साइकलमा सरर मुन्धुम ट्रेल, बाटैमा भेटिए सेन्मिखा
तेजप्रसाद पराजुली (एभरेस्ट बाबु)
सरकारले निर्धारण गरेको १ सय गन्तव्यमध्ये एक मुन्धुम ट्रेल साइकलमा जाने निकै पहिलेदेखि योजना बनाएको थिएँ । र, २०७६ असोजमा यात्रामा निस्किएँ ।
झापाको भद्रपुरदेखि धनकुटासम्म डाँफे बसमा गएँ । जाँदाजाँदै धनकुटाको पात्ले भन्ने ठाउँमा गाडी बिग्रियो । र, अर्को गाडीमा भोजपुरको लेगुवाघाट (फेरिबजार) सम्मको गाडीमा गएँ । फेरि अर्को बस कुरिरहेँ । निकैबेर कुनै गाडी आएन । र, त्यहाँदेखि जरायो टारसम्म करिब ८ किमि अपहिल साइकल चलाएँ । बाटोमा भोजपुर देउरालीको तयाहाङ दाइसँग भेट भयो । उहाँ मोटरबाइकमा मभन्दा पछाडि आउनु हुँदै रहेछ । दाइले मसँग कुराकानी गरेसँगै फोटो खिच्नु भयो र नम्बर दिएर देउरालीमा आएपछि कल गर्नु कफी खाँदै गफ गरौला भन्नुभयो । अनि म बिस्तारै अघि बढेँ ।
केही पर प्रहरी चौकीअगाडि प्रहरी सरले रोकेरे मेरो बारेमा सोध्नुभयो, विदेशी हो के भनेर । साँझ पर्न लागेको थियो । ‘कहाँ बास बस्ने ?’ भन्नु भयो ।
‘फौजीको घरमा बास पाईन्छ भने यतै हजुरको अफिसमा बस्ने’, मैले भनेँ ।
‘हाकिम सापसँग समन्वय गर्नुहोस् । अनुमति दिनुभयो भने बस्नुहोला’, उहाँले भन्नुभयो ।
मैले हाकिम सापसँग कुरा गरेँ । त्यहि बास बसेँ ।
भोलिपल्ट ८ बजेतिर बस आयो र भोजपुर बजारसम्म गएँ । घडिमा करिब ११ नाघिसकेको थियो । बजारबाट ३५ किमि उकालो ोरालो मोटरेवल बाटो जाने तय गरेँ । र, बेलुकी चखेवा पुगेँ साइकलमा । र, त्यहाँ बास बसेँ । भोलिपल्ट बिहान सुर्यदयसँगै ट्याम्के डाँडातिर साइकल लिएर लागेँ र करिब ३ घण्टामा टपमा पुगेँ ।
स्वर्गमा पुगेको जस्तो अनुभव भयो । खुसीले एक छिन चिच्याएँ । मौसम खुलेकोले हिमश्रृङखला देखियो । केहिबेर फोटो र भिडियो खिचेँ । मकै भट्मास खाँदै चखेवा फर्किएँ । बाटोमा हिउँमा चिप्लिएर साइकलसँगै २ बल्डेङ लडेँ । चखेवामा चिया खाएर अन्नपुर्ण भन्ने ठाँउको ट्याम्केमैयुङ्ग गाउँपालिकाको कार्यालयमा गएँ । अध्यक्ष ध्रुव राईज्युले मेरो यात्राको लागि गाउँपालिकाको तर्फबाट केही आर्थिक सहयोग गर्नु भयो । र, बाटोमा स्थानीय अग्रजहरुले मेरो बारेमा सोध्नुभयो, ‘साइकलमा कहाँबाट आउनु भएको र अब यता कहाँ जान लाग्नुभएको ?’
