अधिबक्ता रानाभाट अनि भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख पौडेल उनीहरु सँगै हुनुहुन्छ ।

उहाँहरुले घटनामा परेकी सुत्केरी बालिकाको संरक्षण र न्यायका लागि पहल गरिरहनुभएको छ । दिदीलाई संस्थाले संरक्षण गरेपछि सानी बहिनीले अधिकारकर्मी मीना खरेललाई च्याप्प समाउँदै आमा मलाई पनि हजुरसँगै लैजानुहोस्, म यहाँ सुरक्षित छैन भन्दै भक्कानिइन् । आडैमा भएकी ती नानीकी आमा गहभरी आँसु झादैं थिइन् । बालिकाले भने पटक पटक आफुलाई पनि उद्धार गर्न छिटो आउन अनुरोध गरिहेकी थिइन् ।

अधिकारकर्मी खरेलले नानीलाई सुमसुमाउँदै उनको सुरक्षा र संरक्षणमा आफु लाग्ने भन्दै सान्त्वना दिनुभयो ।

बालिकाकी आमाको पिडा

बालिकाकी आमा भन्दै थिइन्, ‘म अहिले ३१ बर्षकी भए । मेरो पेशा भन्नु नै दैनिक ज्याला मजदुरी हो । म लेवर काममा जान्छु । घर कति बेला आउने भन्ने टुगो हुँदैन । श्रीमान मिलमा काम गर्नुहुन्छ । हामी दुवै जना घर आउँदा ८, ९ बज्छ । घरमा ४ जना साना छोराछोरी मात्र छन् । हामी बुढाबुढी भने दैनिक बिहान काममा जाने राती फर्किने गर्छौ । आम्दानीको अन्य बाटो केही छैन । हाम्रो गरिवी र विपन्नताको फाइदा उठाएर हामीमाथि अपराध गरियो । मेरो श्रीमानले छोरीको यस्तो घटना भएपछि पीडा भुलाउन भन्दै दिनकै रक्सी खानुहुन्छ । म आफु टुहुरी हुँ । मेरो बाबा बेपत्ता हुनुभएको हो । आमा छोडेर जानुभयो । सानीमाले मलाई हुर्काउनुभएको हो । मैले पढ्न पाइनँ । प्लाटिक कम्पनीमा काम गर्थे, त्यहि यसको बाबासँग भेट भयो । १५ बर्षको उमेरमै भागेर विहे गरियो । ४ जना छोराछोरी छन् । सम्पत्तीको नाममा ६ धुर जग्गा छ । त्यहि पनि आफ्नो नाममा छैन । ससुराको नाममा हो । ससुरा वितेर जानुभयो । आफ्नो नाममा बनाउन पाएको छैन । अब दुखजिलो गरेर सानो घर बनाउने भनेको छोरीलाई यस्तो भयो । अहिले बसेको यस घरमा न झयाल छ न त ढोका नै । केही खानेकुरा अन्नपानी सुरक्षित राख्ने ठाउँ समेत छैन । आर्थिक अवस्था कमजोर छ । दिनभरी ज्यालामजदुरी गरेर परिवार पालेकी छु । जेठो छोरोलाई पढाउन सकिन । १४ बर्षको जेठो छोरा लेवर काममा जान्छ । ठुली छोरी यस्तो अवस्थामा छ । खानेकुरा, लगाउने कपडासमेत केही छैन ।’

गहभरी आँसु बनाउँदै उनले थपिन्, ‘छोरीले पनि केही भनिन पहिले । हामीलाई केहि थाहा भएन । नानीको पेट बढ्दै गयो । मैले पिसाव जमेको हो कि के हो भनेर फुपुलाई पिसाव चेक गर्न पठाएँ । नानीको पेटमा बच्चा भएको थाहा भयो । भिडियो एक्सरे गर्दा साढे ६ महिना भएको रहेछ । हामीले थाहा पाएको त्यो दिनमा पनि त्यो अपराधीले नानीलाई २ पटक घाँटी अचेटेछ । तेरो बाबु आमा कामबाट रातीराती आउँछ, बाटैमा मारिदिन्छु भनेर धम्काएको रहेछ । स्कुल जाँदा बाटोमा उत्तिकै टर्चर दिएको रहेछ । करणी गर्ने पुरुषलाई प्रहरीले मुद्धा हाली कारागार चलान गरिएको छ । तर, छोरीहरु भने जेलबाट छुटेपछि फेरि आफु करणीको शिकार बनिनुपर्ने भएले ग्रस्त छन् ।’

पछिल्लो समयमा दिनहुँजसो बालिकादेखि बृद्ध आमाहरु समेत बलत्कारको शिकार बनिरहेका छन् । अधिकाशं घटनाममध्ये ६० देखि ६५ प्रतिशत घटना नजिकका आफन्त र छिमेकीबाट हुने गरेको तथ्याकं छ । महिलाअधिकारर्मी मीना खरेलसहितको एउटा टोली प्रत्यक्ष रुपमा खटिएको पनि छ । अधिकारकर्मी खरेल यस्ता घटना रोक्नका लागि राज्य स्वयम् जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ ।

‘घटनामा परेका प्रभावितहरुलाई राज्यको तर्फबाट नै संरक्षण, शिक्षा, सिप र स्वरोजगार नहुँदासम्म पुर्ण सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो’, ‘पिडीतको दीगो जीवनको सहयोग गर्ने निति हुनुपर्छ ।’ अपराधीलाई कानुनी रुपमा सजाय सँगै सामाजिक दण्ड गर्ने कार्यक्रम राज्य स्तरबाटै आउनुपर्ने उहाँको माग छ । अहिलेको सजाय पर्याप्त छैन भन्दै उहाँले पीडकको सर्वश्वसहितको सम्पत्ती पीडितको नाममा आउने नीति हुनुपर्ने माग राख्दै आउनुभएको छ ।

अहिले पीडकले तिरेको रकम राज्यकोषमा जाने गरेको छ । पछिल्लो समयमा बढिरहेका यस्ता घटनाले बालबालिका र उसका परिवारका सदस्यहरु सबैको मानसिकतामा नराम्ररी प्रभाव परिरहेको छ । राज्यले कानुन नबनाएको पनि होइन तर प्रभावकारी कार्यान्वय नहुँदा अपराधको क्रम भने रोकिएको छैन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button