
साइकल सररः २ सय २० रुपियाँ र १२ वटा रोटीले पुरै नेपाल घुमे
साइकलसँग जङ्गलमा सुते । निकुञ्ज क्षेत्रमा हरिण देखेर बाघ आउने डरले साइकललाई छानो बनाएर नालीमा लुके । पानी नपाउँँदा पानी अमलाले प्यास मेटाए । खाना नखाई २-३ दिन यात्रा गरे । २ सय २० रुपैया र १२ वटा रोटीले पुरै नेपाल घुमे । नया ठाँउमा जाँदा फलानो गाँउ जाने बाटो कताबाट हो भन्दा त्यहाँ तिम्रो के नाता पर्छन् भनेर सोधेको सुन्दा छक्क परे ।
नियमित स्तम्भ साइकल सररमा नेपालनाम्चा प्रस्तुत गर्छ साइकले तेजप्रसाद पराजुली ।
साइकल नभएको तपाईं र साइकलसहितको तपाईंमा के फरक छ ?
साइकल नहुँदा एक्लोपनको अनुभुति थियो । अहिले साइकल हुँदा ७७ वटै जिल्लाका साथीहरुको माया र दैनिक नयाँ मान्छेसँग परिचय गर्ने मौका पाएको छु ।
कहिलेदेखि र के कारणले साइकल चलाउन सुरु गर्नुभयो ?
७,८ बर्षको उमेरदेखि र बच्चैदेखि सहरबाट गाँउमा साइकल देखाउने रहरले साइकल चलाउन सुरु गरेँ ।
साइकलका चलाउनुका पाँच फाइदा के के हुन् ?
स्वास्थ्य, वातावरण, पर्यटन, आर्थिक वचत, हिँडेरभन्दा छिटो एक ठाउँदेखि अर्को ठाउँ पुगिने ।
साइकलसँग जोडिएको पाँच रोचक घटना सम्झनु हुन्छ ?
साइकलसँग जङ्गलमा सुत्नु पर्यो, निकुञ्ज क्षेत्रमा हरिण देखेर बाघ आउने डरले साइकललाई छानो बनाएर नालीमा लुकेको, पानी नपाउँदा पानी अमलाले प्यास मेटेको, खाना नखाई २,३ दिन यात्रा गरेको, २ सय २० रुपैया र १२ वटा रोटीले पुरै नेपाल घुमेको, नया ठाँउमा जाँदा फलानो गाँउ जाने बटो कताबाट हो भन्दा त्यहाँ तिम्रो के नाता पर्छन् भनेर सोधेको सुन्दा म छक्क परेको ।
यदि साइकलसँग नजोडिनुभएको भए तपाईं र तपाईंको जीवन यस्तै हुन्थ्यो कि फरक ?
सायद फरक हुन्थ्यो होला तर यति राम्रो चाहिँ हुँदैन थियो होला ।
साइकल साथी हुँ भन्दा तपाईंलाई कस्तो लाग्छ ?
मध्यम परिवारमा जन्मिएर होला, साइकल साथी हुँ भन्दा गर्व लाग्छ ।
साइकलसँग जोडिएपछि के जोडियो थप जीवनमा ?
नयाँ र विशेष ब्यक्तिसँग भेट भयो । पहिले रित्तै गोजी नेपाल घुमियो, अब कतै जाँदा झन् अबर परिन्न । मायामाथि माया थपियो ।
साइकल फेसन भएको छ र साइकलेहरु एक प्रकारको फनलभर मात्र । यदि कसैले त्यसो भने तपाईं के भन्नु हुन्छ ?
भन्नेको मुख बन्द गर्न सकिन्न, सगरमाथा चढेपछि ओर्लिनै पर्छ, साइकलको महत्व बुझेपछि आफै शरण पर्छन् ।
देशभर र विदेशका साइकलेहरुलाई केही कुरा साझा गर्न चाहनुहुन्छ ?
कुनै ठाँउमा साइकलमा घुम्न जाँदा बस वा कुनै सवारीमा साइकल राख्नु पर्ने अवस्था आउँदा साइकलको भाडा नलिन यातायात व्यवसायीसँग हामी सबै मिलेर अनुरोध गरौँ ।
साइकलसँग यदि सुन्ने कान हुन्थ्यो भने उसलाई के भन्नु हुन्थ्यो ?
धेरै थकान हुँदा बिना पेडलिंग् गुढ्न भन्थे ।
अन्त्यमा अरु केही भन्नु छ ?
नेपालनाम्चा डट कमलाई धन्यवाद दिन चाहन्छु ।