‘मुन्धुम ट्रेल/साल्पासिलिचुङ्ग जान लागेको’, मैले भनेँ ।
‘एक्लै कि कोहि साथीसँग जान लागेको ?’, उहाँहरुले भन्नुभयो ।
‘एक्लै’, मैले भनेँ ।
‘अहिले साइकल चल्ने ट्रेल निर्माण भइसकेको छैन, गोठमा मान्छेहरु छैनन् । टेन्टमा बस्नु पर्ने हुन्छ । संचार सबै ठाउमा टिप्दैन । त्यसैले साथीहरु लिएर असोज कार्तिकतिर ट्रेल बनेपछि र गोठमा मान्छे आएपछि आउनु होला अवश्य’, भन्दै एक्लै नजान उहाँहरुले सुझाव सल्लाह दिनु भयो ।
म त्यहाँदेखि उहाँहरुले भनेको समयमा आउने र उहाँहरुले भनेको नमान्दा दुख पाहिएला भनेर बजारतर्फ साइकलमा फर्किने निर्णय लिएँ । र, यस पटक कोरोनाले घर बस्दाबस्दा दिक्क भएर भएर मुन्धुम ट्रेल जान योजना गरेँँ । यात्राको लागि सपिङ्ग गरेँ । तर, ब्याग प्याक गर्न धरमर गरेँ, फर्किने बेलामा लकडाउन होला कि भनेर ।
गर्मी थियो र घरदेखि अलि परको होटलमा गएर दुई चार चुस्की बियर पिएपछि लकडाउन भए पनि साइकलमा झापा फर्किन्छु भनेर घर आएँ र ब्याग प्याक गरेँ । र, फोनमा ३ः४५ को अर्लाम लगाएर सुतेँ ।
बिहान भद्रपुरदेखि बिर्तामोडसम्म साइकलमा गएँ । घडीमा ५ बज्न लागेछ पुग्दा । बस काकरभिट्टाबाट आउन अझ आधा घण्टा जति बाँकी थियो । चिया-खाजा खानु पर्यो भनेर पसलेसँग एक हजारको खुद्रा पैसा छ भनेर सोधेँ । पसलेले खुद्रा सिधियो भन्नु भयो र यताउता काउन्टरमा खुद्रा पैसा खोज्न भौतारिए । कतै भेटिएन । अन्य मनिसहरु चिया खाइरहेका थिए । निकैबेरमा अबचाहिँ खुद्रा भयो कि भनेर एउटा मिनिरल वाटर, एक कप चिया र नास्ता लिन्छु खुद्रा पुग्छ होला भनेर साहुजीलाइ सोधेँ ।
‘हुन्छ । तपाइको भोजपुर जाने गाडी आउन लाग्यो । छिटो गर्नुहोला’, उहाँले भन्नुभयो र चिया नास्ता खाएको ५ मिनेटमै गाडी आयो र साँझ बजार पुगेँ । र, ‘तारा खसेको’ होटलमा बास बसेँ ।
बिहान चिया-खाजा खाएर मुन्धुम ट्रेलको बाघखोरतर्फ साइकल लिएर अघि बढेँ । ११ बजेतिर बाघखोर पुगेर फेरि चिया खाएँ ।
‘एक्लै आउनु भएको ? सिँढी र उकालोमा साइकल गुड्छ र ?, त्यहाँको साहुनीले मेरो बारेमा सोध्नु भयो ।
‘एक जना केटी साथी पनि लिएर आउनु भएको भए गफ गर्दै जाँदा बाटो काटेको थाहा नै हुने थिएन’ भन्दै ठट्यौली पनि गर्नुभयो ।
बाघखोरबाट पहिलो उकालो सिँढी पार गरेपछि फर्किउँ कि जस्तो लाग्यो । रमेश राई दाइले ट्रेलको बारेमा जानकारी दिनुभएको थियो । र, दाइको हौसला सम्झिएर फेरि मैले अगाडि बढ्ने निर्णय गरेँ ।
बाटो सुनसान थियो । म एक्लै ठाउँठाउँमा साइकल काँधमा बोक्दै, गुडाउदै, डोर्याउँदै लागेँ । पखुवा भन्ज्याङ पुगेपछि दिउँसै धेरै थाकेँ । र, त्यहीँ स्लिपिङ ब्याग ओडेर सुतौं जस्तो लाग्यो । फेरि राती पानीले चुट्ला कि भनेर एउटा चक्लेट र पानी खाएर बिस्तारै अघि बढेँ । अलिक पर पुगेपछि एउटा टिहाउस देखेँ । कोहि हुनुहुन्छ कि भनेर बोलाएँ । भोटे कुकुर मात्र भुक्यो । मान्छे गोठालो जानुभएको जस्तो लाग्यो । दुई तीन घण्टा साइकल चलाएपछि थाम डाँडा भन्ने ठाउँमा मुन्धुम ट्रेल कन्स्ट्रक्सन टिमको क्याम्प भेटेँ ।
