काठमाडौले झापालाई बेचेको थाहा छैन भन्दै खिसि गरे
परोपकारी प्याङक पसल
तेजप्रसाद पराजुली
म मध्यम वर्ग परिवारमा जन्मिएँ । मसँग इन्टरनेट चलाउने मोवाइल थिएन । एक दिन (२८ भाद्र २०७५) साथी विनोद पौडेलको घर गएको थिएँ । अपह्रान्ह ४ः३० बजेतिर विनोदको मोवाइल मागेर फेसबुक चलाउँदै थिएँ । फेसबुक भित्तामा कैलाली लम्की घर भएका अन्दाजी ४० वर्ष उमेरका पारा साइक्लिस्ट यमलाल रसाइली दाजुलाई कसैले साइकल सहयोग गरेको थाहा पाएँ । रसाइली दाईले लम्कीदेखि रारा तालसम्म साइकल यात्रा तय गर्नुभएको रहेछ । अनि मैले पनि २४ दिन लगाएर २७ वटा जिल्लाहरु साइकलको माध्यमबाट घुमेँ ।
सानो छँदादेखि नै मलाई साइकल र नेपाली सेना मन पथ्र्यो । टेलिभिजनमा विदेशीले साइकल चलाएको र नेपाली सेनाको कार्यक्रम आउँदा एक चित्त भएर हेर्ने गर्थें । विश्व साइकल यात्री पुष्कर शाह दाजुले लेख्नु भएको ३ सय ६० पानाको पुस्तक ११ घण्टा लगातार पढेर सिध्याएँ । त्यसपछि साइकलबाट पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गबाट साइकल यात्रा गरेँ। पश्चिमको अत्तरियामा एक विदेशी साइकल यात्री भेट भयो र परिचय गर्दै जाँदा उहाँ आफ्नो देश टर्कीबाट साइकलमै नेपाल घुम्न आउनु भएको रहेछ । उहाँको नाम अट्याक रहेछ । उहाँ ३३ वर्षको हुनुहुँदोरहेछ । उहाँले ६ महिना मा १३ हजार किलो्मिमिटर साइकल चलाउनु भएको रहेछ ।
‘तपाईं किन साईकलमा आउनु भएको ? प्लेनमा आउन मिल्दैन थियो ?’
‘साइकल चलाउनुको मजा नै बेग्लै छ, स्वास्थको दृष्टिकोणले साइकल चलाउन आवश्यक भएको हुँदा साईकलमा आएको हुँ ।’
‘नेपाल नै किन रोज्नु भएको ?’
‘स्वर्गको टुक्रा सगरमाथाको देश रे भन्ने सुनेको थिएँ । त्यसैले कस्तो रहेछ हेररौं भनेर आएको ।’
त्यसपछि मलाई आफ्नो देश पुरै घुम्नुपर्ने रहेछ भन्ने भावना जाग्यो । नेपाल घुम्ने पैसा मँसग नभएको हुँदा धेरैजना विदेशी साइकले दाईरुसँग आर्थिक सहयोग माग्दा उहाँहरुले एक छाक खाना र बस्न दिने कुरो गर्नु भयो । सानैदेखि बाबाआमा र साथीहरुले दिएको १०, ५ रुपैया पैसा खर्च नगरी जम्मा गरेर १६ हजार रुपियाँमा एउटा पुरानो साइकल एकजना गाँउले दाजुसँग किनेको थिएँ ।
मलाई साइकलको बारेमा त्यति धेरै ज्ञान थिएन । त्यो साइकल पुरानो साइकलबाट नेपाल यात्रा गर्न कठिनाई हुने रहेछ भन्ने कुरा थाहा भयो । त्यो भन्दा महङ्गो साइकल किन्न सक्ने मेरो क्षमता थिएन । रसाइली दाईलाइ कस्ले साइकल सहयोग गरेको रहेछ ? मैले पत्ता लगाउन सकिनँ र साथीलाइ फेरि हेर्न लगाएँ । साथीले निकै बेर हेरेर पत्ता लगायो ।
प्याङक लेखेको लिङ्कमा क्लिक गरेर हेर्नु भन्यो । मैले तुरुन्त हेरेँ र त्यसमा क्लिक गर्दा पेज खुल्यो र आफ्नो परिचयसहित सम्पर्क नम्बर लेखेर मलाई सहयोग गर्न सक्नु हुन्छ होला भनी म्यासेज पठाएँ । केही मिनेटपछि उताबाट मेरो प्रोफाइल हेरेर सहयोग गर्ने वचन आयो ।
