साइकलको कान भइदिए सोध्थेँ, ‘कहिले भन्छौ थाकेको छु ?’
नियमित स्तम्भ साइकल सररमा नेपालनाम्चा प्रस्तुत गर्छ साइकल साथी सुर्यकुमार सारुमगर । उनी साइकल सिटी भैरहवाका अध्यक्ष हुन् ।
साइकल नभएको तपाईं र साइकलसहितको तपाईंमा के फरक छ ?
साइकल नभएको ममा एउटा घमण्ड थियो र साइकलसहितको ममा महत्त्वसहितको जीवन छ ।
कहिलेदेखि र के कारणले साइकल चलाउन सुरु गर्नुभयो ?
स्कुल पढ्दादेखि नै साइकल चलाउन लागेको तर धेरै वर्षको अन्तरालपछि अहिले तीन वर्ष भयो फेरि साइकल चलाउन थालेको ।
साइकलका चलाउनुका पाँच फाइदा के के हुन् ?
साइकल चलाउनुको धेरै फाइदा छन्, स्वास्थ्य लाभ, दिनहुँ प्रकृतिको परिवर्तन हेर्न पाइने, नयाँ नयाँ स्थान घुम्न पाइने, नयाँ साथी बनाउन पाइने, आफुभित्र धैर्यता र साहसको महसुस हुने ।
साइकलसँग जोडिएको पाँच रोचक घटना सम्झनु हुन्छ ?
लकडाउन र कोरोना भाइरसको डर हुदाहुँदै पनि हामी ५ साइकलिष्टहरू भारतको लखनऊ गएर साइकल चलाउन चाहिने समान खरिद गर्न पुग्यौं । साइकलले विश्व साइकल यात्री तथा सागारमाथा आरोहीसँग पुष्कर शाहसँग सँगै ७० किलो साइकल चलाएको र उनले काभ्रेमा संचालन गरेको बहिरा स्कूललाई केही आर्थिक सहयोग दिने अवसर कहिल्यै नभुल्ने क्षण । र, नेपाल साइकल फेस्टिभलमा सहभागी भएर साइकल चलाउँदै पोखरासम्म पुग्दा आफैले आफैलाई विश्वास गर्न नसकिने पल । साईकल चलाउदै वालिङ् पुगेपछि जीवनमा पहिलो पटक टेन्टमा सुतेको अनुभव नौलो । साईकल चलाउन फेसबुकमा गरेको केही हरफ आव्हानले आज भैरहवा क्षेत्रमा करिब ५०० साइकलिष्ट सडकमा भेट्दा आनन्द महसुस हुन्छ ।
यदि साइकलसँग नजोडिनु भएको भए तपाईं र तपाईंका् जीवन यस्तै हुन्थ्यो कि फरक ?
फरक हुने थियो ।
साइकल साथी हुँ भन्दा तपाईंलाई कस्तो लाग्छ ?
अहिले धेरै राम्रो लाग्छ । साथै गर्व पनि ।
साइकलसँग जोडिएपछि के जोडियो थप जीवनमा ?
आत्मविश्वास र फराकिलो सोच ।
साइकल फेसन भएको छ र साइकलेहरु एक प्रकारको फनलभर मात्र हो । यदि कसैले त्यसो भने तपाईं के भन्नु हुन्छ ?
टाढाबाट साइकल चलाउनेहरूलाई हेर्दा जोकोहीलाई त्यस्तो लाग्न सक्छ । साथै साइकलका इभेन्टहरू नेपालमा कम भएकोले पनि यस्तो देख्नु स्वाभाविक नै । तर, अब फनलभर होइन इन्भायरमेन्ट लभर भन्ने छन् ।
देशभर र विदेशका साइकलेहरुलाई केही कुरा साझा गर्न चाहनुहुन्छ ?
विश्वमा वातावरण प्रदूषण बढ्दो रूपमा बढिरहेको अवस्थामा देश र विदेशका साइकलेहरूले अझ धेरै घण्टा साइकल आफ्नो दैनिक जीवनमा प्रयोग गर्नु पर्दछ । त्यसले अन्यलाई पनि साइकल चलाउन प्रोत्साहन गर्नेछ ।
साइकलसँग यदि सुन्ने कान हुन्थ्यो भने उसलाई के भन्नु हुन्थ्यो ?
यदि साइकलको सुन्ने कान भइदिएको भए सोध्थेँ, ‘साइकल ! तिमी मलाई अलि थाकेको छु कहिले भन्छौ ?’
अन्त्यमा अरु केही भन्नु छ ?
जसरी सरकारले बिजुलीबाट चल्ने सवारी साधनलाई भन्सार छूट गरेको छ, त्यसरी नै साइकल र साइकलसँग सम्बन्धित सामानहरूको भन्सार छूट हुनु पर्दछ । साथै, जति हुन सक्छ साइकललेन र पार्किङको व्यवस्थापन हुनु पर्दछ । अन्तमा धेरै धेरै धन्यवाद नेपालनाम्चा ।