‘बास पाइन्छ ?’, मैले साधेँ ।
‘अलिक पर ट्रेलमा हाम्रो टिम लिडर हुनहुन्छ । उहासँग अनुमति लिनुहोला’, त्यहाँँको दाइले भन्नुभयो ।
म क्याम्पमा साइकल छोडेर अगाडि गएँ । ट्रेल निर्माण गर्ने दाजुहरु भेटेँ । टिमलिडर बैदार भन्ज्याङको सुवास तामाङ हुनुहुँदो रहेछ । सुवास अङ्कलले नेपाल यात्राको क्रममा मलाइ… सहयोग गर्नुभयको थियो । उहाँसँग एक छिन कुराकानी भयो ।
‘आज कहाँ बस्ने ? तिम्रो टेन्ट त छैन त । हाम्रो अर्को क्याम्प अलिक टाढा छ । आज यतै बस’, उहाँले भन्नुभयो ।
अङकलसँगै क्याम्पमा बसेँ । राती ९-१० बजेसम्म दाजु-दिदीहरुसँग आगो ताप्दै गफ गर्दै बसियो । सुवास अङ्कलले भेडाको दूधबाट बनाएको खीर दिनुभयो ।
भोलिपल्ट बिहान चिया खाजा खाएर अङ्कलसँग बिदा भएर हाँसपोखरीतिर लागेँ ।
बाटोमा कुनै-कुनै ठाउमा ट्रेल बनाउने दाइहरुले साइकल ठेल्न सहयोग गर्नुभयो । केही पर पुगेपछि ट्रेकर्स्सँग भेट भयो । उहाँहरु हाँसपोखरी हुँदै भन्ज्याङ भन्ने ठाउँसम्म जानुहुने रहेछ । उहाँहरुसँग एकराते भन्ने ठाउँमा झोलामा बोक्नु भएको खाजा खाइयो ।
‘स्थानीय रक्सी पिउने हो भाइ ? थोरै पिउँदा साइकल चलाएको ज्यान दुख्दैन’, उहाँहरुले भन्नुभयो ।
मलाई थाहा थियो, हाई अल्टिचिउडमा जाँदा धुम्रपान र मद्यपान गर्नु हुँदैन । त्यसैले सोध्नुभएको र सुझाव दिनुभएकोमा यहाँरुलाई धन्यवाद भनेँ । उहाँहरुले ठाउँठाउँमा साइकल बोक्न, ठेल्न र फोटो भिडियो खिच्न सहयोग गर्नुभयो ।
हाँसपोखरी, सातदोबाटोबाट हाम्रो गन्तव्य छुट्टै थियो ।
‘भाईको यात्रा सफल होस् । मुन्धुम ट्रेल सुरक्षित छ । यहाँको साहसिक यात्रालाई सल्युट छ । माथि शेर्पाको गोठमा चौरीको दूध पाउँछ । खाएर जानुहोला । साइकल चलाउन तागत मिल्छ अनि माथि मैयुङ डाँडा हाइकिङ जानु र त्यो परको मुन्धुम किरात होमस्टेमा बस्नु । अब हामी छुटिउँ है’, भन्दै उहाँहरु जानुभयो ।
साइकल बाटोमै छोडेर डाँडातिर गएँ । त्यहाँ ‘तारा खसेको आहाल’ रहेछ । र, डाँडा घुमेर साइकल लिन तल झरेँ । होमस्टेमा गएँ । बेलुकी चार-पाच जना भोजपुरका ट्रेकर्स् दिदीबहिनीहरु आउनुभयो, चखेवाबाट हिँडेर । उहाहरुसँग गफ गर्दै आगो ताप्दै चौरीगाइको दूधबाट बनाएको आलो छुर्पी खाइयो । बेलुका उहाँहरुसँगै खाना खाएर फेरि आगो तापियो ।
केही छिनपछि उहाँहरु ‘१० घण्टाको हिँडाइ बाटोमा थोरै अल्मल परेर अलिक बढी थाकिएको छ, हिँड्न त मजा आयो’ भन्दै कोठातर्फ लाग्नुभयो ।
एक जना बाजे राँगो हराएर नातीलाई साथी लिएर होमस्टेमा आउनुभयो र मसँग पदमचाल जडिबुटीको लोकल रक्सी चुस्की लाउँँदै निकैबेरसम्म कुराकानी गर्नुभयो र जाने बेलामा भन्नुभयो, ‘भाइ ! तिमीलाई कसैले यहाँ पठाएको हो । सरकारले केहि दिन्छ, हामीलाई नढाँटी भन ।’
बाजे पहिलाका मास्टर हुनुहुँदोरहेछ । अलिक कडा तरिकाले मलाई प्रश्न गर्नु भयो ।
‘मलाई नेपालकै सबैभन्दा पुरानो साइकल पसल, पञ्च अस्टनारायण साइकल (प्याङक बाइक) ले ट्रिङ्स साइकल र लुमिनेड नेपालले क्मपिङ्ग लाईट स्पोनसर गरेको छ’, मैले भनेँ ।
