साइकलले बनाएको म ‘छोटे’ स्तम्भकार

सतिश निरौला

जिन्दगीमा साइकल बेस्सरी चलाइयो । अहिलेसम्म साइकल कुदाएको हिसाब निकाल्न कठिन नै छ । तर, कक्षा ६ देखि आइए पढ्दासम्म चलाएको मात्रै हिसाब निकाल्दा पनि झन्डै ३० हजार किलोमिटर साइकल कुदाएँ होला ।

त्यसयता धेरै लामो समय साइकल कुदाइएन एक्कासी सन् २०१७ मा भारतीय मोदी सरकारले नेपालमाथि नाकाबन्दी गरेसँगै गेयरवाला साइकल चढ्न थालेँ । त्यसलगत्तै गेयरवाला साइकल चलाउनेहरुको नेपालगन्जमा साइकल क्लब समेत बन्यो । र, त्यो क्लब को सस्थापक सदस्य हु र अहिले पनि क्लबको कार्यसमिति सदस्य छु ।

पेट्रोल अभाव र नाकाबन्दीले साइकलसँग पुनर्स्थापित गरिदिएको सम्बन्ध यसरी झ्याङ्गिदै गयो कि अब यो त मेरो जिन्दगी महत्त्वपूर्ण हिस्सा बनेर बस्यो । त्यसयता पनि मैले साइकल बेस्सरी कुदाएँ । प्रायः प्रत्यक साता शनिबार अलि मज्जाको साइक्लिङमा जुटिन्छ अनि अन्य बार पनि केहि न केहि त चलाउने गरेकै छु । साइकल चलाउदा शुरूवातमा २०, २५ किलोमिटर कुदाउनु पनि निकै ठुलो युद्ध जिते झैं हुन्थ्यो । अझ पहिलोपटक त्यो पनि दुइदेशिय सडकमा ( नेपालर भारत) एकैपटक १ सय किलोमिटर साइक्लिङ गरेको दिन त (गिनिज बुकमा रेकर्ड राख्नेहरु कति खुशी हुन्छन्, त्यो त थाहा भएन) मचाहिँ औधी खुशी भएको थिएँ ।

त्यो यात्रा नेपालको खजुरा, नेपालगन्ज, रुपैडिहा, नानपारा, बहराइच हुँदै भारतको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल श्रावस्तीसम्मको थियो । श्रावस्तीमा हाम्रा गौतम बुद्धले २४ चतुर्मास ब्यतित गरेका रहेछन् । विश्वका विभिन्न देशबाट बौद्ध धर्मावलम्बी श्रावस्ती आउने गर्दा रहेछन् । साह्रै आनन्दको ठाउँ थियो श्रावस्ती ।

त्यसपछि थप जाँगर र रहर भरिदै गयो माउन्टेन बाइकिङमा । त्यसबीचमा मैले साधारण गेयरवाला हनिहन्टर र ट्विटर नामको २ टा साइकल नेपालगन्जकै बिबि साइकल स्टोरबाट किनेर चढेँ । नेपालमा कोरा नामक साइक्लिङ्को इभेन्ट हुँदै थियो, पहिलोपटक । त्यो इभेन्टमा सहभागिता जनाउन मसँग भएको ट्विटर ब्रान्डको साइकल लिएर गएँ । पहिलोपटक थाहा भयो, साइकल चलाउनेहरुको सर्कल कति ठुलो रहेछ ? हेटौंडामा कोरा राइडमा सहभागी हुन आएका सयौं साइकले साथीहरूसँग भेट भयो । नयाँ सम्बन्धहरु कायम भए । त्यस राइडबाट थप प्रेरणा त मिल्यो नै, साइकल देशैभर सम्बन्धको फराकिलो चेन जोड्ने माध्यम पनि बन्यो । पहिलोपटक त्यहीँ नै देख्ने मौका मिल्यो, लाखौ लाख रुपियाँका साइकलहरु ।

मैले नेपालगन्जमा ३५ हजार रुपियाँको साइकल किन्दा यत्रो महङ्गो साइकल भन्ने लागेको थियो । त्यसपछि साइकलचाहिँ अलि राम्रो नै चड्नु पर्ने रहेछ जस्तो लाग्यो । धेरै उकालो चढ्न राम्रो गेयर आवश्यक हुने रहेछ र लामो यात्रा गर्न अलि राम्रो पार्ट्स चाहिने रहेछ भन्ने थाहा भयो । मसँग साइक्लिङ गर्दा लगाउने साइक्लिङ सर्ट्स (जेलप्याड) थिएन । हेटौंडा लक्ष्मण साइकल स्टोरमा किनेर त्यही लाएर हेटौंडा कोरा-२०१८ मा सहभागिता जनाएको थिएँ ।

त्यो बर्ष मेरो दशैं थिएन । अनि रहर जाग्यो दशैको एकहप्ता साइकलमा घुम्न जाने । डेस्टिनेसन छानियो नैनिताल, भारत । नैनिताल झन्डै २३ सय मिटरको उचाइमा थियो । त्यति उकालो र टाढाको बाटो मँग भएको ट्विटर साइकलले नधान्ने भयो अनि त्यही राइडकै लागि पनि नयाँ साइकल किन्नु पर्ने भयो । झन्डै झन्डै सय सिसिको मोटरसाइकल नै किन्न मिल्ने पैसाको टिर्निक्स इलाइट एक्स सेभेन मोडेलको इटालियन ब्रान्डको साइकल नेपालकै पहिलो र पुरानो साइकल पसल पन्चनारायण (अस्टनारायण अर्थात प्यांक बाइक बाट मगाएँ । साइकल प्लेनबाट नै पठाउन लगाएँ । साइकल आइपुग्यो । तर, त्यसलाई घरमा ल्याइनँ । कारण त्यति महङ्गो साइकल किन्दाको कर्कर सुन्ने साहस भएन । नैनितालको यात्राको अघिल्लो दिनमात्र साथीको साइकल मागेर नैनिताल निस्किन लागेको बहाना गरेर घरमा ल्याएँ । त्यसरी मैले जीवनमै पहिलो पटक अलि टाढा, त्यो पनि हिन्दुस्तानको प्रसिद्ध पर्यटकीय शहर नैनिताल पुर्याएँ साइकल ।

त्यसरी साइकल र साइकलेहरु अनि साइक्लिङ इभेन्टहरुसँग झन् नजिकिदै जाने अवसरहरु मात्रै मिलेनन्, अर्को अवसर पनि मिल्यो स्तम्भकार बन्ने । उसो त म ठुलो लेखक होइन, न त मँग औधी लेखकीय क्षमता नै छ । तर, मैले १, २ वटा साइकल यात्राका अनुभुति र यात्रा कथा लेखेपछि नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जबाट नियमित स्तम्भका लागि गरिएको प्रस्ताव अनुसार मैले साइकल गाथा स्तम्भ प्रत्यक साता लेखेँ । यो बीचमा यकिन त छैन, तर पुगनपुग ५० थान गाथा लेखेँ होला, त्यो पनि साइकलमा मात्रै ।

यसरी सम्भवत साइकलमै केन्दित भएर नियमित स्तम्भ लेख्ने नेपालकै पहिलो छोटे स्तम्भकार पनि बनायो साइक्लिङले मलाई ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button