साइकल सररः हारेर पनि जितेका ‘वाजिगर’ बुढाथोकी
गगन थापा
साइकल अभियन्ता, नेपालगञ्ज ।
सुरुमै साइकले पात्रहरुबारे भनिहालुँ । माथिको तस्विरमा कालो चश्मा लगाउने कविराम बुढाथोकी हुन्, जो तस्रो भए । सेतो क्याप र हरियो टिसर्ट लगाउनेचाहि लिखन थारु, जो दोस्रो भए । बीचका चाहिँ जग्गु थारु हुन्, जो पहिलो भए । तर, यहाँ पहिलो हुनेको होइन, दोस्रो र तेस्रो हुनेको कुरा छ ।
हजुर ! आफू हारेर पनि अरुलाई जिताउन सक्ने मानिस को छ अहिलेको संसारमा ?
प्रतियोगितामा पुरस्कार राशीले खासै ठूलो अर्थ राख्दैन । त्यो पनि तब जब तपाईं लगभग जितको नजिकै हुनुहुन्छ । त्यतिबेला तपाईंले प्राप्त गर्न लागेको स्थानको अर्थ हुन्छ । पुरस्कार राशीमा १ हजारको मात्र फरक थियो । कविराम बुढाथोकीको जीतको लक्ष्य केवल २० मिटर जति मात्र थियो । उनका निकटतम प्रतिस्पर्धी लिखन थारु केवल उनीभन्दा ५ मिटर जति टाढा थिए । २० किलोमिटरको प्रतिस्पर्धाको १९ किलोमिटरभरी लगभग उनीहरु सँगसँगै थिए । १ किलोमिटर जति बाँकी थियो । गियरवाला अलि महङ्गै साइकल भएकोले अन्तिम अवस्थामा बुढाथोकीले ५ मिटर जति उछिने ।
अचानक बुढाथोकीले सोचे, ‘मेरो जत्तिकै साइकल भए त लिखन थारुले मलाई जितिहाल्थे । होइन, मेरो स्थानको असली हकदार त यिनी हुन् । साइकलका कारणले हार्छु भन्ने जान्दाजान्दै पनि भाग लिएका छन् । प्रतिस्पर्धाको माहोल सृजना गरिदिएका छन् । अनुहारमा आफुसँग सस्तो साइकल छ भन्ने हिनताबोध नै छैन । बरु प्रतिस्पर्धाको भाव झल्केको छ । थारुको यो लगनलाई सम्मान गर्न पनि मैले हार्नु पर्छ ।’
त्यस्तो सोच्दै बुढाथोकीले २ प्याडल बिस्तारै के चालेका थिए, सामान्य साइकलवाला थारुले जीतको अन्तिम बिन्दुमा तेर्स्याएर राखेको हरियो रिवन क्रस गरिहाले । जीतपछि थारुको अनुहारमा आएको चमकले नै बुढाथोकीको मन प्रफुलित भयो । सामान्य साइकलवाला लिखन थारु दोस्रो भए । बुढाथोेकी तेस्रो भए । पहिलो हुनेमा चाहिँ जग्गु थारु थिए ।
यो कुनै कथा होइन, नेपालगन्जमा हालसालै सम्पन्न साइकल प्रतियोगितामा भएको सत्य घटना हो । त्यसैले बुढाथोकी हारेर पनि जित्ने ‘वाजिगर’ हुन् ।