मुन्धुम ट्रेलको सचिव मणिकुमार राईज्युले हाँसपोखरीमा रहेको मुर्तिलगायत मुन्धुम ट्रेलको बारेमा विस्तृत जानकारी दिनुभयो । उहाँ धोत्रेसम्म जानु हुनेरहेछ र हाम्रो बाटो एउटै परेछ । बिहानसँगै जाने भइयो । र, केहिबेर आगो तापेर सुतियो । बिहान मैयुङ डाँडामा घोडा, चौरी, भेडा चरेको र खुलेको मौसमले अझ सौन्दर्य देख्न पाइयो । कफि, खाजा खाइयो र दिदीबहिनीहरु बाघखोरतर्फ लाग्नुभयो । म र सचिवज्यु धोत्रेतिर लाग्यौं ।
हामेस्टेको आथित्य सेवासुविधा र मैयुङको सौन्दर्यलाई छोडेर जान मन थिएन ।
बाटोमा मणि सरले साइकल बोक्न र ठेल्न सहयोग गर्नुभयो । माविवातव लेक, जलजले सिमसारको बारेमा जानकारी दिँदादिँदै धोत्रे पुगेको पत्तै भएन । सरले ‘भाइ ! एक छिन पर्खनु न’ भन्नु हुँदै थियो । म तेर्सो बाटो साइकल चलाउदै थिएँ । ट्रेल बनाउने दिदीहरुले ‘यो साइकल सिँढी र उकालोमा पनि गुड्छ ?’ भनेर सोध्नुभयो । मैले दुवै ठाउँमा साइकल गुडाएर देखाएँ ।
मणि सरसँग विदा भएर चखेवातिर लागेँ । धोत्रेदेखि केही पर मुन्धुम ट्रेलको क्याम्पको आन्टीले ‘बाबु ! खाना खाएर जानु’ भन्नुभयो ।
‘खाना खाएपछि क्याम्पलाई सहयोग गरेरे जानुपर्छ । अरु आउने पर्यटकले पनि कुखुराको भाले, नुन, तेल, मसला सहयोग गरेरे जान्छन्’ भन्दै ठट्यौली गर्नुभयो ।
‘हेर्ने कथा’को सेन्मिखा भाइसँग पनि भेट भयो । भाइसँग मेमोरीको लागि फोटो-भिडियो खिचेर चखेवातिर लागेँ ।
मौसममा चिसो बढ्दै गयो । दलसिंग भन्ने ठाउँदेखि अलि तल पुगेपछि एउटा भेडिगोठ भेटियो । गोठको दाइले खैरे सम्झेर बोलाउनुभयो । दाइसँग एक छिन बातचितपछि ‘भेडा दुने बेला बित्यो । घ्युचाहिँँ चाखेर जान होला । अब एक घण्टा जतिमा चखेवा पुग्नु हुन्छ’ भन्नु भयो ।
चखेवा पुगेर घडि हेर्दा २ बजेछ । होटल साहुनीलाई सोधेँ, ‘भोजपुर बजार जाने बस कति बेला आउँछ होला ?’
‘गाडी त गइसक्यो, नानी । यतिबेला बलौटेतिर पुग्यो होला’, साहुनीले भन्नु भयो ।
रात साँझ गरेर भए पनि जान्छु भनेर अघि बढेँ । ५ः३० बजेतिर बजार पुगेँ । शेर्पा गोठको दाईले ‘कार्तिक-मंसिरतिर पानी निश्चित समयमा पर्छ र ट्रेल सपन्न हुनसक्छ । त्यति बेला साल्पापोखरी र सिलिचुङ्गको यात्रा गर्दा सहज होला’ भन्नुभयो ।
मैले सुनेको थिएँ, ‘सोलुखम्बुबाट नजिकै पर्छ सिलिचुङग चढ्न ।’ रमेश दाइलाई फोन गरेँ । साल्पा सिलिचुङ्बाहेक पुरै मुन्धुम ट्रेल साइकलमा पुगे । दाइले ‘सोलुको बुङसम्म मोटरेवल रोड छ । त्यहाँबाट एकै दिनमा सिलिचुङ्ग पुग्ने’ जानकारी दिनुभयो । कोराना महामारी नर्मल भयो र सिलिचुङ्गदेखि मैयुङसम्मको ट्रेल निर्माण सम्पन्न भएपछि आगामी कार्तिक कि त अर्को वर्ष फेरि पाँचपोखरी मेरा ट्रेक रुटदेखि सिलिचुङ्ग साइकलसहित चढ्ने सपना बुनेर बिट मारेँ ।
मुन्धुम ट्रेल घोडा रेस, म्याराथुन, माउन्टेन बाइकिङको लागि राम्रो रहेछ । मेरो नजरमा मुन्धुम ट्रेल नेपालकै उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना देखेँ । सामाजिक सञ्जालमा फोटाहरु पोस्ट्याएर खाना खाएर भोलिपल्ट झापा फर्किएँ ।