‘नेपाल यात्राको लागि साइकल किन्ने पैसै छैन । त्यसले हजुर सक्नु हुन्छ भने केही आर्थिक सहयोग गर्नु होला’ भनेँ ।
‘म तिमीलाई राम्रो साइकल र साइकलमा लामो यात्रा गर्दा आवश्यक सामान दिन्छु’ भन्नुभयो । र, आफ्नो पसलको ठेगाना बताउनु भयो । साथीलाई म भोलि काठमाडौं जाँदैछु किनकि महंगो साइकल सित्तैमा पाउने भएको छु भन्दा साथीले अचम्म पर्दै मेरो मुख तिर हेर्यो ।
साथीको बुवाको चिया पसल थियो । त्यहाँ चिया खाँदै गरेका मान्छेहरुले मेरो कुरा सुनेछन् । र, काठमाडौले झापालीलाई बेचेको थाहा छैन भन्दै खिसि गरे । २०७५ भाद्र २९ गते रात्री बसमा झापा भद्रपुरदेखि काठमाडौं गएँ ।
शनिबारको दिन तिरेक दाइले पसल खोल्नु हुन्न रहेछ । त्यो दिन पशुपति गौशालाको धर्मशालामा बास बसे र भोलिपल्ट करिब १०ः०० बजेतिर दाईको पसलमा पुगे । दाइसँग निकै बेरसम्म कुराकानी गरेँ ।
प्याङकले दिएको साइकलसहित मैले पाँचवटा साइकल चढेँ । अहिलेसम्म चढेको साइकलमध्ये ट्रिङसजस्तो सजिलो र हलुका साइकल पाइनँ ।
तिरेक दाइलाई सोधेँ, ‘यो प्याङक भनेको के हो ?’
‘प्याङक भनेको मेरो जिजुबुबा पञ्चनारायण मानन्धरको छोरा मेरो बाजे अष्टनारायण मानन्धरले झन्डै १०० वर्षअघि सन् १९२५ मा साइकल पसल खोल्नु भऐको थियो । त्यसैले दुवै जनाको नाम मिलाएर पञ्चअष्टनारायण छोटकरीमा प्याङक हो’, उहाँले भन्नुभयो ।
बच्चादेखि ठुला मान्छे सबैले चढ्ने, रेस, क्रस कन्ट्री हार्ड ट्रेल विभिन्न खाले साइकल प्याङकमा पाइदो रहेछ । साइकल सट्टापट्टा गर्न मिल्ने, भाडामा पनि लिन मिल्ने सुविधा पनि रहेछ । साइकलसँग सम्बन्धित सामानहरु पनि पाइँदोरहेछ, जस्तै झोला, पन्जा, पानी राख्ने बोतल । ससाना बेट्रीवाला बत्तीहरु, साइकलिङ्ग जर्सी आदि । तिरेक दाइले इन्जिनियरिङ गरेर पनि पुख्र्यौली व्यवसायलाई नै निरन्तरता दिनुभएको रहेछ । उहाँले मलाई चेनमा तेल हाल्न र ब्रेक प्याड फेर्न सिकाउनु भयो । उहाँको तीनवटा साइकल पसल रहेछन् । उहाँले म घर फर्किने वेलामा टेन्ट किनिदिनु भयो ।
‘राम्रोसँग जानु, केही सामन चाहियो भने मलाइ फोन गर्नु, म निशुल्क पठाइदिन्छु’ भन्नुभयो ।
यतिकैमा समय बित्न लागेको पतै भएन । उता गाडी छुट्ने बेला हुन लागेको रहेछ । हतारहतार गरेर चिया खाजा खाएर जाने तयारी गरेँ । बसपार्कसम्म पुग्नलाइ विजयकुमार रत्न दाइले मद्धत गर्नु भयो मलाई । गाडीको स्टाफले मसँग पैसै माग्नु भएन । ओर्लिने बेलामा ‘दाई भाडा लिनु’ भन्दा ‘तिम्रो भाडा तिमीलाइ पुर्याउन आउने दाइले दिइसक्नु भएको छ’ भन्नुभयो ।
घर आइपुगेपछि तिरेक दाईलाई फोनमा भनेँ, ‘दाई, म घर आइपुगेँ । तर, गाडीवालाले मेरो भाडा लिएन’ भन्दा ‘मैले पहिलै तिम्रो लागि टिकट बुकिङ्ग गरेको थिएँ’ भन्नुभयो ।
साइकल दिनुभयो । गाडी भाडा पनि तिरिदिनु भएछ । झन् मेरो मन प्रफुल्लित भयो ।